डोनल्ड ट्रम्पले कस्ता कर थपे, कुनकुन देश मारमा पर्न सक्छन्

तस्बिर स्रोत, Getty Images
- Author, जेरेमी हावल र ओनुर एरम
- Role, बीबीसी विश्व सेवा
क्यानडा र मेक्सिकोले गैरकानुनी आप्रवासन र अवैध फेन्टनिलको तस्करी रोक्नुपर्ने भन्दै संयुक्त राज्य अमेरिकाले मार्च ४ देखि विभिन्न वस्तुमा आयातकर लगाउन लागेको छ।
अमेरिकाले यसअघि विदेशबाट ल्याइने सामानमा फेब्रुअरी महिनादेखि नयाँ कर लगाउने घोषणा गरेको थियो। तर एक महिनापछि त्यो कार्यान्वयनमा आउन लागेको छ।
अमेरिका राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकाल सुरु गर्दै विदेशी वस्तुहरूमा चर्को कर लगाउने घोषणा गरेका थिए।
उनले क्यानडा र मेक्सिकोले आफ्नो भूमि देश हुँदै अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासीको प्रवाह र फेन्टनिल औषधिको तस्करी नरोके ती देशबाट सामान आयात गर्दा २५ प्रतिशत कर लगाउने बताएका थिए। उनी चीन र युरोपेली सङ्घबाट भित्रिने सामानहरूमा १० प्रतिशत कर लगाउने योजनामा छन्।
चीन, मेक्सिको र क्यानडा अमेरिकाका मुख्य व्यापार साझेदारहरू हुन्।
कर लगाएपछि त्यसले उनीहरूको अर्थतन्त्रलाई नराम्ररी मर्का पर्न सक्छ र अमेरिकी उपभोक्ताका लागि पनि मूल्यवृद्धि हुन सक्छ।
'ट्यारिफ' के हो र कसरी लागु हुन्छ

तस्बिर स्रोत, Getty Images
आयातित सामानहरूमा लगाइने करलाई 'ट्यारिफ' भनिन्छ।
यस्तो कर सामान निर्यातकर्तामा नभई आयात गर्ने कम्पनीहरूमा लागु गरिन्छ र यो आयातको मूल्यको अनुपातमा हुन्छ।
यदि कुनै कम्पनीले कार आयात गर्दै छ र त्यसको मूल्य ५०,००० डलर छ र त्यसमा २५ प्रतिशत कर तोकिएको छ भने प्रत्येक कार किन्नका लागि उसले थप १२,५०० डलर तिर्नुपर्छ।
अन्तिममा करको आर्थिक भार कसलाई पर्छ भन्ने प्रश्न निकै जटिल छ।
यदि अमेरिकाको कम्पनीले आयात गर्दै छ र उसले करको मूल्य जो व्यक्तिले सामान किन्दै छ उसमाथि उच्च खुद्रा मूल्य तोकेर लियो भने आर्थिक भार त्यही अमेरिकी उपभोक्ताले बेहोर्नुपर्छ।
ट्रम्प किन यस्तो करको पक्षमा छन्?
डोनल्ड ट्रम्प प्राय: के बताउँछन् भने यस्तो कर लगाउँदा त्यसले अमेरिकामा घरेलु रोजगारी सिर्जना र संरक्षण गर्छ। त्यसै गरी यसले गर्दा राजस्व बढ्ने र अमेरिकी अर्थतन्त्र वृद्धि हुने उनको दाबी छ।
"मेरो योजनाअन्तर्गत, अमेरिकी कामदारहरूले आफ्नो जागिर गुम्ने चिन्ता अब गर्नुपर्दैन," सन् २०२४ मा चुनावी अभियानका बेला उनले भनेका थिए। "बरु, विदेशी राष्ट्रहरूले आफ्ना नागरिकको रोजगारी गुम्नेबारे चिन्ता गर्नुपर्नेछ।"
बीबीसीका आर्थिक सम्पादक फैजल इस्लामले ट्रम्पले विश्वव्यापी आर्थिक नक्सालाई बदल्न चाहेको र अमेरिकासँग चीन तथा युरोपको आयातभन्दा निर्यात बढी हुने अवस्था घटाउन चाहेको बताए। तर त्यसले "अमेरिकालाई हानि पुग्ने" इस्लामको दृष्टिकोण छ।
ट्रम्पले राष्ट्रपतिका रूपमा सन् २०१८ मा स्टील र एल्यमिनिअममा पनि यस्तो कर लगाएका थिए र त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षाको बचाउ गर्ने बताएका थिए।
ट्र्म्पले आफ्नो पहिलो कार्यकालमा कस्ता कर लगाएका थिए?

