अमेरिकाले सघाउन छोड्यो भने के युक्रेनले रुससँगको लडाइँमा खर्च जुटाइरहन सक्छ

रुसले युक्रेन अतिक्रमण गरेको तीन वर्ष पुग्न लागेको छ
तस्बिरको क्याप्शन, रुसले युक्रेन अतिक्रमण गरेको तीन वर्ष पुग्न लागेको छ
    • Author, अनास्तासिया जनुदा
    • Role, बीबीसी न्यूज, युक्रेन

रुसले युक्रेनमा अतिक्रमण गरेको झन्डै तीन वर्ष पुग्न लागेको छ। धेरै जानकारहरू लडाइँ सेनाले जिते पनि वास्तविक युद्ध चाहिँ अर्थतन्त्रले जित्ने धारणा राख्छन्। के युक्रेनले रुसविरुद्धको लडाइँलाई निरन्तरता दिन खर्च धान्न सक्छ त?

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले हालै आफ्नो देशले युद्धको अन्त्य "हतारमा होइन,न्यायोचित ढङ्गले" भएको हेर्न चाहेको बताए।

युद्धको विषयमा मुख्य साझेदार अमेरिकाले सहयोग रोक्का अनि भविष्यमा समर्थन घटाउने सन्देश दिइरहँदा के युद्धले घाइते भएको युक्रेनको अर्थतन्त्रले थप एक वर्षको लडाइँ धान्न सक्ला?

युक्रेनको युद्धकालीन अर्थतन्त्र

अन्य युरोपेली देशहरूको तुलनामा युक्रेन ठूलो भए पनि रुससँग तुलना गर्दा उसको क्षेत्रफल, जनसङ्ख्या र अर्थतन्त्र निकै सानो हो। अतिक्रमणभन्दा अगाडि रुसको अर्थतन्त्र युक्रेनको भन्दा १० गुना ठूलो थियो।

युद्धका कारण उक्त देशको अर्थतन्त्रले पछिल्ला वर्षहरूमा ठूलो धक्का बेहोर्‍यो। त्यो धक्का सन् १९९० ताका सोभियत सङ्घको विघटनपश्चात् उत्पन्न तीव्र आर्थिक विचलन र उच्च महँगीको परिस्थितिभन्दा पनि ठूलो रह्यो।

सन् २०२२ यता सरकारले राजस्वको अधिकांश हिस्सा रक्षामा खर्च गरेको छ। सार्वजनिक सेवा, स्वास्थ्य उपचार र शिक्षाजस्ता अन्य महत्त्वपूर्ण क्षेत्रका निम्ति स्रोत जुटाउन उसलाई निकै चुनौतीपूर्ण भएको छ।

रुसी अतिक्रमणका प्रारम्भिक महिनाहरूमा किएभले बजेट घाटा पूर्ति गर्न सरकारी 'बन्ड' बेच्यो अनि नोट पनि छाप्यो। तर सन् २०२२ को अन्त्यतिर आइपुग्दा उसको अर्थतन्त्र एकतिहाइले सङ्कुचित भयो भने मुद्रास्फीति २५ प्रतिशतभन्दा धेरैले बढ्यो।

युक्रेनका अन्तर्राष्ट्रिय साझेदारहरूले मद्दत दिएपछि मात्र अवस्था अलि स्थिर हुन थाल्यो।

मानवीय मूल्य चुकाउनुका अतिरिक्त युद्धले युक्रेनको अर्थतन्त्र अत्यन्त प्रभावित भएको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मानवीय मूल्य चुकाउनुका अतिरिक्त युद्धले युक्रेनको अर्थतन्त्र अत्यन्त प्रभावित भएको छ

सुरुमा अमेरिका नै उसको मुख्य दाता थियो र सबै प्रकारको सहयोगको सहजीकरण उसैले गरिदियो : सैनिक, मानवीय तथा आर्थिक स्थायित्वलक्षित वित्तीय सहयोग।

तर पछि उक्त भूमिका, खास गरी युक्रेनको वित्तीय सहयोगको भूमिका युरोपेली युनियन (ईयू)लाई दिइएको छ। "आजको दिनमा युद्धको लागतको ८०% युक्रेन र युरोपले बेहोरिरहेको छ, बाँकी २०% अमेरिकाले बेहोरेको छ," फेब्रुअरी १४ मा म्युनिख सुरक्षा सम्मेलनमा भाग लिन जाँदै गर्दा राष्ट्रपति जेलेन्स्कीले पत्रकारहरूलाई भनेका थिए।

युक्रेनलाई सहायता

युक्रेनले कस्ता वित्तीय सहयोग पाइरहेको छ?

