भारत बन्यो एशिया कप विजेता

एशिया कप

तस्बिर स्रोत, ANI

फाइनल खेलमा श्रीलङ्कालाई हराउँदै भारतले आठौँ एशिया कपको उपाधि प्राप्त गरेको छ। भारतले श्रीलङ्कालाई १० विकेटले पराजित गरेको हो।

आइतवार कोलम्बोको आर प्रेमदासा रङ्गशालामा भएको फाइनल खेलमा श्रीलङ्काले टस जितेर पहिले ब्याटिङ रोजेको थियो।

श्रीलङ्का १५.२ ओभरमा ५० रन बनाएर अलआउट भयो।

प्रतिउत्तरमा भारतले ६.१ ओभरमा कुनै पनि विकेट नगुमाइ लक्ष्य पूरा गर्‍यो।

जितका लागि भारतका ओपनर ब्याटर ईशान किशन (२३) र सुभमन गिल (२७) ले अविजित खेल खेलेका थिए।

मोहम्मद सिराजको उत्कृष्ट बलिङ

एशिया कप

तस्बिर स्रोत, Getty Images

श्रीलङ्काले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दा सायदै पहिलो चार ओभरमै आफ्नो टीमका आधा सदस्य प्याभिलियन फर्कनेछन् भन्ने सोचेको थियो।

तर भारतीय बलरका तर्फबाट मोहम्मद सिराजले उत्कृष्ट बलिङ गरेर १६ बलमै श्रीलङ्काका पाँच ब्याट्सम्यानलाई आउट गरिदिए।

खेलको १२औँ ओभरमा सिराजले छैटौँ विकेट पनि लिएका थिए।

भारतीय बलरमध्ये मोहम्मद सिराजले सर्वाधिक ६ विकेट लिए।

जसप्रित बुमराहले एक विकेट र हार्दिक पाण्ड्याले तीन विकेट लिए।

श्रीलङ्काको इनिङ्स सकिएपछि मोहम्मद सिराजले भने, “यो सपना जस्तै हो। पछिल्लो पटक श्रीलङ्काविरुद्ध चार विकेट लिएको थिएँ तर पाँचौ विकेट लिन सकिनँ। त्यसपछि मैले के महसुस गरे भने तपाईँको भाग्यमा जे छ त्यो तपाईँले पाउनु हुन्छ। आज मेरो भाग्यमा रहेछ त्यसैले मैले पाएँ।”

वर्षाको अवरोध

एशिया कप

तस्बिर स्रोत, Getty Images

वर्षाका कारण फाइनल खेल सुरु हुन ढिलाइ भएको थियो।

एशिया कपका धेरै खेल वर्षाका कारण रद्द भएका थिए।

भारत र पाकिस्तानबीचको पहिलो खेल पनि वर्षाका कारण रद्द भएको थियो।

भारत र पाकिस्तानबीचको दोस्रो खेल पनि ‘रिजर्भ डे’का कारण मात्रै सम्पन्न भएको थियो।