ट्रम्प र पुटिन नजिकिँदा चीन-रुस सम्बन्धमा कस्तो असर पर्न सक्छ

तस्बिर स्रोत, Getty Images
- Author, बीबीसी विश्व सेवा र बीबीसी चीन एकाइ
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प दशकौँदेखि जारी अमेरिकी विदेशनीतिलाई उल्टाउँदै रुससँग नजिकिन पुगेका पुगेका छन्।
उनले युक्रेन युद्ध अन्त्यका लागि शान्ति सम्झौतासम्बन्धी प्रश्नमा पुटिनको पक्षमा लागेर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुसका कडा सर्त स्वीकार गर्न दबाव दिएका छन्।
रुसले युक्रेनमाथि आक्रमण गरी उसको केही भूभाग कब्जा गरेको अवस्थामा ट्रम्पले त्यस्तो दबाव दिएका हुन्।
उनले आफ्ना युरोपेली सहयोगीहरूलाई पनि अमेरिकाले उनीहरूको रक्षाका लागि सहयोगको निरन्तरता दिने अपेक्षा नगर्न भनेका छन्।
यी सबै घटनाले पुटिनलाई सहयोग पुग्ने सङ्केतहरू दिइरहेका छन् भने के अमेरिकाले नयाँ कूटनीतिक रणनीति अपनाइरहेको छ कि भन्ने प्रश्न पनि उठाएको छ।
के यो चीनबाट रुसलाई टाढा बनाउने प्रयासको ठूलो योजनाको एउटा हिस्सा हो? वा ट्रम्पका व्यवहार उनको व्यक्तिगत भावना र पुटिनसँगको निकटताको प्रतिफल मात्र हुन्?
ट्रम्प प्रशासनले कसरी रुसको पक्ष लिइरहेको छ?

तस्बिर स्रोत, Reuters
रुसतर्फ ढल्किने खालको व्यापक परिवर्तनको पहिलो सङ्केत गत फेब्रुअरी १२ मा ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग ९० मिनेट लामो टेलिफोन वार्ता गरेपछि देखिएको थियो।
त्यसपछि उनले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई शान्ति सम्झौतामा सहमत बन्नका लागि दबाव दिए।
ट्रम्पले जेलेन्स्कीलाई रुसले कब्जा गरेको क्षेत्र उसैलाई सुम्पन आग्रह गरे तर युक्रेनका लागि अमेरिकाबाट कुनै सुरक्षाको प्रत्याभूति गरेनन्।
उनले राष्ट्रपति पुटिनसँगको आफ्नो कुराकानीबारे भनेका छन्, "हामीले सँगै काम गर्ने सहमति गरेका छौँ। धेरै नजिकबाट काम गर्ने र एकअर्काको देशमा भ्रमण पनि गर्ने छौँ।"
ट्रम्पले युद्ध समाप्त भएपछि युक्रेन नेटोको सदस्य पनि बन्न नसक्ने बताएका छन्।
उनका पूर्वर्ती जो बाइडनले युक्रेनलाई नेटो सदस्य बनाउने प्रतिबद्धता जनाएका थिए।
रुसले भने उक्त योजनालाई कडा रूपमा विरोध गरेको थियो।
त्यस बेलादेखि ट्रम्पले जेलेन्स्कीलाई "असक्षम" र "तानाशाह" पनि भन्न थालेका छन्।
ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउसको बैठकमा युक्रेनले युद्ध "कहिल्यै सुरु गर्नु हुँदैनथ्यो" पनि भने। त्यो भनेको पुटिनले कुनै बेला गरेकोजस्तै टिप्पणी हो।
ट्रम्पले युक्रेनमा द्वन्द्वपछि शान्ति स्थापनाको भूमिका खेल्नेका लागि युरोपेली देशका सेनाहरूलाई राख्ने विषयमा पनि अमेरिकी समर्थन प्राप्त नहुने बताएका छन्।
रुसले युक्रेनमा पश्चिमी देशहरूका सेना राख्ने योजनालाई कडा र स्पष्ट रूपमा विरोध गर्दै आएको छ।
युक्रेनमा युद्ध सुरु भएको तेस्रो वर्ष पुगेका बेला संयुक्त राष्ट्रसङ्घमा भएको मतदानमा पनि अमेरिका रुसको पक्षमा उभियो। उसले युक्रेनमा हमला गरेकोमा रुसको निन्दा गर्न पनि अस्वीकार गर्यो।
के अमेरिका रुसलाई चीनबाट टाढा लैजान यस्तो गर्दै छ?

