तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेनसँगको युद्धमा रुसका ५०,००० सैनिक मारिएको पुष्टि
- Author, ओल्गा इभ्शीना
- Role, बीबीसी रसियन सर्भिस
युक्रेन युद्धमा मारिने रुसी सैनिक सङ्ख्या ५०,००० नाघेको बीबीसीले पुष्टि गरेको छ।
युद्धको दोस्रो वर्ष मस्कोले ‘मिट ग्राइन्डर’ भनिएको फौजलाई क्षतिको अपेक्षा सहित नै युद्धको अग्रमोर्चामा होम्ने रणनीतिका कारण पहिलो वर्षभन्दा मृतकको सङ्ख्या २५% ले बढेको पाइएको छ।
बीबीसी रसियन, स्वतन्त्र सञ्चार समूह मिडियाजोना तथा स्वयंसेवकहरूले फेब्रुअरी २०२२ देखि नै मृतकको सङ्ख्या गन्दै आएका छन्।
नयाँ चिहानहरूमा राखिएका विवरणबाट कैयन् मृतक सैनिकहरूको नाम थाहा हुन सकेको छ।
बीबीसीका टोलीले आधिकारिक प्रतिवेदनहरू, अखबारहरू तथा सामाजिक सञ्जालमा खुला रूपमा उपलब्ध सूचनाहरू केलाएको थियो।
युद्धको दोस्रो वर्ष २७,३०० रुसी सैनिकको लडाइँमा मृत्यु भएको हाम्रो विश्लेषणमा देखिएको छ – जसले युद्धमा भएका भौगोलिक उपलब्धि कति चर्को मानवीय मूल्यमा प्राप्त भएको छ भन्ने देखाउँछ।
रुसले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।
युक्रेनी फौजलाई हायलकायल पार्न र तिनका अवस्थिति पत्ता लगाएर गोलाबारीको निशाना बनाउन रुसले निरन्तर उसका फौजलाई लहरका लहर अग्रमोर्चामा होम्ने गरेको छ जुन नीतिलाई ‘मिट ग्राइन्डर’ भन्ने गरिन्छ।
५०,००० भन्दा धेरैको कुल मृत्यु सङ्ख्या मस्कोले सेप्टेम्बर २०२२ मा जम्मा एकपटक दिएको आधिकारिक सार्वजनिक जानकारीभन्दा आठ गुणा धेरै हो।
रुसीहरूको मृत्युको वास्तविक सङ्ख्या योभन्दा अझ धेरै हुनसक्ने सम्भावना छ।
हाम्रो विश्लेषणमा रुसी कब्जामा रहेका पूर्वी युक्रेनका दोनेत्स्क र लुहान्स्कमा भएका मिलिशियाहरूको मृत्यु समाविष्ट छैन। तिनको सङ्ख्या पनि जोड्ने हो भने रुसी पक्षमा भएको हानि अझै धेरै हुनेछ।
युक्रेनले युद्धमैदानमा भएका मृत्युको स्तरबारे दुर्लभै टिप्पणी गर्छ। फेब्रुअरीमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ३१,००० युक्रेनी सैनिक मारिएको बताएका थिए – तर अमेरिकी खुफिया जानकारीअनुसार त्यो सङ्ख्या अझ धेरै छ।
‘मिट ग्राइन्डर’ रणनीति
रुसले अग्रमोर्चामा अपनाउने उसको रणनीति बदलेसँगै चर्को मानवीय मूल्य चुकाइरहेको बीबीसी र मिडियाजोनाले फेला पारेको मृतक सैनिकहरूको पछिल्ला सूचीले देखाउँछ।
तल राखिएको ग्राफले रुसी सेनाले दोनेत्स्क क्षेत्रमा ठूलो स्तरमा आक्रमण सुरु गरेसँगै सन् २०२३ को ज्यानुअरीमा मृतकको सङ्ख्या ह्वात्तै बढेको देखाउँछ।
इन्स्टिच्युट फर द स्टडी अफ वार (आइएसडब्लु)का अनुसार भुहलेदार सहरका निम्ति लडाइँ हुँदा रुसले ‘मानव लहर शैलीमा निष्प्रभावी आक्रमण’ गरेको थियो।