  • सन् २०२२-२४ मा युक्रेनले विदेशबाट करिब ११५ अर्ब डलरको सहयोग मुख्यत: ऋण, अनुदान, तथा कर्जा राहतका प्रतिबद्धतामार्फत् पाएको थियो
  • त्यसमध्ये ईयूबाट ४४.८ अर्ब डलर, अमेरिकाबाट ३१.२ अर्ब डलर अनि अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १२.४ अर्ब डलर रहेको थियो
  • अमेरिकाले सन् २०२४ मा उसलाई दिएको ६०.७ अर्ब डलरको खास गरी सैन्य सहयोगको वाचामा युक्रेनी अर्थतन्त्रलाई सघाउन लक्षित ७.९ अर्ब डलरको ऋण सहयोग पनि थियो
  • सन् २०२४ मै विश्वका सात अग्रणी अर्थतन्त्रहरूको समूह जी-सेभनले युक्रेनलाई करिब ५० अर्ब डलरको एक्स्ट्रा अर्डिनरी रिभन्यू अक्सिलरेशन (ईआरए) ऋणको प्रतिबद्धता जनायो जसको भुक्तानी रोक्का गरिएका रुसी सम्पत्तिबाट भएका आम्दानीमा हुने भनियो
  • सन् २०२५ मा युक्रेनले उसका साझेदारहरूबाट करिब ३८.४ अर्ब डलर पाउने आश राखेको छ (ईआरएमार्फत् पाउने २२ अर्ब डलरसहित)।

विदेशी सहयोगको भूमिका

विदेशी सहयोगका कारण सन् २०२२ मा तीव्र सङ्कुचन बेहोरेको युक्रेनी अर्थतन्त्र सरकारी अनुमानमा सन् २०२३ मा ५.३% ले बढ्यो अनि सन् २०२४ मा थप ३.६% ले बढ्यो।

अन्तर्राष्ट्रिय सहयोगले युक्रेनको विदेशी मुद्रा भण्डार भर्न सघाउ पुग्नुका साथै स्थिर राष्ट्रिय मुद्रा कायम राख्न र बजेट घाटा पूर्ति गर्न पनि मद्दत पुगेको छ।

युक्रेन अर्थतन्त्र

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, विदेशी सहयोगका कारण युद्धको अग्रमोर्चाभन्दा अन्यत्र मानिसहरूले लगभग सामान्य जीवनयापन गर्न पाएका छन्

युक्रेनस्थित सेन्टर फर सोशल एन्ड इकोनमिक रिसर्च संस्थाका प्रमुख दिमित्रो बोयार्चुक भन्छन्: "युद्ध लडिरहन युक्रेनलाई वार्षिक ४० अर्ब डलर आवश्यक पर्छ।"

"यदि अन्तर्राष्ट्रिय सहयोग हटाइदिने हो भने कथा दुःखद हुने छ।"

युक्रेनको घरेलु मोर्चा

युक्रेनको युद्ध अर्थतन्त्रका लागि पैसा मात्र पनि समस्या होइन – उसका निम्ति ऊर्जा र श्रमशक्तिको अभाव पनि गम्भीर विषय हो।

युद्धभन्दा अगाडिको अवस्थाको तुलनामा रुसले युक्रेनको ऊर्जा उत्पादनको आधाभन्दा धेरै क्षमता या त ध्वस्त पारिदिएको छ या कब्जामा लिएको छ।

सन् २०२२ को अक्टोबर र सन् २०२४ को सेप्टेम्बरका बीच त्यहाँको ऊर्जा संरचनामा १,००० भन्दा धेरै पटक रुसी हमला भएका युक्रेनको ऊर्जा मन्त्रालयले जनाएको छ।

व्यापक रुसी हमला छल्नका निम्ति ऊर्जाको मागलाई खास गरी परमाणु ऊर्जा केन्द्रहरूमार्फत् धानिएको छ। उच्च माग भएका समयहरूमा बिजुलीको आयात, वायु तथा सौर्य प्रणाली अनि मोबाइल ग्यास टर्बाइनमार्फत् प्राप्त ऊर्जा उपयोग गरिएको छ।

यी कारणहरूले गर्दा त्यहाँ महँगी बढ्नुका साथै व्यवसाय एवं उद्योगहरूको खर्च वृद्धि भएको छ।

अर्को समस्या श्रमशक्तिको हो। युक्रेनको श्रमशक्ति एकतिहाइले घटेको विश्वास गरिन्छ।

युद्धमा हुने हताहत हुने मानिसबाहेक आप्रवासन पनि यसको मुख्य कारण हो।

अहिले त्यहाँको सेनामा झन्डै आठ लाख ८०,००० मानिस रहेको राष्ट्रपति जेलेन्स्कीले बताएका छन्।

रुसी अतिक्रमणका कारण करिब एकचौथाइ जनसङ्ख्या घर छाडेर जान बाध्य भएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार करिब ७० लाख युक्रेनी शरणार्थी विदेशमा बसिरहेका छन् (तीमध्ये ६३ लाख युरोपमा छन्) भने ४६ लाख आन्तरिक विस्थापनमा परेका छन्।

जापोरिज्या ऊर्जा केन्द्र

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, युरोपकै ठूलो जापोरिज्या परमाणु ऊर्जा केन्द्र युद्ध सुरु भएदेखि रुसको नियन्त्रणमा रहेको छ

युक्रेनको अर्थतन्त्रले कति थेग्न सक्ला?