तस्बिर स्रोत, Getty Images
आफ्ना युरोपेली साझेदारहरूसँग दूरी बढाउँदै रुससँग निकट हुने यो कदम विगत ८० वर्षमा अमेरिकाले लिँदै आएको विदेश नीतिविपरीत हो।
यद्यपि अहिले नै ट्रम्प प्रशासनको यो कदम विदेश नीतिसम्बन्धी रणनीतिकै हिस्सा हो कि होइन भन्ने स्पष्ट भएको छैन।
अमेरिकी विदेशमन्त्री मर्को रुबिओले एउटा अनुदारवादी समाचार संस्था ब्रेइटबार्टसँग कुराकानी गर्दै गत फेब्रुअरी २५ मा राष्ट्रपति ट्रम्प र उनको प्रशासनले रुस र चीनबीचको साझेदारीलाई कमजोर पार्ने लक्ष्य राखेको बताएका छन्।
उनले भनेका छन्, "मलाई लाग्छ रुसीहरू स्थायी रूपमा चीनको कनिष्ठ साझेदार भएको अवस्था छ। चीनमा निर्भर भएकाले उनीहरूले उसले भनेको गर्नुपर्ने हुन्छ। मलाई लाग्दैन- त्यसले रुसका लागि राम्रो प्रतिफल दिन्छ र यो अमेरिका वा युरोपका लागि पनि राम्रो प्रतिफल दिने विषय होइन।"
अमेरिकाका लागि त्यो खतरनाक हुन सक्ने उनले बताए। रुबिओले भने, "तपाईँ संयुक्त राज्य अमेरिकाविरुद्ध दुईवटा आणविक शक्तिहरूको गठबन्धनको कुरा गर्दै हुनुहुन्छ।"
रुबिओले अमेरिकाले बेल्ट एन्ड रोड इनिशटिभ अर्थात् बीआरआई भनिने चीनले अघि बढाइरहेको विश्वव्यापी व्यापार सञ्जाललाई पनि चुनौती दिन खोजिरहेको बताए।
रुबिओको टिप्पणीप्रति चीनले कडा प्रतिक्रिया दिएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जिआनले भने, "चीन र रुसबीच असमझदारी बढाउने अमेरिकी प्रयास असफल हुने निश्चित छ। चीन र रुसबीच दीर्घकालीन विकास रणनीति र विदेश नीतिहरू तय भएका छन्।"

तस्बिर स्रोत, Getty Images
रुबिओले प्रस्तुत गरेको रणनीतिअनुसार रुसलाई चीनबाट टाढा लगेर उसलाई कमजोर बनाउने काम अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सनले कुनै बेला तत्कालीन सोभियत सङ्घबाट चीनलाई पर पुर्याउन अपनाएको रणनीतिको ट्याक्कै उल्टो नीतिका रूपमा हेर्न सकिन्छ। त्यसलाई निक्सनको कूटनीतिक विजय ठानिएको थियो।
निक्सनले त्यस बेला रुसलाई अलग पारेर चीनसँग सम्बन्ध स्थापित गरेका थिए।
त्यसै गरी ट्रम्पले रुससँग सम्बन्ध विस्तार गरेर चीनलाई एक्ल्याउन खोजेका हुन सक्छन्। टिप्पणीकारहरूले यसलाई "रिभर्स निक्सन" वा "रिभर्स किसिन्जर" योजना भनेका छन्।
आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार हेन्री किसिन्जरको सल्लाहमा निक्सनले सन् १९७२ मा चीनसँग एउटा सन्धिमा हस्ताक्षर गरेका थिए।
त्यस बेला सोभियत सङ्घ र चीन दुवै कम्युनिस्ट शासन भएका देश दिए र अमेरिकाविरोधी गठबन्धनको हिस्सा थिए।
अमेरिकी थिङ्क ट्याङ्क काउन्सिल फर फरन रिलेशन्सले रुबिओको योजनाबारे यसो भनेको छ, "ह्वाइट हाउस र यसका चीनविरोधी आक्रामक विदेश नीतिका रणनीतिकारहरूले चीनलाई विश्वभरिबाट एक्ल्याउन र उसको बढ्दो विश्वव्यापी उपस्थितिमा क्षति पुर्याउन रुससँग मिलेर काम गर्न सकिन्छ भन्ने विश्वास गरेको देखिन्छ।"
"अमेरिका रुसलाई चीनका लागि कच्चा पदार्थ आपूर्ति गर्ने उसको उपनिवेश बनेको देख्न चाहँदैन," लन्डन स्कूल अफ ईकोनमिक्सका अतिथि प्राध्यापक क्लाउस वेले भन्छन्।
"यसको अर्थ रुसीहरूले आफ्ना स्रोत चीनलाई सस्तोमा बेचिरहेका छन् र त्यसले गर्दा चीनलाई अमेरिकामाथि हाबी हुनलाई मद्दत गरिरहेको छ भन्ने हो।"
यद्यपि यूकेस्थित थिङ्क ट्याङ्क इन्टर्न्याश्नल इन्स्टिच्यूट फर स्ट्रटीजिक स्टडिजका डा डेना एलिनका अनुसार ट्रम्पले आफ्नो रणनीतिका लागि पूर्ण शक्ति लगाउन सक्छन्।
उनले भने, "यो ट्रम्पको सोचसँग मिल्ने खालको विदेश नीति होइन तर उनले यो सम्भव छ भन्ने सोच्न पनि सक्छन्। तर यो मार्को रुबिओ र अन्य परम्परागत रिपब्लिकन विदेश नीतिका दिग्गजहरूबाट आएको हो र उनीहरू ह्वाइट हाउसका मुख्य खेलाडी भने होइनन्।"
के 'रिभर्स किसिन्जर' रणनीतिले काम गर्ला?

