ट्रम्पको 'हत्या गर्ने प्रयास' गरेका सन्दिग्ध व्यक्तिको पहिचान, अमेरिकीहरूलाई 'एकताबद्ध' रहन पूर्वराष्ट्रपतिको आह्वान

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई गोली प्रहार गर्ने संदिग्ध व्यक्तिको नाम थमस म्याथ्यू क्रूक्स रहेको अमेरिकी गुप्तचर संस्था एफबीआईले जनाएको छ।

ती व्यक्तिको उमेर २० वर्ष रहेको र उनी पेन्सिल्भेनिआको बेथल पार्कका निवासी रहेको एक विज्ञप्तिमा जनाइएको छ।

बेथल पार्क घटनास्थलबाट झण्डै ७० किलोमिटर टाढा पर्छ।

पेन्सिल्भेनिआमा एक र्‍यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो। शृङ्खलाबद्ध गोली प्रहारपछि सिक्रेट सर्भिसका अधिकारीहरूले ट्रम्पलाई घेरा हालेका थिए।

उनलाई तत्कालै मञ्चबाट निकालेर उनका लागि पर्खिरहेको गाडीमा राखियो। त्यसपछि ट्रम्प न्यूजर्सीस्थित आफ्नो घरमा फर्किए।

ट्रम्पले आफ्नो एउटा पछिल्लो विज्ञप्तिमा अमेरिकीहरूलाई "एकताबद्ध रहन" आग्रह गर्दै आफूहरू उक्त घटनाबाट "भयभीत नहुने" बताएका छन्।

अमेरिकी संसद्को एक निगरानी समितिले "अमेरिकालाई जबाफ चाहिएको" भन्दै सिक्रेट सर्भिसका निर्देशकलाई बोलाएको छ।

हत्या प्रयासका रूपमा अनुसन्धान

एफबीआईले आफूहरूले यस घटनालाई हत्या प्रयासका रूपमा हेरिरहेको जनाएको छ।

आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोसल नेटवर्कमा ट्रम्पले गोलीले आफ्नो दायाँ तर्फको कानको "माथिल्लो भाग" छेडेको जनाएका छन्।

त्यसअघि ट्रम्पका प्रवक्ताले उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जनाएका थिए।

ट्रम्पले लेखेका छन्,"सुइँय्य गरेको आवाज सुन्नेबित्तिकै मलाई केही गडबड छ भन्ने लाग्यो, गोली चलेको र मेरो छाला खुइल्याउँदै गोली गएको मलाई महसुस भयो।"

"धेरै रगत बगेपछि के भएको हो भन्ने मैले थाहा पाएँ।"

उनलाई बचाउन सुरक्षा अधिकारीहरू दौडादौड गरेको दृश्यबीच उनको कान र अनुहारमा रगत बगेको स्पष्ट रूपमा देखिएको थियो।

एफबीआईको विज्ञप्तिले यस घटना एउटा "सक्रिय र जारी अनुसन्धान" भएको जनाएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार ट्रम्प र संदिग्ध हमलाकारीबीच झण्डै २०० मिटरको दूरी रहेको थियो।

प्रहरी के भन्छ?

पेन्सिल्भेनिआ प्रहरीले गोली प्रहारको घटनापछि थप जोखिम नरहेको जनाएको छ।

ती सन्दिग्ध व्यक्तिलाई घटनास्थलमै यूएस सिक्रेट सर्भिसका अधिकारीहरूले गोली हानेर हत्या गरिदिएको उक्त निकायका प्रवक्ताले जनाएका छन्।

उनका अनुसार त्यहाँ र्‍यालीमा सहभागी एक जनाको मृत्यु हुनुका साथै अन्य दुई जना गम्भीर घाइते भएका छन्।

अधिकारीहरूका अनुसार ती तीनै जना पुरुष हुन्।

कानुन कार्यान्वयनकर्ता निकायका स्रोतहरूले बीबीसीको अमेरिकी साझेदार सीबिएस न्यूजलाई बताएअनुसार क्रूक्ससँग एउटा राइफल थियो र उनले कार्यक्रमस्थल भन्दा बाहिरको अग्लो संरचनाबाट गोली प्रहार गरेका थिए।

यसअघि बट्लरस्थित संवाददाताहरूलाई सुरक्षा अधिकारीहरूले हत्या प्रयासको नियत स्थापित भई नसकेको बताएका थिए।

स्पेसल एजेन्ट केभिन रोजेकले गोली प्रहारको यस घटनालाई एउटा हत्या प्रयासका रूपमा हेरिराखिएको पुष्टि गरेका छन्।

रोजेकले सन्दिग्ध व्यक्तिले कुनै परिचयपत्र नबोकेको बताउँदै अनुसन्धानकर्ताहरूले डिएनएमार्फत औपचारिक रूपमा उनको पहिचान गरेको बताए।

राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार ट्रम्पले नोभेम्बरको निर्वाचनका लागि मत जता पनि ढल्किन सक्ने राज्य पेन्सलभेनियाको बट्लरमा समर्थकहरूलाई सम्बोधन गर्न सुरु गर्दै गर्दा गोली प्रहार भएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।