तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'गाजा युद्धविराम र बन्धक रिहाइ'सम्बन्धी ट्रम्पको योजनालाई इजरेलको स्वीकृति
इजरेलले 'गाजा युद्धविराम र बन्धक रिहाइ'सम्बन्धी योजनालाई स्वीकृत गरेको प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको कार्यालयले एक वक्तव्यमार्फत् जनाएको छ।
नेतन्याहूले यसलाई 'महत्त्वपूर्ण घटनाक्रम' भनेका छन्। उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका साथै अमेरिकी दूत स्टीभ विटकफ र ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नरलाई धन्यवाद दिएका छन्। विटकफ र कुश्नर इजरेली मन्त्रिपरिषद्को बैठकमा सामेल भएका थिए।
ट्रम्पले इजरेली बन्धकहरू "सोमवार वा मङ्गलवार" रिहा हुन सक्ने बताएका छन्।
हमासको नियन्त्रणमा रहेका ४८ बन्धकमध्ये २० जना जीवितै रहेको ठानिएको छ।
युद्धविराम र बन्धक रिहाइसँगै सम्झौताको पहिलो चरणमा इजरेलले सयौँ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने छ भने गाजाका विभिन्न हिस्साबाट इजरेली सैनिकहरू फिर्ता हुन थाल्ने बताइएको छ। त्यस्तै दैनिक सयौँको सङ्ख्यामा सहायता बोकेका ट्रकहरू गाजा प्रवेश गर्ने विवरणहरूमा भनिएको छ।
जेरुसलेमका सडकहरूमा मानिसहरूले खुसियाली मनाउन थालेका बताइएको छ।
इजरेली सरकारले युद्धविराम सम्झौतालाई केही समयअघि स्वीकृत गरे पनि उक्त सम्झौता लागु भए नभएको अहिलेसम्म स्पष्ट भइसकेको छैन।
इजरेली विदेशमन्त्री गिडअन सारले इजरेल सरकारले सम्झौतालाई स्वीकृत गर्ने निर्णय गरे लगत्तै युद्धविराम हुने बिहीवार बिहान 'फक्स न्यूज'लाई बताएका थिए। तर प्यालेस्टिनी सूचना केन्द्रले पछिल्लो घण्टा पनि गाजामा सैन्य गतिविधि जारी रहेका विवरण दिएको छ।
प्यालेस्टिनी अथरिटीका प्रमुख महमुद अब्बासले वर्षौँपछि पहिलोपटक बिहीवार इजरेली सञ्चारमाध्यामसँग अन्तर्वार्ता गरेका छन्।
त्यसमा उनले आफू शान्ति सम्झौताबारे आशावादी रहेको र दीर्घकालीन शान्ति चाहेको बताएका छन्।
"आज जे भयो त्यो ऐतिहासिक क्षण हो। हाम्रो भूमिमा भइरहेको रक्तपातलाई समाप्त गर्न सकौँ भन्नेबारे हामीले आशा गर्दै आएका थियौँ र अहिले पनि गरिरहेका छौँ, चाहे त्यो गाजा स्ट्रिपको होस् वा वेस्ट ब्याङ्क वा पूर्वी जेरुसलेममा होस्," इजरेलको 'च्यानल १२' सँग उनले भने।
"रक्तपात रोकिएकोमा हामी निकै खुसी छौँ। यस्तै स्थिति रहिरहोस् र सँगसँगै इजरेल र हामीबीच शान्ति, सुरक्षा र स्थिरता कायम होस् भन्ने हाम्रो आशा छ।"
उनले केही सुधार थाल्नका निम्ति प्यालेस्टिनी अथरिटीले ट्रम्पसँग काम गरिरहेको उनले बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।