तस्बिर स्रोत, Getty Images
सन् २०१८ मा ट्रम्पले आयातित लुगा धुने मशीन र सोलर प्यानलहरूमा ५० प्रतिशतसम्म कर लगाएका थिए। अमेरिकी सरकारले यी दुवै सामग्रीका उत्पादकहरूले देशबाहिरबाट अन्यायपूर्ण प्रतिस्पर्धाको सामना गरिरहेको जनाएको थियो।
उनले आयातित स्टीलमा २५ प्रतिशत र एल्यमिनिअममा १० प्रतिशत कर लगाएका थिए।
'नाफ्टा' भनिने 'नोर्थ अमेरिकन फ्री ट्रेड अग्रीमन्ट' अर्थात् खुला व्यापार सम्झौताका कारण मेक्सिको र क्यानडाबाट भित्रिने स्टील र एल्यमिनिअममा कर छुट दिइन्थ्यो। तर उक्त सम्झौतालाई पछि यूनाइटिड स्टेट्स मेक्सिको क्यानडा अग्रीमन्ट (यूएसएमसीए) ले प्रतिस्थापित गर्यो।
अमेरिकालाई सबैभन्दा धेरै स्टील निर्यात गर्नेमध्येको एक युरोपेली सङ्घले पनि जबाफस्वरूप ३ अर्ब डलरभन्दा बढी मूल्य बराबरका अमेरिकी सामग्रीको निर्यातमा कर लगायो। त्यस्ता निर्यातका वस्तुमा जिन्स, बोर्बन र हार्ली डेभिड्सन मोटरसाइकलसमेत रहेका थिए।
ट्रम्पले ३६० अर्ब डलरभन्दा बढी मूल्यका चिनियाँ वस्तुहरूमा पनि कर लगाए। ती वस्तुमा मासुदेखि साङ्गीतिक वाद्यवादनका सामाग्रीसम्म पर्थे। चीनले पनि जबाफस्वरूप ११० अर्ब डलरभन्दा बढीका अमेरिकी सामानहरूमा पनि कर लगायो।
जो बाइडन राष्ट्रपति हुँदा धेरैजसो करहरू कायमै राखिए र विद्युतीय गाडीहरूमा थप कर लगाइयो।
ट्रम्पले पहिलो कार्यकालमा लगाएको करले अन्य देशहरूमा कस्ता असर पारेका थिए?
