'पुटिनकी महिला मित्रको' सार्वजनिक जीवनमा अप्रत्याशित पुनरागमनको अर्थ के?

तस्बिर स्रोत, Getty Images
- Author, एलिजाभेटा फोक्ट
- Role, बीबीसी रुस
पूर्व ओलिम्पिक जिम्न्यास्ट एलिना काबाएभा स्वतन्त्र रुसी मिडियामा कहिलेकाहीँ राष्ट्रपति भ्लादिमिर पुटिनकी 'मित्र' भनेर चिनाइन्छिन्, उनीमाथि पश्चिमा देशहरूले प्रतिबन्धहरू जारी गरेका छन् र उनी देशको प्राय: भडकिलो अभिजात्य वर्गभित्रकी गोपनियता कायम राखिएकी व्यक्तिहरूमध्ये एक हुन्।
तर हालैका महिनाहरूमा काबाएभाले सार्वजनिक जीवनमा एउटा नाटकीय पुनरागमन गरेकी छन्।
उनले जिम्न्यास्टिक सिकाउने आफ्नो संस्था 'स्काई ग्रेस' को प्रचारप्रसार गर्दै आएकी छन्। उनले सार्वजनिक जीवनमा आउन किन यो क्षण रोजिन्?
र उनको यो निर्णयले हामीलाई भ्लादिमिर पुटिनसँग नजिक रहेका वा निर्भर रहेकाहरूबारे के बताउँछ?
छायाँबाट बाहिर निस्किनु
गत वर्ष कजानमा भएको 'ब्रिक्स गेम्स'मा रुस, बेलारुस, काजकस्तान, थाईल्यान्ड, सर्बिया र अन्यत्रका प्रतिस्पर्धीहरू थिए त्यसमा 'स्काई ग्रेस' क्लबको ब्यानरमा रुसी टोलीबाहेक अलग्गै एकाइको रूपमा रुसी खेलाडीहरूले खेलेका थिए।
यो बीआरआईसीएस अन्तर्गतका देशहरूले बर्सेनि खेल्ने र ब्रिक्सले आयोजना गर्ने खेल हो।
उक्त क्लब दुई वर्षअघि मात्रै स्थापना भएको थियो – तर स्काई ग्रेसका लागि देखाइएको असाधारण सदाशयताबारे व्याख्या गर्न त्यति कठिन छैन: किनभने स्काई ग्रेसकी संस्थापक तथा प्रमुख एलिना काबाएभा हुन्।
उनी रुसकी चर्चित खेलाडीमध्ये एक हुन् र उनले जिम्न्यास्टिक्समा ओलिम्पिक साथै थुप्रै विश्व शीर्षकहरूमा सफलता पाएकी छन्।
तर हालै भने उनको चर्चा उनको खेलमा पाएको उपलब्धिका कारणभन्दा पनि भ्लादिमिर पुटिनसँगको उनको कथित सम्बन्धका कारण बढी छ – र पुटिनका कान्छा सन्तानहरू उनीसँगबाट नै भएको बताइन्छ।
शरद ऋतुमा प्रकाशित एक अनुसन्धानले उनीहरूका दुई वटा छोरा भएको दाबी गरेको थियो।
सन् २०२२ मा अमेरिका, बेलायत र युरोपेली सङ्घले काबाएभामाथि लगाएको प्रतिबन्धको आधारका रूपमा 'निकट सम्बन्ध'लाई उल्लेख गरिएको थियो।
पुटिन आफैले काबाएभासँगको सम्बन्ध कहिल्यै स्वीकार गरेका छैनन्। सन् २००८ मा उनीहरूबीच छिट्टै विवाह हुन लागेको भन्ने हल्लामा प्रतिक्रिया जनाउँदै उनले "रुघाखोकीले ग्रस्त नाक र कामुक कल्पनाहरू लिएर अरूको जीवनमा चियोचर्चो गर्न खोज्छन् तिनीहरूलाई म राम्रो मान्दिनँ," भनेका थिए।

