'ट्रम्पको सोचाइ पुटिनसँग मिल्दोजुल्दो': के यो 'उदारवादी विश्व व्यवस्था'को अन्त्य हो?

ट्रम्प तथा अन्य नेताका चित्रण

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ट्रम्पका नीतिहरूले विश्व व्यवस्थामा व्यापक फेरबदल ल्याउने विश्लेषकहरूले बताइरहेका छन्
    • Author, ग्रिगर एटनेसियन
    • Role, बीबीसी रसियन

युक्रेनमाथि अतिक्रमण गरिएको तीन वर्षयता अमेरिका तथा उसका साझेदार देशहरूले रुसलाई अन्तर्राष्ट्रिय कानुन उल्लङ्घनमा दोषी भन्दै अन्तर्राष्ट्रिय रूपमा बहिष्कृतको व्यवहार गरेका थिए।

तर अहिले आएर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले परिस्थितिलाई पूरै बदलिदिए: रुसलाई आक्रमणकारी वा युक्रेनलाई युद्धपीडित भन्न अस्वीकार गर्दै उनले मस्कोसँग सम्बन्ध पुनर्स्थापन गरे। शुक्रवार ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच युद्ध र त्यसको अन्त्य गर्ने तरीकाबारे भएको सार्वजनिक चर्काचर्कीले परिवर्तित परिस्थिति विश्वसामु छरपस्ट भयो।

कतिपयका निम्ति अब 'उदारवादी विश्व व्यवस्था' – जसको जरा सन् १९९०को दशकम बसेको थियो – अब अन्त्यतिर लम्कँदै छ, तर के वास्तविकता त्यही हो?

उदारवादी वर्चस्वको युग

'उदारवादी विश्व व्यवस्था' भनेको प्रतिबद्धता, सिद्धान्त तथा स्थापित मापदण्डहरूमा बाँधिएको अन्तर्राष्ट्रिय सम्बन्धको एउटा प्रणाली हो। यसको केन्द्रमा अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसङ्घ, महासभा र सुरक्षा परिषद्‌जस्ता संस्थाहरू पर्छन्।

'उदारवादी विश्व व्यवस्था'ले खुला व्यापारजस्ता निश्चित मूल्यमान्यताको पनि प्रतिनिधित्व गर्छ जसको कार्यान्वयन विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ), अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व ब्याङ्कजस्ता निकायले गर्छन्। आधारभूत रूपमा यसले बोक्ने मान्यता भनेको पश्चिमा उदारवादी प्रजातन्त्रले उत्तम शासन व्यवस्थाको प्रतिनिधित्व गर्छ भन्ने नै हो।

राष्ट्रसङ्घ महासभाका प्रस्तावहरू वा अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे)का फैसलाहरूले अन्तर्राष्ट्रिय कानुनमा गरिएका उल्लङ्घनलाई आधिकारिक रूपमा तोक्छ। सुरक्षा परिषद्ले त्यसपछि आर्थिक प्रतिबन्ध, वा खास मामिलामा, सैन्य कारबाहीको अनुमति दिन सक्छ।

व्यवहारमा चाहिँ राष्ट्रसङ्घको अनुमतिबेगर नै आर्थिक प्रतिबन्ध वा सैन्य हस्तक्षेप हुने गर्छन् – जुन व्यवहारको रुसले लामो समयदेखि आलोचना गर्दै आएको छ। सन् २००७ को म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका थिए: "बल प्रयोग त्यतिखेर मात्रै वैध मान्न सकिन्छ जतिखेर राष्ट्रसङ्घले त्यसको अनुमति दिएको हुन्छ। राष्ट्रसङ्घलाई हामीले नेटो वा ईयू (युरोपेली सङ्घ)द्वारा विस्थापन गर्न आवश्यक छैन।"

सन् २०२३ मा वार्सामा बोल्दै तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेन युद्धलाई कानुनमा आधारित व्यवस्थालाई मान्ने तथा केवल शक्तिका आडमा चलाइने व्यवस्था मान्नेहरूबीच "स्वतन्त्रताको निम्ति लडिएको महान् युद्ध" भनेर व्याख्या गरेका थिए।

