तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पूर्वी युक्रेनमा युद्धबाट बच्न कोही घर छाड्दै, कोही 'मृत्यु र रुसी कब्जा'को जोखिम मोल्दै गाउँमै
- Author, जेम्स वाटरहाउस
- Role, बीबीसी युक्रेन संवाददाता डोनेस्ट्स क्षेत्रबाट
पूर्वी युक्रेनमा युद्धको वेग परिवर्तन मात्र भएको छैन, त्यो तीव्र रूपमा यो क्षेत्रमा आउँदैछ।
"के हुदैँछ भन्ने हामीलाई थाहा छ," कोस्टियान्टिनिभ्कास्थित आफ्नो फ्ल्याटमा टीभी प्याक गर्दै मारियाले भनिन्।
आफ्नो छोराको साथमा त्यता जानुअघि उनले उक्त टीभी राजधानी किएभतर्फ पठाउन लागेकी हुन्।
उनी भन्छिन्, "लगातारको हमलाका कारण हामी थाकेका छौँ। हामी निराश र त्रसित छौँ।"
फेब्रुअरीमा रुसले रणनीतिक सहर अभ्डिइभ्का कब्जा गर्यो।
त्यसपछि आक्रमणकारीहरूले पश्चिमतर्फ थप विस्तार गरिरहेका छन् र उनीहरूले धेरै गाउँहरू कब्जा गरेका छन्।
युक्रेनको सामर्थ्यको परीक्षण
युक्रेनले त्यस क्षेत्रमा आफ्नो सेनालाई "तयारी अवस्थामा राखेको" बताएको छ। तर रुसी सेनाले ११ सय किलोमिटरको अग्रमोर्चा भएको क्षेत्रसहित पाँच भागहरूमा आक्रमण गरिरहेको छ।
यो क्षेत्र पूर्वी डोनेट्स्क क्षेत्रमा पर्छ। यो भनेको युक्रेनका रक्षकहरूका लागि सबैभन्दा बढी उनीहरूको सामर्थ्य परीक्षण भइरहेको स्थान पनि हो।
पोक्रोभ्स्क, कोस्टियान्टिनिभ्का र क्रामाटोस्क जस्ता सहरहरूमा मानिसहरूले तीव्र रूपमा अघि बढिरहेका रुसीहरूको सामना गरिरहेका छन् र कतिपयले त रुसी कब्जाको पनि सामना गर्नु परेको छ।
रुसी अतिक्रमण र विस्तारसँगै मारिया र उनकी आमा तेत्यानाको जीवन एकदमै अप्ट्यारोमा परेको छ।
उनीहरूको सहरभन्दा ३० किलोमिटर परसम्म खतराका सङ्केतहरू देखा परिसकेका छन्।
हरेक सडकको दायाँबायाँ क्षतिग्रस्त भवनहरू छन्।
नजिकैको रेल स्टेसनको छेउमा क्षेप्यास्त्र हमलाले ध्वस्त पारेको चर्चका सुनौला प्यानलहरू कामदारहरूले बदल्दै छन्।
सोभियत सङ्घका बेलामा औद्योगिक केन्द्रको हिस्सा मानिने यो सहरका बासिन्दाहरू निकै चिन्तामा छन्।
युद्धको प्रमुख केन्द्र
रुसले कब्जा गर्ने प्रयासका क्रममा युक्रेनी सहरहरूलाई विस्तारै ध्वस्त पार्दै लैजाने गरेको छ। त्यसले गर्दा पनि यहाँका धेरैमा डर पैदा भएको छ।
मारियाकी आमा तेत्याना उक्त स्थानमै बसिरहने बताउँछिन् तर मारिया भने अन्ततः आमाले आफूलाई पछ्याउनेमा विश्वस्त छिन्।
"मैले पहिले पनि दुई पटक यो ठाउँ छाडे तर के भयो त?" तेत्याना भन्छिन्, "जताततै डरलाग्दो छ। सिङ्गो देश नै आगोको भुङ्ग्रोमा छ।"
उनका आँखा रसाउँछन्। सकेसम्म लामो समय तपाईँ आफ्नो घरमा बस्नु एउटा कुरा हो तर सँगसँगै मृत्यु र रुसी कब्जाका लागि खतरा मोल्नु अर्को कुरा हो।
युक्रेन पूरै नै युद्धक्षेत्र हो तर डोनेस्टस्क अन्य चार क्षेत्रसहित युद्ध भइरहेको स्थान हो।
यसको घना र फराकिलो जङ्गल पार गर्दै गर्दा तपाईँलाई युद्धको मैदानमा पुग्दै हुनुहुन्छ जस्तो लाग्छ।
तपाईँ ४० किलोमिटर परबाट भइरहेको गोलाबारी सुन्न सक्नुहुन्छ। टाढा त्यस्तो आवाज निरन्तर आइरहेको सुनिन्छ। एउटा बिन्दूमा पुगेपछि तपाईँले युक्रेनी क्षेत्रमा भएको क्षति देख्नु हुनेछ।
रुसले हालै कब्जा गरेको सहर अभ्डिइभ्का र सन् २०१४ देखि उसको नियन्त्रणमा रहेको होर्लिभ्काबाट धुवाँको मुस्लो निस्केको देखिन्छ।
युक्रेनलाई पश्चिमी सैन्य सहायता कम भइरहेको र युक्रेन आफ्नै आन्तरिक राजनीतिमा भुलिरहेका बेला रुसले आफ्नो सम्पूर्ण सैन्य शक्तिलाई लगाएर युद्धलाई निरन्तरता दिने प्रयास गरिरहेको छ।
नजिकै जलायशययुक्त फराकिलो उपत्यका छ। यो प्राकृतिक अवस्थाले आफ्नो सेनालाई अग्रमोर्चामा "स्थिर" राख्न सहयोग गर्ने युक्रेनी भनाइ छ।
