क्लाइमेट एन्जाइटीः ‘बच्चा जन्माएर म संसारलाई बोझ थप्न चाहन्नँ’

जलवायु
तस्बिरको क्याप्शन, जुलिया बोर्ज
    • Author, नवीन सिं खड्का
    • Role, वातावरण संवाददाता, विश्व सेवा, बीबीसी १०० विमिनका लागि

विकसित देशहरूमा जलवायु सङ्कटसम्बन्धी जनचेतना सशक्त भए पनि जलवायुसम्बन्धी चिन्ताले अरू देशमा दम्पतीहरूलाई बच्चा नपाउने निर्णयमा पुर्‍याइरहेको छ।

एकान्तवासमा सँगै बसिरहेका अरू र जुलिया बोर्जमा जलवायुसम्बन्धी चिन्ता झन् बढ्यो।

“मैले आफ्नो शहर र विश्वविद्यालय पानीमुनि भएको कल्पना गर्न थालेँ,” ब्रजिलको पूर्वोत्तर तटीय शहर रेसिफकी कृषि तथा इन्जिनियरिङकी २३ वर्षीया विद्यार्थीले भनिन्।

“मलाई यतिसम्म पीर पर्न थाल्यो कि आफ्नो ज्यानै लिन्छु भन्नेसम्म सोच्न थालेँ। किनकि त्यो समस्यासँग कसरी जुझ्ने भन्नेबारे मलाई थाहा भएन।”

जलवायु परिवर्तनसम्बन्धी विषय पढेपछि उनलाई केही सहयोग पुग्यो- जे भइरहेको छ त्यसप्रति उत्तरदायित्वको भावना उनमा बढ्यो। अनि उनी बच्चा पाउनु ठीक नहुने निष्कर्षमा पुगिन्।

“बच्चा जन्माएर म पहिल्यैदेखि भिडभाडयुक्त यो ग्रहमाथि अर्को बोझ थप्न चाहन्नँ,” जुलिया भन्छिन्।

सन् २०२२ मा नटिङ्गम विश्वविद्यालयले ११ देशका वयस्कहरूलाई जलवायुसम्बन्धी चिन्ताले बच्चा नपाउनुपर्ने सोच्न अथवा पाइसकेको भए पछुतो मान्नुपर्ने अवस्थामा त ल्याएको छैन भनेर सोधेको थियो।

जलवायु

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, रेसिफ

त्यस्तो सोच कहिलेकाहीँ, प्रायश: सधैँ आउने गरेको जवाफ दिने जापानमा २७ प्रतिशतदेखि भारतमा ७४ प्रतिशतसम्म देखिए।

उक्त अध्ययनको नतिजा आउने वर्ष प्रकाशित हुनेछ।

यसअघि सन् २०२१ मा द ल्यान्सिट जर्नलमा एउटा सर्वेक्षणको नतिजा प्रकाशित भएको थियो।

सोह्र वर्षदेखि २५ वर्षका व्यक्तिहरूमा गरिएको सर्वेक्षणमा अस्ट्रेलिया, ब्रजिल, भारत र फिलिपिन्सका ४० प्रतिशत सहभागीले जलवायु परिवर्तनका कारण बच्चा जन्माउनु हुन्न भन्ने सोच आफूमा आएको बताए।

फ्रान्स, पोर्चुगल, यूके र संयुक्त राज्य अमेरिकाको हकमा त्यो ३० देखि ४० प्रतिशत पाइयो भने नाइजेरियामा २३ प्रतिशत रहेको पाइयो।

सन् २०१२ देखि २०२२ को बीचमा गरिएका १३ वटा अध्ययनको समीक्षा गरी यसै महिना युनिभर्सिटी कलेज लन्डनले गरेको प्रकाशन अनुसार कम बच्चा जन्माउने चाहना जलवायु परिवर्तनसँग जोडिएको पाइएको छ।

