तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रुसी सेनामा सुरक्षा निकायका बहालवाला र पूर्व कर्मचारी गएकोबारे नेपालस्थित सम्बन्धित सङ्गठनलाई 'जानकारी हुँदैन'
नेपाली सुरक्षा निकायका अधिकारीहरूले आफ्ना बहालवाला वा भूतपूर्व कर्मचारीहरू विदेशी सेनामा काम गर्न गएकोबारे आफ्नो निकायलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन्।
सरकारले रुसी सेनामा भर्ती भएका नेपाली नागरिकहरूलाई फर्काउन पहल गरिरहेको बताइरहँदा युक्रेन-रुस युद्धमा मारिने नेपाली नागरिकहरूको सङ्ख्या १० पुगेको बताइएको छ।
रुसी सेनामा गएका थप चार जना नेपाली युवाहरू युक्रेनमा बन्धक भएको विवरण आएका छन्।
रुसी सेनामा रहँदा मारिएका र भर्ती भएर फर्किएका कतिपय नेपालीहरू सुरक्षा निकायका बहालवाला र पूर्व कर्मचारीहरू समेत रहेको विवरण आएका छन्।
नेपाल प्रहरीका एक जना कर्मचारीले सेवाबाट केही समयका लागि बिदा लिएर रुसी सेनामा भर्ना भएको र त्यहाँबाट भागेर नेपाल फर्किएको बयान सार्वजनिक सञ्चार माध्यममा दिएका छन्।
सुरक्षा निकायकै बहालवाला र पूर्व कर्मचारीहरूलाई नेपाल सरकारले प्रतिबन्ध लगाएको विदेशी सेनामा भर्ती हुने क्रम रोक्न नसकेको भन्दै कतिपयले सरकार र सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन्।
नेपाल प्रहरीका एक जवान बर्खास्त
नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले अवकाश पाइसकेका वा जागिर छोडेर गएका पूर्व प्रहरीहरूले गर्ने पेसा व्यवसायमा सङ्गठनसँग सरोकार नहुने बताए।
प्रहरी प्रवक्ता कडायतले ट्राफिक प्रहरीमा कार्यरत एक जना प्रहरी बिदा लिएर रुसी सेनामा भर्ना भएको भन्ने सार्वजनिक सञ्चार माध्यममा आएका विवरणबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए।
“त्यसबारे मलाई जानकारी भएन। आफ्नो देशको सरकारी कर्मचारी भएर विदेशी सेनामा कसरी जागिर खानसक्छ। कोही त्यसरी गएको रहेछ भने त्यो भगौडा हो हामी कारबाही गर्छौँ,” उनले भने।
ट्राफिक प्रहरीका प्रवक्ता राजेन्द्र भट्टले प्रहरीमा बिदा लिएर लामो समय सम्पर्क विहीन भएका प्रहरीलाई सेवाबाट हटाइएको जानकारी दिए।
"उनी रुसी सेनामा भर्ती भएको भन्ने पनि आयो। सङ्गठनमा ७२ दिनभन्दा लामो समय सम्पर्कमा नआएपछि बर्खास्त गरिएको हो," भट्टले बीबीसी न्यूज नेपालीसँग भने।
प्रहरीको जागीरबाट बिदा लिएर रुसी सेनामा भर्ती भएको दाबी गर्ने र आफू प्रहरी जवान भएको बताउने एक व्यक्तिले युद्धका क्रममा आफू घाइते भएपछि भागेर स्वदेश फर्कन सफल भएको विवरण सामाजिक सञ्जालमा सार्वजनिक छ।
नेपाली सेनाको भनाई के छ?
