'ए डिभिजन लीग' फुटबल हुन नसक्नुका ५ कारण र त्यसले पार्ने प्रभाव

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

सहिद स्मारक 'ए डिभिजन लीग' नभएको २२ महिना भइसकेको छ। पछिल्लो लीग २०८० जेठमा सम्पन्न भएको थियो।

एन्फाको विसं २०८० साल माघ महिनामा भएको साधारण सभाले ए डिभिजन लीग २०८१ साल पुस महिनामा गर्ने निर्णय गरेको थियो।

तर त्यसको कार्यान्वयन भएन न त उक्त लीगको अर्को मिति नै घोषणा गरियो।

फुटबलको सर्वोच्च निकाय प्रतिस्पर्धा आयोजना गर्न 'उदासीन' देखिएको भन्दै फुटबल क्षेत्रमा चर्चाको विषय बनिरहेको छ।

लीग हुन नसकेको ५०० दिन पुग्दा सामाजिक सञ्जालमा यो विषयमा अनेक नकारात्मक टिप्पणी भएको थियो।

ए डिभिजन लीग खेलाडी उत्पादन गर्ने आधारभूत कार्यक्रम मानिन्छ।

लीग नहुँदा राष्ट्रिय टीमको ढोका ढकढक्याउने प्रतिभाशाली खेलाडीहरूले स्वाभाविक रूपमा आफ्नो क्षमता प्रदर्शन गर्न पाइरहेका छैनन्।

यसैबीच राष्ट्रिय तहका थुप्रै खेलाडी धमाधम विदेशिएका छन् । कैयौँले ए डिभिजन लीग नभएकै कारण आफूहरू विदेशिनु परेको समेत बताइरहेका छन्।

प्रतिस्पर्धा भएको भए प्रत्यक्ष रूपमा ५०० भन्दा बढी व्यावसायिक खेलाडीको रोजगारी, प्रशिक्षक र अन्य प्राविधिकहरू, व्यवस्थापनलाई असर पुर्‍याउनुका साथै करोडौँको कारोबार हुने ठानिने गतिविधि ठप्प छ।

फुटबललाई नजिकबाट बुझ्नेहरू एन्फा भित्रको नेतृत्व असक्षमता र चरम राजनीतिलाई यसको कारण ठान्छन्।

कतिपयले लीगको पिरामिडमा रहेको बी डिभिजन आयोजना हुन नसक्दा ए डिभिजन लीग हुन नसकेको बताइरहेका छन्।

पङ्कजबिक्रम नेम्बाङ एन्फा अध्यक्ष भए यता एक पटक मात्र ए डिभिजन लीग हुन सक्यो। उनको नेतृत्वको बाँकी कार्यकालमा अब ए डिभिजन लीग हुनेमा जानकारहरूले आशङ्का व्यक्त गरेका छन्।

तर एन्फाका प्रवक्ता सुरेश शाह भन्छन्, "एन्फा अब राष्ट्रिय लीगको अवधारणामा छ। त्यसैले ए डिभिजन त हुन्छ नै। तर तत्काल भने होइन।"

दुई वर्ष पुग्न लाग्दा समेत ए डिभिजन लीग किन हुन सकेन ? यसका कारण भने थुप्रै छन्।

१. एन्फा भित्रको राजनीतिक कलह

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले हालै एक अन्तर्वार्तामा एन्फा अध्यक्षलाई भने, "कि ए डिभिजन लीग गराऊ कि एन्फा को चुनाव गराऊ।"

घर भित्रकै पदाधिकारीहरूले सार्वजनिक रूपमा यसरी टिप्पणी गर्नुले एन्फाभित्र कस्तो कलह चलिरहेको छ र ए डिभिजन लीग नहुनुको मुद्दाले कुन रूप लिइरहेको छ भन्ने दर्शाउँछ।

एन्फाका केन्द्रीय पदाधिकारीहरूको बेमेल सार्वजनिक भएको यो मात्रै एउटा घटना भने होइन।

उनीहरूबीचको मनमुटाव समय समयमा सतहमा देखिने गरेको छ। एन्फा नेतृत्व केन्द्रीय समितिमा बहुमत पुर्‍याउने खेलमा अल्झिएर ए डिभिजन लीग आयोजनामा ध्यान जान नसकेको आरोप पनि लाग्ने गरेको छ।

वरिष्ठ उपाध्यक्ष खड्का भन्छन्, " ए डिभिजनको एजेन्डा राख्दै हामी एक तिहाइ केन्द्रीय सदस्यले बैठकको माग गरेका थियौँ। बैठक चैत्र ११ मा त बोलाएको छ। तर त्यहाँ एजेन्डामा राखिएको ए डिभिजन लीग आयोजना हटाइएको छ। यसले के देखाउँछ भने एन्फा नेतृत्वको ए डिभिजन लीग आयोजना गर्ने मनसाय नै छैन।"

२. बजेटको चुनौती

प्रायोजकको खोजी र बजेट व्यवस्थापनका लागि एन्फालाई कम्तीमा चार महिना लाग्ने गरेको छ।

अधिकारीहरूका अनुसार १४ वटा क्लबलाई समावेश गरेर लीग आयोजना गर्दा १० करोड रुपैयाँको हाराहारीमा खर्च हुने गरेको छ।

यसअघि लीग आयोजना गर्दा अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले एन्फालाई सहयोग गरेको थियो।

कोभिड पछिको अवस्था भन्दै फिफाले ए, बी, सी, डी, जिल्ला र महिला लीग गर्नका लागि एन्फाको भौतिक संरचनाका लागि दिइएको बजेट प्रयोग गर्न अनुमति दिएको थियो।

