नेपालका खोलानालामा 'बनमारा' जसरी फैलिँदै छ मिचाहा प्रजातिको विदेशी माछा

तस्बिर स्रोत, Jash H. Limbu
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
नेपालको पूर्वी भागका केही खोलानालामा फेला परेको एउटा नयाँ प्रजातिको माछा 'मिचाहा' प्रकृतिको भएकाले त्यसले नेपाली जलक्षेत्रको जैविक विविधता र पारिस्थितिक प्रणालीमा नकारात्मक प्रभाव पार्ने वैज्ञानिकहरूले बताएका छन्।
विशेष गरी दक्षिण तथा मध्यअमेरिकामा पाइने उक्त माछा नेपालमा नयाँ हो।
शोधकर्ताहरूका अनुसार उक्त माछा मोरङ र झापाका केही खोला फैलिन थालेको पाइएको छ।
नेपाली र चिनियाँ शोधकर्ता सम्मिलित एउटा टोलीले झन्डै चार वर्ष ती पूर्वी नेपालका विभिन्न जिल्लामा गरेको अध्ययनबाट उक्त प्रजातिको माछा रैथाने नभएको निष्कर्ष निकालेको हो।
अङ्ग्रेजीमा यसलाई 'भर्मिक्युलेटिड सेल्फिन क्याटफिश' भनिन्छ। वैज्ञानिक नाम 'टेरिगोप्लिक्थिस डिस्जङ्कटिभस' भएको यो माछाको दक्षिण अमेरिकाको एमजन नदीको रैथाने हो।
यो अध्ययनको निष्कर्षसहित 'बायोइन्भेजन्स रेकर्ड्स' नामक युरोपेली जर्नलमा एउटा शोधपत्र प्रकाशित भएको छ।
कसरी थाहा भयो?
शोधपत्रअनुसार उक्त माछा नेपालमा पहिलो पटक मोरङको बेलबारीस्थित लोहन्द्रा खोलामा चार वर्षअघि देखा परेको थियो।
सुरुमा नेपाली जीवशास्त्रीहरूले उक्त माछालाई स्थानीय 'बुधुना' जातको माछा भन्ठानेका थिए।
अध्ययनबाट अङ्ग्रेजीमा 'क्याटफिश' भनिने उक्त माछा "अतिमिचाहा" स्वभावको र नेपालमा नयाँ प्रजाति भएको पुष्टि भयो।
"चार वर्षअघि पहिलो पटक देखा पर्दा नै हामीलाई शङ्का लागेको थियो। त्यसैले हामी लगातार त्यस नियालिरह्यौँ," हाल चीनमा रहेका उक्त शोधपत्रका प्रमुख लेखक जसहाङ लिम्बूले भने। उनी चीनको शाङ्घाई ओशन यूनिभर्सिटीमा गैररैथाने माछाबारे विद्यावारिधि गरिरहेका छन्।

तस्बिर स्रोत, Jash H. Limbu
"बुधुना भनेको टाउको ठूलो हुने एक जातको माछा हो र यो पनि खोलाका चेपहरूमा टाँसिएर बस्ने गर्छ," लिम्बू भन्छन्, "अहिले पाइएको नयाँ माछाको स्वभाव पनि त्यस्तै देखिएकाले सुरुमा बुधुना भन्ने शङ्का गरिएको थियो," लिम्बूले भने।
"मलाई चाहिँ देख्नेबित्तिकै होइन जस्तो लागेर त्यसबारे थप खोज्नुपर्छ भनेर हामीले टोली बनाएर अध्ययन थाल्यौँ।"
यो शोधपत्र जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनाल अनि दुई चिनियाँ अनुसन्धानकर्ता जिन्क्वान याङ र चेन्होङका नाममा प्रकाशित भएको छ।
कसरी गरियो अध्ययन
अध्ययनका लागि लोहन्द्रा खोलाबाट उक्त माछाका ४३ वटा नमुना सङ्कलन गरिएको थियो।
पूर्वी नेपालका तमोरलगायत विभिन्न नदीका ५० स्थानमा अध्ययन गरिएकामा लोहन्द्राका दुई स्थानमा यो प्रजाति फेला पर्यो।
हेर्दा आकर्षक देखिने यो माछाको स्वभावजस्तै लाग्छ। "तर वास्तवमा यो निकै आक्रामक माछा हो," लिम्बूले भने।
"हामीले दीपक राजवंशीजीको घरमा राखेर त्यसको स्वभाव अध्ययन गर्यौँ। यो बसेको स्थानमा अर्को जातको माछा राखिदिँदा यसले लखेटीलखेटी टोकेर मार्यो," उनले भने।
उनीहरूले शोधपत्र पठाउँदासम्म ठूलो मात्रामा र अन्यत्र फैलिएको थिएन। तर अहिले थप अध्ययन गर्दा यो प्रजातिको माछा धेरैतिर फैलिएको भेटिएको लिम्बूले बताए।
झापाको दमकका साना खोलानालामा अर्को प्रजातिको 'क्याटफिश' पनि भेटिएको उनले बताए।
'स्थानीय माछाका लागि बनमाराजस्तै'
मिचाहा प्रवृत्तिको माछा भएकाले यसले नेपालको जैविक विविधता र नदीहरूको पारिस्थितिक प्रणालीमा नकारात्मक प्रभाव पार्ने अध्ययनकर्ताहरूको भनाइ छ।
लिम्बू भन्छन्, "यसको गुण र स्वभावका कारण यसले हाम्रो जैविक विविधतामा सकारात्मक प्रभाव पार्ने देखिँदैन, नकारात्मक प्रभाव नै धेरै छन्।"
"यसले अन्य माछालाई खाइदिन्छ। भुरा र फुल नै खाइदिने गर्छ। माछा खाने मात्र होइन नदीमा पलाउने लेउलगायत सबै पातहरू पनि खान्छ। त्यसले हाम्रो इको-सिस्टमलाई गहिरो गरी प्रभाव पार्ने देखिन्छ।"