धेरै देशहरूको आँखामा युक्रेनमा अतिक्रमण गरेर रुसले अन्तर्राष्ट्रिय कानुनको मात्र उल्लङ्घन गरेको थिएन बरु विश्व मामिला सञ्चालनको तरीकाप्रति नै चुनौती प्रस्तुत गरेको थियो।

सन् २०१४ यता पुटिन आफैँले राष्ट्रसङ्घको अनुमतिबेगर सैन्य शक्ति परिचालन गरेका छन्। पश्चिमा दृष्टिकोणमा युक्रेनविरुद्ध रुसी आक्रमण अन्तर्राष्ट्रिय कानुनमा आधारित व्यवस्थामाथि शीत युद्धयताकै सबैभन्दा ठाडो उल्लङ्घन हो।

जेलेन्स्की र ट्रम्प

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, ओभाल अफिसमा भएको भेटमा ट्रम्प र जेलेन्स्कीबीच युक्रेन युद्धबारे भनाभन भएको छ

"हामीले विश्व व्यवस्थाका तीन प्रकारका ठोस सिद्धान्त उल्लङ्घन भएको देख्यौँ," प्रिन्सटन विश्वविद्यालयका राजनीति एवं अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक जी जोन आइकनबेरीले फाइनान्सियल टाइम्सलाई भनेका छन्।

"एउटा, तपाईँले बल प्रयोग गरेर भौगोलिक सिमाना परिवर्तन गर्नुहुन्न भन्ने। दोस्रो, गैरसैनिकविरुद्धको हिंसालाई युद्धको एउटा औजारका रूपमा प्रयोग गर्नुहुन्न। अनि तेस्रो, तपाईँले परमाणु अस्त्र प्रयोगको धम्की दिनुहुन्न। तर पुटिनले सुरुका दुईवटा काम गरे अनि तेस्रो धम्की पनि दिए। त्यसैले कानुनमा आधारित व्यवस्थाका निम्ति यो साँच्चिकै सङ्कट हो," उनले भने।

प्रतिक्रियामा रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले पश्चिमा जगत्‌को कार्यशैलीले अन्तर्राष्ट्रिय कानुन तथा राष्ट्रसङ्घीय निकायहरूलाई अटेर गरेको बताएका छन्।

सन् १९९९ मा नेटोले युगोस्लाभियामा गरेका बमबारी, सन् २००३ मा अमेरिकी नेतृत्वमा इराकमा भएको अतिक्रमण र सन् २००८ मा कोसोभोको स्वतन्त्रतालाई दिइएको मान्यतालाई राष्ट्रसङ्घ सुरक्षा परिषद्को अनुमतिबेगर गरिएका त्यस्ता उल्लङ्घनका उदाहरणका रूपमा मस्कोले बारम्बार प्रस्तुत गर्ने गर्छ।

इजरेल-हमास द्वन्द्वमा वाशिङ्टनको अडान वर्तमान उदारवादी विश्व व्यवस्थाको एउटा महत्त्वपूर्णमध्येको परीक्षण हो। कैयन् देशहरूले बाइडन प्रशासनले इजरेललाई दिएका सैन्य समर्थनको आलोचना गर्दै वाशिङ्गटनले दशौँ हजार प्यालेस्टिनीहरूको मृत्युप्रति बेवास्ता गरेको आरोप लगाएका छन्।

"यो एकदम प्रस्ट रूपमा पाखण्ड हो, दोहोरो मापदण्ड," टर्कीको संसद्का सभामुख नुमान कुर्तुलमसले वाशिङ्गटन पोस्टसँगको अन्तर्वार्तामा भने।

"यो एक प्रकारको जातिवाद हो किनभने प्यालेस्टीनी पीडितहरूलाई युक्रेनी पीडित सरह तपाईँले मान्नुभएको छैन अर्थात् मानवजातिभित्र तपाईँ एक किसिमको तहगत श्रेणी बनाउन चाहनुहुन्छ। यो अस्वीकार्य छ।"

