तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इजरेल-गाजा युद्ध : शान्तिको मूल्य के हो?
- Author, जेरमी बोअन
- Role, बीबीसी अन्तर्राष्ट्रिय सम्पादक, जेरुसेलम
गाजा स्ट्रिपमा दिन वा रात ढल्दा जीवित रहनु चमत्कारसरह हुन्छ। गाजामा कार्यरत राष्ट्रसङ्घीय सहायता निकाय यूएनआरडब्ल्यूएका प्रमुख फिलिप लाज्जरिनीले गाजाको अवस्थालाई नरकसँग तुलना गर्दै प्यालेस्टिनीहरूले "अन्त्यहीन र गहिरो दुःख" बाट आफ्नो "सुरक्षाका लागि गुहार" माग्ने गरेको लेखेका थिए।
हमासले बन्धक बनाएर लगेका र उनीहरूबाट पीडित बनेका परिवारका लागि पनि त्यस्तै नारकीय अवस्था बनेको हुनुपर्छ। युद्ध मानिसहरूलाई भयानक पीडाबाट लैजाने निर्मम चुल्हो हो। तर यसको तापले असम्भवप्राय: ठानिएको परिवर्तन ल्याउन सक्छ।
पश्चिम युरोपमा दोस्रो विश्वयुद्धपछि त्यसो भएको थियो। शताब्दिऔँसम्म एकअर्कालाई मार्दै आएका शत्रुहरूले शान्ति रोजे।
के गाजामा भइरहेको युद्धले इजरेली र प्यालेस्टिनी पक्षलाई भूमध्यसागर र जोर्डन नदीबीचको भूभागमा झन्डै एक शताब्दीदेखिको द्वन्द्व अन्त्य गर्न झकझक्याउन सक्ला?
मोहम्मद अबु शारकी शोकविह्वल पत्नी
मोहम्मद अबु शारको शवनजिकै बसेकी उनकी पत्नी शोकविह्वल भएको भिडिओ मैले हेरेको छु। इजरेल र इजिप्टले पत्रकारहरूलाई गाजामा प्रवेश गर्न नदिएकाले मैले उनलाई भेट्न पाएको छैन। मलाई उनको नाम पनि थाहा छैन। भिडिओमा उनका पति र सन्तानहरूको नाम लेखिएको भए पनि उनको नाम छैन।
भिडिओमा उनी मृत पति फिर्ता आउलान् कि भने झैँ गरी बिलौना गरिरहेकी छन्।
"हामीले सँगै मर्ने वाचा गरेका थियौँ। तिमी मर्यौँ र मलाई छाड्यौ। ईश्वर, अब हामी के गरौँ? मोहम्मद, तिमी बिउँतिऊ! ईश्वरका लागि भए पनि प्यारा, तिमी बिउँतिऊ। म तिमीलाई माया गर्छु। ईश्वरका लागि बिउँतिऊ। हाम्रा सन्तान नूर र अबूद यहाँ तिमीसँगै छन्। उठ न।"
उनीहरूका दुई सन्तान मोहम्मदसँगै थिए। तीनै जनाको इजरेली कारबाहीमा मृत्यु भएको थियो। उनीहरूले रफाहमा आश्रय लिएको एउटा घर हवाई हमलामा ध्वस्त भयो।
हमासले आक्रमण गर्दा आमा गुमाएका योनाटन त्साइगन
म योनाटन त्साइगनलाई भेट्न तेल अभिभस्थित उनको घर गएँ। त्यो आरामदायी घरमा बालबालिकाका लागि खेलौनाहरू थिए। त्यहाँ एउटा तस्बिरमा मैले उनकी आमा भिभिअन सिल्भरलाई चिनेँ। उनी प्यालेस्टिनीहरूसँग शान्ति कायम गर्नका लागि अभियान चलाउने अग्रणीमध्ये एक थिइन्।
अक्टोबर ७ मा हमासले हमला गर्दा उनी गाजासँग सिमानानजिकै किबुट्स बेअरीस्थित घरमा थिइन्। इजरेलमा मिलेर खेतीपाती गर्ने ठाउँलाई किबुट्स भनिन्छ। आक्रमण भएको केही दिनमै मैले पहिलो पटक योनाटनलाई भेटेको थिएँ। उनले आफ्नी आमालाई गाजामा बन्धक बनाएर लगिएको होस् भन्ने कामना गरेका थिए।