तस्बिर स्रोत, Jash H. Limbu
अहिले नेपालको पश्चिमी भेगमा समेत यो माछा पुगिसकेको आशङ्का गरिएको छ। नेपालका पश्चिमतिरबाट पनि आफूहरूलाई तस्बिरहरू पठाएर मानिसहरूले जानकारी दिएको र हेर्दा यही प्रजातिजस्तो देखिएको उनले बताए।
"अहिले यसका बच्चा र फुल पनि धेरै पाइन थालेको छ। त्यो भनेको नेपालमा बनमारा पसेपछि कति वनस्पतिहरू सखाप भए, त्यस्तै अवस्था आउन सक्छ।"
"एक हिसाबले यसलाई स्थानीय माछाका लागि बनमारासरह हो भन्दा पनि हुन्छ।"
कसरी नेपाल भित्रियो?
यो माछा नेपालसम्म आइपुग्नुमा दुइटा सम्भावना शोधकर्ताहरूले औँल्याएका छन्।
दक्षिण अमेरिकी महादेशको प्रजाति भए पनि नेपालमा पाइनुअघि यो माछा भारत, बाङ्ग्लादेश, हङ्कङ, इन्डोनेशिया, मलेशिया, सिङ्गापुर, थाईल्यान्ड र भियतनाममा फेला परेको वैज्ञानिकहरू बताउँछन्।
त्यसैले नेपालमा भारतको नदीप्रणालीबाट उत्तरतर्फ सर्दै यो माछा आइपुगेको हुन सक्ने एउटा सम्भावना छ।
त्यस्तै अक्वेरिअममा राखेर पाल्नका लागि ल्याइएको र त्यसै क्रममा नेपालको जलप्रणालीमा प्रवेश गरेर फैलिएको हुन सक्ने अर्को सम्भावना पनि छ।
"मलाई यी दुवै कारणले यो माछा नेपालसम्म आयो होला जस्तो लाग्छ," लिम्बू भन्छन्।
नियन्त्रण गर्नुपर्ने आवश्यकता
वैज्ञानिकहरू यो माछालाई खाने चलन खासै नभएको बताउँछन्। उनीहरूका भनाइमा विशेषगरी यो सजावटका लागि राख्नेहरूले चाहिँ यसलाई घरमा राख्ने गर्छन्।
केही देशमा यो माछाबाट दाना वा पशु आहार बनाउने प्रयास भने भएको शोधपत्रहरूमा उल्लेख भएको आफूले देखेको लिम्बूले बताए।
शोधकर्ताका भनाइमा यो माछा नेपालमा सबैतिर फैलियो भने त्यसले यहाँका स्थानीय माछाहरूलाई बिस्तारै मासिदिन सक्छ।
"हामीले त यस्तो मिचाहा प्रवृत्तिको माछा भेटिएको छ भनेर उजागर गरिदिने हो। अब स्थानीयदेखि केन्द्र सरकारसम्मले यसलाई नियन्त्रणको योजना बनाउनुपर्ने देखिन्छ," लिम्बूले भने।
"यो धेरै फैलिँदै जाँदा स्थानीय प्रजातिका माछालाई खतरा मात्र होइन कतिपयलाई लोप नै गराइदिन सक्छ।"
उनी बनमाराले कतिपय वनस्पतिलाई मासेको उदाहरण दिँदै भन्छन्, "जसरी हामी कति वनपस्पति बचाउन बनमारालाई नष्ट गर्छौँ त्यसरी नै यसलाई पनि नष्ट गर्नुपर्ने हुन्छ।"
उनी त्यसका लागि मुख्यतः यो माछाले फुल पार्ने बेलामा हस्तक्षेप गर्नुपर्ने र यस्तो माछा भेटिएमा तत्काल त्यस क्षेत्रमा यसलाई नियन्त्रण गर्न जनचेतना जगाउनुपर्नेमा जोड दिन्छन्।
"अर्को खुला सीमाका कारण नेपालमा अनुमति नलिईकन जस्ता पनि माछाहरू ल्याएर अक्वेरिअममा राख्ने चलन छ। त्यसलाई नियमन र नियन्त्रण गर्नुपर्छ," उनले भने।
नेपालमा कति जातका माछा

तस्बिर स्रोत, Central Fisheries Promotion and Conservation Center
कृषि मन्त्रालयको केन्द्रीय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्रका अनुसार नेपालमा २५० भन्दा बढी प्रजातिका माछाहरू पाइन्छन्।
केन्द्रकी प्रमुख सरिता गौतमले भनिन्, "हाम्रो अभिलेखमा हालसम्म २५२ प्रकारका माछाहरू नेपालमा रहेको देखिन्छ।"
तीमध्ये २३६ प्रजाति रैथाने हुन् भने १६ प्रजाति बाहिरबाट आएका हुन्।
बाहिरबाट आएका प्रजातिमध्ये पनि केही व्यावसायिक उत्पादनमा र धेरैजसो सजावटका लागि ल्याइने गरेका छन्।
"रैथानले माछामध्ये १६ जातका भने नेपालमा मात्र पाइन्छन्," उनले भनिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








