युक्रेनविरुद्ध रुसका पक्षमा लडेका झन्डै १,००० उत्तर कोरियाली सैनिकको मृत्यु भएको दाबी

तस्बिर स्रोत, @ZELENSKYYUA/X
- Author, फ्र्याङ्क गार्ड्नर
- Role, बीबीसी सुरक्षा संवाददाता
युक्रेनविरुद्ध लडिरहेका उत्तर कोरियाली सैनिकहरूमध्ये झन्डै ४० प्रतिशत हताहत भएको पश्चिमा अधिकारीहरूले बीबीसीलाई बताएका छन्।
तीन महिनायता उनीहरू मस्कोको पक्षबाट रुसको कुर्स्क क्षेत्रमा लडिरहेका थिए।
नाम उल्लेख नगर्ने सर्तमा कुरा गरेका ती अधिकारीहरूले उत्तर कोरियाले लड्न पठाएका अनुमानित ११ हजार सैनिकमध्ये युद्धमा झन्डै ४,००० हताहत भएको बताए। यस सङ्ख्यामा मारिएका, घाइते, बेपत्ता र बन्धक भएकाहरू समेटिने अधिकारीहरूको भनाइ छ।
मध्य ज्यानुअरीसम्ममा ती ४,००० मध्ये झन्डै १,००० जना मारिएको उनीहरूको आकलन छ।
यदि यो सूचना पुष्टि भएमा युक्रेन युद्धमा संलग्नता उत्तर कोरियालीहरूका लागि जारी राख्न कठिन हुने काम हुन सक्छ।
'महङ्गो' साथ

तस्बिर स्रोत, Reuters
घाइते उत्तर कोरियाली सैनिकहरूको उपचार कहाँ भइरहेको छ भन्ने थाहा छैन। उनीहरूको ठाउँमा कहिले कुन हदसम्म सैनिकहरू थपिने भन्ने समेत स्पष्ट छैन।
तर यस आँकडा राष्ट्रपति भ्लादिमिर पुटिनका साझेदार किम जङ अनका लागि अभूतपूर्व रूपमा महँगो साबित हुने देखिन्छ।
उत्तर कोरियाली नेता किम यस वर्ष ढिलो गरी हुन सक्ने युद्धविरामसम्बन्धी वार्ताअघि युक्रेनी फौजलाई रुसी भूभागबाट बाहिर निकाल्न पुटिनलाई सघाउन चाहन्छन्।
युक्रेनले गत अगस्ट रुसी सीमारक्षकहरूलाई आश्चर्यचकित पार्ने गरी कुर्स्क क्षेत्रमा हमलाहरू गरेका थिए।
किएभले त्यस बेला आफूहरूले कब्जा गरेको त्यस भूभागमा रहिरहने कुनै मनसाय नरहेको जनाएको थियो।
त्यस कारबाही सम्भावित शान्ति वार्ताका लागि मोलमलाइका रूपमा प्रयोग गर्ने युक्रेनी मनसाय देखिन्छ।
कमजोर तालिम र सुरक्षाकवचको नतिजा

तस्बिर स्रोत, ED JONES/AFP
उत्तर कोरियाली संलग्नतापछि कुर्स्कमा सुरुमा युक्रेनले विस्तार गरेको पकड बिस्तारै कम हुन थालेको थियो।
तर युक्रेनले अझै रुसी भूभागमा सयौँ वर्ग किलोमिटर क्षेत्र कब्जा गर्दै आफ्नो शत्रुपक्षमा ठूलो क्षति पुर्याइरहेको छ।
विवरणहरूका अनुसार उत्तर कोरियाली फौज 'स्टोर्म कोर' नामको त्यहाँको प्रतिष्ठित एकाइबाट आएका उनीहरूलाई तुलनात्मक रूपमा कम तालिम वा सुरक्षाकवचसहित युद्धमा संलग्न गराइएको देखिन्छ।
"ती विरलै तालिमप्राप्त रुसी अधिकारीहरूको नेतृत्वमा भएका सैनिक हुन्, जसलाई उनीहरू बुझ्दैनन्," ब्रिटिश सेनाका पूर्व ट्याङ्क कमान्डर कर्णेल हमिस डे ब्रिटोन-गोर्डन भन्छन्।
"साँच्चिकै भन्दा उनीहरूसँग सम्भावना छैन। उनीहरूलाई जीवित रहने निकै कम सम्भावना भएको मासु पेल्ने मशीनमा फ्याँकिएको छ। रुसी अधिकारीहरूले आफ्ना मानिसहरूलाई जसरी उनीहरूलाई ख्याल पनि गर्दैनन्।
युक्रेन के भन्छ?

तस्बिर स्रोत, Zelenskiy Official on Telegram
दक्षिण कोरियाली गुप्तचरहरूलाई उद्धृत गर्दै आएका विवरणमा उत्तर कोरियाली आधुनिक युद्धका वास्तविक पक्षका लागि तयार नरहेको जनाउँदै उनीहरू खास गरी युक्रेनी फर्स्ट-पर्सन भ्यू (एपपीभी)को जोखिममा हुने जनाइएको छ।
त्यसका बावजुत युक्रेनका शीर्ष सैन्य कमाण्डर जेनरल ओलेक्सान्ड्र सियास्कीले यसै साताको सुरुमा अग्रमोर्चामा रहेका आफ्ना सैनिकहरूका लागि उत्तर कोरियाली सैनिकहरूले उल्लेख्य समस्या सिर्जना गरिरहेको बताए।
"उनीहरू धेरै छन्; ११ हजारदेखि १२ हजारबीचका उच्च रूपमा प्रेरित र राम्रोसँग तयार सैनिकहरूले अगाडि लडिरहेका छन्। उनीहरूले सोभियत तौरतरिकाका भरमा काम गर्छन्। उनीहरू आफ्नो सङ्ख्यामा भर पर्छन्," ती जेनरलले युक्रेनको 'टीएसएन टिज्डेन न्यूज प्रोग्र्याम'सँग भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