तेल अभिभमा हवाई हमलाको जनाउ दिने साइरन बज्नेबित्तिकै उनले भिभिअनलाई फोन गरे। किबुट्समा गोली चलेको र र विस्फोटन भएको सुन्नेबित्तिकै उनीहरू ह्वाट्स्यापतिर सरे। कुनै आवाज आएको नसुने हमासका लडाकुहरूले त्यो घर छोडिदेलान् भन्ने उनीहरूलाई लागेको थियो।
उनले आमासँग आदानप्रदान भएका सन्देशहरू पढेर सुनाए। सुरुमा सन्देशहरू ठट्यौलो पाराका थिए तर नरसंहार भइरहेको थाहा पाएपछि उनले गम्भीर भएर प्रेमपूर्वक सन्देश पठाएकी थिइन्।
उनले मलाई भने: "उहाँले लेख्नुभयो - 'उनीहरू घरभित्र छन्, यो ठट्टा गर्न छोड्नुपर्ने र बिदा माग्ने बेला हो।"
"अनि मैले जबाफमा लेखेँ 'आमा, म तपाईँलाई माया गर्छु। मसँग शब्दहरू छैन, म तपाईँसँग छु।' त्यसपछि आमाले लेख्नुभयो - 'म तिम्रो मनस्थिति बुझ्छु।' त्यो नै उहाँको अन्तिम सन्देश थियो।"
अर्को दिन बेअरी पुग्दा मैले उनीहरूको जलेको घर देखेँ। अनुसन्धानकर्ताहरूलाई 'सुरक्षित कक्ष' मा खरानीबाट भिभिअन सिल्भरको अवशेष प्राप्त गर्न हप्तौँ लागेको थियो। योनाटनले शान्ति अभियान चलाउन सामाजिक कार्यकर्ताको जागिर छाडेका छन्।
"उनीहरूले मेरो देशमा आएर मेरी आमाको हत्या गरे किनकि हामीकहाँ शान्ति थिएन। त्यसैले मलाई लाग्छ यसले हामीलाई आवश्यक कुरा शान्ति नै हो भन्ने प्रमाणित गर्छ।"
"यो अर्को तरिकाबाट पनि जान सक्छ। विश्वमा यस्ता विनाशहरूले समाजमा परिवर्तन ल्याउँछन्। यसले राम्रो भविष्यतिर लैजान सक्छ भन्ने मलाई लाग्छ।"
इजरेली सेनाको तारो बनेका इस्सा आम्रो
इस्सा आम्रो वेस्ट ब्याङ्कस्थित हेब्रोनका प्यालेस्टिनी अभियानकर्ता हुन्। उक्त सहर यहुदी र मुस्लिम दुवैका लागि पवित्र स्थल हो। त्यहाँ पैगम्बर अब्राहमको समाधिस्थल छ।
तर दशकौँदेखि उक्त स्थान हिंसाको केन्द्रबिन्दु बनिरहेको छ।
हेब्रोनमा इस्सा आम्रोलाई सबैले चिन्छन्। इजरेली सेना उनलाई समस्या सिर्जना गर्ने व्यक्ति ठान्छ। हेब्रोन सहरको मध्यभागमा यहुदी बस्तीनजिकै प्यालेस्टिनीहरू बस्छन्।
त्यहाँ इजरेलले प्यालेस्टिनीहरूलाई लक्ष्य गरी कर्फ्यू लगाएको छ। अक्टोबर ७ को घटनापछि आफूलाई नियन्त्रणमा लिएर कुटपिट गरिएको उनले मलाई बताए।
तेल अभिभका योनाटन त्साइगनजस्तै इस्सा आम्रो पनि यो युद्धले दुवै इजरेली र प्यालेस्टिनीहरूलाई राम्रो र सुरक्षित जीवनको अवसर प्रदान गर्ने सम्भावना देख्छन्।
"मलाई दुइटा अवसर छन् जस्तो लाग्छ। हामी कि यसलाई खराब बनाउने अवसर रोज्न सक्छौँ या द्वन्द्व समाधानको अवसर एवं जमिन कब्जाको समाधान खोज्न सक्छौँ," उनी भन्छन्।
"वर्णभेदको समाधान गर्दै मिलेर बस्न सम्भव बनाउन सकिने छ किनभने सुरक्षाको समाधान असफल भएको छ... शान्ति मात्र समाधान हो।"
शान्तिको सम्भावना
अहिलेको अवस्थामा शान्ति तत्काल सम्भव देखिँदैन। शान्ति स्थापना हुनुअघि अझ धेरै मानिसको ज्यान जाने छ। तर सबै युद्ध जसरी यो पनि रोकिने छ।
सन् २००७ मा हमासले गाजामा नियन्त्रण कायम गर्न थालेयता सो क्षेत्रमा र आसपास भएका सबै लडाइँ अन्ततः युद्धविराम गर्ने सम्झौतापछि टुङ्गिएका छन्।
