अमेरिकी राष्ट्रपति ट्रम्प रुसी दुष्प्रचारबाट प्रभावित भएको जेलेन्स्कीको भनाइ

गत सेप्टेम्बरमा खिचिएको जेलेन्स्की र ट्रम्पको तस्बिर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, ट्रम्पले पुटिनसँग कुराकानी थालेपछि जेलेन्स्की सशङ्कित बनेका छन्

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूले रुसबाट धेरै दुष्प्रचार बेहोरेको र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प पनि त्यसबाट प्रभावित भएको बताए।

ट्रम्पले जेलेन्स्कीको लोकप्रियताको रेटिङ् ४ प्रतिशतमा झरेको भनेपछि उनले सो टिप्पणी गरेका हुन्।

अहिले युक्रेनी जनतामध्ये ५८ प्रतिशतले आफ्नो नेतृत्वलाई रुचाएको उनले बताए।

उनी सन् २०१९ मा पाँच वर्षका निम्ति युक्रेनका राष्ट्रपति निर्वाचित भएका हुन्।

युक्रेन युद्धपश्चात् अमेरिका र रुसबीच साउदी अरेबियाको रियादमा मङ्गलवार भएको पहिलो प्रत्यक्ष वार्तापछि बोल्दै राष्ट्रपति ट्रम्पले युक्रेन शान्ति सम्झौता हासिल हुने बारे आफू थप विश्वस्त भएको बताएका छन्।

उनले युक्रेनले युद्ध समाप्त पार्न यसअघि नै सम्झौता गर्न सक्थ्यो पनि भनेका थिए।

आफ्नो अनुपस्थितिको सम्झौतालाई 'मान्यता नदिने'

आफ्नो देशलाई उक्त वार्तामा नडाकिएकोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आश्चर्य प्रकट गरेकोप्रति ट्रम्पले त्यस्तो टिप्पणी गरेका हुन्।

किएभले आफू सामेल नभई गरिएका कुनै शान्ति सम्झौतालाई मान्यता नदिने भनेको छ।

यसबीच मस्कोमा बोल्दै रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले युक्रेन सङ्कट समाधानका निम्ति मूल कारणहरूको सम्बोधन गर्नुको विकल्प नभएको बताएका छन्।

उनले यो विषय फेब्रुअरी १२ मा राष्ट्रपति ट्रम्पसँगको टेलिफोन कुराकानीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उठाएको उल्लेख गरे।

डोनल्ड ट्रम्प र भ्लादिमिर पुटिन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सन् २०१९ मा डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको भेट

रियादमा भएको द्विपक्षीय वार्तामा सहभागी लाभ्रोभले त्यहाँ पनि आफूहरूले यो विषय उच्च महत्त्वका साथ उठाएको बताए।

उनले रुसविरुद्धका सुरक्षा खतरा हटाउन जरुरी भएको र त्यसको सिर्जना युक्रेनलाई नेटो गठबन्धनमा तान्ने प्रयासले गरेको बताए।

युक्रेन हाल नेटो गठबन्धनमा छैन तर सन् २००८ मा उक्त गठबन्धनले युक्रेनलाई पनि भविष्यमा सदस्यता दिइने सहमति गरेको थियो।

युक्रेनको नेटो सदस्यता आफूलाई सुरक्षा खतरा हुने रुसले बताउने गरेको छ भने नेटोले चाहिँ सदस्यता लिने वा नलिने भन्ने विषय कुनै पनि देशको सार्वभौम निर्णयको मामिला भन्ने गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।