भारतीय लीगको प्रभाव नेपाली महिला फुटबलमा कति?

    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

नेपालका लागि सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी साम्बाको शैली, प्रीति राईको गोल, अनिता बस्नेतको कर्नर गोल र टिमको जुझारु प्रदर्शनसँगै साउदी अरेबियामा हालै सम्पन्न 'वाफ महिला च्याम्पिअनशिप'मा नेपाली महिला फुटबल टोलीले धेरैको ध्यान तान्यो।

पश्चिम एशिया फुटबल महासङ्घको प्रतियोगितासँगै महिला टोलीले वाहवाही बटुल्यो।

महिला लीग हुन नसकेको झन्डै दुई वर्ष पुग्न लाग्दा पनि खेलाडीहरूको स्तर देखेर दर्शक छक्क थिए।

कतिपयले 'नियमित प्रतियोगिता नभएको लामो समय हुँदा पनि खेलाडीहरूले कसरी 'स्तरीय' खेल्न सके' भन्ने प्रश्न पनि गरे।

जानकारहरूका भनाइमा त्यसका विभिन्न कारण छन्। पहिलो कुरा त अधिकांश महिला खेलाडीहरू विभागीय टोलीसँग आबद्ध भएको हुनाले उनीहरूले निरन्तर प्रशिक्षण पाइरहेका हुन्छन्।

जानकारहरू अर्को मुख्य कारण आधा दर्जन महिला खेलाडीहरूले भारतको चर्चित फुटबल इन्डियन विमिन्स लीग 'आई लीग' मा व्यावसायिक प्रतिस्पर्धा गरिरहनुलाई मान्छन्।

कोको छन् आई लीगमा?

भारतमा भर्खरै आई लीगको सातौँ संस्करण सम्पन्न भएको छ।

यसै सिजनबाट आई लीगलाई डबल राउन्ड रोबिन लीगको आधारमा खेलाइएको थियो र क्लब सङ्ख्या पनि घटाउँदै सात वटा टोलीबीच प्रतिस्पर्धा भएको थियो। त्यसमा तीन क्लबमा छ जना नेपाली खेलाडीले प्रतिस्पर्धा गरे।

पछिल्लो तीन खेलका लागि अनिता केसीले घाइते प्रीति राईको स्थानमा खेलेको हुनाले खेलाडी सङ्ख्या सात पुग्यो।

राष्ट्रिय टोलीकी कप्तान गोलकिपर एन्जिला तुम्बापो सुब्बा र डिफेन्डर गीता रानाले सेथु एफसीबाट खेले।

त्यस्तै प्रीति राई र दीपा शाही किकस्टार्सबाट खेले भने अमृता जैसी र रश्मी कुमारी घिसिङ स्पोर्ट्स उडिसामा आबद्ध थिए।

यी खेलाडीहरूमा गोलकीपर एन्जिला सुब्बाले मात्र गत सिजन सेथु एफसी बाटै खेलेकी थिइन्। बाँकी खेलाडीहरूको यो पहिलो व्यावसायिक सिजन हो।

स्टार स्ट्राइकर सावित्रा भण्डारी इजरेल हुँदै फ्रान्सेली क्लबमा पुगेकोले यो सिजनमा उनी भारतमा खेलिनन्।

गत तीन सिजन खेलेर उनले तीन वटै संस्करणमा आफ्नो टोलीलाई च्याम्पिअन मात्र बनाएकी थिइनन्। उनी हरेक संस्करणकी शीर्ष गोलकर्ता समेत बनेकी थिइन्।

यो हिसाबले बाप च्याम्पिअनशिप खेल्ने नेपाली टोलीका आधाभन्दा बढी खेलाडी विदेशी लीगमा सक्रिय थिए।

एन्जिला सुब्बाका अनुसार आई लीगमा फरकफरक परिवेशमा फरकफरक टिमसँग खेल्नुपरेको थियो र त्यहाँ फिलिपिन्स, युगान्डा, केन्या, घाना र बाङ्ग्लादेशका विदेशी खेलाडीहरू थिए।

उनले बीबीसीसँग भनिन्, "पहिलो पटक होम एन्ड अवे मा खेल्दाको अनुभव राम्रो भयो। होममा जित्नुपर्ने खालको मानसिकता हुँदो रहेछ। हाम्रा छ जना खेलाडीहरू यहाँ नियमित खेलिरहेको हुनाले पनि बाप च्याम्पिअनशिप खेल्न सहज भयो।"

गत सिजनमा सावित्रा, एन्जिला र गीतासँगै सरू लिम्बू, रेखा पौडेल, रेनुका नगरकोटे र अनिता बस्नेतले पनि भारतीय लीग खेलेका थिए।

आई लीग प्रतिस्पर्धा

आई लीगमा एउटै स्थान उडिसाको प्रतिनिधित्व गरेका दुई टोली उडिसा र स्पोर्टस उडिसा दुई फरक स्थानमा रहे।

लीग समाप्त हुँदा उडिसा ३१ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा च्याम्पिअन बन्यो भने स्पोर्टस उडिसा भने मात्र दुई अङ्कका साथ पुछारमा रह्यो।

त्यही पुछारको टिममा नेपाली स्ट्राइकर रश्मी कुमारी र अमृता जैसी थिए। लीगमा रश्मी कुमारीले एक गोल मात्र गर्न सकिन्।

एन्जिलाको सेथु चौथो स्थानमा रह्यो। उनले चार खेलमा 'क्लिन सिट' राख्न सफल भएकी थिइन्।

किक स्टार्ट तेस्रो स्थानमा रह्यो, जहाँ प्रीति राई र दीपा शाहीले राम्रो छाप छोड्न सफल भएका छन्।

दीपा भन्छिन्, "नेपालमा खेल नहुँदाको बेलामा यति लामो तालिकाको फुटबल खेल्न पाउनु मेरो लागि नयाँ अनुभव मात्र नभई ठूलो हौसला बन्यो। यहाँको खेल निकै प्रतिस्पर्धात्मक छ। व्यावसायिक छ। यहाँबाट धेरै कुरा सिक्न पाएकी छु।"

भारतीय लीगको सातौँ संस्करणसम्ममा एक दर्जन नेपाली महिला खेलाडीले प्रतिस्पर्धा गरिसकेका छन्।

तीन विदेशी खेलाडी मात्र लिन पाउने र दुई जनालाई एकसाथ मैदानमा खेलाउन पाउने नियम भएकोले भारतीय लीगमा स्थान बनाउन सहज छैन।

यसपालिको प्रदर्शनले पक्कै पनि अर्को सिजनमा नेपाली खेलाडीहरूको भाउ थपघट हुनेछ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।