युक्रेनका निम्ति अन्तर्राष्ट्रिय सहयोगको व्यवस्थापन गर्दै आएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आ{एमएफ)ले आफ्नो पछिल्लो समीक्षामा चुनौतीका बाबजुद त्यहाँको "अर्थतन्त्र सबल रहेको" जनाएको छ।

अर्थविद् दिमित्रो बोयार्चुकका अनुसार शत्रुलाई थकाउने नियतले लामो समय चल्ने यस्ता युद्धमा सबै स्रोतहरू महत्त्वपूर्ण हुन्छन् र तीमध्ये पनि आर्थिक सबलता मुख्य हुन्छ।

युक्रेनको केन्द्रीय ब्याङ्कका प्रमुख आन्द्रे पिश्नीले युक्रेनको पराजयले विश्वभरि खाद्य सुरक्षामा असर पर्ने, शरणार्थीहरूको नयाँ लहर आउने र देशहरूले स्वच्छ लगानीभन्दा सैन्य खर्चलाई प्राथमिकता दिन थाल्ने बताए।

विदेशी सहयोगमा धेरै निर्भर भए तापनि युक्रेनले उसको युद्ध अर्थतन्त्रका चुनौती सामना गर्न पहल गरेको छ।

संयुक्त राष्ट्रसङ्घ र टर्कीको सहजीकरणमा टाढाका देशहरूमा खाद्य आपूर्ति जारी राख्नका निम्ति भएको ब्ल्याक सी खाद्यान्न सहमतिबाट रुस पछि हटेपछि युक्रेन र उसका साझेदारहरूले नयाँ आपूर्ति मार्ग स्थापना गरे।

यसबाट युक्रेनको कृषि निर्यात युद्ध अगाडिको स्तरमा पुग्नुका साथै अन्य वस्तुको निर्यात पनि हुन सक्यो।

सन् २०२४मा उसको निर्यात १५% ले बढ्यो र त्यसबाट उसले ४१.६ अर्ब डलरको आम्दानी गर्‍यो – जुन उसले त्यो वर्ष पाएको कुल अन्तर्राष्ट्रिय सहयोग बराबर थियो।

सन् २०२५ को परिदृश्य

युक्रेनको अर्थ मन्त्रालयका अनुसार प्रतिदिन १४ करोड २० लाख डलरको दरमा सन् २०२४ मा ५२ अर्ब डलर युद्धमा खर्च गरिएको छ।

सन् २०२५ का निम्ति सरकारले थप ४९ अर्ब डलर रक्षाका लागि छुट्ट्याएको छ। त्यो युक्रेनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को एकचौथाइ रकम हो।

सम्पूर्ण अपेक्षित गैरसैनिक खर्च अन्तर्राष्ट्रिय सहयोगबाट धानिएको छ। त्यसको थोरै अंश आन्तरिक राजस्वका स्रोतबाट धानिएको मन्त्रालयले जनाएको छ।

सन् २०२५ मा बजेट खर्च धान्न केही करहरू बढाइएको छ तर थप वित्तीय चापले व्यावसायिक गतिविधि खुम्चने जोखिम छ। त्यसबाट आगामी दिनमा राजस्व बढ्नुको साटो घट्न सक्छ।

युक्रेन न्याश्नल ब्याङ्कका प्रमुख आन्द्रे पिश्नीले वाचा गरिएका अन्तर्राष्ट्रिय सहयोग उचित समयमा आइपुग्नेमा दुबिधा नरहेको बताए।

तर नयाँ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भइसकेका सहमतिलाई कसरी लेलान् भन्ने थाहा पाउन बाँकी छ।

हुन त बाइडन प्रशासनले उसको उत्तराधिकारीले पनि वाचा गरिएका सहयोग दिने छन् भनेने निश्चित गर्न केही कदम चालेको थियो। तर परिस्थितिले '१८० डिग्रीको कोल्टे फेर्न सक्ने' अर्थविद् दिमित्रो बोयार्चुकले बताए।

रुस-युक्रेन युद्धले निम्त्याएको सङ्कट समाधान गर्न कूटनीतिक गतिविधि तीव्र पारिएका छन् अनि अमेरिका, रुस, युक्रेन र युरोपमाझ हुने सम्भावित सहमतिलाई नजिकबाट हेरिएको छ। तर दीर्घकालीन शान्तिको सम्भावना अझ पनि क्षीण नै देखिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।