नेपालमा एमसीसी परियोजना स्थगित, भविष्यबारे 'अन्योल'

एमसीसी नेपाल

तस्बिर स्रोत, Getty Images/File

तस्बिरको क्याप्शन, नेपालमा विवादित रहेको एमसीसी परियोजना अगाडि बढाउन विभिन्न सरकारका पालामा विभिन्न सहमति भएका थिए

नेपालमा अमेरिकाको एक मुख्य सहयोग कार्यक्रम एमसीसी अहिलेका लागि स्थगन गरिएको अर्थ मन्त्रालयका प्रवक्ता बीबीसीलाई बताएका छन्।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले आफ्नो कार्यक्रम स्थगनबारे मन्त्रालयका अधिकारीलाई इमेलबाट जानकारी दिएकाले मन्त्रालयले स्थगनको निर्णय गरेको सहसचिव श्यामप्रसाद भण्डारीले बताए।

यो निर्णयलाई गत महिना मात्र अमेरिकाको राष्ट्रपतिको कार्यभार सम्हालेका डोनल्ड ट्रम्पको वैदेशिक सहायता कटौती गर्ने नीतिको प्रभाव मानिएको छ।

ट्रम्पको नीतिको असर?

अमेरिकामा डोनल्ड ट्रम्पको प्रशासनले खर्च कटौतीका निम्ति भन्दै अमेरिकी सहयोग नियोग यूएसएआईडीका कार्यक्रम बन्द गरिदिएको थियो।

त्यसको असर नेपालमा पनि परेको छ।

तर एमसीसीबारे भने केही भनिएको थिएन।

अर्थ मन्त्रालयको पछिल्लो जानकारी पछि एमसीसीबारे पनि अन्योल बढेको बताइएको छ।

विद्युत् र सडकका आयोजनामा सहयोग

अमेरिकी अनुदानअन्तर्गत एमसीसीले नेपालमा विद्युत् र सडक पूर्वाधारमा लगानी गरिरहेको थियो।

अमेरिकाको ५०० मिलियन डलर र नेपालको १९७ मिलियन डलर खर्च गरेर ३०० किलोमिटर विद्युत् प्रसारण लाइन र सबस्टेशन निर्माण अनि ७७ किलोमिटर सडकको स्तरोन्नति र मर्मतको लक्ष्य राखिएको थियो।

लामो विवाद

नेपालले २०७४ सालमै एमसीसी कम्प्याक्ट सम्झौतामा हस्ताक्षर गरेको थियो।

तर उक्त सम्झौता नेपालमा निकै विवादित बन्यो। खास गरी वामपन्थी दलहरूले यसलाई अमेरिकाको सामरिक इन्डोप्यासिफिक रणनीतिको हिस्सा भन्दै स्वीकार्न चाहेनन्।

तर २०७८ को फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित संसदले एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदन गरेको थियो।

त्यसपछि एमसीसीको खास कार्यान्वयन डेढ वर्षअगाडि सुरु भएको थियो।

नेपाल र संयुक्त राज्य अमेरिकाबीच हस्ताक्षर भएको एमसीसी कम्प्याक्ट नेपालभित्रको राजनीतिक खिचातानीको केन्द्रमा रहेको थियो।

नेपालको इतिहासमा नै कुनै पनि देशले दिएको सर्वाधिक ठूलो उक्त अनुदान वाशिङ्टनले काठमाण्डूलाई 'जबरजस्ती लादिदिएको' टिप्पणी बेइजिङले गरेको थियो।

सन् २०२२ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले एमसीसीलाई सदनबाट अनुमोदन गराएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।