ट्रम्पले लगाएका करहरूले केही निश्चित देशहरूबाट अमेरिका आयात हुने सामग्रीको परिमाण घटायो, तर अन्य देशहरूबाट अमेरिकाले आयात गर्ने सामग्रीको परिमाण बढायो।
सन् २०१८ अगाडि अमेरिका आयात हु मध्ये २० प्रतिशतभन्दा बढी वस्तुहरू चिनियाँ थिए। अमेरिकाको तथ्याङ्कसम्बन्धी निकायका अनुसार अहिले त्यसको मात्रा १५ प्रतिशतभन्दा कम छ।
सन् २०२३ सम्ममा चीनलाई उछिनेर मेक्सिको अमेरिकामा सबैभन्दा धेरै सामान निर्यात गर्ने देश बनेको छ। अहिले उसले अमेरिकामा ४७६ अर्ब डलरको सामान निर्यात गर्छ जबकि चीनले भने ४२७ अर्ब डलर मात्रै निर्यात गर्छ।
खास गरी धेरै कार निर्माता कम्पनीहरूले अमेरिकासँगको खुला व्यापार सम्झौताको फाइदा लिन र निर्माणका लागि पनि कम लागत पर्ने भएका कारण आफ्नो निर्माण मेक्सिकोमा सारेका थिए।
सन् २०२३ मा मेक्सिको गाडी बनाउने विश्वको सातौँ ठूलो देश बनेको छ।

तस्बिर स्रोत, Getty Images
ट्रम्पले चीनमा चर्को कर लगाएपछि पूर्वी एशियाका देशहरूले अमेरिकामा गर्ने निर्यात पनि बढ्यो।
अमेरिकी उपभोक्ताहरूलाई चिनियाँ सामानहरूभन्दा ती देशमा सामानहरू सस्तो परेका कारण पनि त्यस्तो भएको हो। अर्को कारण भनेको थुप्रै चिनियाँ कम्पनीहरूले अमेरिकी कर छल्न आफ्नो कम्पनी पूर्वी एशियाका अन्य देशहरूमा सारे।
'यूएस ट्रेड रेप्रिजेन्टटिभ'को तथ्याङ्कअनुसार इन्डोनेशिया, फिलिपिन्स, थाईल्यान्ड र भियतनामसमेत सामेल रहेको व्यापार समूह 'आसिआन'बाट सन् २०१६ मा अमेरिकामा १५८ अर्ब डलर बराबरको सामान निर्यात भएको थियो। तर सन् २०२३ मा त्यहाँबाट झन्डै ३३८ अर्ब डलर बराबरको निर्यात भएको छ।
"सन् २०१८ मा लगाइएको करका कारण सबैभन्दा बढी मार परेको देश चीन हो," यूकेमा रहेको यूनिभर्सिटी अफ ससेक्सका अर्थशास्त्री डाक्टर निकोलो टाम्बेरीले भने।
"मलाई लाग्छ त्यो चरणमा लगाइएको करका कारण सम्भवतः सबैभन्दा बढी फाइदा भियतनामले लियो।"
पिटर्सन इन्स्टिट्यूट फर इन्टर्न्याश्नल ईकनोमिक्सका अनुसार कर लगाइएपछि अमेरिकामा स्टील र एल्यमिनिअमको उत्पादन बढ्यो तर सँगै धातुको भाउ पनि बढ्यो। परिणामस्वरूप अन्य निर्माण उद्योगहरूमा हजारौँ मानिसको जागिर गुमेको उसले जनाएको छ।
पिटर्सन इन्स्टिट्यूटले ट्रम्पको कर लगाउने निर्णयले सबैतिर मूल्य बढेको र अमेरिकी उपभोक्ताहरू सबैभन्दा मारमा परेको जनाएको हो।
अमेरिकाले अहिले लगाउन खोजेको कर कस्तो हो, अरू योजना के छ?

तस्बिर स्रोत, Getty Images
अमेरिकाका वाणिज्यमन्त्री हावर्ड लट्निकका अनुसार मार्च ४ देखि क्यानडा र मेक्सिकोबाट आउने सामानमा आयातकर लाग्ने छ। सीमा सुरक्षामा सुधार गर्न ती देशलाई एक महिनाको समय दिइएको थियो।
क्यानडाबाट आयात गरिने पेट्रोलिअम पदार्थजस्ता ऊर्जाका लागि आवश्यक वस्तुमा पनि १० प्रतिशत कर लाग्ने छ।
