प्रचण्डको धार्मिक रूप: मोदीसँग नजिक हुने प्रयास कि हिन्दूवादी राजनीतिप्रति झुकाव

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको क्रममा उज्जैनस्थित एउटा मन्दिरको भ्रमण गरेका थिए

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, उज्जैनस्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्रीले गरेको पूजाअर्चनाबारे उनकै पूर्व सहकर्मीहरूले प्रश्न उठाएका छन्
    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

आफ्नो भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेपछि धार्मिक गतिविधिप्रतिको उनको उक्त झुकावलाई भारतीय सत्तासँग नजिक उभिने प्रयासका रूपमा कतिपय विज्ञले अर्थ लगाइरहेका छन्।

भारतीय जनता पार्टीको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा, सत्ता सम्हालेको पाँच महिनापछि नेपालका प्रधानमन्त्री प्रचण्डले अघिल्लो हप्ता आफ्नो पहिलो विदेश भ्रमण गरेका थिए।

त्यस क्रममा सरकारका वरिष्ठ मन्त्रीहरूको दलबलसहित उनले उज्जैनस्थित महाकालेश्वर मन्दिर पुगेर पूजा गरेका थिए।

शान्ति प्रक्रियामा आएपछि सत्ताको केन्द्रमा आफूलाई राख्ने हरदम प्रयास गर्ने गरेका भनिने पूर्वविद्रोही नेता प्रचण्डमा यो बीचमा आएको वैचारिक र सैद्धान्तिक ‘विचलन’ यस्ता भ्रमणहरूले देखाउने गरेका टिप्पणी हुने गरेको छ।

'वैचारिक प्रतिगमन'

एकजना वामपन्थी चिन्तक तथा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रमुख आहुतिले भारतीय मन्दिरमा भएको प्रधानमन्त्रीको भ्रमणले उनमा देखिएको ‘वैचारिक प्रतिगमन’ लाई प्रकट गरेको धारणा व्यक्त गरेका छन्।

उनी भन्छन्, “उहाँहरू अहिले संसदीय व्यवस्था, पुँजीवाद अनि आवधिक निर्वाचनमा जानुभएको छ। त्यही भएर भौतिकवादलाई समर्थन गरेर उहाँहरूको राजनीति अघि जाँदैन। उहाँले अनिवार्य रूपमा आफ्नो आदर्शलाई फेर्नुपर्ने बाध्यता हुन्छ। उहाँहरू अध्यात्ममा जानैपर्छ।”

उनले संसारभरिका सत्ता र मतदाता दुवै धार्मिक रूपमा जोडिएका उल्लेख गर्दै माओवादीले आफ्नो पुरानो दर्शनशास्त्र फेरेको धारणा राखे।

मध्यप्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई इन्दौर विमानस्थलमा स्वागत गरेका थिए

तस्बिर स्रोत, ChouhanShivraj/Twitter

तस्बिरको क्याप्शन, मध्यप्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई इन्दौर विमानस्थलमा स्वागत गरेका थिए

गत मङ्सिरमा सम्पन्न आमचुनावभन्दा अघि भारतको सत्तारूढ दल भारतीय जनता पार्टीको निम्तोमा नयाँ दिल्ली भ्रमण गरेका प्रचण्डले त्यसबेला उक्त दलसँग पार्टीगत सम्बन्ध विस्तार गर्ने प्रतिबद्धता जनाएका विवरण आएका थिए।

आमचुनावमा उनको दलले तेस्रो स्थान ल्याए पनि पहिले दोस्रो ठूलो दल नेकपा एमाले र त्यसपछि सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थन जुटाएर हाल उनी सत्ताको नेतृत्व गरिरहेका छन्।

प्रधानमन्त्रीका रूपमा चौथो पटक नयाँ दिल्ली पुगेका उनले यसपालि सार्वजनिक रूपमा नै महाकालेश्वर मन्दिरमा पूजा गरे।

विश्लेषकहरूले माओवादीमा हालैका वर्षहरूमा देखिएका वैचारिक परिवर्तनसँगै भारतमा व्यापक भएको हिन्दूवादी राजनीतिसँग पनि प्रचण्डको उज्जैनको भ्रमणलाई जोडेर हेर्नुपर्ने बताएका छन्।

रेखा
यो पनि पढ्नुहोस्
रेखा

प्रचण्डले कस्तो प्रस्टीकरण दिइरहेका छन्

हिन्दू पुराणहरूमा वर्णन गरिएको भारतका १२ ज्योतिर्लिङ्गमध्ये महाकालेश्वर पनि एक भएको बताइन्छ।

पौराणिक कालदेखि उक्त ज्योतिर्लिङ्गको पूजा गर्ने परम्परा निरन्तर रहेको उक्त मन्दिरको वेबसाइटमा उल्लेख छ।

