'प्यालेस्टिनी युवाका रूपमा हामीले राजनीतिक समाधानमा विश्वास गुमाइसकेका छौँ'

    • Author, युसेफ एल्दीन
    • Role, बीबीसी विश्व सेवा

तीस वर्षमुनिका प्यालेस्टिनीहरूले अहिलेसम्म मतदान गर्न पाएका छैनन् र धेरैले आफूहरूलाई राजनीतिक नेतृत्वप्रति विश्वास नरहेको बताउँछन्।

बीबीसीसँग साझा गरिएका डेटाअनुसार प्यालेस्टिनी युवाहरूले इजरेली-प्यालेस्टिनी द्वन्द्व अन्त्यका लागि अगाडि सार्दै आइएको ‘दुई राज्य समाधान’ लाई अस्वीकार गर्ने क्रम बढ्दो छ।

“वास्तविक स्थिति नै नहेरी पश्चिमाले ल्याएको ‘दुई राज्य समाधान’ को कुरा बारम्बार गरिन्छ। तर सीमाहरू कता छन्?,” १७ वर्षीया जाना तमिमीले विमति जनाउँदै भनिन्।

जाना संसारमा सबैभन्दा सानो उमेरमा पत्रकारको मान्यता पाएका व्यक्तिमध्ये एक हुन्।

सात वर्षको उमेरबाट उनले आफ्नी आमाको मोबाइल मागेर अधिनस्थ वेस्ट ब्याङ्कमा पर्ने गृहनगर नबी सलाहमा प्रदर्शनहरूबारे रिपोर्टिङ गर्न थालेकी हुन्।

“मैले [इजरेली फौजबाट] रातिको समयमा र दिनमा प्रायः भइरहने छापामारीबारे रिपोर्टिङ गर्दै आएकी छु। ती सबैको भिडिओ म खिच्दिनँ, तर राम्रो गर्ने प्रयास गर्छु,”उनले भनिन्।

“पढाइ र कामलाई सँगै बढाउँदा गाह्रो हुने रहेछ। तर रिपोर्टिङ गर्नुपर्ने केही न केही भइरहन्छ।”

जानाको जन्म भएयता प्यालेस्टिनी भूभागमा अहिलेसम्म न एउटा आमचुनाव न त राष्ट्रपतीय चुनाव भएको छ।

त्यहाँ अन्तिम चुनाव सन् २००६ मा भएको थियो जसको अर्थ ३४ वर्ष मुनिका मानिसले मतदान गर्न पाएका छैनन्।

प्यालेस्टिनी नेतृत्वप्रति विश्वास गुमेको छ भने शान्तिका लागि इजरेलसँगै स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापना गर्ने गरी अन्तर्राष्ट्रिय रूपमा समर्थन रहेको ‘दुई राज्य समाधान’ प्रति समर्थन खस्कँदो छ।

वेस्ट ब्याङ्कमा अस्थित प्यालेस्टिनी सेन्टर फर पोलिसी एन्ड सर्भे रिसर्चले दुई दशकको अवधिमा मानिसहरूको धारणामा आएको परिवर्तनलाई हेरेको छ र १८ देखि २९ वर्ष उमेरका मानिसहरूबारेको तथ्याङ्क बीबीसीसँग साझा गरेको छ।

राजनीतिक तापक्रम

ती निष्कर्षमा अहिलेको पुस्तामा सत्तारूढ प्यालेस्टिनी प्रशासनमाथि घट्दै गएको समर्थनलाई र हालैको दशकमा ‘दुई राज्य समाधान’प्रतिको समर्थनमा निरन्तर गिरावट भएको स्पष्ट रूपमा देखिएको छ।

उक्त सेन्टरका निर्देशक खलिल सिकाकीले भने, “युवाहरूको आजको असन्तुष्टि राजनीतिक प्रणालीमा उनीहरूले देखेको वैधानिकताको कमीका कारण मूल रूपमा प्रकट भएको हो। हामीसँग राष्ट्रपति छन् जोसँग १४ वर्षयता चुनावी वैधानिकता छैन।”