वरिष्ठ उपाध्यक्ष खड्का भन्छन्, "त्यो बेला एन्फाले फिफाको १२ देखि १३ लाख अमेरिकी डलर प्रयोग गरेको थियो। अहिले फिफाले त्यस्तो बजेट दिने सुनिश्चितता नहुँदा एन्फा आफैँले व्यवस्थापन गर्नुपर्ने चुनौती छ। जसको लागि एन्फासँग मार्केटिङ योजना छैन।"

लीग आयोजनाका लागि एन्फाले प्रत्येक लीगलाई तयारी खर्च स्वरूप ३२ लाख रुपैयाँ दिनुपर्छ।

पुरस्कार राशिको लागि मात्र दुई करोड रुपैयाँभन्दा बढी खर्च हुने विगतको इतिहास छ।

३. थ्री स्टार र एपीएफको विवाद

यसअघि विसं २०७९/२०८० मा भएको लीगबाट थ्री स्टार क्लब र एपीएफमध्ये कुन टीम रेलिगेसनमा झर्‍यो भन्ने विवाद एन्फाले अझै सुल्झाएको छैन।

आगामी लीग सञ्चालनमा एन्फा पर हट्नुको एउटा मुख्य कारण यसलाई पनि मानिएको छ।

अघिल्लो लीगबाट अङ्कको आधारमा खुमलटार क्लब र एपीएफ रेलिगेसनमा परेको बताइएको थियो।

तर एपीएफले थ्री स्टार क्लब र जावलाखेल क्लबबीचको खेलमा थ्री स्टारले श्रम स्वीकृति नलिएका विदेशी खेलाडी समावेश गरेर खेल जितेको दाबी गर्दै उक्त खेलमा थ्री स्टारको अङ्क खोस्न माग गर्दै एन्फा अनुशासन कमिटीमा उजुरी दायर गर्‍यो।

थ्री स्टारको अङ्क खोसिँदा एपीएफ रेलिगेसनबाट माथि उठ्थ्यो भने थ्री स्टार रेलिगेसनमा पर्थ्यो।

एन्फाको अनुशासन समितिले श्रम स्वीकृति नलिईकन विदेशी खेलाएको भन्दै थ्री स्टारलाई ५०,००० हजार रुपैयाँ जरिबाना तिराएको थियो। तर क्लबको अङ्क भने खोसेन।

त्यसविरुद्ध एपीएफले अपिल कमिटीमा उजुरी गरेको छ। जसको निर्णय अझै भएको छैन।

अनुशासन कमिटीको निर्णयमा चित्त नबुझेको भन्दै थ्री स्टार पनि अपिल कमिटीमा गएको छ।

जसको एन्फाले एक वर्ष बितिसक्दा पनि निर्णय गरेको छैन।

जसकारण हालसम्म पनि रेलिगेसनमा थ्री स्टार हो कि एपीएफ अझै निर्णय भएको छैन।

त्यो निर्णय नभएसम्म ए डिभिजन लीग हुने सम्भावना नरहेको अधिकारीहरू बताउँछन्।

४. क्लबको 'हाइसञ्चो'

लीग नहुनुमा ए डिभिजन क्लबहरू पनि जिम्मेवार देखिन्छन्।

एन्फामा ए डिभिजन लीगका प्रतिनिधिहरू भरिएका छन्। तर कसैले पनि लीग गर्नका लागि बलियो आवाज उठाएको देखिएको छैन।

जसकारण "लीग नहुँदा क्लब पदाधिकारीहरू भित्र भित्र खुसी रहेको" आरोप लागेको छ।

एक सिजन लीग खेल्दा एउटा क्लबले कम्तीमा एक करोड रुपैयाँको हाराहारीमा खर्च गर्नुपर्ने हुन्छ। लीग नहुँदा त्यो रकमको जोहो गर्नु परेन।

५. 'बी' डिभिजन नहुनु

'बी' डिभिजन लीग समयमा नहुनु पनि एक प्रमुख समस्या हो।

लीगको पिरामिडअनुसार सी र बी भएपछि ए डिभिजन हुन्छ। बी लीगका शीर्ष दुई टोली ए मा उक्लिन्छन् अनि ए को पुछारमा रहेका दुई टोली बी मा झर्छन्।

गत वर्षको चैत्रमा गर्ने घोषणा भएको बी डिभिजन लीग पनि तीन पटक सम्म सरेर बल्ल अहिले सुरु भएको छ।

यो लीग अर्को वर्ष जेठ महिनामा मात्र सम्पन्न हुनेछ। ए डिभिजन लीग तत्काल सम्भव नहुनुको यो पनि एउटा कारण हो।

एन्फाका प्रवक्ता सुरेश शाह एन्फाको भरपुर प्रयासपछि पनि ए डिभिजन हुन नसकेको बताउँछन्।

लीगको पिरामिडको रूपमा रहेको बी डिभिजन लीग गराउने लामो प्रयास सफल नहुँदा लीगको सम्पूर्ण प्रणालीमा असर परेको उनी बताउँछन्।

उनी भन्छन्, "लीगको पिरामिड बन्न समय लाग्छ। त्यसैले आगामी वर्ष विसं २०८२ को दशैँपछि एन्फाले राष्ट्रिय लीग गर्ने योजना बनाएको छ। त्यसमा छ वटा ए डिभिजन क्लब हुनेछन्। त्यसपछि मात्र ए डिभिजन हुनेछ।"

अर्थात् राष्ट्रिय लीग भएको साल ए डिभिजन लीग हुने छैन। विसं २०८३ को आरम्भमै एन्फाको नयाँ निर्वाचन हुनेछ।

त्यसैले वर्तमान एन्फा कार्यकारी समितिले उसको कार्यकालभरमा अब ए डिभिजन लीग गर्न सक्नेमा चर्को आशङ्का व्यक्त गरिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।