सन् २०२२ मा प्रधानमन्त्री नरेन्द्र मोदीले जीर्णोद्धार गरिएको ज्योतिर्लिङ्गसहितको महाकाल लोक करिडरको उद्घाटन गरेका थिए।

झन्डै ८५० करोड भारतीय रुपैयाँमा खर्च गरेर उक्त मन्दिरलाई नयाँ स्वरूप दिने घोषणा गरिएको थियो र उक्त जीर्णोद्धार पहिलो चरणको अभियानअन्तर्गत सम्पन्न गरिएको थियो।

प्रचण्ड

तस्बिर स्रोत, PIB India

तस्बिरको क्याप्शन, दुई प्रधानमन्त्रीले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवर्द्धनबारे छलफल गरेका थिए

एउटा अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले उक्त स्थानमा भ्रमण गर्नका लागि भारतबाट पनि सुझाव आएको र आफ्नो इच्छा पनि मिलेको बताएका थिए।

नयाँ दिल्लीबाट फर्कने क्रममा प्रचण्डले आफ्नो उक्त भ्रमणको बचाउ गर्दै आफू धर्म निरपेक्षताप्रति प्रतिबद्ध रहेको जनाएका थिए।

गेरु वस्त्र लगाएर नयाँ अवतारमा देखिएको भन्दै सोधिएको प्रसङ्गमा उनले त्यसलाई कुनै नयाँ ठान्न नपर्ने बताएका थिए।

उनको भनाइ थियो, “क्रिश्चियनको गिर्जाघरमा गएर मैले मन्त्र जपेको कति तस्बिर तपाईँहरूले लिनुभएको छ। लुम्बिनीमा गएर बौद्ध धर्मावलम्बीहरूको कार्यक्रममा सहभागी भएको तपाईँहरूले हेर्नुभएको छ कि छैन? हिन्दूकोमा जान नहुने अरूकोमा जान हुने भन्ने हुन्छ?”

उनले आफू साँचो अर्थमा धर्म निरपेक्षतावादी भएको दाबी गर्दै कुनै पनि धर्मको विरोधी नभएको बताएका थिए।

उनले आफ्नो भ्रमणलाई सांस्कृतिक कूटनीतिक रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै उक्त मन्दिर गएर त्यहाँका मान्यता मिच्न उपयुक्त नहुने हुँदा गेरु वस्त्र लगाएको टिप्पणी गरेका थिए।

उनले भनेका थिए, ‘… प्रोटोकल मिचेर भए पनि मलाई लाउन नदिनूस् भन्दा भारतका करोडौँ जनताको मनमा चिसो पस्ने भयो नेपाल र नेपालका प्रधानमन्त्रीप्रति। त्यो हाम्रो देशका लागि फाइदा हुन्थ्यो त?”

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

X पोस्ट समाप्त

'भारतीय सत्ताको मन जित्ने रणनीति'

नेपाल-भारत सम्बन्धमा गहिरो दखल राख्ने पत्रकार युवराज घिमिरे प्रधानमन्त्री प्रचण्डले भारतीय सत्तालाई प्रभावित पार्ने सहितका रणनीति लिएर उज्जैनको मन्दिरको भ्रमण गरेको ठान्छन्।

उनले भने, “प्रचण्डले भारतबाट आउने नेताहरूलाई पटक पटक तिमीहरूले नेपालमा म जस्तो साथी पाउँदैनौँ भन्ने गरेको मलाई थाहा छ। उनको विचारमा के ले त्यस्तो विश्वसनीयता देखाउँछ, मोदीलाई खुसी बनाउँछ त्यो उनले एउटा मन्दिर भ्रमणबाट हुनसक्छ भन्ने उनले सोचे होलान्।”

नेपालमा हिन्दूराज्य स्थापना र राजतन्त्र पुनर्स्थापनाको माग प्रत्यक्षरूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्दै आएको छ।

देश दौडाहाका क्रममा दिएका आफ्ना वक्तव्यहरूमा पूर्वराजा ज्ञानेन्द्रले नेपालको मौलिक धर्म र सभ्यतामाथि आक्रमण भएको भन्दै ‘स्व-धर्ममा एकजुट हुनुपर्ने’मा जोड दिँदै आएका छन्।

पत्रकार घिमिरे थप्छन्, “नेपालमा राजा ज्ञानेन्द्रले जुनसुकै ठाउँको भ्रमण गर्दा स्थानीय तीर्थस्थलको भ्रमण गर्छन्। त्यो गतिविधि भइरहँदा यहाँ दलहरूको लोकप्रियतामा उल्लेख्य रूपमा गिरावट आइरहेको छ। हिन्दू राष्ट्रको दबाव परिरहेका बेला म पनि कम हिन्दू होइन भनेर उनले भारतलाई एउटा सन्देश दिन खोजेको हुनसक्छ।”

