तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
थप छ बन्धकहरू हमासको कब्जाबाट 'मुक्त हुने' र गाजावासीहरू उत्तरी क्षेत्रमा 'आउन पाउने'
- Author, इआन एकम्यान
- Role, बीबीसी न्यूज
इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले हमासले यो साता थप छ जना इजरेली बन्धकलाई मुक्त गर्ने तथा इजरेलले गाजावासीलाई सोमवारदेखि आफ्नो घर रहेको उत्तरी क्षेत्रमा फर्कन दिने बताएका छन्।
मुक्त हुने भनिएका बन्धकहरूमा इजरेल र हमासबीच विवादको केन्द्रमा रहेकी इजरेली नागरिक अर्बेल यहुद पनि छिन्।
उनको विषयलाई लिएर दुई पक्षबीच मतभिन्नता देखिएपछि इजरेलले गाजावासीलाई उत्तरतर्फ जानबाट रोकिरहेको छ।
हमासले शनिवार चार इजरेली सैनिकलाई मुक्त गरेको थियो तर उसले यहुदलाई मुक्त गरेन।
इजरेलले हमासमाथि युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप लगाएको छ।
उक्त सम्झौताअन्तर्गत प्यालेस्टिनी बन्दीलाई रिहा गरेको बदलामा इजरेली नागरिकलाई पहिले मुक्त गर्नुपर्ने थियो।
हालसम्म कति मुक्त भए?
युद्धविराम सम्झौता लागु भएपछि हमासको कब्जाबाट सात जना इजरेली बन्धक र इजरेली जेलबाट २०० जनाभन्दा बढी प्यालेस्टिनी बन्दीहरू मुक्त भएका छन्।
उत्तरी गाजामा पुग्ने प्रयास गरिरहेका हजारौँ विस्थापित प्यालेस्टिनीहरूलाई दुई दिनदेखि हिँडिरहेको बाटोमा सैन्य अवरोध गरिएपछि उनीहरू अगाडि बढ्न पाइरहेका छैनन्।
युद्धविराम र बन्धक तथा बन्दीहरूलाई छाड्ने सम्झौता यही ज्यानुअरी १९ मा लागु भएको थियो।
त्यसयता दुवै तर्फबाट दुई पटक बन्धक तथा बन्दीहरू मुक्त गरेर आदानप्रदान गर्ने कार्य भएका छन्।
त्यस्तो तेस्रो आदानप्रदानमा हमासले यहुद र दुई अन्य बन्धकलाई हमासले शुक्रवार मुक्त गर्ने र शनिवार थप तीन जनालाई मुक्त गर्ने नेतन्याहू र कतार दुवैले बताएका छन्। कतारले युद्धविराम सम्झौताका लागि मध्यस्थता गरेको थियो।
सोमवारदेखि इजरेलले प्यालेस्टिनीहरूलाई उत्तरतर्फ जान अनुमति दिन थाल्ने छ। उसलै यसै साताको अन्त्यमा थप प्यालेस्टिनी बन्दीलाई छाड्ने छ।
बाटोमै रोकिए गाजावासी
युद्धविराम सम्झौताअन्तर्गत शनिवारदेखि प्यालेस्टिनीहरूलाई नेत्जारिम करिडोरबाट उत्तरतर्फ यात्रा गर्न अनुमति दिइने सर्त राखिएको थियो।
इजरेलद्वारा नियन्त्रित सात किलोमिटरको उक्त करिडोरले उत्तरी गाजालाई बाँकी क्षेत्रबाट अलग पार्छ।
तर तस्बिरहरूमा ठूलो भिडले उत्तरतर्फ जानका लागि उक्त करिडोर पार गर्न पर्खिरहेको देखिन्छ।
"हामी सडकमा सुतिरहेका छौँ," निरीम मुसाबेहले आइतवार सुरक्षा जाँच चौकीमा बीबीसीसँग भनिन्।
"हामी घर जान सक्दैनौँ र हरेक पटक हामी घर जान खोज्दा उनीहरूले हामीलाई गोली हान्न खोज्छन्।"
बयालीस वर्षीया उनले उत्तरतर्फ जाने यात्रा मध्यगाजाको देइर अल-बालाहबाट सुरु गरेकी थिइन्।
उनी उत्तरी गाजाको शेजैयास्थित आफ्नो घरबाट विस्थापित भएकी थिइन्।
दियाब शेहबारीले शनिवार स्थानीय समयअनुसार बेलुका साढे ८ बजेदेखि आफू सुरक्षा जाँच चौकीमा रहेको बताए।