पछिल्लो समय रुसी सेनामा रहेर मारिएका स्याङ्जाका हरि अर्याल पनि नेपाली सेनाको जागिर छोडेर बसेका व्यक्ति भएको उनको परिवारले जनाएको छ।
यसअघि नेपाल प्रहरीले रुसी सेनामा नेपालीहरूलाई पठाउने गिरोहमा संलग्न भएको दाबी गर्दै १२ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो। यसरी पठाउनेमा एक जना नेपाली पूर्वसैनिक समेत रहेको बताइएको थियो।
उक्त गिरोह पक्राउसँगै रुसी सेनामा जाने कैयौँ नेपालीहरू स्वदेशमा प्रहरी वा सेनामा काम गरिसकेका व्यक्तिहरू रहेको दाबी गरिएको थियो।
नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारी सङ्गठनलाई पूर्व जानकारी नदिई विदेश जाने र कुनै पनि फौजमा आबद्ध हुने कुराको जानकारी सेनालाई नहुने बताउँछन्।
“व्यक्तिगत पहलमा जानेहरू सङ्गठनलाई जानकारी गराएर जाँदैनन्। नेपाल सरकारले वैदेशिक रोजगारीमा जान नपाउने भनेको पनि छैन,” नेपाली सेनाका अवकाशप्राप्त कैयौँ व्यक्तिहरू विदेशमा सुरक्षा गार्ड र अन्य रोजगारीमा यसअघिबाटै जाने गरेको उदाहरण दिँदै भण्डारीले भने।
नेपाली सेना सहित पूर्व गोर्खाहरूको विभिन्न देशमा सुरक्षा गार्डमा उच्च माग छ।
“नेपाली सेनाले कुनै पनि वैदेशिक रोजगारीमा जानलाई सहजीकरण वा प्रोत्साहन गर्दैन। व्यक्तिगत पहलमा जानेहरूको हकमा चाहिँ यस्तो घटनाहरू भइसकेपछि मात्रै हामीलाई जानकारी हुन्छ।”
उनले कुनै पनि अवकाशप्राप्त सैनिकलाई विदेशी फौज वा रोजगारीमा जान स्वीकृति दिने वा लिनुपर्ने प्रचलन नभएको बताए।
अवकाश भइसकेपछि देशको कानुन र संविधान पालना गर्नुपर्ने दायित्व हुने र उनीहरूलाई कार्यरत रहँदा र अवकाशका क्रममा पनि त्यसबारे प्रशिक्षण दिइने उनले बताए।
बहालवाला नेपाली सेनाका कर्मचारीहरू रुसी वा युक्रेनी सेनामा गएकोबारे कुनै जानकारी नभएको उनले बताए।
“म सँग अहिले कति जना बिदामा छन् कति जना भगौडा भएर छानबिनको क्रममा छन् भन्ने कुराको तथ्याङ्क छैन। त्यसकारण सेवामा बहाल रहेकै मान्छे यहाँबाट गएर अन्य कतैको सेनामा वा कतै गएर रोजगारीमा छ भन्ने मलाई लाग्दैन,” उनले भने।
सेनाका अनुसार बिना जानकारी सेवामा अनुपस्थित हुने र सूचना गर्दा पनि सम्पर्कमा नआउने बहालवाला कर्मचारीहरूलाई भने सैनिक ऐन अनुसार भगौडाको कारबाही हुने गरेको छ।
सशस्त्र प्रहरीका प्रवक्ता के भन्छन्
रुसी सेनामा रहँदा ज्यान गुमाएका दोलखाका सन्दीप थपलिया सशस्त्र प्रहरी बलको जागिर छोडेर रुस पुगेका थिए।
सशस्त्र प्रहरीका प्रवक्ता राजेन्द्र खड्का सेवाबाट अवकाश भइसकेको व्यक्तिको संलग्नताबारे जानकारी लिने संयन्त्र आफूहरूसँग नभएको बताउँछन्।
“अवकाशपछि कहाँ जाने के गर्ने त्यो व्यक्तिगत स्वतन्त्रताको कुरा भयो। हामीले अवकाश भएपछि अलिअलि पैसा हुन्छ त्यो यहीँ लगानी गरेर राम्रो काम गर्न सकिन्छ भनेर परामर्श चाहिँ दिन्छौँ,” उनले भने।
“कसैले जान्छु भनेर हामीसँग भनेको पनि छैन। भनेर नगएको हुनाले कति गए भन्ने जानकारी पनि हामीसँग छैन।”
सुरक्षा निकायका अवकाशप्राप्त कर्मचारीहरूले पेन्सनका लागि निश्चित समयमा सम्बन्धित निकायमा आफू सम्पर्कमै रहेको जानकारी गराउन उपस्थित हुनुपर्ने प्रचलन छ।
तर विदेश काम गर्न जानेहरूले पनि नेपाल फर्किएको समयमा जानकारी गराउने गरेको र त्यसबीचमा उनीहरू कहाँ थिए भन्नेबारे सोधपुछ गर्ने व्यवस्था नरहेको सुरक्षा निकायका अधिकारीहरू बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।