रुस र चीनलाई छुट्याउन खोज्दा अमेरिकालाई अप्ट्यारो पनि पर्न सक्छ।
यी दुई देशले सन् २०२२ मा रुसले युक्रेनमा हमला गर्नुअघि "कुनै सीमा नै नभएको" मित्रताको घोषणा गरेका थिए। त्यस बेलादेखि उनीहरूबीच व्यापारिक सम्बन्ध विस्तार भएको छ।
चीन अहिले रुसी कच्चा तेलको सबैभन्दा ठूलो आयातकर्ता हो। उसले सन् २०२४ मा ६२ अर्ब डलर बराबरको कच्चा तेल खरिद गरेको थियो।
सन् २०२१ मा उक्त रकमको दुईतिहाइ मात्र रुसी कच्चा तेल चीन निर्यात भएको थियो।
रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिमी राष्ट्रहरूले उसको तेलमा प्रतिबन्ध लगाए। त्यसले चीनलाई त्यहाँबाट तेल किन्न थप सहज भयो।
सेमिकन्डक्टरहरू (त्यसमध्ये धेरै अस्त्रमा प्रयोग हुन्छन्) सहित कम्प्युटर चिपलगायत रुसमा अत्याधुनिक र उच्च प्रविधिका सामानहरू निर्यात गर्ने महत्त्वपूर्ण भूमिकामा पनि चीन रहेको छ।
अमेरिकी थिङ्क ट्याङ्कहरू अमेरिकन एन्टर्प्राइज इन्स्टिच्यूट र कार्नेगी इन्डोमन्ट फर इन्टर्न्याश्नल पीसका प्रतिवेदनहरूमा रुसले आयात गर्ने चिपको ठूलो हिस्सा चीनबाट जाने गरेको बताइएको छ।

तस्बिर स्रोत, Getty Images
शङ्घाई अक्याडमी अफ ग्लोबल गभर्नेन्स एन्ड एरिआ स्टडिजका प्राध्यापक याङ चेङ रुस र अमेरिकाबीच "ऐतिहासिक अविश्वास [र] वैचारिक भिन्नताको जटिलता"का कारणले पूर्ण गठबन्धन वा साझेदारी असम्भव रहेको बताउँछन्।
"रुस अमेरिकी विदेश नीतिको एकपक्षीय अस्त्र बन्नुको सट्टा रणनीतिक स्वायत्तता कायम राखेर अघि बढ्छ," उनले बीबीसीसँग भने।
"मलाई लाग्छ पुटिनले केही समय अमेरिकाको दृष्टिकोणसँग खेल्न सक्छन्," स्वीडिश इन्स्टिच्यूट अफ इन्टर्न्याश्नल अफेअर्सका हेन्रिक वाच्मेस्टर भन्छन्।
"तर उनी अमेरिकाले प्रस्ताव गरे पनि चीनसँगको आफ्नो सम्बन्धलाई दाउमा लगाउन चाहँदैनन्। रुस र चीन स्रोतका हिसाबले प्राकृतिक सहयोगी हुन्, तर रुस र अमेरिका होइनन्। तेल र ग्यासको व्यापारको कुरा गर्दा तिनीहरू प्रतिस्पर्धी हुन्।"
के व्यक्तिगत कारणले ट्रम्प रुसको पक्षमा देखिएका हुन्?

तस्बिर स्रोत, Getty Images
एलिन रुस र पुटिनलाई समर्थन गर्ने ट्रम्पको मनसाय कूटनीतिक रणनीतिको हिस्सा नभई "अत्यन्तै व्यक्तिगत" विषय भएको बताउँछन्। उनी ट्रम्पको पहिलो कार्यकालदेखि नै त्यस्तो देखिएकोमा जोड दिन्छन्।
यसअघिको अमेरिकी चुनावी अभियानमा रुसले हस्तक्षेप गरेको आरोप लगाइएको थियो र ट्रम्प तथा उनको टोलीलाई त्यसमा साँठगाँठ गरेको आरोप लागेको थियो।
ह्वाइट हाउसमा जेलेन्स्कीसँगको हालैको भेटमा ट्रम्पले पुटिनबारे "मैले उनलाई लामो समयदेखि चिनेको छु" भनेका थिए।
"ट्रम्पले आफू र पुटिनलाई एउटै डुङ्गामा सवार भएका पीडित व्यक्तिका रूपमा हेरेका छन्," एलिन भन्छन्।
"हामीलाई ट्रम्प र रुसबीच राम्रो स्थापित सम्बन्ध छ भन्ने थाहा छ," प्रोफेसर वेले भन्छन्।
उनी रुसमा ट्रम्पको घरजग्गासम्बन्धी परियोजनाले सफलता पाएको उदाहरण दिँदै रुसबाट उनले सधैँ सकारात्मक अनुभव गरेको बताउँछन्।
लेखन - जेरमी हावल, अङ्कुर शाह, ज्याक लउ लेखन, उत्पादन - एफ्रेम ग्रेब्रेयाब, सम्पादन - केट फोर्ब्स
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








