पुटिन उत्तर कोरिया पुगेका बेला युक्रेन अतिक्रमणमा रुसलाई किमको 'पूर्ण साथ'

तस्बिर स्रोत, Reuters
किम जङ अनले रुसले युक्रेनमा गरेको अतिक्रमणमा "पूर्ण साथ" रहेको जनाएका छन्। २४ वर्षपछि पुटिन प्योङयाङ पुगेका बेला उत्तर कोरियाली नेताले त्यसो भनेका हुन्।
पुटिन मध्यरातमा उत्तर कोरिया पुगेका थिए। त्यहाँ दुई नेताहरूले आफूहरूबीचको वार्तामा द्विपक्षीय सम्बन्धको प्रशंसा गरेका थिए।
पुटिनलाई त्यहाँ रातो कार्पेट ओछ्याएर स्वागत गरिएको थियो जहाँ उपस्थित मानिसहरूको भीडले गुलाफ, बलुन बोकेर हात हल्लाएका थिए। विशाल सैन्य परेडमा त्यहाँ पुटिनको सम्मानार्थ तोप पड्काइएको थियो।
रुसी राष्ट्रपतिले किमलाई प्योङ्याङ निम्त्याइएकामा धन्यवाद दिँदै अर्को भेट मस्कोमा हुने आफूले आशा राखेको बताए।
पुटिनले लामो समयदेखि उत्तर कोरियाविरुद्ध लगाइएको प्रतिबन्धको समीक्षा हुनुपर्ने समेत बताए।
उत्तर कोरियापछि पुटिन आफ्नो लामो समयदेखिको साझेदार देश भियतनाम पुग्नेछन् जहाँ व्यापारबारे छलफल हुने अपेक्षा गरिएको छ। उनी बुधवार अबेर भियतनामका लागि उड्ने कार्यक्रम छ।
पुटिनले खोजिरहेका साझेदार

तस्बिर स्रोत, SPUTNIK/KREMLIN POOL/EPA-EFE/REX/Shutterstock
समाचार संस्था रोयटर्सले रुसी समाचार संस्थाहरूलाई उद्धृत गर्दै पुटिन-किमबीचको एक्ला एक्लै दुई घण्टा वार्ता भएको थियो।
त्यसअघि दुई देशका प्रतिनिधिमण्डलको वार्ता डेढ घण्टा चलेको थियो।
दुई नेताहरूले एउटा विस्तृत रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर समेत गरे।
किम जङ अनले आफूले निसर्त रूपले युक्रेनमा भएको रुसी सैन्य कारबाहीलाई साथ दिने बताए।
पछिल्लो पटक रुसमा गत सेप्टेम्बरमा भेट्दै किम र पुटिनले सैन्य सम्बन्ध सुदृढ पार्ने बाचा गरेका थिए।
अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियामाथि रुसलाई खाद्यान्नको साटो सैन्य सहायता उपलब्ध गराएको आरोप लगाउँदै आएका छन्। दुवै देशले त्यसलाई अस्वीकार गर्छन्।
तर युक्रेनमा गरिएको अतिक्रमणले पुटिन पश्चिमा विश्वबाट एक्लिरहँदा उनी साझेदारहरूको खोजीमा छन्।
के पुटिनले किमलाई समेत पर्खाए?

तस्बिर स्रोत, SPUTNIK/KREMLIN POOL/EPA-EFE/REX/Shutterstock
पुटिन सबेरै ३ बजे उत्तर कोरिया उत्रिएका थिए जुन अपेक्षा गरिए भन्दा कैयौँ घण्टा ढिलो थियो।
यद्यपि उनी आइपुग्ने भनिएको समय कुन थियो भन्ने नखुलाइएको भए तापनि प्रारम्भिक विवरणमा स्थानीय समय अनुसार मङ्गलवार साँझ आइपुग्ने जनाइएको थियो।
तर पुटिनको विश्व नेताहरूलाई पर्खाउने पुरानै बानी रहेको देखिन्छ जसमार्फत उनले अर्को पक्षलाई कति सम्मान गर्छन् भन्ने दर्साउने गरेको देखिन्छ।
विगतमा उनी पूर्व जर्मन चान्स्लर एङ्गेला मेर्कललाई भेट्न चार घण्टा ढिलो पुगेका थिए भने पूर्व जापानी प्रधानमन्त्री शिन्जो आबेलाई तीन घण्टा पर्खाएका थिए। संयुक्त राष्ट्रसङ्घीय महासभामा उनी ८० मिनेट ढिलो पुगेका थिए भने पोप फ्रान्सिसलाई ५० मिनेट पर्खाएका थिए।
उनले त्यसरी नपर्खाउने एक नेता भनेका चिनियाँ राष्ट्रपति सी जिन्पिङ हुन्।
बीबीसीको एक पुरानो सामग्रीका अनुसार पुटिनको त्यस्तो व्यवहार एक दशकअघि समेत देखिन्थ्यो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