तस्बिर स्रोत, Getty Images
पुटिनको व्यक्तिगत जीवनबारेको जानकारी रूसभित्र छलफल गर्न नहुने रूपमा लिइन्छ।
उनका मरिया वोरोन्त्सोभा र क्याटरिना तिखनोभा नामक दुई छोरी भएको ठानिन्छ र उनीहरू अत्यन्तै नाफादायक चिकित्सा संस्थानकी शीर्ष व्यवस्थापक र मस्को स्टेट युनिभर्सिटीको १.७ अर्ब डलरको विकास परियोजनाका प्रमुख हुन्।
आना सिभिलएभा पनि राष्ट्रपति पुटिनकी नातेदार हुन् र उनी उप-रक्षा मन्त्रीको पदमा पुग्न सफल भएकी छन्। उनी पेसाले मनोचिकित्सक हुन्।
तर यीमध्ये न पुटिनले न यी महिलाहरू कसैले पारिवारिक सम्बन्धबारे केही पुष्टि गरेका छन्।
उनीहरू तिनै जनामाथि प्रतिबन्ध लागेको छ र सामान्य रुसीको भन्दा उनीहरूले व्यावसायिक रूपमा निकै फड्को मारेका छन् र विशेष व्यवहार र फाइदाहरू लिएको देखिएको छ।
त्यसैले सन् २०१५ मा काबाएभाले पुटिनको सन्तानलाई जन्म दिएको भन्ने विवरणहरू आउँदा त्यसलाई सरासर अस्वीकार गरिनुमा कुनै आश्चर्य थिएन।
यद्यपि सन् २००७ मा आफ्नो खेलबाट अवकाश पाएपछि एलिना काबाएभाको रुसको सम्भ्रान्त वर्गमा तीव्र रूपमा निकटता र उचाइ बढ्यो।
उनले रुसको संसद्को सदस्यका रूपमा सात वर्ष सेवा गरिन्। त्यसपछि पुटिनको निकट साझेदार यूरी कोभाल्चुकको न्याश्नल मिडिया ग्रुपमा बोर्ड अफ डिरेक्टर्सको अध्यक्षता काबाएभाले गरिन्।

तस्बिर स्रोत, Getty Images
प्रभावशाली पदहरू ओगटे पनि उनी सार्वजनिक रूपमा भने देखा पर्न खोजिनन् र छायामै रहिन् अनि मिडियामा पनि कहिल्यै देखा पर्न चाहिनन्।
केही पत्रिकाहरूले उनलाई रिपोर्टहरूका लागि अनुपलब्ध विषय भनेर व्याख्या गरे।
सन् २०२२ को शरद याममाकुराहरू एक्कासि बदलिए। युक्रेनसँग पूर्ण स्तरको युद्ध जारी नै थियो। काबाएभाले जिम्न्यास्टिक क्लबको अन्तर्राष्ट्रिय एसोसिएसन 'स्काई ग्रेस'को स्थापना भएको घोषणा गरिन्।
त्यसको लगत्तै सोचीमा रहेको ब्ल्याक सी रिसोर्टमा स्काई ग्रेस एकेडेमी खुल्यो जुन राष्ट्रपति पुटिनको पहलमा स्थापना गरिएको सिरिअस शैक्षिक केन्द्रमा रहेको थियो।
सन् २०२३ को मार्च महिनामा नयाँ उक्त विद्यालयलाई देशको प्राकृतिक ग्यास कम्पनी ग्याजप्रोमले दुई करोड ४० लाख डलर मूल्य बराबरको भवन उपहार स्वरूप दिइएको विवरणहरू आयो।
काबाएभाको नयाँ क्लबले पाएको हैसियतबाट रुसका अन्य खेल संस्थाहरू लोभिन्थे। उसले आफूलाई मिल्ने गरी मिति, नियम र प्रतियोगिताहरू आयोजना गर्न सक्थ्यो।
त्यसबाहेक पदकहरू पनि उसले नै आफ्नो विवेकका आधारमा दिन सक्थ्यो। यी सबै कारणले रुसी खेल क्लबहरूमा स्काई ग्रेस नौलो छ।
"स्काई ग्रेस एउटा अलग्गै खेलका रूपमा सञ्चालित छ र उसले आफ्नै नियमहरू मान्छ। आफ्नै नियमहरू अनुसार प्रतियोगिताहरू आयोजना गर्छ र यही खेलका आधारमा सम्मान पनि गर्छ," एक पत्रकारले आफ्नो नाम नखोल्ने सर्तमा भने।
उनले काबाएभा संलग्न रहेका जिम्न्यास्टिक खेलहरूको पनि समाचार गरेका छन्।
"अर्को शब्दमा, जिम्न्यास्टिक्ससँगै, काबाएभाले आफैले बनाएका दस्ताबेजहरूका आधारमा एउटा समानान्तर खेल पनि बनाएकी छन्," ती पत्रकारले भने।

