तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रुसी सेनामा काम गरिरहेका र सेवा गर्दा ज्यान गुमाएका नेपालीबारे रुसी विदेशमन्त्रीले के भने?
नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा ज्यान गुमाएका नेपालीहरूको शव स्वदेश फर्काउन र पीडितका परिवारलाई क्षतिपूर्ति अविलम्ब उपलब्ध गराउन रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभलाई अनुरोध गरेका छन्।
बिहीवार भएको टेलिफोन कुराकानीमा नेपाल रुस सम्बन्धका विविध पक्षबाहेक रुसी सेनामा नेपाली नागरिकहरू रहेका विषयमा पनि छलफल भएको नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उक्त विज्ञप्तिमा उपप्रधानमन्त्री श्रेष्ठले रुसी विदेशमन्त्रीलाई मृतकको शव फिर्ता गर्न र परिवारका सदस्यलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपालीको घर फिर्तीको सहजीकरण गरिदिन अनुरोध गरेको जनाइएको छ।
रुसले पनि टेलिफोन कुराकानी भएको पुष्टि गरेको छ तर उसले दुई जनाबीच समसामयिक विषयवस्तु र सम्भावित सहकार्यको सम्भावनाबारे छलफलको आदानप्रदान भएको मात्र जनाएको छ।
परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा के छ?
परराष्ट्र मन्त्रालयका अनुसार श्रेष्ठले क्षतिपूर्ति दिने प्रक्रिया थालेकोमा रुसलाई धन्यवाद दिँदै त्यो चाँडो सम्पन्न गर्न अनुरोध गरेका थिए।
रुसी मन्त्रीले नेपाली पक्षको सरोकार सम्बोधन गर्न आफ्नो मन्त्रालयको सहयोग हुने बताएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ।
रुसको विदेश मन्त्रालयले भने उसको विज्ञप्तिमा रुसी सेनामा रहेका नेपालीबारे कुनै चर्चा गरेको छैन।
केही महिनाअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयले रुसी सेनामा विदेशी नागरिकले सेवा गर्न नपाउने भन्दै नेपालले उठाएका घरफिर्तीसहितका मागबारे आफूलाई जानकारी नरहेको बीबीसी नेपालीलाई जबाफ दिएको थियो।
रुसी सेनामा भर्ना भएका नेपाली कैयौँले ज्यान गुमाएका, कैयौँ बेपत्ता भएका र कैयौँ युद्धको अग्र मोर्चामा रहेका खबर सार्वजनिक हुँदै आएका छन्।
परराष्ट्र मन्त्रालयसँग हालसम्म १२ जनाको मृत्यु भएको औपचारिक तथ्याङ्क छ।
तर त्यसको दोबर सङ्ख्यामा ज्यान गइसकेको भन्ने तथ्याङ्क पनि नेपाल सरकारको जानकारीमा रहेको बुझिएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरूमा हजारौँको सङ्ख्यामा नेपालीहरू रुसी सेनामा भर्ना भएको भन्ने समाचार आएका छन्।
रुसी सेनामा भर्ना भएर फर्कन सफल भएकाले पनि सङ्ख्या ठूलो रहेको बताउने गरेका छन्।
तर नेपाल सरकारले रुसी सरकारसँग यकिन सङ्ख्या माग्दा रुसी कानुन अनुसार रुसी सेनाको सङ्ख्या खुलाउन नमिल्ने जबाफ पाएको पूर्व परराष्ट्रमन्त्री एनपी साउदले बताए।
रुस-युक्रेन युद्धमा रुसी सेनाको तर्फबाट लड्न गएका ६ जना नेपाली युक्रेन सरकारको नियन्त्रणमा रहेको औपचारिक तथ्याङ्क नेपाल सरकारसँग छ।
क्षतिपूर्ति कति र कसरी
रुसी सेनामा भर्ना भएर लड्दै गर्दा मृत्यु भएका व्यक्तिहरूको परिवारलाई रुसले नै खबर पठाउने गरेको छ।
तर उनीहरूका शव र क्षतिपूर्तिबारे ठोस कुराकानी हुन सकेको छैन।
तल हालै रुसी सेनामा मृत्यु हुने नेपालीलाई रुस सरकारले क्षतिपूर्ति दिलाउन तयार भएको खबर नेपाललाई प्राप्त भइसकेको छ।
