पुटिन र किमले एकअर्कालाई कस्ता उपहार दिए

तस्बिर स्रोत, Reuters
- Author, जेमा क्रू
- Role, बीबीसी न्यूज
उत्तर कोरियाका नेता किम जङ अनको निम्तोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन प्योङ्याङ पुग्दा दुई नेताबीच उपहार आदानप्रदान पनि भयो।
त्यस्ता उपहारमा रुसमा निर्मित लिमजीन, चियादानी र चिया पिउन प्रयोग हुने कप आदिको सेट अनि कलाकृति पनि छन्।
चौबीस वर्षपछि उत्तर कोरिया गएका पुटिनले त्यहाँ भव्य स्वागत पाए। प्रसन्न मुद्रामा किमले उनलाई अङ्कमाल गर्दै स्वागत गरे।
पुटिनको स्वागतमा बाटोछेउ रिसल्ला र बलूनहरू थिए भने भवनहरूमा दुई नेताका विशाल पोस्टर टाँगिएको थियो। चियापान र साङ्गीतिक कार्यक्रम पनि आयोजना गरिएको थियो।
पुटिनले दिए विलासी कार
क्रेम्लिनका सहयोगी युरी युशाकोभलाई उद्धृत गर्दै रुसी सरकारी सञ्चारमाध्यमले किमसँग करिब दुई घण्टा एक्लाएक्लै कुराकानी गरेका पुटिनले उत्तर कोरियाली नेतालाई महँगो 'आउरूस' लिमजीन कार दिएका जनाएको छ।
दुई राष्ट्र प्रमुखहरू एउटा आउरूस कारमा चढेर घुमेको देखिने तस्बिरहरू सार्वजनिक भएका छन्। उक्त कार पुटिनले चलाएको र किम उनीसँगै बसेको देखिन्छ। तर त्यो कार नै उपहार दिइएको हो कि हैन भन्ने स्पष्ट छैन।
गत फेब्रुअरीमा पनि पुटिनले किमलाई रुसमा बनाइएको एउटा आउरूस कार उपहार दिएका थिए। पुटिन आफैँ पनि त्यस्तै कार प्रयोग गर्छन्।
त्यस बेला पुटिनले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको उल्लङ्घन गर्दै त्यो कार उत्तर कोरिया पठाएका थिए।

तस्बिर स्रोत, EPA
कारका सौखिन किम
किमलाई कारका सौखिन मानिन्छन्। उनीसँग महँगा र विलासी विदेशी गाडीहरूको सङ्ग्रह छ। यसपालि उनलाई कुन मोडलको आउरूस कार दिइयो भन्ने खुलेको छैन।
उनलाई एउटा माइबाह लिमजीन, कैयौँ मर्सिडिज, एउटा रोल्ज-रोइस फ्यान्टम र एउटा लेक्सस स्पोर्ट्स यूटिलिटी भिअकल (एसयूभी)मा सवार भएको देखिएको छ।
पुटिनले किमलाई एउटा 'टी सेट' र एउटा छुरी पनि दिएको बताइएको छ।
रुसी सरकारी सञ्चारसंस्था तासका अनुसार युशाकोभले चियाको सेट "निकै सुन्दर" भएको बताएका छन्। उनले पुटिनले पनि "धेरै राम्रा उपहारहरू" प्राप्त गरेको बताए।
उनका अनुसार त्यस्ता उपहारमा कलाकृतिहरू पनि छन्। उनले सङ्केत गरेअनुसार केही मूर्तिसहित ती
"राष्ट्रपतिको छविसँग सम्बन्धित" छन्।
तासले जनाएअनुसार युशाकोभले ती सबै कलाकृति "उत्कृष्ट" खालका भएको बताएका छन्।
गत मे महिनामा पुटिन मस्कोस्थित क्रेम्लिनमा एउटा उद्घाटन समारोहमा जाँदा एउटा 'आउरूस सनाट' कारमा गएका थिए।

तस्बिर स्रोत, Getty Images
एकताको प्रदर्शन
दुवै देश अन्तर्राष्ट्रिय रूपमा एक्लिएका बेलामा पुटिन र किमले एकताको प्रदर्शन गरेका हुन्।
दुई देशबीचको सम्बन्ध हालैका वर्षहरूमा प्रगाढ बनेको छ। त्यो विशेष गरी सन् २०२२ मा रुसले युक्रेनमा पूर्ण मात्राको आक्रमण गरेपछि विस्तार भएको हो।
दुवै देशमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध भए पनि उत्तर कोरियाले रुसलाई युद्धका निम्ति गोलीगट्ठा, रकेट र बलिस्टिक क्षेप्यास्त्र उपलब्ध गराइरहेको ठानिन्छ।
दुवै पक्षले प्रतिबन्ध उल्लङ्घन गरेको आरोपलाई अस्वीकार गर्दै आएका छन्।

तस्बिर स्रोत, EPA
पुटिनले के भने
दुई नेताबीचको भेटवार्ताका क्रममा पुटिनले किमलाई "रुसी नीतिप्रति निरन्तरको अटल समर्थन"का लागि धन्यवाद दिएका थिए। उत्तर कोरियाको त्यस्तो नीति युक्रेन मामिलामा पनि कायम रहेकोमा उनले किमको प्रशंसा गरे।
किमले रुसलाई उत्तर कोरियाको "सबैभन्दा इमान्दार मित्र" भन्दै दुई देशको सम्बन्ध "नयाँ रूपमा फल्नेफुल्ने अवस्थामा प्रवेश गरेको" बताए।
उनीहरूले बाहिरबाट "आक्रमण"को अवस्थामा एकअर्कालाई सहयोग गर्नबारे एउटा सम्झौतामा हस्ताक्षर पनि गरेका छन्।
यी दुई नेताहरूबीच गत सेप्टेम्बरमा भएको थियो।
त्यस बेला किमले सुदूरपूर्व रुसको भोस्टोच्नी कोस्मोड्रोमको भ्रमण गरेका थिए। उनले चार वर्षमा गरेको त्यो पहिलो विदेश भ्रमण थियो।
उक्त भ्रमणका क्रममा उनले पुटिनको आउरूस सनाट लिमजीनको निरीक्षण गरेका थिए। त्यस बेला पनि उनलाई पुटिनले पछाडिको सीटमा बस्न आमन्त्रण गरेका थिए। उनीहरूले बन्दुक साटासाट पनि गरेका थिए।
पुटिनले किमलाई मस्को भ्रमण गर्ने निम्तो दिएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