आइकनबेरीले 'उदारवादी विश्व व्यवस्था' खास गरी "अमेरिका, अमेरिकी डलर र अमेरिकी अर्थतन्त्रसँग जोडिएको" स्वीकारे। "राष्ट्रसङ्घको सुरक्षा परिषद्‌भन्दा नेटो र साझेदारहरू (महत्त्वपूर्ण भए)।" छोटकरीमा यसलाई अमेरिकाको 'उदारवादी वर्चस्व'का रूपमा सोच्न सकिने उनले बताए।

अमेरिकाको बदलिएको शैली: लागुकर्ताबाट बाधक

जो बाइडन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, पूर्वराष्ट्रपति जो बाइडनले युक्रेनलाई निकै साथ दिएका थिए

विद्यमान अन्तर्राष्ट्रिय व्यवस्थालाई चुनौती दिन खोज्ने देशहरूलाई परम्परागत रूपमा 'संशोधनवादी शक्ति'को सङ्ज्ञा दिइन्छ। लामो समयदेखि अमेरिकी नीतिनिर्माता तथा विश्लेषकहरूले चीन र रुसलाई उक्त सङ्ज्ञा दिएका छन्। दुवै देशले अन्तर्राष्ट्रिय मञ्चमा अमेरिकी प्रभाव क्षीण बनाउन खोजेको उनीहरू ठान्छन्।

तर पछिल्ला महिनाहरूमा अमेरिका स्वयं संसारको अग्रणी संशोधनवादी शक्ति बनिरहेको र ट्रम्प प्रशासनले व्यापार अनि प्रजातान्त्रिक ऐक्यबद्धता तथा मानवअधिकार रक्षासहित 'उदारवादी विश्व व्यवस्थाका हरेक पक्ष'लाई भत्काउने काम गरिरहेको प्राध्यापक आइकनबेरीले भने।

"मेरो प्रशासनले विगतका प्रशासनहरूको विदेश नीति विफलताबाट निर्णायक बदलाव गर्दै छ। स्पष्ट भन्दा विगतबाट बदलाव गर्दै छ," ट्रम्पले हालै भने। उनको टोलीले अवलम्बन गर्न थालेका अन्य ठूला परिवर्तन भन्दा यो परिवर्तनलाई रोक्न कङ्ग्रेस वा न्यायालयलाई कठिन हुनेछ किनकि विदेश नीति राष्ट्रपतिको पूर्ण अधिकारक्षेत्रभित्र पर्छ।

अमेरिकी स्वार्थका रूपमा प्रस्तुत गरेर ट्रम्प प्रशासनले रुससँग मेलमिलापका आफ्ना कदमहरूलाई ठीक ठहर्‍याउँदै छ।

"निरन्तर युद्ध रुसका लागि खराब हो, युक्रेनका लागि खराब हो अनि युरोपका लागि खराब हो भन्ने हामीलाई लाग्छ। सबैभन्दा महत्त्वपूर्ण त यो अमेरिकाको लागि खराब हो," उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जालमा लेखेका छन्।

तर ट्रम्पको कूटनीतिक क्रान्ति उनका नीतिहरूमध्ये सबैभन्दा कम लोकप्रिय नीति बनेको छ। ताजा मत सर्वेक्षणअनुसार ट्रम्पले लिएको आप्रवासन नीति सबैभन्दा बढ्ता रुचाइएको छ भने रुस-युक्रेन युद्ध र इजरेल-हमास द्वन्द्वमा उनको अडानलाई सबभन्दा कम रुचाइएको छ।

दुई तिहाइभन्दा धेरै अमेरिकीहरू युक्रेनलाई साझेदार मुलुक मान्छन्। आधा अमेरिकीले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई राम्रो मानेका छन्।

ट्रम्पको कूटनीतिक उथलपुथल

प्यालेस्टाइन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, नेटो साझेदारलगायत कैयन् देशहरूले प्यालेस्टीनीहरूको भविष्यप्रति अमेरिकाले पाखण्ड र बेवास्ता प्रदर्शन गरेको आरोप लगाएका छन्