यसरी मृत्यु हुने व्यक्तिका परिवारलाई क्षतिपूर्तिस्वरूप ५० लाख रुबल अर्थात् करिब ७२ लाख नेपाली रुपैयाँ दिन तयार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
रुसको कानुनमा युद्धमा मृत्यु भएका सैनिकका परिवारलाई ५० लाख रुबल क्षतिपूर्तिस्वरूप दिने विषय रहेको बताइएको छ।
क्षतिपूर्ति रकम रुसस्थित नेपाली दूतावासमार्फत् नेपालमा रहेका परिवारका सदस्यलाई दिलाउन रुस तयार भएको पनि बताइएको छ।
कसरी तय भयो लाभ्रोभसँगको वार्ता
खासमा रुस युक्रेन युद्धमा मारिएका नेपालीको शव अन्तिम संस्कारका लागि नेपाल ल्याइदिन मृतकका परिवारले बारम्बार आग्रह गरेपछि तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले नेपालस्थित रुसी राजदूतलाई बोलाएर सोधपुछ गरेका थिए।
तर त्यस प्रकारका कुराकानीबाट शव नेपाल ल्याउन नसकिने बुझेपछि मुद्दा सल्टाउन रुसको यात्रा गर्ने मनसाय साउदले सार्वजनिक रूपमा बताएका थिए।
साउद भन्छन्, "मैले रुस जाने कुरा भनेपछि नेपालस्थित रुसी राजदूतले पहिले हामीलाई कुरा मिलाउन दिनुहोस्, उता गएपछि केही ठोस प्रगति हुने गरी स्थिति परिपक्व हुन दिनुहोस् भनेपछि मेरो योजना रोक्नु पर्यो।"
पछि युगान्डाको राजधानी कम्पालामा भएको असंलग्न नीति समर्थक राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन जाँदा आफूले रुसका सहायक विदेशमन्त्री भर्सिलिन सेर्गेइ भासिलिभिचसँग रुसी सेनामा नेपालीको समस्याबारे उनले कुराकानी गरेका थिए।
त्यसबेला आफूले रुसको भ्रमण गरेर कुरा सल्टाउन चाहेको पनि बताएको साउदले भनेका थिए।
त्यसैबेला नेपालका परराष्ट्रमन्त्री र रुसी विदेशमन्त्रीबीच सीधा कुराकानी गर्ने तय भएको थियो।
नेपाल फर्केपछि नेपालस्थित रुसी राजदूतले नेपालका लागि समय मिलाइएको खबर गरेका थिए।
त्यसपछि नेपालस्थित दूतावास मार्फत् मार्च ५, ६ र ७ मध्ये कुनै दिन रोज्न भनिएको थियो। पहिलेकै परराष्ट्रमन्त्री साउदले मार्च ७ रोजेका थिए।
त्यसै बमोजिम बुधवारमात्र कार्यभार सम्हालेका परराष्ट्रमन्त्री श्रेष्ठले कुराकानी गरेका हुन्।
सरकारले रुसी सेनामा भर्ना हुन नजान बारम्बार आग्रह गरे पनि सयौँको सङ्ख्यामा नेपालीहरू रुसी सेनामा रहेका खबर सार्वजनिक भएका छन्।
रुसी सेनामा भर्ती भएर नेपाल फर्किएकाहरूले त्यहाँ नेपालीहरूमाथि दुर्व्यवहार हुने गरेको बताउँदै आएका छन्।
त्यस्तै सरकारसँग दुई सयभन्दा बढी परिवारले आफ्ना आफन्तहरू सम्पर्कविहीन भएको भन्दै आफ्नो नाम टिपाएका छन्।
रुसी सेनामा भर्ना भएकामध्ये कैयौँ युद्धको अग्रमोर्चामा रहेको बताइएको छ।
कैयौँ भागेर नेपाल फर्केका छन् ,कैयौँ भागेर युरोप गएका भन्ने खबर पाएको र कैयौँ युद्धमोर्चामा रहेका रुसी अधिकारीहरूको जानकारीमा रहेको खबर नेपाली अधिकारीले पाएका छन्।
युद्धमोर्चा या तालिमस्थलबाट भागेर रुसस्थित नेपाली दूतावासको शरणमा पुगेका करिब पाँच दर्जन नेपालीलाई ट्राभल डकुमेन्ट बनाएर नेपाल फर्काइएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
पछिल्ला दिनमा नेपालमा रुसी सेनामा भर्ना भएर सम्पर्कविहीन हुन पुगेका व्यक्तिका परिवारले विभिन्न प्रदर्शन गर्दै आएका छन्।
केही दिन अघि उनीहरूले संयुक्त राष्ट्रसङ्घको काठमाण्डूस्थित कार्यालयमा पनि ज्ञापन पत्र बुझाएका थिए।
उनीहरू रुसी दूतावास अगाडि धर्ना पनि बसेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।