तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ट्रम्प र नेतन्याहूबीच 'सहमति' भएको भनिएको गाजाबारे 'नयाँ योजना'का मुख्य कुरा
- Author, रूश्दी आबुअलोफ
- Role, गाजा संवाददाता
- Author, जोर्ज राइट
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले गाजाका लागि आफूहरूले 'नयाँ शान्ति योजना'मा सहमति गरेको दाबी गरेका छन्। उनीहरूले हमासलाई यो योजना स्वीकार गर्न चेतावनी पनि दिएका छन्।
यस योजनाअन्तर्गत सैनिक गतिविधिहरू तत्काल अन्त्य गर्ने, हमासले २० जीवित इजरेली बन्धकहरू तथा मृत्यु भइसकेका ठानिएका अन्य दुई दर्जन बन्धकको शव हस्तान्तरण गर्ने एवं त्यसको बदलामा इजरेलले हिरासतमा राखेका सयौँ गाजावासीलाई मुक्त गर्ने प्रस्ताव गरिएको छ।
शान्तिवार्ताबारे जानकार एक प्यालेस्टिनी स्रोतले बीबीसीलाई बताएअनुसार हमासका अधिकारीहरूलाई पनि ह्वाइट हाउसको २० बुँदे प्रस्ताव उपलब्ध गराइसकिएको छ।
हमासलाई चेतावनी
यससँगै उक्त सहमतिमा हमासलाई गाजाको प्रशासनिक अधिकारबाट मुक्त गर्ने प्रस्ताव गरिएको छ। यद्यपि अन्ततः प्यालेस्टिनी राज्यको ढोका खोल्न सकिने कुरालाई यसमा स्वीकार गरिएको छ।
ह्वाइट हाउसमा भएको वार्तापछि आयोजित एक पत्रकार सम्मेलनमा ट्रम्पले यो योजनालाई "शान्तिका लागि ऐतिहासिक दिन" भनेका छन्।
साथै उनले हमासले यस योजनामा सहमति नजनाएमा इजरेलले "हमासका चुनौतीहरू अन्त्य गर्ने काममा" अमेरिकी समर्थन पाउने पनि बताए।
त्यसपछि नेतत्याहूले हमासले यो योजना अस्वीकार गरेमा वा पालना नगरेमा इजरेलले आफ्नो "काम सक्काउने" बताए।
इजरेलको स्वामित्वको वेस्ट ब्याङ्कमा शासन गर्ने प्यालेस्टिनिअन अथोरिटीले ट्रम्पको प्रयासलाई "इमानदार र दृढ" भनेको छ।
उसको वाफा समाचारसंस्थामार्फत् प्रकाशित विज्ञप्तिमा अथोरिटीले गाजामा युद्ध अन्त्य गर्दै, मानवीय सहायताको पर्याप्त आपूर्ति सुनिश्चित गर्न अनि बन्धक एवं कैदीबन्दीको रिहाइका लागि "संयुक्त राष्ट्रसङ्घ, क्षेत्रीय राज्यहरू तथा साझेदारसँग काम गर्ने आफ्नो संयुक्त प्रतिबद्धतालाई आफूले नवीकरण गरेको" बताएको छ।
गाजामा कसको शासन?
यो प्रस्ताव लागु भएमा तत्काल सैन्य कारबाही स्थगित हुने छ।
ट्रम्पको योजनाअनुसार हमासले पनि आफ्ना हतियार थन्क्याउनुपर्ने छ। उसका सुरुङ तथा हतियार निर्माण गर्ने कारखानाहरू बन्द हुने छन्।
हमासले एक जना बन्धकको शव हस्तान्तरण गर्दा बदलामा इजरेलले १५ गाजावासीको शव दिनुपर्ने छ।
यसबाहेक अमेरिकाले गाजाको शासन व्यवस्थाबारे पनि योजना बनाएको छ। उसका अनुसार शासन प्रक्रियामा हमासको "प्रत्यक्ष, अप्रत्यक्ष वा अन्य कुनै रूपमा" भूमिका हुनु हुँदैन।
यसअनुसार इजरलले पनि "गाजाको स्वामित्व लिने वा आफूमा गाभ्ने छैन" र यसका सैन्य फौजहरू चरणबद्ध रूपमा त्यहाँबाट फिर्ता हुने छन्।
योजनाअनुसार "विभिन्न विषयका विज्ञहरू सम्मिलित गैरराजनीतिक प्यालेस्टिनी समिति"ले अस्थायी रूपमा शासन सम्हाल्ने छ।
ट्रम्पको "नेतृत्वमा रहने 'बोर्ड अफ पीस' भनिने नयाँ अन्तर्राष्ट्रिय सङ्क्रमणकालीन निकाय"ले यो समितिको सुपरिवेक्षण गर्ने छ।
यूकेका पूर्वप्रधानमन्त्री सर टोनी ब्लेअर पनि यो निकायमा संलग्न हुने बताइएको छ। उनीसँग अरू कोको हुन्छन् भन्ने चाहिँ घोषणा हुन बाँकी छ।
सहमतिका धेरै कुराहरू अमेरिकाले गाजाको पुनर्निर्माणका लागि "आर्थिक विकासको योजना" भन्ने गरेको प्रस्तावमा केन्द्रित छन्।
अन्तर्राष्ट्रिय प्रतिक्रिया
यूके, फ्रान्स र इटलीका नेताहरूले यस योजनाको स्वागत गर्दै आफूले त्यसमा आवश्यक योगदान दिने बताएका छन्।
यसैबीच यूएई, साउदी अरब, कतार, इजिप्ट, जोर्डन, टर्की, इन्डोनेशिया र पाकिस्तानका विदेश मन्त्रीहरूले एक संयुक्त विज्ञप्ति प्रकाशन गर्दै "गाजामा युद्ध अन्त्य गर्न ट्रम्पले लिएको नेतृत्व र उनको इमानदार प्रयास"को आफूले स्वागत गरेको बताएका छन्।
अमेरिकासँग संलग्न भई सहमतिलाई अन्तिम रूप दिन र यसलाई लागु गर्न सघाउन आफू तयार रहेको उनीहरूले बताएका छन्। साथै यसले अन्ततः "प्यालेस्टिनी राज्यमा वेस्ट ब्याङ्कसँगै गाजा पूर्ण रूपमा एकीकृत हुने गरी दुई राज्यको समाधान" तर्फ लैजानुपर्नेमा उनीहरूले जोड दिएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।