तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल सुपरलीग फुटबलमा विदेशी खेलाडीको दबदबा
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
सहिद स्मारक ए डिभिजन नाममा नेपालमा स्थापित लीग फुटबल हुँदाहुँदै छुट्टै लीगको रूपमा नेपाल सुपर लिग (एनएसएल) को जन्म भएपछि प्रश्न उठेको थियो - किन नयाँ लीग?
'फ्रेञ्चाइज मोडल'मा नेपालका सहरका नामबाट खेलाइएको व्यावसायिक भनिएको यस लीगका विषयमा थुप्रै तर्कवितर्कहरू भए।
थुप्रै प्रश्नहरूका बीच आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टका निर्देशक श्रेयान्स कार्कीले बीबीसीसँग भने: "नेपालमा एउटा बेग्लै स्तरीय फुटबलको मज्जा दर्शकसामू पस्किने उद्देश्यले यो लीग जन्मेको हो।"
एनएसएलले बेग्लै वा स्तरीय लीगको स्वरूप कसरी लेला भन्नेमा यतिखेर धेरैको चासो छ।
यसका लागि आयोजकले एउटा जुक्ति निकालेको देखिन्छ।
त्यो हो- विदेशी खेलाडीको सङ्ख्या बढाउने।
त्यसले लीगमा प्रतिस्पर्धाको स्तर निकै बढ्ने र प्रतियोगिता फरक देखिनेमा धेरैको विश्वास पाइन्छ।
विदेशी खेलाडीबीच भिडन्त
एनएसएलमा प्रतिस्पर्धा गरिरहेको नौ वटा टोलीले ६-६ जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम बनाइएको छ।
त्यसमा पाँचजना विदेशी खेलाडीलाई 'प्लेइङ सेट' मा खेलाउन पाउने नियम थप गरिएको छ।
सहिद स्मारक ए डिभिजन लीगमा तीनजना विदेशी खेलाडीले मात्र प्लेइङ सेटमा खेल्न पाउँछन्।
एघार जना खेल्ने फुटबलमा पाँचजना विदेशी खेल्नु भन्नुको अर्थ टोलीमा झन्डै आधा विदेशी खेलाडी हुनु हो। बाँकी ६ जना खेलाडी नेपाली हुनेछन्।
विदेशी खेलाडी जति बढी हुन्छन् प्रतिस्पर्धा उति नै 'उच्च स्तरीय' हुने ठानिएको छ। र त्यसले एनएसएललाई सहिद स्मारक ए डिभिजन लीगभन्दा भिन्न पनि देखाउने अपेक्षा गरिएको छ।
वास्तवमा एनएसएलको नयाँ पक्ष भनेकै विदेशी खेलाडीहरूको यही थपिएको सङ्ख्या हो।
कति विदेशी खेलाडी भित्रिए?
एनएसएलको दोस्रो संस्करणमा नौ वटा टोली छन्।
प्रत्येक टोलीले ६ जनासम्म विदेशी खेलाडी भित्राउन पाउने नियम अनुसार बढीमा ५४ जना विदेशी खेलाडी एनएसएलमा सहभागी हुन सक्नेछन्।
ललितपुर र धनगढी एफसीले बाहेक बाँकी सात टोलीले पाँच-पाँच जनामात्र खेलाडी अनुबन्ध गरेकाले जारी लिगमा ४७ जना विदेशी खेलाडी दर्ता भएका छन्।
क्लबले भित्राएका विदेशी खेलाडीहरूमा अमेरिका, युरोप, एशियाली मुलुक र दक्षिण एशियाका केही खेलाडी छन्। बाँकी अधिकांश खेलाडी भने अफ्रिकी मुलुकबाट छन्।
त्यसमा घानाबाट ११ जना, क्यामरुनबाट १० जना, सेनेगलबाट पाँच जना, नाइजिरियाबाट तीनजना तथा आइभोरी कोस्ट, कङ्गो र गिनीबाट एक-एक जना छन्।
'डिफेन्डिङ च्याम्पियन' काठमान्डू रेजर्सका व्यवस्थापक मधुसूदन उपाध्यायले खेलाडीको यसप्रकारको विविधताले एनएसएलको स्तर नै फरक भएको बताउँछन्।