सन् २०१९ मा माइली साइरसले पृथ्वीको अवस्थालाई कारण देखाउँदै बच्चा नपाउने बताइन्।

अमेरिकी कङ्ग्रेसकी सदस्य एलेक्जन्डेरीआ ओकासिओ-कोर्टेजले जलवायु परिवर्तनका कारण तहसनहस भएको पृथ्वीमा बच्चा जन्माउनु ठीक होला र? भन्ने प्रश्न सामाजिक सञ्जाल इन्स्टाग्राममा सोधिन्।

जलवायु परिवर्तनको असर आफ्ना बालबच्चामाथि पर्न सक्ने भएर अथवा जुलियाले जस्तै धेरै बच्चा जन्माउँदा तिनले पृथ्वीमा उपलब्ध स्रोतमा बोझ थप्नेछन् भन्ने लागेर सहभागीले त्यस्तो सोचेको बताए।

जलवायु सङ्कटको मार पर्ने अग्रपङ्क्तिमा रहेका देशहरूमा अहिले त्यस्तै बहस हुन थालेको देखिन्छ।

सन् २०२२ को मे महिनामा रेसिफ शहरमा १२० जनाभन्दा बढी व्यक्तिको ज्यान जाने गरी आँधीले बाढी तथा पहिरो निम्त्याएको घटनापछि जुलियामा जलवायु परिवर्तनसम्बन्धी चिन्ता झन् बढ्यो।

“ठ्याक्कै तीन दिनअगाडि स्थानीय गैरसरकारी संस्थाको तर्फबाट बालबालिकालाई जलवायु सङ्कटबारे पढाएकी थिएँ, पछि त त्यही ठाउँ बाढीबाट सबैभन्दा प्रभावित भएछ,” उनी भन्छिन्।

“अहिलेका बच्चा नै जोखिममा रहेका बेला अब आउने बच्चाहरूको भविष्य के होला सोचेरै त्यसले मलाई साँच्चिकै प्रभावित बनायो।”

ब्रजिलदेखि निकै टाढा रहेका देशका अर्का दुई महिला पनि चरम मौसमसम्बन्धी घटनाबाट निकै प्रभावित भएको बताउँछन्।

जलवायु
तस्बिरको क्याप्शन, श्रृष्टि सिंह श्रेष्ठ

नेपालमा जनावरको अधिकारसम्बन्धी अभियानकर्मी श्रृष्टि सिंह श्रेष्ठ यसै वर्ष गाउँमा रहेको आफ्नो घर पुगिन् जहाँ उनी सुक्खाका कारण निम्तिएको भोकमरी देखेर चकित परिन्।

उनीहरूका सबै बाली सुकिसकेका थिए र कुवाका लागि २०० फिट गहिराइसम्म खन्दा पनि पानी आएन। अर्कोतर्फ छिमेकी जिल्लाको एउटा गाउँ बाढीले बगाएको थियो।

चालीस वर्षीय श्रृष्टि जलवायु परिवर्तनका असरबारे निकै अघि देखि चिन्तित थिइन्।

आठ वर्षअघि उनी निदाइरहेकी आफ्नी नवजात छोरीलाई हेर्थिन् र उनी कस्तो संसारमा हुनेछिन् भन्ने सोच्दै चिन्तित बन्थिन्।

“संसार कसरी चल्नेछ, जलवायु परिवर्तनले जनावर तथा बालबालिकाको जीवनमा कस्तो प्रभाव पार्छ भन्ने सोचेर मलाई रुन मन लाग्थ्यो। त्यो मेरो लागि निकै पीडादायी अनुभव थियो,” उनले भनिन्।

त्यसपछि उनले अब अर्को बच्चा नपाउने सङ्कल्प गरिन्।

क्लाइमेट एन्जाइटी के हो?

