रुसको पक्षमा लडिरहेका उत्तर कोरियाली फौज अग्रमोर्चामा फर्किएको युक्रेनी राष्ट्रपतिको भनाइ

तस्बिर स्रोत, Reuters
- Author, जरोसलाभ लुकिभ
- Role, बीबीसी न्यूज
मस्कोका तर्फबाट लडिरहेका उत्तर कोरियाली फौज रुसको पश्चिमी कुर्स्क क्षेत्रको अग्रमोर्चामा फर्किएको युक्रेनी राष्ट्रपतिले जनाएका छन्।
गत महिना ठूलो सङ्ख्यामा हताहत भएसँगै उनीहरू त्यहाँबाट फिर्ता गएका विवरण आएका थिए।
शुक्रवार एक भिडिओ सम्बोधनमा भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले "उत्तर कोरियाली सैनिकहरू फिर्ता ल्याएको" र उनीहरूले खासगरी अधीनस्थ युक्रेनी भूभागमा "नयाँ हमला" गरिरहेको जनाएका छन्।
उनले "सयौँ रुसी र उत्तर कोरियाली" सैनिकहरू मारिएको बताए।
ज्यानुअरीमा पश्चिमा अधिकारीहरूले बीबीसीलाई उत्तर कोरियाले पठाएका ११ हजारमध्ये कम्तीमा एक हजार जना सैनिकहरू पछिल्लो तीन महिनामा मारिएको जनाएका थिए।
त्यसबारे उत्तर कोरिया र रुसले कुनै प्रतिक्रिया जनाएका छैनन्।
शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदो साता राष्ट्रपति जेलेन्स्कीसँग भेट र राष्ट्रपति पुटिनसँग संवादको सम्भावना रहेको जनाएका छन्।
"म युद्ध अन्त्य भएको देख्न चाहन्छु," ट्रम्पले भनेका छन्।
युक्रेनले के भनेको छ?
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा पूर्ण स्तरको हमला सुरु गरेका थिए। उक्त लडाइँले दुवैतर्फ ठूलो क्षति पुर्याएको छ।
गत साता कुर्स्कमा लडिरहेको युक्रेनी विशेष फौजले बीबीसीसँग कुरा गर्दै आफूहरूले पछिल्लो २१ दिनमा त्यहाँ कुनै उत्तर कोरियाली फौज नदेखेको जनाएको थियो।
उनीहरूका एकजना प्रवक्ताले त्यहाँ ठूलो क्षति बेहोरेपछि उनीहरू फर्किएको हुनसक्ने बताएका थिए।
ती प्रवक्ताले त्यस्तो अवलोकन लडाइँ भइरहेका ठाउँको मात्र रहेको प्रस्ट पारे। उनले अग्रमोर्चा कति लामो छ भन्नेबारे कुनै विवरण दिएनन्।

तस्बिर स्रोत, @ZELENSKYYUA/X
दक्षिण कोरियाली गुप्तचरहरूलाई उद्धृत गर्दै आएका पछिल्ला विवरणमा उत्तर कोरियाली सैनिक आधुनिक युद्धको वास्तविक पक्षका लागि तयार नरहेको जनाउँदै उनीहरू खास गरी युक्रेनी ड्रोनको जोखिममा हुने जनाइएको छ।
सैन्य विज्ञहरूले हताहत भएका उत्तर कोरियालीहरूको सङ्ख्याका आधारमा सोही दर कायम रहेमा त्यो लामो समय नटिक्ने टिप्पणी गर्छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जङ-अनबीच पछिल्ला समयमा द्विपक्षीय सम्बन्ध गहिरिएको छ। दुई देशबीच सुरक्षा तथा रक्षा सन्धिमा समेत हस्ताक्षर भएको छ।
मस्कोलाई प्योङयाङले गर्ने सहयोगमा पछिल्लो समय ठूलो सङ्ख्याको गोलाबारुद र हतियारहरू समेत समेटिएको छ।
रुसी सेनाले समेत उल्लेख्य क्षति बेहोरिरहेको लडाइँमा उत्तर कोरियालीहरू पुग्नु उनीहरूको मनोबल बढाउने कदमका रूपमा हेरिएको थियो।
युद्धको मानवीय क्षति कति?

तस्बिर स्रोत, White Sands Missile Range Public Affairs
सन् २०२२ को सेप्टेम्बरयता रुसी सेनाले लडाइँमा भएको सैन्य क्षतिको विवरण खुलाएको छैन।
अन्तिमपटक त्यसबेला उसले ५,९३७ जना आफ्ना सैनिकहरू मारिएको उल्लेख गरेको थियो।
तर यसै साता युक्रेनी राष्ट्रपतिले तीन लाख पचास हजारसम्म रुसी सैनिकहरू मारिएको दाबी गरेका छन्।
अन्य विवरणहरूले समेत उक्त सङ्ख्या उल्लेख्य रूपमा उच्च रहेको आकलन गरेका छन्।
जेलेन्स्कीले युक्रेनतर्फको सैन्य क्षति ४५,१०० रहेको बताए तापनि कैयौँ युक्रेनी र पश्चिमा सैन्य विज्ञहरू त्यसतर्फको क्षति समेत निकै उच्च रहेको बताउँछन्।
युक्रेनी फौजले छ महिनाअघि कुर्स्कमा आक्रामक कारबाही थालेर एक हजार वर्गकिलोमिटर भन्दा धेरै रुसी भूभाग कब्जा गरेको छ।
त्यसयता रुसी फौजहरूले समेत उक्त क्षेत्रको उल्लेख्य भूभाग पुनः आफ्नो कब्जामा ल्याएका छन्।
यद्यपि शुक्रवार रोएटर्स समाचार संस्थासँग बोल्दै जेलेन्स्कीले बिहीवार कुर्स्कमा सुरु गरिएको नयाँ आक्रमणमा साढे दुई किलोमिटर अगाडी बढिएको जनाएका छन्।
रुसी सेनाले युक्रेनी हमलालाई निस्तेज पारिएको जनाएको छ।
युद्धरत दुवै पक्षका दाबी स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