"नेपाली क्लब फुटबलमा दर्शकले उच्च स्तरको प्रतिस्पर्धा हेर्न पाउँदैछन्।"
लीगकै खेलाडी एनएसएलमा पनि
नेपाली फुटबलमा विशेषगरी अफ्रिकी मुलुकका खेलाडीहरूको बाहुल्य छ। एनएसएलमा समेत त्यसकै प्रभाव देखिन्छ।
क्लब व्यवस्थापकहरूका अनुसार थुप्रै नयाँ देशबाट खेलाडीहरू लिने प्रयास गरे तापनि अफ्रिकी देशका खेलाडीहरूसँग बढी सम्पर्क हुने भएकोले त्यहाँका खेलाडीहरू एनएसएलमा हाबी हुन पुगेका हुन्।
त्यसमा केही अफ्रिकी खेलाडीहरू भने सहिद स्मारक लिगमा खेलेकै खेलाडीहरू छन्।
त्यस्ता खेलाडीहरूको सङ्ख्या एक दर्जनभन्दा बढी छ।
जस्तो, सहिद स्मारक ए डिभिजन क्लब मच्छिन्द्रबाट खेल्ने क्यामरुनका एन्ड्रेस निआ काठमान्डू रेजर्सबाट खेलिरहेका छन्।
काठमान्डू रेजर्स र खुमलटार क्लबबाट खेल्ने क्यामरुनकै स्टेफन बिनोङ यसपाली बुटवल लुम्बिनी एफसीमा पुगेका छन्।
कति रकममा अनुबन्ध?
एनएसएल खेल्ने नेपाली खेलाडीहरू 'अक्सन' प्रणालीबाट छानिएर आएका हुन्।
जसअनुसार उनीहरूले पाउने पारिश्रमिक खेलाडीको वरीयता अनुसार पहिले नै तोकिएको थियो।
तर विदेशी खेलाडीको हकमा क्लबलाई हैसियत अनुसार खरिद गर्ने छुट आयोजकले दिएको छ।
त्यसैले विदेशी खेलाडीलाई महँगो मूल्यमा खरिद गरिएको बताइएको छ।
तर त्यसको रकम भने क्लबहरूले खुलाएका छैनन्।
काठमान्डू रेजर्सका व्यवस्थापक मधुसूदन उपाध्याय भन्छन्: "नेपाली खेलाडीहरूलाई तिर्ने रकम भन्दा दोबर-तेबर खर्च विदेशी खेलाडी अनुबन्धन गर्दा लागेको छ। अरू क्लबहरूले पनि त्यसरी नै खर्च गरेको देखिन्छ।"
पोखरा एफसीका प्रशिक्षक नविन न्यौपानेका अनुसार अन्य विदेशी खेलाडीहरूको तुलनामा अफ्रिकाका खेलाडीहरूको मूल्य सस्तो भएकोले पनि उनीहरूको सङ्ख्या धेरै छ।
"तर नेपालमा आउने खेलाडीहरूमा अफ्रिकी खेलाडीहरूको खेल स्तर युरोपका खेलाडीहरूको जस्तैजस्तै नै हो," उनी थप्छन्।
नेपालमा क्लबहरू सहभागी हुने फुटबल प्रतियोगितामा विदेशी खेलाडीहरू खेल्ने प्रचलन पुरानै हो।
सरकारबाट श्रम स्वीकृति पाएपछि उनीहरू खेल्न योग्य हुन्छन्।
नेपालमा अफ्रिकी खेलाडीहरूको प्रभाव यतिसम्म छ कि विगतमा विभिन्न क्लबबाट खेल्ने अफ्रिकी खेलाडीहरू मिलेर 'अफ्रिकन युनाइटेड क्लब' बनाएका छन्।
अनि नेपालभरि हुने 'नकआउट फुटबल' प्रतियोगिताहरूमा उनीहरूको ठूलो माग हुन्छ। उक्त क्लबले थुप्रै प्रतियोगितामा उपाधी पनि जितिसकेको छ।
यसपटक अमेरिकादेखि युरोप र अफ्रिकी खेलाडीहरू भएका नेपाली क्लबहरू बीचको घम्साघम्सीले एनएसएलको प्रतिस्पर्धा उच्च हुने र यस्तोमा नेपाली खेलाडीहरूले पनि उच्च स्तरको प्रतिस्पर्धाबाट आफूलाई निखार्ने अवसर पाउने कतिपयको विश्लेषण छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।