रुस-युक्रेन युद्धमा मारिएका नेपालीहरूको शव ल्याउन किन चुनौती देखियो?

रुसी फौजमा रहेर ज्यान गुमाएका नेपालीहरूको शव स्वदेश फर्काउनेबारे हालसम्म ठोस प्रगति हुन नसकेको रुसका लागि नेपाली राजदूत मिलनराज तुलाधरले बताएका छन्।

नेपाली परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभागका महानिर्देशक प्रकाशमणि पौडेलले पनि रुसी तर्फबाट जबाफ आउने प्रतिक्षा भैरहेको बताएका छन्। उनी भन्छन्,“नेपालको पक्षबाट उता कुरा भइरहेको छ। रुसी पक्षबाट ठोस जवाफ आइसकेको छैन।”

परराष्ट्र मन्त्रालयले रुसको तर्फबाट युक्रेन युद्धमा लड्ने क्रममा हालसम्म छ जना नेपाली मारिएको पुष्टि गर्दै ज्यान गुमाएकाहरुको शव यथाशीघ्र नेपाल पठाउन रुसलाई अनुरोध गरिएको जानकारी सोमवार एक विज्ञप्ति मार्फत दिएको थियो।

उक्त अनुरोधमा के प्रगति भइरहेको छ भन्ने बीबीसी न्यूज नेपालीको जिज्ञासामा राजदूत तुलाधरको प्रतिक्रिया थियो, “दुर्भाग्य, कुनै प्रगति भएको छैन।”

युक्रेनमा जारी युद्धमाम रुसको पक्षबाट लड्ने क्रममा मारिएका छ जना नेपालीमध्ये केहीको मृत्यु गत असारमै भएको बताइएको छ।

परराष्ट्र मन्त्रालय स्रोतले 'युद्ध क्षेत्रमा मारिएका नेपालीहरूको शव ल्याउन कठिनाइ हुने प्रारम्भिक संकेत रुसी पक्षले आफूहरूलाई दिएको' बताएको छ।

शव गाडिसकेको जानकारी

मृतकमध्येको एकको परिवारलाई दूतावासले 'मृतक नेपालीको शव रुस आफैँले गाडिसकेको जानकारी गराएको' समाचारमा परिचय उल्लेख गर्न नचाहने उक्त परिवारले जनाएको छ।

'एक वर्षसम्म शव उत्खनन गर्न नमिल्ने जानकारी रुसी पक्षले आफूहरूलाई गराएको उल्लेख गर्दै दूतावासले उक्त परिवारलाई अर्को वर्ष मृतकको अवशेष उत्खनन गरेर पठाउनेबारे पहल गर्न सकिने आश्वासन दिएको' परिवारका एक सदस्यले बीबीसीलाई जानकारी दिए।

पोखराका देवान राई पनि युक्रेन मारिने नेपालीमध्ये एक हुन्। उनका बुबा धनराज राईले बीबीसी न्यूज नेपालीसँग छोराको शव ल्याउन सरकारले ढिलाई गर्न नहुने बताए।

"छोरो फर्केर नआए पनि अनुहार हेर्ने इच्छा छ। अरू त के आशा गर्नु र सरकारबाट," उनले भने।

परराष्ट्रका एक अधिकारीले कतिपय शवहरू 'क्षत विक्षत भएको हुनसक्ने र त्यस्तो शव ल्याउँदा परिवारलाई त्यसले विचलित बनाउन सक्नेबारे पनि आफूहरूले परामर्श गरिरहेको' बताए।

रुसी सेनामा भर्ती भएका नेपालीहरूको सङ्ख्याको यकिन अभिलेख उपलब्ध छैन। बीबीसी नेपालीले मृतकको शव नेपाल पठाउन भइरहेका पहल र रुसी सेनामा भर्ती भएका नेपालीहरूको सङ्ख्याबारे थप जानकारीकालागि काठमाण्डू स्थित रुसी दूतावाससँग इमेल सम्पर्क गर्ने प्रयास गरेको छ र जबाफको प्रतिक्षा भैरहेको छ।

