तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
५५ वर्षको उमेरमा क्लब फुटबल खेल्न पोर्चुगल पुगे जापानी स्ट्राइकर
उनको ५६औँ जन्मदिन आउनै लागेको छ। तर जापानी स्ट्राइकर काजुयोशी मिउरा अझै क्लब फुटबलमा सक्रिय छन्।
उनले व्यावसायिक फुटबल खेल्न थालेको पाँचौँ दशक हो। पोर्चुगलको दोस्रो डिभिजनको क्लब ओलिभेइरेन्सीबाट खेल्न उनी भर्खरै गएका छन्। जापानको योकोहामा फुटबल क्लबले उक्त क्लबलाई मिउरालाई सापटमा उपलब्ध गराएको हो।
उनले यसअघि पाँचवटा देशबाट खेलिसकेका छन्। ब्रजिल, जापान, इटली, क्रोएशिया र अस्ट्रेलियापछि मिउराले अब पोर्चुगलको घरेलु क्लबबाट पनि फुटबल खेल्नेछन्।
"यो मेरा लागि नयाँ ठाउँ भए पनि म जस्तो खालको खेलका लागि चिनिएको छु त्यो देखाउन निकै मेहनत गर्छु," उनले भने। उनको जन्मदिन फेब्रुअरी २६ मा पर्छ।
६० वर्षसम्म खेल्ने योजना
यसअघि मिउराले आफू ६० वर्षको उमेरसम्म खेल्ने योजना भएको बताएका थिए।
गत सीजनको फुटबल उनले सुजुका पोइन्ट गेटर्सबाट खेले। त्यहाँ पनि उनी सापटमा गएका थिए।
त्यस क्रममा उनले १८ वटा खेलमा दुई गोल गरे।
उनका दाइ यासुतोशी चौथो श्रेणीको उक्त क्लबका प्रबन्धक हुन्।
गत नोभेम्बर महिनामा योकोहामाले ओलिभेइरेन्सी क्लबको अधिकांश शेअर किनेको थियो।
मिउराले सन् १९८६ मा ब्रजिलको सान्तोस क्लबबाट फुटबल खेल्न थालेका हुन्।
पाको गोलकर्ताको कीर्तिमान
सन् २०१७ मा उनले जापानी व्यावसायिक लीग फुटबलमा गोल गर्ने सबैभन्दा पाको उमेरका खेलाडीको कीर्तिमान कायम गरे। थेस्पाकुसात्सु गुन्माविरुद्ध गोल गर्दा उनी ५० वर्ष १४ दिनका थिए।
जापानमा उनलाई 'किङ काजु' को उपनामले चिनिन्छ।
उनी जापानमा निकै लोकप्रिय छन्। सन् १९९३ मा जे लीग आरम्भ गर्दा उनी त्यसका एक महत्त्वपूर्ण खेलाडी थिए।
उनले जापानका लागि खेलेका ८९ खेलमा ५५ गोल गरेका छन्।