तर ती सबै युद्धविराममा त्रुटिहरू थिए जसले इजरेल र हमासबीच अर्को लडाइँ सुनिश्चित गरिदिएका थिए। प्यालेस्टाइन र इजरेलीबीच झन्डै एक शताब्दीदेखि जारी द्वन्द्व अन्त्य गर्न कुनै प्रयास नगरिएको हुँदा त्यसो भएको हो।
यस युद्धमा भएका हत्या र विध्वंस यति भिन्न छन् कि सामान्य अवस्था फेरि बिउँतिएला भन्ने कसैले ठान्न सक्दैन। यस पटक त्यो भिन्न हुनुपर्छ। यति कुरा प्यालेस्टिनी र इजरेली अनि यस मामिलामा सरोकार राख्ने बाह्य शक्तिहरूले स्वीकार गरेका छन्।
तर कस्तो भविष्य बनाउने प्रयासका लागि सहमति गर्ने भन्ने विषयमा समस्या छ। इजरेल सरकार र आफ्नो मुख्य साझेदार अमेरिकासँग युद्धविरामपछि के हुन्छ भन्ने विषयमा कूटनीतिक विवादमा पर्न सक्ने देखिन्छ।
राष्ट्रपति जो बाइडन गाजामा इजरेलको "अन्धाधुन्ध बम आक्रमण"बाट चिढिए जस्तो देखिन्छ। त्यति हुँदाहुँदै पनि उनले युद्ध सुरु भएको बेलामा जस्तै इजरेललाई समर्थन गरिरहेका छन्।
अमेरिकाले इजरेललाई सघाउन विमानवाहक पानीजहाज खटाएको छ, विमानका विमान हतियार पठाएको छ र राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा युद्धविरामको प्रस्तावविरुद्ध भीटो अर्थात् विशेषाधिकार प्रयोग गरेको छ।
त्यसको सट्टा बाइडन इजरेल स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना गर्ने वार्ता बिउँताउन सहमत होस् भन्ने चाहन्छन्। त्यो ओस्लो शान्तिप्रक्रियाको उद्देश्य थियो। धेरै वर्षको वार्तापछि पनि उक्त प्रक्रिया विफल भएको थियो।
इजरेल के चाहन्छ
यदि इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले हमास पराजित भएको घोषणा गरे भने पनि गाजामा कसरी शासन हुन्छ भन्ने विषयमा खास केही बताएका छैनन्। तर उनले बाइडनको योजनालाई अस्वीकार गरेका छन्।
आफ्नो लामो राजनीतिक जीवनमा नेतन्याहू निरन्तर रूपमा ओस्लोले प्रयास गरेको र निष्फल भएको स्वतन्त्र प्यालेस्टिनी राज्यको प्रस्तावको विपक्ष उभिएका छन्।
इजरेलको उद्देश्य जित हात पार्नु र हमासमा बाँकी जो बाँकी रहन्छन् तिनलाई बिनासर्त आत्मसमर्पण गराउनु रहेको देखिन्छ। हमासलाई सखाप पारेर बन्धक मुक्त गर्ने एउटा मात्र उपाय भएको उनको धारणा छ।
बाइडनले इजरेलले अन्धाधुन्ध बम आक्रमण गरिरहेको बताउनुभन्दा केही घण्टाअघि नेतन्याहूले भाषण गरे। "म इजरेललाई ओस्लोको गल्ती दोहोर्याउन दिने छैन," उनले भने।
"हाम्रा नागरिक र सैनिकहरूको ठूलो बलिदानपछि म आतङ्कवादलाई प्रशिक्षित गर्ने, आतङ्कवादलाई सघाउने र आतङ्कवादलाई आर्थिक सहायता दिनेहरूलाई गाजामा प्रवेश गर्न दिने छैन। गाजा न हमास्तान न फतहस्तान बन्छ।"
हमासको प्रतिद्वन्द्वी प्यालेस्टिनी प्राधिकरण (पीए) लाई अपमानजनक रूपमा 'फतहस्तान' भन्ने गरिएको छ। पीएले इजरेलको अस्तित्व स्वीकार गर्छ र सुरक्षाका लागि उससँग सहकार्य गर्छ।
