तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विपिन जोशी बेपत्ता भएको दुई वर्ष, परिवार भन्छ, 'पर्खाइमा छौँ'
- Author, हिक्मतबहादुर रावल
- Role, धनगढी
सन् २०२३ को अक्टोबरयता बेपत्ता रहेका र हमासको नियन्त्रणमा रहेको ठानिएका नेपाली विद्यार्थी विपिन जोशी छिट्टै रिहामुक्त भई आफ्नो सम्पर्कमा आउने आशामा आफूहरू रहेको उनको परिवारका सदस्यहरूले बताएका छन्।
जोशीको रिहाइका लागि पहल गर्न अन्तर्राष्ट्रिय जगत्सँग आह्वान गर्ने भन्दै झन्डै एक महिनाअघि विपिनकी आमा पद्मा र बहिनी पुष्पा इजरेल पुगेका थिए।
त्यसपछि घर फर्किएका उनीहरू फेरि त्यही पहललाई निरन्तरता दिन अमेरिका पुगेका छन्।
परिवारजनको भनाइ
विपिनका बुवा महानन्द जोशीले हमासलाई युद्धविरामका लागि सहमत गराउने प्रयास सुरु भएसँगै आफूहरूको आशा बढेको बताए।
यद्यपि युद्धविराम हुने कुरामा आफू ढुक्क नभएको बताउँदै बीबीसीसँग उनले मङ्गलवार भने, ''युद्धविरामको कुरा आएको छ फेरि। पहिलाझैँ हुने हो कि के हुने हो थाहा छैन। भगवान्ले कति पीडा दिएका हुन्?"
तर उनले थपे, "दुई वर्ष भयो, हामी पर्खाइमै छौँ।"
यसैबीच विपिनका दाजु किशोर जोशीले आफूले पनि आशा नमारेको बताए। ''विपिन एक दिन घर फर्किन्छ जस्तो लाग्छ। यो बेला फेरि राष्ट्रिय, अन्तर्राष्ट्रिय जगत्ले पहल गरिदिए केही हुन्थ्यो कि।''
'अत्यास लागेर आउँछ'
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरेलमाथि आक्रमण गर्दा विपिन जोशीका १० जना सहपाठीको मृत्यु भएको थियो।
मृत्यु हुने सबै सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायमा अध्ययनका क्रममा 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत इजरेल पुगेका विद्यार्थी थिए।
उनी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए। कृषि फर्ममा कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो।
अरू चार जना घाइते भएका थिए भने जोशी सम्पर्कविहीन भएका थिए। अन्य दुई जना भने सकुशल थिए।
विश्वविद्यालयको कृषिविज्ञान सङ्कायका डीन विष्णुविलास अधिकारीले भने, ''हाम्रो पहिलो ब्याच थियो त्यो, बिएस्सी एग्रिकल्चरको। इजलरेलमा राम्रो प्रविधि सिकेर आउलान्, आफ्नै देश फर्केर केही गर्लान् भन्ने उद्देश्यले पठाइएको थियो, तर त्यस्तो घटना भयो।"
"अहिले पनि त्यो घटना सम्झिँदा अत्यास लागेर आउँछ।''
अहिलेसम्म बेखबर विपिनलाई सम्झिँदै संयोजक अधिकारी भन्छन्, ''हामीले सुनेका थियौँ कि उक्त घटनामा विपिनले अरूलाई पनि बचाए रे, तर उनी आफैँ दुई वर्षदेखि बेपत्ता छन्। कुन अवस्थामा छन् भन्ने यकिन भएको छैन।"
जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले हमासले प्रहार गरेको ग्रिनेड फालेर उनले आफूहरूलाई बचाएको बताएका थिए। तर पछि उनलाई हमास लडाकुले लगेको ती विद्यार्थीहरूले सञ्चारमाध्यमलाई बताएका थिए।
"जूनिअर भाइबहिनीहरू उक्त घटना सम्झिँदै टोलाउँछन्। हाम्रा लागि त पहिलो गाँसमै ढुङ्गाजस्तो भयो," अधिकारीले भने।
मृतकहरूको सम्झना
हमासले इजरेलमा सयौँ व्यक्तिको ज्यान जाने गरी हमला गरेको मङ्गलवार दुई वर्ष पुगेको छ। उक्त हमलामा १,२०० जना मारिएका थिए भने २५१ जनालाई बन्धक बनाइएको थियो।
अक्टोबर ७ का दिन इजरेलमा नोभा साङ्गीतिक कार्यक्रममा हमास लडाकुबाट मारिएका व्यक्तिहरूलाई तिनका आफन्त तथा साथीभाइहरूले सोही स्थलमा मैनबत्ती एवं पुष्पगुच्छासहित स्मरण गरेका छन्। मानिसहरू मारिएका अरू विभिन्न स्थानमा पनि स्मृति कार्यक्रमको आयोजना भइरहेको छ।
यहुदी सार्वजनिक बिदा परेकोले र यहुदी पात्रोअनुसार यसै महिनाको अन्त्यतिर उक्त घटनाको दोस्रो वर्ष पुग्ने भएकोले इजरेल सरकारको तर्फबाट चाहिँ कुनै कार्यक्रमको आयोजना गरिएको छैन।
अमेरिका, यूके, इजरेल र अरू कैयौँ देशले हमासलाई आतङ्कवादी सङ्गठन मान्दै आएका छन्। हमासले भने आक्रमणको दिनलाई "सो क्षेत्रको एउटा अर्थपूर्ण निर्णायक बिन्दु" भनेको छ।
उक्त समूहले यसबीचमा निहत्था नागरिकको मृत्युप्रति लज्जास्पद मौनता र अरबहरूको अभूतपूर्व बेवास्ता देखिएको टिप्पणी गरेको छ।
अक्टोबर ७ पछि इजरेलले गाजामा आक्रमण सुरु गरेयता हालसम्म ६७ हजार १७३ जना मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।