तस्बिर स्रोत, Getty Images
त्यो सबै भइरहँदा काबाएभाका विद्यार्थीहरूले गत वर्ष खेलमा भाग लिन युरोपको भ्रमण गरे।
तटस्थ स्थितिमा प्रतिस्पर्धा गरिरहेका भए पनि रुसको निलम्बनपछि यस्ता यात्रा पहिलो पटक भएको थियो। र अन्य कुनै पनि रुसी क्लबका जिम्न्यास्टहरूलाई यो अवसर प्रदान गरिएको थिएन।
त्यति बेलासम्म काबाएभामाथि पश्चिमा देशहरूले प्रतिबन्ध लगाइसकेका थिए। अचानक उनी फेरि सार्वजनिक रूपमा देखा परिन् र रुसी सञ्चारमाध्यमहरूले उनीबारे थुप्रै समाचारहरू लेखे।
लाइट्स, क्यामरा... एक्सन
स्काई ग्रेसले सामाजिक सञ्जालमा आफ्नो उपस्थिति बढाइरहेको छ। उसको टेलिग्राम च्यानलमा काबाएभाले सुझाए अनुसार विद्यार्थीहरूले तालिम गरिरहेका दर्जनौँ भिडिओहरू छन्।
ती भिडिओहरूमा क्यामराबारे काबाएभालाई खिचिरहेको थाहै नभएजस्तो गरी देखाइएको छ। तर खेल पत्रकारहरू उनको भिडिओ खिचिरहेको उनलाई थाहै नहुने परिस्थिति हुने सम्भावना नरहेको बताउँछन्।
हामीले कुरा गरेका खेल पत्रकारहरूले क्यामेरामा काबाएभाको उपस्थितिलाई अत्यन्त सावधानीपूर्वक खिचिने गरेको बताए।
"एलिना काबाएभाको कुनै पनि फोटो वा भिडिओ उनको जानकारी र अनुमति बिना अनलाइनमा देखिँदैन। गोप्य रूपमा कसैले उनको candid रेकर्डिङ गरेर पोस्ट गर्न सम्भव नै छैन," पत्रकारले भने।
"एलिनाले क्यामेराको कोणदेखि, बत्तीको व्यवस्था र उनको मेकअपमा कुनै समायोजन आवश्यक छ कि छैन भन्ने सबै कुरामा आफ्नो स्वीकृति दिन्छिन्।"
सार्वजनिक रूपमा देखा नै नपर्ने र पृष्ठभूमि त्याग्ने उनको अचानकको निर्णय किन त? यकिन गरेर भन्न सम्भव छैन, तर काबाएभाले सार्वजनिक ध्यान पुनः खिच्न खोज्नु र युक्रेनमा युद्ध हुनु अनि प्रतिबन्धहरू लाग्नु सबै एकै पटक भएका छन्।

तस्बिर स्रोत, Getty Images
पुटिनका छोरीहरू ठानिएका मारिया भोरोन्त्सोभा र क्याटरिना तिखोनोभा पनि सार्वजनिक रूपमा देखा पर्न थालेका छन्। गत वर्ष सेन्ट पिटर्सबर्ग इकोनोमिक इन्भेस्टमेन्ट फोरममा उनीहरू देखा परेका थिए।
युद्ध सुरु भएयता यो कार्यक्रमप्रति विदेशी पाहुनाहरूको आकर्षण गुमेको छ तर भ्लादिमिर पुटिनको अधिकारको प्रदर्शन र सम्भावित लाभ लिनसक्नेका लागि आकर्षणका रूपमा रहेको छ।
स्वतन्त्र सञ्चारमाध्यमहरूको ती व्यक्तिहरू को हुन् भन्ने खुलासा र उनीहरू प्रतिबन्धमा परिसकेका तथ्यहरूको अर्थ उनीहरूको पहिचान लुकाउनुको कुनै तुक नहुन सक्छ।

तस्बिर स्रोत, Getty Images
युक्रेन युद्धको एउटा असर भनेको रुसका सम्भ्रान्त वर्गमा नातावाद र जाँच र सन्तुलनको कमजोर बनावटको पर्दा हट्नु हो।
गोपनीयता अब सान्दर्भिक, सम्भव वा सायद चाहिएकै छैन।
काबाएभासहित अन्य आफन्त भएको ठानिएकाहरूको आफ्नै व्यक्तिगत महत्त्वाकाङ्क्षाहरू हुन सक्छन्।
राष्ट्रपति पुटिनसँगको निकटपनाको अर्थ उनीहरूले त्यस्ता महत्त्वाकाङ्क्षाहरूबाट अवश्यम्भावी रूपमा अरूको ध्यान आकर्षित गर्ने छन्।
काबाएभा आफ्नो एकेडेमीको विकासमा ध्यान केन्द्रित गर्दै छन्।
स्काई ग्रेस अब एक अन्तर्राष्ट्रिय सङ्घको रूपमा प्रवर्द्धित गरिँदै छ। गत नोभेम्बरको अन्तिममा कतारमा एउटा प्रमुख प्रतियोगिता आयोजना गरियो जहाँ एलिना काबाएभा आफैँ आयोजकको भूमिकामा थिइन्।
त्यसबारे रुसी सञ्चारमाध्यममा धेरै समाचारहरू बने। खेलसम्बन्धी प्रमुख च्यानलले त आफ्ना मुख्य टिप्पणीकार नै त्यहाँ पठाएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








