‘रुसी भूभाग नियन्त्रणमा राखिरहने युक्रेनको चाहना छैन’

रुसको कुर्स्क क्षेत्रको भूभाग नियन्त्रणमा राख्ने आफ्नो चाहना नरहेको युक्रेनको विदेश मन्त्रालयले बताएको छ।

तर त्यस इलाकामा आफूले गरिरहेको आक्रमण रुस शान्तिका निम्ति सहमत भएपछि रोकिने उसको भनाइ छ।

रुसी भूभागमा पसेर युक्रेनी फौजले गरिरहेको आक्रमणलाई लिएर विभिन्न कोणबाट विश्लेषण भइरहेका बेला युक्रेनी रक्षा विदेश मन्त्रालयले ताजा टिप्पणी गरेको हो।

मन्त्रालयका प्रवक्ताले किएभमा आयोजित पत्रकार सम्मेलनमा भने, “रुस जति चाँडै शान्ति पुनर्स्थापना गर्न तयार हुन्छ रुसी भूभागमा युक्रेनको आक्रमण त्यति चाँडै रोकिनेछ।”

पुटिनलाई जबाफ

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चेतावनी पनि फर्काएका छन्।

युक्रेनलाई उचित जबाफ दिने बताएका पुटिनबारे टिप्पणी गर्दै ती प्रवक्ताले भने, “पुटिनले युद्ध जति लम्ब्याउँछन्, उनले युक्रेनबाट त्यस्तै जबाफ पाउनेछन्।”

उनका अनुसार त्यस क्षेत्रमा युक्रेनी कारबाहीले अग्रमोर्चाको तैनाथीलाई सहयोग पुर्‍याइरहेको छ। किनकि त्यसले रुसको थप फौजलाई रुसी नियन्त्रणमा रहेको युक्रेनी क्षेत्र दोनेत्स्कतर्फ बढ्न बाधा पुर्‍याएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आफैले दुई देशीय सङ्घर्षबारे ताजा धारणा सार्वजनिक गरेका छन्।

रुसले गरेको ३८ वटा ड्रोन आक्रमणमध्ये ३० वटा ध्वस्त बनाइदिएको किएभस्थित वायु सेनाले जनाएको छ।

त्यस प्रसङ्गमा जेलेन्स्कीले भने, “रुसले उचित प्रतिरोध भेटेको छ। दुश्मनका प्रत्येक आक्रमणहरू निस्तेज तुल्याइएको छ।”

मानिसहरूको जीवनको रक्षा गरिएको र संरचनाहरू जोगाइएको बताउँदै उनले आफ्नो फौजलाई धन्यवाद दिएका छन्।

त्यस्तो लडाइँबीच रुसमा अधिकारीहरूले कुर्स्क क्षेत्र र त्यस आसपासका बासिन्दालाई बाहिर पठाउने क्रम जारी राखेका छन्।

त्यस क्षेत्रका कार्यवाहक गभर्नरले सोमवार दिएको विवरण अनुसार करिब एक लाख २१ हजार मानिसहरूले आफ्नो घर छाडेका छन्।

अधिकारीहरूले नै बाहिर पठाएका ३० हजार जनाको व्यवस्थापनको निम्ति सरकारले देशभरि ४० वटा अस्थायी शिविरहरू सञ्चालनमा ल्याएको बताइएको छ।

आक्रमणयताकै पहिलो घटना

रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेयता युक्रेनी सेना रुसी भूभागमा सबैभन्दा भित्रसम्म पुगेको यो पहिलो घटना हो।

रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेना प्रवेश गरेको छैटौँ दिन सीमाभन्दा ३० किलोमिटर भित्रसम्मका गाउँ पुगेको हो।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिआ जाखारोभाले “रुसको शान्त जनसङ्ख्यालाई धम्की दिएको” आरोप किएभमाथि लगाएकी छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो फौजबाट रुसी भूभागमा आक्रमण भएको स्वीकार गरेका छन्।

रुसको रक्षा मन्त्रालयले आफ्नो फौजले “बख्तरबन्द गाडीसहित रुसको भित्री भागमा प्रवेश गर्न खोज्ने विपक्षीका घुम्ती समूहको प्रयास असफल बनाइदिएको” बताएको छ।

तर रुसले सीमाभन्दा २५ र ३० किलोमिटर दूरीमा रहेका टोल्पिनो र ओब्बेस्चे कोलोडेज् गाउँमा लडाइँ भइरहेको जानकारी दिने क्रममा किएभका फौज कुर्स्क सीमाको भित्री भागमा प्रवेश गरेको स्वीकार गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।