प्रचण्ड

तस्बिर स्रोत, cmprachanda.com

तस्बिरको क्याप्शन, पहिलो पटक प्रधानमन्त्री हुँदा प्रचण्ड नेतृत्वको सरकारले पशुपतिनाथको भारतीय मुलभट्ट फेर्ने प्रयास गरेका थिए

सशस्त्र द्वन्द्वकालमा कतिपय ठाउँमा मठ मन्दिर तोडफोड गर्ने र शोक बारेर बसेका किरियापुत्रीको हत्या गर्ने जस्ता अरूको धार्मिक आस्थामाथि प्रहार गर्ने कतिपय गतिविधि माओवादीले गरेका दृष्टान्त दिँदै पत्रकार घिमिरेले हिन्दूराष्ट्रको मुद्दाले पूर्वराजालाई शक्ति प्रदान गरिरहेको जोड घटाउ दाहालले गरेको हुनसक्ने तर्क गरे।

उनी थप्छन्, “उनीहरूले सत्तामा हुँदा पशुपतिनाथ मन्दिरको भट्ट नै फेर्ने प्रयास गरे। तर त्यसबेला पहिलो पटक आफ्नो निर्णयबाट पछि हट्नुपर्ने परिस्थिति बन्यो। यस्ता कारणले एउटा भावना आएको हुनसक्छ।”

भारतमा प्रचण्डको मन्दिर यात्राले कतिपयलाई विक्रम सम्वत् २०६६ मा प्रचण्डले सुनसरीको चतराधाम पुगेर ‘भैँसी पूजा’ गर्दै आफ्नो ग्रह शान्ति गराएको एउटा प्रसङ्गलाई सम्झाइदिएको छ।

उज्जैनमा प्रचण्डले महाकालेश्वरको पूजा गरेपछि प्रचण्डका विगतका सहयात्री तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले समाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “हामी कता जाँदैछौँ? देश कता जाँदै छ?”

कतिपयले पुत्रवियोग र श्रीमतीको स्वास्थ्य अवस्था जस्ता पारिवारिक कारणले पनि प्रधानमन्त्री प्रचण्डमा मन्दिर भ्रमणको इच्छा देखिएको हुनसक्ने ठान्छन्।

तर प्रधानमन्त्रीले आफू विज्ञानमा विश्वास गर्ने भन्दै श्रीमतीको स्वास्थ्यलाभको कामना गर्ने हिसाबले महाकालेश्वर नगएको स्पष्टिकरण काठमाण्डू आएर दिएका छन्।

रेखा
यो पनि पढ्नुहोस्
रेखा

पूर्व राजा र केपी ओलीलाई कुनै सन्देश दिने रणनीति हो?

भारतबाट फर्किए लगत्तै उनी परराष्ट्रमन्त्री एनपी साउद समेतलाई लिएर खप्तडमा आयोजित एउटा आध्यात्मिक सम्मेलनमा भाग लिन पुगेका थिए।

पत्रकार घिमिरे जस्ता कैयौँ भारतको उज्जैनको तीर्थयात्राले अब प्रधानमन्त्री प्रचण्डलाई पशुपतिनाथको मन्दिरको पनि दर्शन गर्ने बाटो खुलेको ठान्छन्।

घिमिरेले भने, “पूर्वप्रधानमन्त्री ओलीले पनि हिन्दू कार्ड खेलेका छन्। पशुपतिमा जलहरी चढाए। राम जन्मिएको ठाउँको कुरा गरे। प्रतिस्पर्धी कम्युनिस्ट पार्टी र पूर्वराजाबाट पनि हिन्दू धर्मको कुरा आइरहेको छ। मलाई लाग्छ अब प्रचण्डलाई पशुपतिनाथको भ्रमण गर्न बाटो खुलेको छ।”

पार्टीभित्रको अन्तरसङ्घर्ष चुलिएका बेला तत्कालीन नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पशुपतिनाथमा विशेष पूजा गरेका थिए।

फाइल फोटो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पूर्वराजा ज्ञानेन्द्रले नेपालको मौलिक धर्ममाथि आक्रमण भएको भन्दै ‘स्व-धर्ममा एकजुट हुनुपर्ने’मा जोड दिँदै आएका छन्

प्रचण्डले विगतमा कतिपय धार्मिक यज्ञहरूमा समेत सहभागिता जनाएका विवरणहरू आएका थिए।

सन् २०२१ मा आफ्नो गृह जिल्ला चितवनमा उनले कम्युनिस्टहरूले मानिसहरूको धर्मप्रतिको आस्थालाई सम्मान गर्ने धारणा राखेका थिए।

* नोटः यसअघि यो लेखको एक वाक्यमा नेपालका प्रधानमन्त्री प्रचण्ड हुनुपर्नेमा अन्यथा हुन गएकोले त्यसलाई सच्चाएका छौँ। र त्यसबाट पर्न गएको असुविधाका निम्ति क्षमा प्रार्थी छौँ ।