“हाम्रो राजनीतिक प्रणाली मूलत: निरङ्कुश छ, एकजना व्यक्तिले चलाएको जस्तो छ। सैद्धान्तिक रूपमा हामीसँग संविधान छ, तर वास्तविक रूपमा हामीले हाम्रो संविधानलाई पालना गरिरहेका छैनौँ।”

यसैगरी सशस्त्र मुठभेडप्रतिको समर्थन ३० वर्षको उमेर समूहमा उच्च छ।

छपन्न प्रतिशतभन्दा बढीले इजरेलविरुद्धको क्रान्ति अर्थात् इन्टिफाडामा फर्कनुपर्ने धारणा गत मार्च महिनामा गरिएको एउटा सर्वेक्षणमा राखेका थिए।

विगतका वर्षमा कैयौँ नयाँ लडाकु समूह उत्तरी वेस्ट ब्याङ्कका नाब्लस र जेनिन शहरमा देखापरेका छन् र उनीहरूले प्यालेस्टिनी प्रशासनका सुरक्षा बलहरूको वैधानिकतामाथि प्रश्न उठाइरहेका छन्।

तिनीहरूमध्ये सबैभन्दा परिचित लायन्स डेन र जेनिन ब्रिग्रेड्स हुन् जसले वेस्ट ब्याङ्कमा इजरेली फौज र त्यहाँ बसेकाहरूलाई निशाना बनाई आक्रमण गरेका थिए।

एक राति २ बजे हामी जेनिन शरणार्थी शिविरका घुमाउरा गल्लीहरूमा तालिमको अभ्यास गरिरहेका बेला जेनिन ब्रिग्रेडसँगै हिँडेका थियौ।

एउटा लाइनमा उभिँदै गरेका प्रत्येक सदस्यसँग एम१६ राइफल छ र टाउकोदेखि गोलीगाँठोसम्म उनीहरूले कालो रङको पोशाक लगाएका छन्।

अधिकांश पुरुषहरूको उमेर २० वर्ष आसपास रहेको छ।

पहिचानको प्रश्न

के उनी हिंसालाई समाधानको रूपमा समर्थन गर्छन्?

“उनीहरू यहाँ आएर दिनदहाडै नियोजित रूपमा हत्या गर्छन्,” इजरेली सेनालाई इङ्गित गर्दै उनले भने।

प्यालेस्टिनी भूभागको भविष्यमा आफ्नो आवाज नसमेटिएको बताउने कतिपय युवाले पहिचानबारे प्रश्न गरेका छन्।

मज्द निस्रल्लाह कत्तान फाउन्डेशनमा क्युरेटरका रूपमा काम गर्छन्। उक्त संस्थाले संस्कृति र शिक्षाको क्षेत्रमा काम गर्छ।

उनी हाल वेस्ट ब्याङ्कमा भए पनि उनको जन्म उत्तरी इजरेलको एउटा शहरमा भएको हो।

उनी र उनको पुस्ताले आफूलाई “४८ को” भनेर चिनाउँछ। सन् १९४८ मा इजरेल राज्य बनेपछि त्यो भूभागमा परेका प्यालेस्टिनीहरूलाई त्यसले जनाउँछ।

“वेस्ट ब्याङ्कमा प्यालेस्टिनी प्रणालीले मलाई चिन्दैन,” मज्दले भने। “मैले प्यालेस्टिनी चुनावमा मतदान गर्न पाउने छैन।”

प्यालेस्टिनी राजनीतिक प्रक्रियामा आफ्ना नसमेटिएको पृष्ठभूमिमा मज्दलाई ‘दुई राज्य समाधानमा’ विश्वास पनि छैन।

यो सामग्रीमा उठेका मुद्दाबारे जवाफ दिन प्यालेस्टिनी अथोरिटीलाई आग्रह गर्दा उसले पनि प्रतिक्रिया जनाएन।