“चुनौतीपूर्ण भूभाग, लड्ने शक्तिको कमी तथा युक्रेनी फौजलाई आश्चर्यमा पार्नमा विफलता” जस्ता कारणले रुसले थोरै जित र धेरै क्षति बेहोरेको उसले जनाएको छ।
सो ग्राफमा मृतकको सङ्ख्यामा अर्को उल्लेखनीय वृद्धि सन् २०२३ को बसन्त याममा भएको देखिन्छ – बख्मुतका निम्ति भएको लडाइँका बेला जतिखेर वाग्नर समूहले उक्त सहर कब्जा गर्न रुसलाई सघाएको थियो।
त्यतिखेर आफ्नो समूहमा पुगेको क्षतिबारे वाग्नरका नेता येभ्गेनी प्रिगोजिनले करिब २२,००० को अनुमान गरेका थिए।
गत शरद याममा पूर्वी युक्रेनी सहर आभ्दिभ्का कब्जा गर्ने क्रममा पनि रुसी सैनिकतर्फको मृत्युको सङ्ख्या धेरै बढेको थियो।
चिहानको गणना
बीबीसी तथा मिडियाजोनाका लागि काम गरेका स्वयंसेवकहरूले युद्ध सुरु भएयता देखि नै रुसभरिका ७० चिहानस्थलहरूमा रहेका नयाँ सैनिक चिहानहरूको गणना गर्दै आएका छन्।
माथिबाट लिइएका तस्बिरहरूमा ती समाधिस्थलहरू निकै फैलँदै गएको देखिन्छ।
उदाहरणका लागि मस्कोको दक्षिणपश्चिममा पर्ने र्याजानको बोगोरोद्स्कोये चिहानका यी तस्बिरमा एउटा पूरै नयाँ खण्ड थपिएको देखिन्छ।
स्थलमा गएर लिइएका तस्बिर तथा भिडिओहरूले अधिकांश नयाँ चिहान युक्रेनमा मारिएका सैनिक तथा अधिकृतहरूको रहेको देखाउँछन्।
बीबीसीले गरेको अनुमानमा मारिएका प्रत्येक पाँचमध्ये दुई लडाकूहरू युद्ध सुरु हुनुभन्दा पहिले रुसी सेनासँग पूर्ण रूपले असम्बन्धित थिए।
सन् २०२२ को अतिक्रमण सुरु हुँदा रुसले उसका व्यावसायिक सेनालाई जटिल सैन्य कारबाहीहरूमा खटाउन सकेको रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटका स्यामुअल क्र्यानी-इभान्सले बताए।
तर ती अनुभवी सैनिकमध्ये कैयन् या त मारिएको या घाइते भएको रक्षा विश्लेषक क्र्यानी-इभान्सले बताए। तिनलाई थोरै अनुभव वा सैन्य प्रशिक्षण प्राप्त स्वयंसेवक, गैरसैनिक तथा बन्दीहरूले विस्थापन गरेको उनले बताए।
उनका अनुसार तिनले व्यावसायिक सेनाले गर्ने जस्तो काम गर्न सक्दैनन्। “अर्थात् तिनले रणनीतिक रूपमा सरल कारबाही गर्नु पर्छ – र सामान्यतया त्यो भनेको गोलाबारीसहित युक्रेनी फौज भएको ठाउँमा गएर होमिने नै हो।”
वाग्नर तथा रक्षा मन्त्रालय
त्यसरी फौजलाई युद्धमा होम्ने ‘मिट ग्राइन्डर’ रणनीतिको सफलताको निम्ति बन्दीहरूको भर्ती र परिचालन महत्त्वपूर्ण हुन्छ। र, हाम्रो विश्लेषणले अग्रमोर्चामा तिनको मृत्यु चाँडोचाँडो हुने गरेको देखाएको छ।
सन् २०२२ को जुन देखि नै मस्कोले येभ्गेनी प्रिगोजिनलाई जेलबाट भर्ती लिन अनुमति दिएको थियो। बन्दीबाट लडाकू बनाइएकाहरूले रुसी सरकारको पक्षबाट एक निजी सैनिक समूहको मातहत रहेर लडेका थिए।