इजरेलको आन्तरिक राजनीति नेतन्याहूको हिसाबकिताबसँग मेल खान्छ। मतसर्वेक्षणहरूका अनुसार धेरै इजरेलीहरू नेतन्याहूकै कारण गुप्तचर र सुरक्षा संयन्त्र विफल भएका र हमासले अक्टोबर ७ मा घातक आक्रमण गर्न सकेको धारणा राख्छन्।
प्यालेस्टिनी आत्मनिर्णयको विरोधमा अझ दरिलो गरी उभिँदै नेतन्याहूले आफ्नो सरकारको पक्षमा दक्षिणपन्थी यहुदी राष्ट्रवादीहरूको विश्वास पुन: प्राप्त गर्न खोजिरहेका छन्।
शान्तिको आशा
भिभिअन सिल्भरका छोरा योनाटन त्साइगनलाई यदि आफ्नी आमा यो युद्ध देखेको भए उनी निकै दुःखित बन्थिन् होला भन्ने लाग्छ। युद्धबाट अरू युद्ध निम्तिने सिल्भरको धारणा थियो।
"मलाई लाग्छ उहाँ 'मेरो नाममा नगर्न' भन्नुहुन्थ्यो होला...। यदि हामी धेरै अबुझ छैनौँ भने युद्ध एउटा माध्यम हुनुपर्छ, हैन र? तर यो युद्ध प्रतिशोधका कारण भए जस्तो लाग्छ।"
योनाटन इजरेलको राजनीतिक अजेन्डामा फेरि शान्ति समावेश गर्न सकिने एउटा नयाँ अवसर देख्छन्।
सन् २००० मा ओस्लो प्रक्रिया विफल भएपछि सशस्त्र प्यालेस्टिनी विद्रोह सुरु भएकाले शान्ति अभियानकर्मीहरू प्रभावहीन बने। इजरेलको मूलधारको राजनीतिबाट शान्तिको अवधारणा हरायो। योनाटन त्यो फर्किने आशामा छन्।
"अवश्य पनि। तपाईँ त्यो शब्द उच्चारण गर्न पनि सक्नुहुन्नथ्यो। अनि अहिले मानिसहरू त्यसबारे कुरा गरिरहेका छन्।"
प्यालेस्टिनी अभियानकर्मी आम्रो अक्टोबर ७ पछि त्यहाँको अवस्था निकै दयनीय रहेको बताउँछन्।
"अवस्था निकै बिग्रियो। दशगुना बिग्रियो। थप प्रतिबन्ध, थप हिंसा, थप सन्त्रास। मानिसहरू कत्ति पनि सुरक्षित महसुस गर्दैनन्। मानिसहरूसँग पर्याप्त खानेकुरा छैन। मानिसहरूको सामाजिक जीवन छैन। विद्यालय छैन, शिशुशिक्षालय छैन, काम छैन। निकै प्रतिबन्धित क्षेत्रभित्र यस्तो सामूहिक दण्ड छ।"
म र इस्सा हेब्रोनको मध्यभागमा हिँड्दै थियौँ। इजरेली सेनाको एउटा समूहसँग उनको भनाभन भयो। सैन्य पोसाकमा भएका एक सैनिकले एउटा असल्ट राइफल र खोलभित्र ठूलो पेस्तोल बोकेका थिए। उनले मास्क लगाएका र उनको आँखा मात्र देखिन्थ्यो।
इस्साले मलाई शान्ति मात्र अगाडिको बाटो भएको र यो द्वन्द्वको कुनै सैन्य समाधान नरहेको बताउँदा ती सैनिककले ध्यानपूर्वक सुनिरहेका थिए। हाम्रो संवादमा उनी पनि जोडिन आइपुगेका थिए। तर उनले आफ्नो परिचय खुलाएनन्।
"यस प्रकारका छिमेकीहरूसँग इजरेलमा हुर्कनु कस्तो हुन्छ भन्ने तपाईँलाई थाहा छैन," उनले भने।
"समलिङ्गी अधिकारको कुरा गर्दा उनीहरू महिलालाई पिट्छन्, त्यो मैले आफ्नै आँखाले देखेको छु। उनीहरू आफूलाई मन नपरेको मानिससँग प्रेम गर्ने आफ्नै छोरीको हत्या गर्छन्। उनीहरू [प्यालेस्टिनी] हिंसक छन्। उनीहरूबारे मलाई थाहा छ। म उनीहरूसँग बसेको छु। उनीहरू शान्ति चाहँदैनन्...उनीहरू मलाई घृणा गर्छन्। म त्यो अनुभव गर्न सक्छु। मलाई उनीहरूले भनेका सबै कुरा थाहा छ। म उनीहरूसँग कुरा गर्दिनँ।"
