नेपालमा फुटबल प्रशिक्षण दिने प्रतिष्ठान खोल्ने बुफोनको 'इच्छा'

    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

इटलीका विश्वप्रसिद्ध फुटबल खेलाडी जियान्लुइजि बुफोन नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन्।

पत्नी इलारिया डि'अमिकोसँग आइतवार काठमाण्डू आइपुगेका बुफोनले पहिला सञ्चारकर्मीहरूसँग भेट गरे। उनी सोही दिन साँझ उद्यमी र व्यावसायिक फुटबल क्लबसँग 'मीट एन्ड ग्रीट' कार्यक्रममा उपस्थित भए।

बुफोन दम्पतीले सोमवार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग 'ब्रेकफास्ट' गरे। त्यसपछि उनीहरू विश्व सम्पदा सूचीमा रहेका वसन्तपुर दरबार क्षेत्र र बौद्ध घुम्न गए। दिउँसो दशरथ रङ्गशाला पुगेर 'केपी ओली कप'को फाइनल खेल हेरे।

सन् २००६ मा विश्वकप विजेता इटलीका कप्तान तथा गोलरक्षक बुफोन राष्ट्रिय युवा सङ्घ नेपालको विशेष निम्तोमा उक्त प्रतियोगिताको फाइनल खेल हेर्न नेपाल आएका थिए।

दुई दिनको धपेडीपछि बुफोन मङ्गलवार बिहानै स्वदेश फर्किए। नेपालबाट छोड्नुअघि उनले यहाँ आफूले केही कुरा नजिकबाट महसुस गरेको बताए। पहिलो, नेपाली समर्थकहरूको "फुटबलप्रतिको मोह"। दोस्रो, नेपालमा "आफूले सोचेभन्दा धेरै प्रशंसकहरू"।

सोमवार दशरथ रङ्गशालामा दर्शकहरूले "बुफोन… बुफोन…" भनेको सुन्दा छक्क परेका उनले भने, "नेपालमा मेरा प्रशंसकहरू छन् भन्ने त थियो तर यति धेरै होलान् भन्ने चाहिँ विश्वासै लागेन।"

नेपाली खेलाडीको फुटबल स्तर देखेर पनि उनी निकै प्रभावित भए।

नेपालमा प्रशिक्षण प्रतिष्ठान खोल्ने इच्छा

राष्ट्रिय युवा सङ्घ नेपालका उपाध्यक्ष तथा प्रवक्ता कृष्णहरि केसीका अनुसार नेपाली फुटबलबाट निकै प्रभावित बनेका बुफोनले इटली फर्किनुअघि भने, "नेपालमा 'बुफोन अक्याडमी' खोल्ने मेरो इच्छा छ।"

इटलीको राष्ट्रिय टोलीमा २६ वर्ष टिकेका बुफोनले १७१ वटा अन्तर्राष्ट्रिय म्याच खेले। उनी १,१०० वटाभन्दा बढी व्यावसायिक फुटबल खेलमा सहभागी भए। उनी विश्वका महान् गोलकीपरहरूको सूचीमा पर्छन्।

सोमवार मच्छिन्द्र क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएर लगातार तेस्रो पटक उपाधि जितेको खेल हेर्दा बुफोन उत्साहित देखिन्थे। उक्त खेल हेरेपछि उनले नेपाली खेलाडीहरूको प्रदर्शनको खुलेर प्रशंसा गरे।

राज्यले राम्रो लगानी गर्न सके नेपालले एशियन कप र भविष्यमा विश्वकपको यात्रा पनि तय गर्न सक्ने उनले बताए।

बुफोनले कुनै राजनीतिक सङ्गठनले पनि त्यति ठूलो स्तरको प्रतियोगिता आयोजना गर्नुलाई "दुर्लभ" भने।

नेपालमा फुटबलप्रतिको "क्रेज" देखेर उनले गोलरक्षकहरूलाई प्रशिक्षण दिने प्रतिष्ठान खोल्ने इच्छा व्यक्त गरेका छन्। "नेपालको संस्थासँग मिलेर विशेष गरी गोलकीपर अक्याडमी खोल्ने उनले चाहना राखेका हुन्," राष्ट्रिय युवा सङ्घ नेपालका प्रवक्ता केसीले भने।

'अविस्मरणीय क्षण'

बुफोनले प्रतियोगिताका उत्कृष्ट गोलकीपरको पुरस्कार मच्छिन्द्र क्लबका विशाल श्रेष्ठलाई प्रदान गरे। बुफोनको खेल हेरेर हुर्केका श्रेष्ठलाई बुफोनकै हातबाट पुरस्कार थाप्नु आफ्नो खेलजीवनको "अविस्मरणीय क्षण" बन्यो।

" उनीसँग बाहिर कतै फोटो खिचाउन सकिन्छ होला। तर उत्कृष्ट गोलकीपरको पुरस्कार बुफोनको हातबाट लिन पाउनु भनेको चाहिँ सपनाजस्तै हो," श्रेष्ठले भने।

श्रेष्ठले राष्ट्रिय टोलीमा ठाउँ पाएनन्। तर आफ्नो गोलकीपिङ करिअरमा सम्झिन सक्ने थोरै घटनाहरूमा यो क्षण बनेको उनले बताए।

'फेरि आउँछु'

छोटो र व्यस्त कार्यक्रममा नेपाल आएका बुफोनले आफू चाँडै नेपाल फर्किने बताएका छन्। वसन्तपुर दरबार क्षेत्र र बौद्ध घुम्न भ्याएका बुफोनले नेपालमा पर्यटकलाई लोभ्याउने धेरै कुरा रहेको बताए।

आयोजकले पनि बुफोनलाई स्वागत गर्न दशरथ रङ्गशालामा डाँफे र गैँडाको मस्कट डुलाएका थिए।

उनले भने, "नेपाल हेर्न पुगेको छैन। अर्को पटक आउँदा डाँफे गैँडा र हिमाल हेर्ने छु।"

उनले केपी ओली कपजस्ता प्रतियोगिता निरन्तर हुनुपर्ने सुझाव पनि दिए।

" यस्ता प्रतियोगिताहरू नियमित रूपमा हुन सके भने मात्र फुटबल व्यावसायिक हुन्छ। कहिलेकाहीँ मात्र भयो चाहिँ मनोरञ्जन मात्रै हुन्छ।"

आयोजक राष्ट्रिय युवा सङ्घ नेपालका अधिकारीहरू पनि बुफोनलाई नेपालमा ल्याउन पाउँदा खुसी देखिएका थिए।

"विश्वकप उचालेको हातले केपी ओली कप पनि उचाल्यो। हामी खुसी छौँ," उपाध्यक्ष केसीले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।