तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के रुसले गरिब विदेशीहरूलाई युक्रेनमा लड्नका लागि झुक्क्याउँदै छ?
- Author, गुरप्रीत सिंह चावला, बाला सतिश, ओलेग बोल्डीरेभ
- Role, बीबीसी पञ्जाबी, बीबीसी तेलुगु, बीबीसी रसियन
दक्षिण भारतीय सहर हैदरावादबाट रुसका लागि निस्कँदा मोहम्मद अस्फानले आफ्नो परिवारको आशा र सपना बोकेका थिए।
त्यसअघि कपडा पसल व्यवस्थापनको काम गरेका उनले "सैन्य सहयोगी"का रूपमा काम गर्न गइरहेको ठानेका थिए।
युट्युबमा देखेको एउटा पोस्टमा मासिक एक लाख भारतीय रुपैयाँ दिइने वाचा गरिएको थियो। भारतीय परिवेशमा त्यो निकै आकर्षक कमाइ हो।
त्योभन्दा बढ्ता छ महिनापछि स्थायी आवासको अनुमति दिइने जनाइएको थियो।
बीबीसी पञ्चाबीसँग कुरा गर्दै उनका भाइ इमरानले भने: "उसलाई युक्रेनसँगको अग्रमोर्चमा पठाइने छैन, र उनी सैन्य मुख्यालयमा मात्र सहयोगीका रूपमा काम गर्ने भनिएको थियो।"
तर इमरानका अनुसार युक्रेनी सीमाबाट फोन गरेर मोहम्मदले आफ्नो पासपोर्ट कब्जा गरिएको र लड्न बाध्य पारिएको बताएका थिए।
दुई महिनाभन्दा बढी समयसम्म मोहम्मदले सम्पर्क गरेनन्।
तर इमरानले उनीबारे सोध्न रुसस्थित भारतीय दूतावासमा सम्पर्क गर्दा मृत्युको खबर पाए।
"यदि मेरो दाइको निधन भएको भए उसको शवलाई तत्काल ल्याइदिनुपर्छ। मेरो बुवा र उनकी श्रीमती निकै चिन्तित छन्," इमरानले भने।
अस्फानले श्रीमती र दुई वर्षमुनिका दुई सन्तान छाडेर गए।
रुसमा "सहयोगी" भूमिकामा सेनामा काम गर्नका लागि पुगेका कम्तीमा दुई जना भारतीयको अग्रमोर्चामा लडाइँका क्रममा मृत्यु भएको उनीहरूको परिवारले जनाएका छन्।
भर्तीसम्बन्धी युट्युबमा राखिएको त्यस्तै अर्को भिडिओले गत डिसेम्बरमा २३ वर्षीय हेमिल मङ्गुकियालाई रुस पुर्यायो।
"हेमिललाई उनले सहयोगीका रूपमा काम गर्नेछन् र तीन महिना तालिम दिइनेछ भनिएको थियो," पश्चिम भारतीय राज्य गुजरातबाट उनका बुवा आश्विनले भने।
“तर रुस पुगेपछि उसले आफूलाई लड्न तयार पारिँदै गरेको थाहा पाए।”
'मुख्य मानव तस्करीको सञ्जाल'
भारतले हालै युवाहरूलाई रुस पुर्याउने एउटा "मुख्य मानव तस्करीको सञ्जाल"बारे खुलासा गरेको जनाएको छ।
त्यस सञ्जालले जागिर दिने वाचा गर्दै युवाहरूलाई युक्रेन युद्धमा लड्न बाध्य पारेको थियो।
भारतको सीबीआईका अनुसार त्यस्तो लोभ देखाएर झण्डै ३५ पुरुषहरू रुस पुर्याइएका छन्।
भारतीय विदेश मन्त्रालयका अनुसार भारतीयलाई झुक्क्याएर लड्न बाध्य पारिएका हरेक घटनालाई "जोडदार रूपमा" मस्कोसामु उठाइएको छ।