एकोहोरो लडिरहने शैली तथा बर्बरतापूर्ण आन्तरिक अनुशासनको निम्ति वाग्नर कुख्यात थियो। आदेशविना पछि हट्ने सैनिकलाई तत्क्षण मृत्युदण्ड दिन सकिन्थ्यो।
मस्कोसँगको सम्बन्ध बिग्रनुभन्दा अगाडि सन् २०२३ को फेब्रुअरीसम्म उक्त समूहले बन्दीहरूलाई भर्ती लिइरहेको थियो। त्यसयता रुसको रक्षा मन्त्रालयले सोही नीति अङ्गिकार गर्दै आएको छ।
गत वर्ष जुनमा प्रिगोजिनले रुसी फौज विरुद्ध एक विफल विद्रोह गरेका थिए। उनका फौज मस्कोतर्फ अघि बढ्न खोजेका थिए। अगस्टमा एक विमान दुर्घटनामा प्रिगोजिन मारिए।
हाम्रो पछिल्लो विश्लेषण ती ९,००० रुसी कैदीबन्दीहरूको नामसूचीमा केन्द्रित थियो जो अग्रमोर्चामा मारिएको हामीलाई थाहा थियो।
तीमध्ये १,००० भन्दा धेरैको हकमा हामीले तिनले सैन्य सेवा सुरु गरेको र मारिएको मिति पुष्टि गर्यौँ।
त्यसबाट हामीले के पत्ता लगायौँ भने वाग्नरले परिचालन गरेका पूर्व बन्दी सैनिकहरू औसत ३ महिना बाँचेका थिए।
तर ग्राफमा देखिएजस्तै पछि रक्षा मन्त्रालयले भर्ना लिएर परिचालन गरेकाहरू भने औसत २ महिनामात्र बाँच्न सकेका थिए।
मन्त्रालयले स्टोर्म पल्टन नाम गरेका इकाइहरू निर्माण गरे जसमा लगभग सबै बन्दीहरू छन्।
वाग्नरको बन्दी इकाइजस्तै यी पल्टनलाई पनि नोक्सानी भए पनि खास फरक नपर्ने मान्यताबमोजिम युद्धमा होमिएको बताइन्छ।
हालै महिनौँ लगाएर आभ्दिभ्का सहर कब्जा गर्न मिलेको सफलताका पछाडि यिनै स्टोर्म लडाकूहरू थिए।
करिब आठ साता अगाडि सो सहर रुसको कब्जामा पुग्यो। बख्मुतको सफलता यता यो नै राष्ट्रपति पुटिनको निम्ति सबभन्दा ठूलो तथा प्रतीकात्मक युद्ध सफलता हो।
बन्दीलाई सिधै अग्रमोर्चामा परिचालन
वाग्नरको अन्तर्गत नयाँ बन्दी लडाकूहरूलाई पन्ध्र दिनको सैन्य प्रशिक्षणपश्चात् युद्धमैदानमा पठाइन्थ्यो।
तर हामीले के पायौँ भने रक्षा मन्त्रालयले परिचालन गरेकामध्ये कतिपयको मृत्यु त सेवा प्रवेशको दुई सातामै भएको थियो।
बीबीसीले मारिएका बन्दी सैनिक वा हाल युद्धरत बन्दी सैनिकका परिवारसँग कुरा गर्दा उनीहरूले रक्षा मन्त्रालयले दिने सैन्य प्रशिक्षण अपर्याप्त भएको बताए।
युद्धमा पति गुमाएकी एकजना महिलाले भनेअनुसार उनको पतिलाई गत वर्ष एप्रिल ८ मा जेलबाटै सेवा प्रवेश गराइएको थियो – त्यसको तीन दिन पछि नै ती व्यक्ति अग्रमोर्चामा पुगिसकेका थिए।
“केही साताको प्रशिक्षण दिन्छन् होला भन्ने मलाई लागेको थियो। सायद एप्रिल महिनाभरि त कुनै खतरा नहोला भन्ने ठानेकी थिएँ।”
उनी पतिसँग सम्पर्क हुने पर्खाइमा थिइन् – तर उनको पति त एप्रिल २१ मै मारिएको उनले पछि थाहा पाइन्।
अर्की एकजना आमाले भनिन् उनले आफ्नो बन्दी श्रीमान् मरेको त्यतिखेर मात्र चाल पाइन् जतिखेर उनले आफ्ना छोरा युद्धमा मारिएको जानकारी दिन पतिलाई सम्पर्क गर्ने प्रयास गरिन्।