छिमेकी देशहरू के चाहन्छन्
अमेरिका, ब्रिटेन र अरू धेरै देशले चाहेको शान्तिपूर्ण भविष्य तथा स्वतन्त्र प्यालेस्टिनी राज्य र सुरक्षित इजरेलका लागि दिगो कूटनीतिक र राजनीतिक इच्छाशक्ति र प्रतिबद्धताबिना सम्भव देखिँदैन।
ओस्लो शान्ति प्रक्रिया अमेरिकीहरूको मध्यस्थतामा पुरानो ढाँचामा भएको थियो। तर त्यो फलदायी भएन।
यदि अर्को अवसर आयो भने प्यालेस्टिनी स्वतन्त्रतालाई मध्यपूर्वमा परिवर्तनको बृहत्तर योजनाको एउटा महत्त्वपूर्ण अङ्ग बनाउनुपर्ने धारणा केही पश्चिमा कूटनीतिज्ञहरूको छ। प्यालेस्टिनी स्वतन्त्रताका लागि इजरेल तयार हुने हो भने उसले साउदी अरबसँग पारस्परिक स्वीकारको पुरस्कार पाउन सक्छ। इजरेलसँग शान्ति कायम गरेका जोर्डन र इजिप्ट पनि महत्त्वपूर्ण पक्ष हुन सक्छन्। खाडीका धनी देशहरू कतार र यूएई पनि महत्त्वपूर्ण हुने छन्।
साउदी अरबजस्तै उनीहरूले पनि मध्यपूर्वमा शान्ति खोजेका छन्। अर्बौँ डलर खर्चँ गर्दै उनीहरू आफू विश्वशक्ति बन्ने प्रयास गरिरहेका छन्।
एउटा खाका तयार छ। बीस वर्षअघि साउदी अरबले बनाएको शान्ति योजनाले इजरेललाई पूर्ण मान्यता दिँदै अरब देशहरूसँग शान्ति कायम गर्न सकिने प्रस्ताव गरेको थियो। त्यसको बदलामा गाजा र वेस्ट ब्याङ्कमा सार्वभौम प्यालेस्टिनी राज्य र पूर्वी जेरुसलेममा त्यसको राजधानी प्रस्ताव गरिएको थियो।
त्यसलाई यसअघि नै इजरेल र केही अरब देशबीच भएको 'एब्राहम एकर्ड्स'मार्फत् पुन: सक्रिय बनाउन सकिन्छ। तर त्यसमा प्यालेस्टिनी राज्यको कुरा थप्न आवश्यक छ।
यो एउटा महत्त्वाकाङ्क्षी धारणा हो जुन यसमा विश्वास गर्ने नयाँ इजरेली र प्यालेस्टिनी नेताहरूबिना सम्भव नहुन पनि सक्छ।
अमेरिकीहरूले मध्यस्थता गर्न सक्छन्। त्यस क्रममा उनीहरू निष्पक्ष हुनुपर्छ जुन कुरा विगतमा भएको छैन। दुवै पक्षले आआफ्ना धारणामा धेरै सम्झौता गर्नुपर्छ, विशेषतः जमिनको विषयमा।
कस्तो जोखिम
शान्तिका पक्षमा जोखिम मोल्न खोज्ने नेताहरू राजनीतिक आँधीबेहरीबाट प्रभावित हुन सक्छन्।
प्यालेस्टिनीहरूसँग शान्ति कायम गर्न खोज्ने इजरेली प्रधानमन्त्री इट्स्हाक रबिनलाई सन् १९९५ मा एक यहुदी अतिवादीले हत्या गरेका थिए। इजरेलसँग शान्ति कायम गरेकै कारण एक इस्लामिस्ट अतिवादीले इजिप्टका राष्ट्रपति अन्वर सदातको हत्या गरेका थिए।
गाजाको युद्ध जतिसक्दो छिटो अन्त्य हुनुपर्छ। यदि यो फैलियो भने भयानक परिस्थिति सिर्जना हुन सक्छ। इजरेली ट्याङ्कहरू नजिकै आउँदै गर्दा आत्तिएका प्यालेस्टिनीहरूले इजिप्टतर्फको सीमा नाघ्न सक्छन् अनि इजरेल र लेबननी लडाकु समूह हिज्बुल्लाबीच अहिले सीमावारिपारि हुने गरेको गोली हानाहान युद्धमा परिणत हुन सक्छ।
त्यसैले शान्ति स्थापना गर्न धेरै कुरा मिल्नुपर्छ। धेरै कुरा बिग्रिसकेकाले शान्ति सम्भव नहुन पनि सक्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।