क्षतिपूर्तिको पहल

मस्कोस्थित नेपाली राजदूत तुलाधरले मृतकका परिवारका सदस्यहरूले क्षतिपूर्ति पाउन सक्ने जानकारी दिए।

“परिवारले क्षतिपूर्ति पाउँछन्। तर अन्य जिज्ञासाको मसँग जवाफ छैन,” उनले भने।

दूतावास र काठमाण्डूस्थित परराष्ट्र मन्त्रालयले पनि ति मारिएकाहरूको परिवारजनका निम्ति क्षतिपूर्तिको व्यवस्थाकालागि पहल भइरहेको आश्वासन दिएका छन्।

सोमवार सार्वजिनक गरिएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा क्षतिपूर्तिका लागि पनि रुसलाई अनुरोध गरिएको उल्लेख छ।

मृतकका परिवारले आफूहरूलाई क्षतिपूर्ति दिलाइने आश्वासन प्राप्त भए पनि कति रकम र कहिले उपलब्ध हुन्छ भन्ने कुनै जानकारी नआएको बताएका छन्।

रुसी पक्षले हालसम्म युद्धमा ज्यान गुमाएका नेपालीहरूको मृत्युको आधिकारिक प्रमाण उपलब्ध नगराउँदा जीवन बीमा लगायतका प्रशासनिक कामकाजमा पनि समस्या भएको परिवारको गुनासो छ।

रुसी राजदूतलाई सोधियो

परराष्ट्र मन्त्रालयका अधिकारीहरूले काठमाण्डू स्थित नेपालका लागि रुसी राजदूत एलेक्सि नोभिकोफलाई बोलाएर युद्धमा मारिएका नेपालीहरूको शव स्वदेश ल्याउनकालागि पहल गरिदिन आग्रह गरिएको बताएका छन्।

मन्त्रालयका अनुसार मस्कोस्थित राजदूत तुलाधरले पनि रुसी रक्षा मन्त्रालयका अधिकारीहरूसँग यसबारे सम्पर्क गरिरहेका छन्।

मन्त्रालयले रुसी पक्षलाई कुनै पनि नेपाली नागरिकलाई उसको सेनामा भर्ना नगर्न र भर्ना भएकाहरूलाई पनि फिर्ता पठाउन भनेको सोमवार जारी विज्ञप्तिमा उल्लेख छ।

एक जना 'घाइते नेपाल फर्किए'

रुसी सेनामा भर्ना भएका कैयौँ नेपाली नागरिकहरू घाइते भएको विवरण सार्वजनिक सञ्चार माध्यमहरूमा आए पनि मन्त्रालय र दूतावासले यसको औपचारिक पुष्टि गरेका छैनन्।

नाम उल्लेख नगर्ने सर्तमा मन्त्रालयका एक जना अधिकारीले हालसम्म एक जना घाइते नेपाल फर्किएर सम्पर्कमा आएको बताए। उनका अनुसार मन्त्रालयले उनी मार्फत त्यहाँको वस्तुस्थिति र रुसी सेनामा रहेका नेपालीहरूको स्थिति बुझ्ने प्रयास गरिरहेको छ।

नेपाली अधिकारीहरूका अनुसार नेपालबाट व्यक्तिगत भिषामा रुस जान कडाइ गरेपछि भारतको राजधानी दिल्ली हुँदै नेपाली नागरिक रुस जाने क्रम बढेको देखिएको छ।

सोमवार २७ र आइतवार पनि २५ जना नेपालीहरू यस्तो भिषामा रुस गएको जानकारी आएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमवार सम्पादकहरूसँगको भेटघाटका क्रममा बताएका विवरणहरू पनि आएका छन्।

'रुस पठाउने गिरोह'का १२ जना पक्राउ

प्रहरीले नेपाली नागरिकहरूलाई रुसी सेनामा पठाउन संलग्न रहेको आरोपमा १२ जनालाई पक्राउ गरिएको जनाएको छ।

उनीहरूलाई मङ्सिर १४ गते र मङ्गलवार काठमाण्डूका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी परिसर काठमाण्डूका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए।

प्रहरीले उक्त गिरोहले नेपाली युवाहरूलाई भारतको दिल्ली हुँदै रुस पठाउने गरेको दाबी गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।