गैरकानुनी औषधि फेन्टनिल बनाउन चाहिने पदार्थ चीनबाट तस्करी हुने गरेको भन्दै अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगाउने निर्णय गरेको थियो। चीन सरकारले त्यस्तो सामानको व्यापार रोक्नुपर्ने भन्दै ट्रम्पले मार्च ४ देखि चिनियाँ आयातमा अतिरिक्त १० प्रतिशत कर लाग्ने सक्ने बताए।
चीनले अमेरिकाबाट आयात हुने कोइला, तेल, ग्यास, खेतीपातीका लागि चाहिने उपकरण र ठूला इन्जिन भएका कारमा आयातकर लगाएर अमेरिकी कदमको जबाफ दिइसकेको छ। चीनले विद्युतीय सामग्री र सैन्य उपकरण बनाउन चाहिने 'रेअर अर्थ' भनिने खनिज पदार्थ अमेरिकाबाट आयात गर्न प्रतिबन्ध लगाइसकेको छ।
अमेरिकाले मार्च १२ देखि विश्वका सबै स्थानबाट आयात गरिने स्टील र एल्यमिनिअम आयातमा २५ प्रतिशत कर लगाउन लागेको छ।
यो कदमबाट ब्रजिल, क्यानडा, चीन, जर्मनी, मेक्सिको, द नेदरल्यान्ड्स, दक्षिण कोरिया, भियतनामजस्ता स्टील उत्पादन गर्ने राष्ट्र र यूएई र बाहरेनजस्ता एल्युमिनिअम उत्पादकहरू मारमा पर्ने छन्।
ट्रम्पले त्यसरी कर लगाउँदा अमेरिकामा स्टीलको मूल्य नबढ्ने दाबी गरेका छन्।
"बरु त्यो सस्तो हुन्छ," उनले भने।
पछिल्ला करहरूले क्यानडा र मेक्सिकोलाई कसरी मार पर्नसक्छ?

तस्बिर स्रोत, Getty Images
यदि हाल चर्चामा रहेका करहरू लागु भए त्यसले खास गरी क्यानडा र मेक्सिकोको अर्थतन्त्रमा ठूलो क्षति पुग्ने यूकेमा रहेको न्याश्नल इन्स्टिट्यूट अफ ईकनोमिक एन्ड सोशल रिसर्चका प्राध्यापक स्टीभन मिलर्डले बताए।
यी दुवै देश अमेरिकामा धेरै निर्भर छन्। अमेरिकाले अहिले मेक्सिकोले देशबाहिर निर्यात गर्नेमध्ये ८३ प्रतिशत वस्तुहरू खरिद गर्छ भने क्यानडाको निर्यातको ७६ प्रतिशत अमेरिका भित्रिन्छ।
"क्यानडाले ठूलो मात्रामा तेल र मशीनरी अमेरिकालाई बिक्री गर्छ," प्राध्यापक मिलर्डले भने, "र २५ प्रतिशत कर लगाउँदा पाँच वर्षको अवधिमा उसको गार्हस्थ्य घरेलु उत्पादन ७.५ प्रतिशतले खुम्चिन्छ, त्यो असाध्यै उल्लेख्य असर हो।"
"मेक्सिकोमा २५ प्रतिशत कर लागु गरियो भने त्यहाँ कार बनाउन बनाइएका केन्द्रहरू सजिलै आफ्नै देशमा फर्किने छन्।"
"करले पाँच वर्षको अवधिमा मेक्सिकोको १२.५ प्रतिशत कुल गार्हस्थ्य उत्पादन घटाउने छ। यो धेरै ठूलो असर हुने छ।"
अमेरिकी थिङ्क ट्याङ्क विल्सन सेन्टरमा रहेको मेक्सिको इन्स्टिट्यूटकी लिला आबेदले मेक्सिकन कामदारका लागि अमेरिकाले दिएको कर लगाउने धम्की "विनाशकारी" हुने बताइन्।
"करिब ५० लाख अमेरिकीको जागिर अमेरिका-मेक्सिको व्यापारमा भर पर्छ... र हालैको एउटा अध्ययनका अनुसार मेक्सिकोमा करिब १४ लाख ६० हजार मानिसको रोजगारी नर्थ अमेरिकी साझेदारहरूसँग निर्भर रहन्छ," उनले भनिन्।
क्यानडाले बीअरदेखि घरायसी प्रयोजन तथा खेलकुदका सामग्रीसम्मका अमेरिका उत्पादनमा २५ प्रतिशत कर लगाएर जबाफ दिने धम्की दिएको छ। मेक्सिकोले पनि प्रतिकारात्मक उपाय अवलम्बन गर्ने उद्घोष गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