"रातभरि चिसोका कारण केटाकेटी चिच्याइरहेका थिए। हामीले आगो बाल्यौँ र उनीहरूई न्यायो बनाउने कोसिस गर्यौँ," उनले भने।
इजरेलले उत्तरी गाजाका बासिन्दालाई सोमवार बिहान सात बजेबाट फर्कन अनुमति दिने बताएको छ।
उसले यहुदसम्बन्धी विवाद समाधान भएको दुई घण्टापछि गाडीबाट पनि मानिसहरूलाई उत्तरतर्फ जान दिने छ।
इजरेल र हमासबीच वार्ता गराउने कतार तथा इजिप्टका मध्यस्थकर्ताहरू विवाद अन्त्य गर्ने प्रयासमा संलग्न थिए।
कतारी विदेश मन्त्रालयका प्रवक्ताले इजरेलका प्रधानमन्त्रीले घोषणा गर्नु केहीबेरअघि नै उक्त पछिल्लो सहमतिको घोषणा गरेका थिए।
इजरेलले मध्यस्थकर्ताहरूलाई हमाससँग यहुद जीवित रहेको प्रमाण मागेको थियो। हमासले त्यस्तो प्रमाण शनिवार साँझ इजिप्टका मध्यस्थकर्ताहरूलाई दिइसकेको बीबीसीले बुझेको छ।
ट्रम्पको प्रस्ताव प्यालेस्टिनी, इजिप्ट र जोर्डनद्वारा अस्वीकार
आइतवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजिप्ट र जोर्डनले गाजाबाट प्यालेस्टाइनीहरूलाई लैजाऊन् भन्ने चाहेको बताएका थिए। उनले गाजालाई "ध्वस्त स्थल" भनेर वर्णन गरेका थिए।
हमास र प्यालेस्टिनी प्रशासन दुवैले ट्रम्पको उक्त भनाइको निन्दा गरेका छन् भने जोर्डन र इजिप्टले पनि उक्त प्रस्ताव अस्वीकार गरेका छन्।
ट्रम्पले जोर्डनका राजा र इजिप्टका राष्ट्रपति दुवैलाई आफूले जागावासीलाई उनीहरूका देशमा सार्नका लागि अनुरोध गरेको बताएका थिए।
उनले १० लाख वा पाँच लाख प्यालेस्टिनीहरूलाई गाजाबाट ती देशहरूमा सार्ने प्रस्ताव गरेको बताएका हुन्।
ट्रम्पले उक्त योजना अस्थायी वा स्थायी दुवै हुन सक्ने बताएका थिए।
ट्रम्पले इजिप्ट र जोर्डनलाई औपचारिक रूपमा त्यस्तो प्रस्ताव गरेका थिए कि थिएनन् भन्ने अस्पष्ट छ।
यद्यपि इजिप्टको विदेश मन्त्रालय र जोर्डनका विदेशमन्त्रीले उक्त प्रस्तावलाई अस्वीकार गर्ने बताएका छन्।
विपिन जोशीको अवस्था के छ?
करिब १,२०० मानिसहरू मारिने तथा २५१ जनालाई बन्धक बनाइने गरी सन् २०२३ को अक्टोबर ७ मा हमासद्वारा इजरेलमा भएको आक्रमणपछि गाजामा जारी युद्ध पछिल्लो युद्धविराम सम्झौतापछि रोकिएको छ।
गाजास्थित हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरेली आक्रमणमा परेर हालसम्म ४७,२०० भन्दा बढी प्यालेस्टिनीहरू मारिएको जनाएको छ।
हमासले गरेको अप्रत्याशित आक्रमणका क्रममा 'लर्न एन्ड अर्न' कार्यक्रम अन्तर्गत इजरेल गएका १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो।
त्यस क्रममा बन्धक बनाइएकाहरूमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको बताइएको छ। तर उनी हालसम्म मुक्त भएका छैनन् भने उनको पछिल्लो अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन।
युद्धविराम सुरु भएपछि इजरेलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले बीबीसीसँग "मुक्त हुने बन्धकमा जोशी पनि पर्ने" आशा व्यक्त गरेका थिए।
त्यस बेला पण्डितले हमासले मुक्त गर्न लागेका ३४ जना बन्धकहरूको सूचीमा नेपाली बन्धक नरहेको जानकारी इजरेली पक्षले आफूलाई दिएको बताएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।