मानिसहरूले आफूले दुःख पाएको जनाएका कैयौँ भिडिओहरू सोसल मिडियामा देखा परेका छन्।
हालै सार्वजनिक गरिएको त्यस्तो एउटामा सातजना मानिसहरूको एक समूहले भारत सरकारलाई घर फर्कन सहयोग गर्न अनुरोध गरेको थियो।
जसमा उनीहरूले आफूहरू पर्यटक भिसामा रुस पुगे तापनि यतिखेर लड्न बाध्य पारिएको जनाएका थिए।
त्यस्तो अनुरोध गर्नेमध्येका गगनदिप सिंह समेत एक हुन्।
उनलाई कि रुसी सेनामा काम गर्न वा १० वर्ष जेलमा बिताउनुपर्ने हुने भनिएको उनकी आमा बलविन्दर कौर बताउँछिन्।
"आफ्नो छोराको कुनै सन्देश वा फोन आउला भनेर हामी राती अबेरसम्म पर्खिबस्छौँ," उनले बीबीसी पञ्जाबीसँग भनिन्।
“उनीहरूलाई युक्रेन युद्धको अग्रमोर्चामा पठाइन लागेको उसले मलाई बताए। हामी निकै दुखी भयौँ।”
अन्य पञ्जाबी परिवारले बीबीसीलाई बताए अनुसार उनीहरूका सन्तान रुस पुग्नुअघि सुरुमा पर्यटक भिसामा कि त दुबई वा बेलारुस पुगे र त्यसपछि यस्तो फन्दामा परे।
उच्च तलबको वाचा गर्ने दलालहरूले कसरी आफूहरूलाई झुक्क्याएर लडाइँको मैदानमा पुर्याए भनेर समेत मानिसहरूले आफ्ना भिडिओमा बताएका छन्।
त्यसरी फस्नेहरू धेरै टुकटुक चालक वा चिया पसलेका रूपमा काम गरेकाहरू छन् र उनीहरूको समस्याले परिवारहरू चिन्तित बनेका छन्।
पीडित र उनीहरूका परिवारका अनुसार दलालहरूले यात्रा खर्च र केही महिनाको सैनिक सेवापछि रुसी पासपोर्ट पाइने भन्दै ३ लाख माग गर्ने गरेका छन्।
कम्तीमा २५४ विदेशीको मृत्यु
नेटोका महासचिव येन्स स्टोलटेनबर्गको अनुमानमा युक्रेन युद्धमा रुसतर्फ झण्डै ३ लाख ५० हजार मानिसहरू हताहत भएका छन्। तर उनले उक्त सङ्ख्यामा घाइते वा मृतकको सङ्ख्या छुट्याएका छैनन्।
बीबीसी रसियनले पुष्टि गरेको विवरणमा ४६,६७८ जना रुसी सैनिकहरूको मृत्यु भएको देखिन्छ।
त्यसले समेत रुसी सेना किन बढ्दो रूपमा सैन्य भर्तीमा विदेशीहरू खोजिरहेको छ भन्ने देखिन्छ।
सन् २०२२ मा रुसी रक्षा मन्त्रालयसँग कम्तीमा एक वर्षको सम्झौता गरेका र छ महिना युद्ध लडेकाहरूले रुसी नागरिकताको आवेदन दिन पाउने जनाइएको थियो।
जसक्रममा उनीहरूले बसोबास अनुमति पत्र लिइसकेको वा रुसमा पछिल्ला पाँच वर्ष बसिसकेको हुन पर्दैनथ्यो।
यसै वर्षको ज्यानुअरीमा राष्ट्रपति भ्लादिमिर पुटिनले एउटा नयाँ व्यवस्थामा हस्ताक्षर गर्दै उक्त प्रक्रियालाई थप सहज बनाएका छन्।
धेरै विदेशी लडाकुहरू आर्थिक कारण आएका आप्रवासीहरू छन्। ती धेरैजसो उज्बेकिस्तान, ताजकिस्तान र किर्गिस्तानजस्ता मध्यएशियाली देशका नागरिकहरू छन्।