मनोचिकित्सक क्यारोलाइन हिकम्यान, युनिभर्सिटी अफ बाथ

हाम्रो परिवर्तनशील संसारमा भइरहेका घटना देखेर हामीमा उत्पन्न हुने स्वस्थ चिन्ता नै क्लाइमेट एन्जाइटी अथवा इको-एन्जाइटी हो।

तीव्र गतिमा भइरहेको जलवायु परिवर्तनबाट हामीलाई व्यक्तिगत रूपमा र हाम्रो ग्रहलाई नै खतरा उत्पन्न भएको छ।

र, त्यसले हामीलाई आफ्नैबारे र हाम्रा बालबालिकाको भविष्यबारे चिन्तित तुल्याउँछ।

हामी आशावादी हुने पल पनि हुन्छन्। तर संसार तीव्र गतिमा गलत दिशातिर गइरहेको र जलवायु सङ्कटसँग जुझ्न हामीले पर्याप्त कदम चाल्न नसकिरहेको पृष्ठभूमिमा आशावादी भइरहन गाह्रो हुन्छ।

जलवायु
तस्बिरको क्याप्शन, आयोमाइड ओलुड

नाइजेरियामा एउटा गैरसरकारी संस्थामा काम गर्ने २४ वर्षीया आयोमाइड ओलुड तटीय क्षेत्रमा माछा मार्ने कामबारे वृत्तचित्रको छायाङ्कन गर्ने सिलसिलामा बच्चा नपाउने निष्कर्षमा पुगिन्।

लेगोसदेखि १०० किलोमिटर पूर्वमा पर्ने फोलुकी बासिन्दा आयोमाइडले समुद्री किनारमा बसेर रमाइलो गर्दै आएको एउटा संरचना देखाइन् जुन अहिले लगभग डुबिसकेको छ।

“आँधीका बेला बाढीको पानीले गाउँलाई पूरै डुबानमा पार्छ। त्यो भएर मानिसहरूले घर छोड्न थालेका छन्,” उनले भनिन्।

“विगतमा यहाँ घरजग्गा व्यापार निकै फस्टाएको थियो। तर अहिले मानिसहरूले घर छाडेको देख्न सक्नुहुन्छ र गाउँका केही हिस्सा डुबानमा परिसकेका छन्।”

माझीहरूले उनलाई बताएअनुसार आँधी यति सशक्त हुन थालेको छ कि उनीहरूको काम नै असुरक्षित भइसक्यो।

ब्रजिलकी जुलियालाई जस्तै उनलाई पनि बच्चा पाउन समाज र परिवारबाट दबाव छ। तर कुनै कुराले पनि आफ्नो निर्णय परिवर्तन नहुने उनी बताउँछिन्।

श्रृष्टिले पनि दोस्रो बच्चा पाउनका लागि आफन्तहरूबाट निरन्तर दबाव झेल्दै आएकी छन्।

तर यी तीनै महिलाले आफ्नो निर्णयमा श्रीमान्‌को समर्थन पाएका छन्।

जुझ्नका लागि टिप्स

समान धारणाका मानिसहरूको समूहको हिस्सा बन्नुहोस् जोसँग आफ्ना भावना साझा गर्न सकियोस्।

धेरै भावुक नहुनुहोस्। सचेतना र ध्यानले मद्दत गर्न सक्छ।

क्यारोलाइन हिकम्यान, युनिभर्सिटी अफ बाथ

लुलियाले यो बाटो अवलम्बन गरेकी छन्। बाढी र पहिरोको जोखिममा रहेका क्षेत्रको उनले नक्साङ्कन गरेकी छन्।

उनी स्थानीय गैरसरकारी संस्थाका लागि काम गर्छिन् जहाँ उनी मानिसहरूलाई जलवायु परिवर्तन र वातावरणबारे पढाउँछिन्।

“समाजमा परिवर्तन र रूपान्तरणको संवाहक बन्दा तनाव कम गर्न मद्दत गरेको छ,” उनी भन्छिन्।

नभए उनका तनाव त कायमै छन्।

पाउला एडामो आइडोएटाको थप रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।