पशुपतिनाथको दर्शन गर्ने प्रचण्डको पुरानै ‘इच्छा’, महाकालेश्वरको जलले जुराइदियो ‘साइत’

तस्बिर स्रोत, PADT
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मन्त्रिमण्डलका पाँचजना सदस्यसहित शनिवार पशुपतिनाथ मन्दिरमा दर्शन गरेपछि त्यसबारे विभिन्न कोणबाट टिप्पणी भइरहेका छन्।
उनका पूर्व राजनीतिक सहयात्रीसहित कतिपय वाम विचारधाराका व्यक्तिहरूले प्रचण्डको कदमको आलोचना गरेका छन् भने केहीले त्यसलाई सकारात्मक रूपमा लिएका छन्।
प्रचण्डका सहयोगीहरूले चाहिँ उनको कदमले धर्म निरपेक्षताप्रति उनको प्रतिबद्धतामा कुनै असर नगर्ने बताएका छन्।
तर कतिपय विश्लेषकहरू नेपालमा कतिपय समूहले राख्दै आएको “हिन्दूराष्ट्र माग”को राजनीतिक फाइदा उठाउन पनि प्रचण्डले यस्ता गतिविधिहरू गरिरहेको हुनसक्ने टिप्पणी गरेका छन्।
‘धार्मिक मान्यता अन्तर्गतको भ्रमण’

तस्बिर स्रोत, PADT
प्रचण्ड शनिवार पाँचजना मन्त्रीलाई लिएर पशुपतिनाथ मन्दिर पुगेका थिए।
उनलाई त्यहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती तथा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले स्वागत गरे।
उक्त भ्रमण दलमा अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत पनि थिए।
संस्कृतिमन्त्री किराँती पनि मिसिएपछि त्यो प्रधानमन्त्रीसहित मन्त्रिमण्डलका ६ जना सदस्य रहेको ‘पशुपतिनाथ दर्शन टोली’ बन्न पुग्यो।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका भनाइमा प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरूको ठूलो टोली पशुपति पुगे पनि त्यहाँ शनिवार “विशेष समारोह” आयोजना गरिएको थिएन।
उनले भने, “सम्माननीय प्रधानमन्त्रीज्यूसहित माननीय मन्त्रीज्यूहरू छुट्टै कुनै विशेष कार्यक्रममा लागि भन्दा पनि उहाँहरूले भारत भ्रमणमा जाँदा महाकालेश्वर मन्दिरको दर्शन गरेर आउनु भएकाले पशुपतिनाथ पनि आउनु भएको हो।”
“चारधाम वा अन्य कुनै ठूलो तीर्थस्थलबाट आएपछि त्यहाँबाट ल्याएको जल तथा प्रसाद पशुपतिनाथमा ल्याएर चढाउनुपर्छ भन्ने मान्यता रहेको छ, त्यही धार्मिक मान्यता अनुसार उहाँहरू महाकालेश्वर मन्दिरबाट ल्याएको जल तथा प्रसाद चढाउन आउनु भएको हो।”
उनका अनुसार भारत भ्रमणका क्रममा उज्जैनस्थित ज्योतिर्लिङ्ग महाकालेश्वरबाट ल्याएको जल प्रधानमन्त्रीले पशुपतिनाथमा चढाएका छन्।


'पुरानो इच्छा'