"सन् २०२५ को फेब्रुअरीमा आइपुग्दा विद्यमान कानुनमा आधारित विश्व व्यवस्था उल्ट्याउने खतरा अमेरिकाबाट देखिएको छ," अक्सफोर्ड विश्वविद्यालयको रुसी तथा युरेसियन स्टडिजकी अनुसन्धानकर्ता डा जुली न्युटनले भनिन्।

युक्रेनको प्राकृतिक स्रोतमाथि ट्रम्पले गरेको नियन्त्रणको मागलाई उनले प्रमाणको रूपमा प्रस्तुत गरिन्। अन्य प्रमाणमा रुससँगको सम्बन्ध सामान्यीकरणका प्रयास, जेलेन्स्कीविरुद्ध उनले गरेका सार्वजनिक रुखा टिप्पणी अनि युरोपका अतिदक्षिणपन्थी दलहरूलाई ट्रम्पका समर्थकहरूले दिएको समर्थन रहेको डा न्युटनले औँल्याइन्।

युक्रेन अतिक्रमणको तेस्रो वर्षगाँठ – फेब्रुअरी २४ – मा अमेरिकाले राष्ट्रसङ्घको महासभामा रुसी आक्रमण र युक्रेनी भूभाग कब्जालाई निन्दा गरिएको प्रस्तावविरुद्ध मतदान गर्‍यो।

त्यसको साटो अमेरिकी कूटनीतिज्ञहरूले 'रुसी महासङ्घ-युक्रेन द्वन्द्वमा भएको दुखद मानवीय क्षति'प्रति शोक जनाइएको अर्को प्रस्ताव राखे। यसबीच ट्रम्पले वाशिङ्टन र मस्कोबीच आर्थिक सम्बन्ध पुनर्स्थापना गर्नेबारे पुटिनसँग आफूले कुराकानी गरिरहेको बताए।

"ट्रम्पको कूटनीतिक क्रान्तिले हेलसिङ्की चार्टरका सिद्धान्त भत्काएको छ भने आफ्नै साझेदारका आँखामा अमेरिका प्रतिद्वन्द्वीका स्वरूपमा खडा गरिदिएको छ," डा न्युटनले बताइन्।

सन् १९७५ को हेलसिङ्की एकर्ड्समा अमेरिका, सोभियत युनियन तथा युरोपेली देशहरूमाझ भौगोलिक अखण्डता, सिमानाको पालनाको अपरिहार्यता तथा अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नेबारे सहमति भएका थिए।

"ट्रम्पले पुटिनले जस्तै सोच्छन् – १९औँ शताब्दीका साम्राज्यवादीजस्तै," जोन्स हप्किन्स विश्वविद्यालयका रुस विज्ञ सेर्गेइ राडचेन्कोले भने।

"रुसलाई दबाव दिन युरोपसँग महत्त्वपूर्ण आर्थिक बल र वित्तीय औजार छन्," राडचेन्कोले भने। "पुटिनसँग ट्रम्पको वार्ता जहाँ पुगे पनि युरोपेली देशहरूले समानान्तर ढङ्गले रुससँग तिनको सम्बन्ध सामान्यीकरण गर्लान् भनेर कल्पना गर्न गाह्रो छ।"

एट्लान्टिक काउन्सिलको युरेसिया सेन्टरकी शेल्बी मगिदले 'उदारवादी विश्व व्यवस्था'को अन्त्यको घोषणा गरिहाल्न हतारो हुने भनिन्। रुसविरुद्ध अमेरिकी प्रतिबन्धहरू अझै कायम छन् र ट्रम्प प्रशासनले रुसले युक्रेन युद्ध अन्त्य गरेपछि मात्र ती प्रतिबन्ध फुकुवा हुने बताएको छ।

"अलि कच्चा र खतरनाक ढङ्गमा (सम्बन्ध) सामान्यीकरण हुने जोखिमप्रति म सहमत छु। तर हामी त्यो बिन्दुमा पुगिसकेका छैनौँ," मगिदले भनिन्। "आखिरमा युद्ध कसरी अन्त्य हुन्छ अनि शान्ति कसरी कायम गरिन्छ भन्ने विषयले विश्व व्यवस्थामाथि दिगो प्रभावलाई निर्दिष्ट गर्ने छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।