रुसका लागि लड्ने विदेशीहरूमा क्युबा, नेपाल, भारत, सिरिया, इराक, सर्बिया, अफगानिस्तान, सोमालिया, श्रीलङ्का र मलेशिया लगायत देशका छन्।
उनीहरूको कुल सङ्ख्या हजारौँमा रहेको ठानिएको छ।
बीबीसी रसियनले पुष्टि गरेको विवरणमा सन् २०२३ को डिसेम्बरसम्ममा रुसी सेनाका तर्फबाट लडेका २५४ विदेशीहरू मारिएका छन्।
डिसेम्बरमा युक्रेन युद्धमा छजना नेपालीको मृत्यु भएपछि काठमाण्डूले रुसलाई आफ्ना देशका मानिस फिर्ता पठाइदिन अनुरोध गरेको थियो।
नेपाल प्रहरीका अनुसार तस्करहरूले रुस पुर्याउन ९,००० अमेरिकी डलरसम्म लिएको बताइएको छ।
बीबीसी रसियनले स्थापित गरे अनुसार भिसा अनियमिततासँग सम्बन्धित घटनामा रुसमा पक्राउ परेकाहरू समेत जोखिममा छन्।
गत नोभेम्बरमा आप्रवासन कानुन उल्लङ्घन गरेको भन्दै फिनल्यान्डसँगको रुसी सीमामा केही विदेशीहरू पक्राउ परेका थिए।
त्यसपछि उनीहरूलाई युक्रेनतर्फको सीमामा रहेको सैन्य क्याम्पमा सारियो।
सोमालियाका नागरिक अवध (यो उनको वास्तविक नाम होइन) उमेरले ४० काटिसकेका छन्।
उनी मध्य नोभेम्बरमा पक्राउ परे र २,००० रुबल जरिबाना तिर्नपुगे। सही भिसा नभएकाहरूका लागि घर फर्काउनुअघि गरिने त्यो नियमित प्रक्रिया हो।
उनका अनुसार उनीसहित हिरासतमा रहेका उनीजस्ता कम्तीमा एक दर्जनलाई सैन्य प्रतिनिधिहरूले भेटेका छन्।
आफूहरू सबैलाई सरकारी जागिर प्रस्ताव गरिएको उनी बताउँछन्।
त्यसो गरेर रुसी सेनामा भर्ती हुनका लागि झुक्क्याइनेमा अवध ढुक्क छन्। उनले त्यसो भनिरहँदा आफूलाई गरिएको प्रस्तावलाई पूर्ण रूपमा बुझे बुझेनन् भन्ने प्रस्ट छैन।
"मैले हुन्न भनेँ, किनकि मैले के कुरामा हस्ताक्षर गरेँ भन्ने मलाई थाहा छैन र यो मेरो भाषामा छैन," उनले भने।
"म शरण खोज्ने मानिस हुँ, सैनिक होइन।"
"हामीलाई तालिम र राम्रो तलब र हेरचाहसहित एक वर्षे सम्झौताको बारेमा भनिएको थियो। तर युक्रेनी सिमाना र युद्धको कुरा थिएन। हामीलाई भनिएको सबै कुरा झुटो थियो।"
उनलाई बसमा राखेर युक्रेनको सीमा नजिकै रहेको सैन्य शिविरमा पुर्याइएको थियो।
विरोधपछि केही मानिसहरूलाई धम्की दिन केही कम गरियो। कम्तीमा एक आप्रवासीलाई देश निकाला गरिए तापनि अवधले यतिखेर रुसमा शरणको माग गरिरहेका छन्।
उनी अझै घर फर्काइने पालो कुरेर हिरासतमा छन् र उनको सुनुवाइको कुनै मिति तय गरिएको छैन।
हिरासतमा रहेका विदेशीहरूलाई रिहा गरिने सर्तमा सैन्य जागिर प्रस्ताव गरिएका आरोपबारे बीबीसीले रुसको आन्तरिक मन्त्रालयसँग प्रतिक्रिया मागे तापनि त्यसको जबाफ पाएन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।