'अमेरिकी राष्ट्रपति निर्वाचनको अभियानलाई नै फेरिदिने उदेकलाग्दो कार्य'

    • Author, सेरा स्मिथ
    • Role, उत्तर अमेरिका सम्पादक

अनुहारमा रगत, मुट्ठी कसेको हात र आफूलाई ताकेर गोली प्रहार भए पनि अविचलित मुद्रामा देखिएका डोनल्ड ट्रम्पलाई गुप्तचर निकायका सुरक्षा अधिकारीहरूले मञ्चबाट सुरक्षित स्थानतिर लगे। त्यो घटनाक्रम देखिने असाधारण दृश्यले इतिहास मात्रै रचेका छैनन्, आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनको मार्ग पनि परिवर्तन गरिदिन सक्छ।

राजनीतिक हिंसाको उदेकलाग्दो दृश्यले निर्वाचन प्रचारप्रसारमा पक्कै प्रभाव पार्ने छ।

अमेरिकी सीक्रेट सर्भिसका गुप्तचरहरूले सन्दिग्ध आक्रमणकारीलाई गोली हानी मारिदिए। कानुन कार्यान्वयनको जिम्मा पाएका निकायका स्रोतहरूले बीबीसीको अमेरिकी साझेदार समाचारसंस्था सीबीएसलाई उनीहरूले उक्त घटनालाई "हत्या गर्ने प्रयास"को रूपमा लिएको बताएका छन्।

रगतपच्छे अनुहार र मुट्ठी कस्दै उभिएका ट्रम्पलाई सुरक्षित स्थानतिर लगिँदै गरेको दृश्य देखिने तस्बिर तत्काल उनका छोरा एरिक ट्रम्पले सामाजिक सञ्जालमा राखेका थिए।

“यिनै हुन् अमेरिकालाई आवश्यक योद्ध,” तस्बिरसँगै उनले क्याप्शन लेखेका थिए।

राजनीतिक हिंसाको निन्दा

घटनाको केही बेरमै राष्ट्रपति जो बाइडन टेलिभिजनमा देखा परे र अमेरिकामा यस्ता राजनीतिक हिंसाको निम्ति कुनै स्थान नभएको बताए। आफ्ना रिपब्लिकन प्रतिद्वन्द्वीप्रति गहिरो चिन्ता प्रकट गरे।

बाइडनको निर्वाचन अभियानले तत्कालै सबै राजनीतिक टिप्पणीहरू स्थगित गर्‍यो अनि टेलिभिजन विज्ञापन पनि रोक्न थाल्यो। यतिखेर डोनल्ड ट्रम्पलाई आलोचना गर्नु बेठिक हुने बरु उक्त घटनाको निन्दा गर्नुपर्ने उनीहरूको धारणा थियो।

राजनीतिक वृत्तमा रहेका सबै कित्ताका नेताहरूले एकआपसमा विमति भए पनि एउटै स्वरमा प्रजातन्त्रमा राजनीतिक हिंसाका निम्ति कुनै ठाउँ नहुने बताइरहेका छन्।

पूर्वराष्ट्रपतिहरू बराक ओबामा, जोर्ज डब्ल्यू बुश, बिल क्लिन्टन तथा जिमी कार्टरले तत्कालै उक्त हिंसाको निन्दा गरे र ट्रम्प गम्भीर घाइते नभएकोमा राहत महसुस भएको बताए।

बाइडनलाई ‘दोष’

तर ट्रम्पका केही निकट सहयोगी एवं समर्थकहरूले उक्त हिंसात्मक घटनाको निम्ति बाइडनलाई दोष दिन थालिसकेका छन्।

एक रिपब्लिकन सांसदले राष्ट्रपतिलाई "हत्याको निम्ति दुरुत्साहन" गरेको आरोप लगाउँदै सामाजिक सञ्जाल 'एक्स'मा लेखेका छन्।

ट्रम्प राष्ट्रपति भएमा उनका उपराष्ट्रपति हुन सक्ने सम्भावित उम्मेदवारमध्ये एक ठानिएका सिनेटर जेडी भान्सले बाइडन अभियानबाट हुने गरेका टिप्पणीहरू यो घटना हुनका लागि सोझै जिम्मेदार भनेका छन्।

अन्य रिपब्लिकन नेताहरूले पनि त्यस्तै अभिव्यक्ति दिइरहेका छन्। तिनका विपक्षीहरूले अमेरिकी राजनीतिको यो खतरनाक समयमा त्यस्ता अभिव्यक्तिलाई "भड्काउपूर्ण" हुने भन्दै आलोचना गर्ने निश्चित छ।

अहिले नै हामी कसरी यो एक अत्यन्त उदेकलाग्दो घटनापश्चात् तिक्ततापूर्ण विमति हुने गरी सङ्घर्षको मोर्चाका अग्ररेखा कोरिएको छ भन्ने देख्न सक्छौँ।

अनि यसले निर्वाचन प्रचारप्रसारको स्वरूप नै बदलिदिने छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।