तस्बिर स्रोत, PADT
खतिवडाका अनुसार प्रधानमन्त्री दाहालले “आफूलाई पहिलेदेखि नै पशुपतिनाथको दर्शन गर्न इच्छा भएको” जनाएका छन्।
“प्रधानमन्त्रीज्यूले आगन्तुक पुस्तिकामा केही कुराहरू लेख्नु भएको छ। ती सकारात्मक नै छन्,” उनले भने।
“उहाँले त्यहाँ लेखे अनुसार पशुपतिनाथको दर्शन गर्ने उहाँको पहिलेदेखिकै इच्छा रहेछ।”
उनले आगन्तुक पुस्तिकामा मन्दिरको जीर्णोद्वार गर्न पहल गर्ने पनि उल्लेख गरेको खतिवडाले बताए।
उनले भने, “उहाँले करिब ३५ मिनेट मन्दिर परिसरमा बिताउनु भयो, जीर्णोद्वारका लागि पनि चासो देखाउनु भयो।”
प्रधानमन्त्रीसँगै मन्दिर दर्शनका लागि पुगेका उनका स्वकीय सचिव रमेश मल्लले पनि मन्दिर दर्शन गर्ने क्रममा त्यहाँका चाँदीका ढोकाहरू उप्किएको देखिएपछि प्रचण्डले त्यसबारे चासो राखेको बताए।
ती ढोकाहरूको जीर्णोद्वारका लागि आवश्यक पहल गर्ने आश्वासन प्रधानमन्त्रीले दिएको मल्लले बताए।
आलोचना

तस्बिर स्रोत, RSS
प्रधानमन्त्री र मन्त्रीहरू सहभागी भएर उनीहरूले पशुपतिनाथमा गरेको पूजाअर्चनालाई लिएर कतिपयले आलोचना गरिरहेका छन्।
त्यसरी आलोचना गर्नेमा प्रचण्डका सशस्त्र द्वन्द्वकालीन सहयात्रीसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई समेत छन्।
उनले मन्त्रीहरूको टोलीसहित प्रचण्डले पशुपतिनाथ मन्दिर अगाडि खिचाएको तस्बिर राख्दै फेसबुकमा उनका गतिविधिमाथि प्रश्न उठाएका छन्।
भट्टराईले लेखेका छन्, “कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन; त्यो उसको निजी आस्थाको कुरा हो, तर जब पूरै मन्त्रीमण्डल एकैसाथ र एउटा शृङ्खलामा धार्मिक स्थल जान्छ, त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ।”
सशस्त्र द्वन्द्वका बेलामा आफूहरूलाई ‘कुनै पनि धर्म नमान्ने’ व्यक्तिका रूपमा प्रचार गर्ने र आफ्नो पार्टीका कार्यकर्ताहरूलाई पनि त्यस्तै प्रशिक्षण दिने दलका नेतासमेत भएका प्रचण्डका पछिल्ला कदमहरू “वैचारिक विचलन” भएको कतिपयले बताइरहेका छन्।
त्यसरी आलोचना गर्नेमा विशेष गरी वाम विचारधारा निकटहरू रहेका छन्।
गत साता मात्र बीबीसीसँग कुराकानी गर्दै प्रचण्डले भारतको महाकालेश्वर मन्दिरमा गरेको धार्मिक गतिविधिलाई एक जना वामपन्थी चिन्तक तथा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रमुख आहुतिले उनमा देखिएको ‘वैचारिक प्रतिगमन’ लाई प्रकट गरेको बताएका थिए।
पहिले चरम भौतिकवादीका रूपमा चिनिएका प्रचण्डको यो परिवर्तन निर्वाचनमा आफ्नो जनमत कायम राख्ने कदम हुनसक्ने पनि कतिपयको विश्लेषण छ।
एक जना विश्लेषक हरि रोकाले त्यस्तै सङ्केत गर्दै ट्वीट गरेका छन्।
उनले लेखेका छन्, “उज्जैनको महाकालेश्वरपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिमण्डलका सदस्यसहित ‘आफ्नै पशुपतिनाथ’ पुगेछन्। गजब भएछ, विचरा ज्ञानेन्द्र, कमल थापा, ओली, लिङदेन-मिश्रको मिसन हिन्दूत्व हाइज्याक, ठोरीका राम ठण्डा, नवअगन्तुक धार्मिक कमरेडहरूको तुरुप विचरा पुरातन शासकले के बुझुन्?”


यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
अर्का एकजना विश्लेषक विनोद सिँजापतीले “धर्म विरोधी कम्युनिस्ट नेताहरूको पशुपतिनाथप्रतिको मोहलाई कसरी अर्थ्याउने?” भनेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
एकजना पत्रकार जीवराम भण्डारीले चाहिँ प्रधानमन्त्रीको कदमलाई ‘सकारात्मक’ भनेका छन्।
उनले ट्विटरमा लेखेका छन्, “प्रधानमन्त्री पुष्पकमल दाहालको पशुपतिनाथ दर्शनले मुलुकसापेक्ष परिवर्तनका लागि तयार हुन सक्ने गतिशील नेता हुने प्रयासको सन्देश प्रवाह भएको धेरैको बुझाइ छ।”
“यो प्रयत्नले प्रधानमन्त्री र उनको पार्टीलाई राजनीतिक घाटा हुने छैन। यो परिवर्तन सकारात्मक छ। मुलुकका खातिर असामाजिक छैन।”
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3
प्रधानमन्त्री पक्षको भनाइ

हालैको भारत भ्रमणका बेलामा महाकालेश्वर मन्दिरमा प्रधानमन्त्रीसहित मन्त्रीहरूले गेरुवस्त्र लगाएर गरेको पूजाआजाको पनि कतिपयले आलोचना गरेका थिए।
त्यसबेला उनीमाथि भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा)लाई “खुसी पार्ने रणनीति”का रूपमा कतिपयले त्यसलाई अर्थ्याएका थिए।
यद्यपि प्रधानमन्त्री प्रचण्डले उक्त स्थानमा भ्रमण गर्नका लागि भारतबाट पनि सुझाव आएको र आफ्नो इच्छा पनि मिलेको बताएका थिए।
नयाँ दिल्लीबाट फर्कने क्रममा प्रचण्डले आफ्नो उक्त भ्रमणको बचाउ गर्दै आफू धर्म निरपेक्षताप्रति प्रतिबद्ध रहेको जनाएका थिए।
पशुपतिनाथको दर्शनका विषयमा उनका स्वकीय सचिव मल्लले पनि प्रचण्डकै जस्तो धारणा दोहोर्याएका छन्।
मल्लले प्रधानमन्त्रीको पशुपतिनाथ दर्शनलाई जोडेर उनको धर्म निरपेक्षताप्रतिको प्रतिबद्धतामा प्रश्न गर्न नमिल्ने बताए।
मल्लका अनुसार प्रधानमन्त्रीका रूपमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न उनी पहिलो पटक शनिवार त्यहाँ पुगेका हुन्।
“यसअघि अन्य कार्यक्रम वा अन्य हिसाबले पशुपतिनाथ परिसर पुग्नु भएको थियो तर यसरी प्रधानमन्त्रीकै रूपमा मन्दिरमा दर्शन गर्नुभएको पहिलो पटक नै हो,” उनले भने।
मल्लले आफूहरू ‘जड सूत्रवादी कम्युनिस्ट नभएका’ले सबैका विश्वास र मतलाई सम्मान गर्ने बताए।
“एउटा देशका कार्यकारी प्रमुखलाई सबै आस्थाको उत्तिकै सम्मान गर्ने जिम्मेवारी रहन्छ। हामी कम्युनिस्टहरू धर्म मान्दैनौँ तर हामी सबै धार्मिक आस्थाको सम्मान गर्छौँ भन्ने नै यसको सन्देश हो,” मल्ल भन्छन्।
“अरू धर्मका धार्मिक स्थलमा बढ्ता जाने तर मन्दिरहरूमा नजाने भन्ने आलोचना पनि हामीलाई पहिले धेरै हुन्थ्यौँ। त्यसैलाई चिर्नका लागि पनि प्रधानमन्त्रीज्यू मन्दिरहरूमा जान थाल्नुभएको हो।”
उनले पशुपतिनाथ हिन्दूहरूको आस्थाको केन्द्र भएकाले विश्वभरिका हिन्दूहरूलाई आकर्षित गरेर धार्मिक पर्यटन विस्तार गर्न पनि प्रधानमन्त्रीको यो कदमले टेवा पुग्ने बताए।