विगतमा अस्तव्यस्त ढङ्गले उक्त क्षेत्र छाड्नु परे पनि युक्रेनी सैन्य अधिकारीहरू यो क्षेत्रलाई मुक्त गर्न सकिन्छ भन्नेमा आशावादी देखिन्छन्।
रुस समर्थक अल्पसङ्ख्यक
उक्त अग्रमोर्चामा युक्रेनीहरूले रुसका समर्थक भनेर आरोप लगाइएका अल्पसङ्ख्यक मानिसहरू बसिरहेका छन्।
उनीहरूलाई उक्त क्षेत्र रुसी नियन्त्रणमा जाने समय कुरिरहेका मानिस भन्ने बुझाउने खालको शब्दले गाली गर्ने गरिन्छ।
तर सबै त्यस्ता मानिसहरू मात्र त्यहाँ बसिरहेका छैनन्।
कसै-कसैले आफ्नो घर छोड्न अस्वीकार गरेका छन् र उनीहरू निरन्तर खतरा भए पनि त्यही बसोबास गरिरहेका छन्।
भ्यालेरी ती मध्ये एक होइनन्। टोरेत्स्क गाउँमा उनको घरमा दुई पटक गोलाबारी भयो। अहिले उनले आफ्नो नाति र केही सामानहरूलाई त्यहाँबाट अन्यन्त्र मानिसहरूलाई लैजाने स्थानसम्म पुर्याउँदै छन्।
आफ्नो ठाउँभन्दा केवल पाँच किलोमिटर पर मात्र रुसीहरू छन्।
तर पनि कतिपय उनीहरूका छिमेकीहरू आफ्नो स्थान छाड्न मानिरहेका छैनन्।
उनीहरू ती छिमेकीलाई सुरक्षित रहनका लागि कामना गर्छन् र सशस्त्र प्रहरीको गाडीमा चढ्छन्।
"मैले त बाँच्नु जति बाँचिसके," ६७ वर्षीय उनले कोस्टियान्टिनिभ्का पुगेपछि हामीसँगभ भने।
"तर मैले सानो केटोलाई बचाउनु पर्छ। मैले २० वर्षसम्म खानीमा काम गरेको थिए त्यसैले मलाई कुनै कुराको डर छैन तर म मेरो नातिका लागि चिन्तित छु।"
उनका नाति १४ वर्षका डेनिज त्यसमा सही थाप्दै मुन्टो हल्लाउँछन्। "मेरो मिल्ने साथीले पनि तीन साताअघि यो ठाउँ छाडेको थियो," उनले भने।
बालबालिका भएका परिवारहरूले अग्रमोर्चाका बस्तीबाट सुरक्षित स्थानमा जानु पर्ने अनिवार्य गरिएको छ। तर पनि उक्त सहरमा अझै १५ बालबालिकाहरू बाँकी नै रहेका छन्।
अविश्वास
अग्रमोर्चाका सहरहरूबाट मानिसहरूलाई सुरक्षित स्थानमा सार्न सहयोग गर्ने ह्वाइट एन्जेल्स पोलिसका एन्टोन प्रोनले त्यस क्षेत्रमा स्थिति दिनहुँ बिग्रँदै गइरहेको बताए।
"लगातार गोलाबारी जारी छ," उनी भन्छन्, "शत्रुका विमानहरू उडिरहेका छन् र रुसीहरूले आवासीय क्षेत्रमा मात्र बम खसाल्छन्।"
अहिले नजिकैको क्रामाटोर्स्क सहरका रेल स्टेसन सेनाहरू आउने र सामानले भरिएका झोला बोकेर युक्रेनी नागरिकहरू प्रस्थान गर्ने अन्तिम बिसौनी बनेको छ।
टाढाबाट आइरहेका गोलाबारीका आवाजले कि त स्वागतको कि बिदाइको काम गरिरहेको जस्तो लाग्छ।
क्षेप्यास्त्र प्रहारका बेलामा पनि सुरक्षित हुने गरी बनाइएको मालवाहक रेलहरूले भरिएको रेल स्टेसनमा जोडीहरू एक अर्कालाई अँगालोलो लामो समयसम्म कस्छन्।
सन् २०२२ मा यहाँ एउटा प्रहारमा कम्तीमा ६१ जना मारिएका थिए। त्यसका निसानहरू अहिले पनि फुटपाथका भित्ताहरूमा देखिन्छन्।
हामीले त्यहाँ अलालाई भेट्यौँ। उनी किएभ जाने रेल कुरिरहेका थिए।
उनले भने, "एक वर्ष पहिले पश्चिमबाट सहायता पाउने छौँ र हाम्रो प्रत्याक्रमणले कम गर्नेछ भनेर हामी सोच्थ्यौँ। तर अहिले त्यस्तो सोच्दैनौँ। पहिले मानिसहरूले विश्वास गर्थे तर अहिले गर्दैनन्।"
युक्रेनले आफ्नो पूर्वी क्षेत्र पनि एक दिन फेरि सबैका लागि सुरक्षित स्थान बन्ने आशा गरेको छ।
तर अहिलेको अवस्थामा यी प्रस्थान गरेका यात्रुहरू फेरि फर्किएर यो स्थानमै आउँछन् भन्ने स्पष्ट छैन।
अनि, रुसी आक्रमणकारीहरूले डोनेट्स्क क्षेत्रमा थप गति बढाउन पाए भने उनीहरू कहाँ पुगेर रोकिएलान् भन्ने प्रश्नको उत्तर पनि सहज छैन।
हाना कोर्नस र स्कारलेट बार्टरको थप रिपोर्टिङ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।