हामीले आल्फिया नाम दिएको उक्त महिलाका अनुसार उनका २५ वर्षीय छोरा भादिम – जो स्वयं जुम्ल्याहा सन्तानका पिता थिए – ले युद्धमा जानु अगाडि कहिल्यै कुनै हतियार उठाएका थिएनन्।
तर छोराको मृत्युबारे उनले पति अलेक्जान्डरलाई भन्नै पाइनन् किनकी उनलाई लड्न खटाइसकिएको थियो। अर्का एक बन्दीले फोनबाट जानकारी दिएपछि मात्र उनले त्यो कुरा थाहा पाइन्।
अलेक्जान्डर युक्रेनमै हुर्किएको र त्यहाँ उनको परिवार रहेको आल्फियाले बताइन्। त्यसैले रुसले फासीवादसँग लड्न युक्रेनमा अतिक्रमण गरेको भन्ने भनाइ अलेक्जान्डरले नपत्याउने उनले बताइन्।
छोरा मरेको सात महिनापछि पति अलेक्जान्डरको पनि मृत्यु भएको आल्फियालाई बताइएको थियो।
‘मर्नका लागि तयार होउ’
वाग्नरका निम्ति काम गर्दाखेरि सामान्यतया बन्दीहरूलाई ६ महिनाको निम्ति भर्ती गरिन्थ्यो। यदि जिउँदै रहे त्यसपछि तिनले स्वतन्त्र हुन पाउँथे।
तर गत सेप्टेम्बरदेखि यता रक्षा मन्त्रालयले भर्ति लिन थालेपछि तिनले नमरुन्जेल या युद्ध नसकिएसम्म लडिरहन पर्छ।
राम्रो पोशाक तथा जुत्ता लगाउन पनि बन्दीहरूले आफन्तसँग गुहार मागेका विवरणहरू बीबीसीले सुनेको छ। साथै उचित सामग्री, औषधि वा कलाश्निकोभ बन्दुक विना नै बन्दीहरूलाई लड्न पठाइएका विवरण आएका छन्।
“कैयन् सैनिकसँग लडाइँका निम्ति अनुपयुक्त राइफल थिए,” रुसी युद्ध समर्थक तथा ब्लगर भ्लादिमिर ग्रुब्निकले टेलिग्राम च्यानलमा लेखेका छन्।
“प्राथमिक उपचारका सामग्री र ट्रेन्च खन्न आवश्यक सावेल विना अनि बिग्रिएका राइफल दिइएका सैनिकले अग्रमोर्चामा के पो गर्न सक्लान् भन्ने ठूलो रहस्य छ!”
रुसी कब्जामा रहेको पूर्वी युक्रेनमा रहेका ग्रुब्निकले कमान्डरहरूले कतिपय बन्दुकहरू ‘पूरै बिग्रिएको’ र तिनलाई विस्थापन गर्न ‘असम्भव’ भएको बताएको दाबी गरे।
“ती बन्दुक निश्चित लडाकुका निम्ति तोकिसकिएको छ र त्यसबारे कट्टर सैन्य प्रशासनले केही गर्न सकेका छैनन्।”
पूर्व बन्दीहरूले पनि उनीहरूका साथीहरूले चर्को मूल्य चुकाइरहेको बताए।
“यदि तिमिले अहिले सेवा प्रवेश गर्यौ भने, मर्नका लागि तयार होउ, साथी,” स्टोर्म लडाकूहरू तथा तिनका आफन्तका निम्ति जानकारी दिन खोलिएको अनलाइन मञ्चमा सेर्गेइले भने।
उनी आफू पूर्व बन्दी रहेको र अक्टोबरयता स्टोर्म इकाइमा रहेर लडिरहेको दाबी गर्छन्।
अनलाइन मञ्चका अर्का सदस्य भन्छन् उनले १०० सेना रहेको स्टोर्म पल्टनमा पाँच महिना अगाडि प्रवेश गरेका थिए। तीमध्ये अहिले जम्मा ३८ जना जिउँदो रहेको उनले बताए।
“प्रत्येक युद्ध कारबाही भनेको पुनर्जन्म पाउनु जस्तै भएको छ।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।