तीन घण्टा ढिलो गरी गाजामा सुरु भएको युद्धविरामबारे हामीलाई के थाहा छ?

हमासले पहिलो चरणमा आइतवार गाजामा तीनजना बन्धकहरू रेडक्रसलाई बुझाएको छ।

यसअघि रिहा गरिने ती महिला बन्धकको नाम सार्वजनिक गरेपछि केही ढिलो गरी गाजामा युद्धविराम सुरु भएको थियो।

यसको बदलामा इजरेलले ९० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नुपर्ने हमासले जनाएको छ।

यसैबीच इजरेलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्रीसहित दुई अन्य मन्त्रीले गाजा युद्धविराम सम्झौताको विरोध गर्दै सरकारबाट राजीनामा दिएका छन्।

हमासले रिहा गर्ने महिलाहरूको सूचीमा एक जना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरेली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेको जनाइएको छ।

रिहा हुने बन्धकहरू डोरोन स्टेनब्रेकर, एमीली डामारी र रोमी गोनेन भएको जनाइएको छ।

गाजामा आफ्नो ठाउँ फर्कने क्रम सुरु

हजारौँको सङ्ख्यामा विस्थापित गाजाका मानिसहरू त्रिपाल, लुगाफाटा र सरसामानसहित आफ्नो पुरानो घर भएको ठाउँ फर्किरहेका छन्। जसक्रममा बालबालिकासहितका धेरैजसो परिवारहरू टाँगा, कार, ट्रकको प्रयोग गरेका छन् भने कोही पैदल नै घर फर्कँदै छन्।

दक्षिणी सहर खान यूनिसमा हमासका लडाकुहरू निस्कँदा त्यहाँ मानिसहरूको भिडले नाराबाजीसहित उनीहरूलाई स्वागत गरेको थियो।

खान यूनिसबाट आफ्नो ठाउँ गाजा सीटी फर्कँदै गरेकी वाफा अल-हबिलले "त्यहाँ फर्केर गाजाको माटो चुम्मन गर्न चाहेको" बताइन्।

सलीम नभानले आफ्नो "घर ध्वस्त भए तापनि त्यही ठाउँ आसपास टेन्ट टाँगेर बस्ने" बताए।

बीबीसी संवाददाताहरूले गाजामा तत्कालका लागि युद्धविरामले खुसी ल्याए तापनि त्यहाँको भविष्य भने अन्योलपूर्ण रहेको बताएका छन्।

युद्धविराम कार्यान्वयनमा आएलगत्तै गाजामा राहत बोकेका केही ट्रकहरू प्रवेश गरेका देखिएका छन्।

यसैबीच हमास नेतृत्वको सिभिल डिफेन्स एजेन्सीले आइतवार बिहानबाट युद्ध विराम सुरु हुने भनिएको समययता इजरेली हवाई आक्रमणमा कम्तीमा १९ जना मारिएको बताएका छन्।

इजरेली प्रधानमन्त्रीले आइतवार रिहा गर्ने भनिएका पहिलो तीन बन्धकको नाम हमासले सार्वजनिक नगरेसम्म युद्धविराम सुरु नगर्न देशको सेनालाई आदेश दिएका थिए।

इजरेली सेनाले युद्धविराम सुरु नभएसम्म गाजामा सैन्य कारबाही जारी राख्ने बताएको थियो।

प्राविधिक समस्या देखिएको भन्दै केही ढिला नाम सार्वजनिक गरेको हमासले आफू उक्त सम्झौताप्रति प्रतिबद्ध रहेको जनाएको थियो।

इजरेली फौजहरू गाजाको दक्षिणमा अवस्थित इजिप्टको सीमा नजिकैको रफाह सहरबाट फिर्ता भइरहेका छन् र सयौँ सहायता सामाग्री बोकेका ट्रकहरू गाजा प्रवेश गर्न पर्खिएर बसेका छन्।

इजरेली सेनाले तीन इजरेली महिला बन्धकलाई बुझ्न आफूले गाजा नजिकै एउटा स्वास्थ्य चौकी खडा गरेको जनाएको छ।

उनीहरूको नाम सार्वजनिक नगरेसम्म आफू उक्त सम्झौताको कार्यान्वयनमा अघि नबढ्ने इजरेलले बताएको थियो।

स्थानीय समय अनुसार ८ बजेर ३० मिनेट (जीएमटी ६ बजेर ३० मिनेट)मा युद्धविराम कार्यान्वयनमा आउने भनिएको थियो।

तर इजरेली प्रधानमन्त्रीको कार्यालयले स्थानीय समय अनुसार ११ बजेर १५ मिनेट जाँदाबाट उक्त सम्झौता कार्यान्वयनमा आएको जानकारी दिएको थियो।

अन्तिम घडीसम्म देखिएको अन्योलले शान्ति स्थापनाका जटिलताहरू देखाएको एकजना बीबीसी संवाददाता बताउँछन्।

तेल अबिबमा रहेका बीबीसी संवाददाता मार्क लोवेन भन्छन्: "युद्धविराम सुरु हुनु केही मिनेट बाँकी रहँदा पनि इजरेली सरकारले आज रिहा हुने बन्धकहरूको नाम आफूले पर्खिरहेको जनाएको छ, त्यसले शान्तिका लागि रहेका कैयौँ चुनौतीहरूलाई दर्साउँछ।"

युद्धविराम सम्झौता अन्तर्गत अबको केही हप्तामा ३३ जना इजरेली बन्धक पहिलो चरणमा रिहा हुने भनिएको छ। इजरेलले प्रकाशित गरेको सूचीमा युद्धविरामको पहिलो चरणमा रिहा गरिने अपेक्षा गरिएका ३३ जना बन्धकहरूको नाम र तस्बिर समेटिएको छ।

त्यसको सट्टा इजरेलले १९ सय प्यालिस्टिनी बन्दी र कैदीहरूलाई रिहा गर्नेछ।

यसअघि इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले दोस्रो चरणको युद्धविरामबारेका वार्ता भंग भएको खण्डमा आफ्नो मुलुक पुन: युद्धमा जान तयार रहेको बताएका थिए।

इजरेली प्रधानमन्त्रीले के भनेका छन्?

युद्धविराम सुरु हुनु केही घण्टा अघिको टेलिभिजन सम्बोधनमा इजरेली प्रधानमन्त्री नेतन्याहूले अहिलेको अवस्था 'अस्थायी' रहेको भन्दै गाजामाथि आक्रमण गर्ने अधिकार इजरेलमा रहेको उल्लेख गरेका थिए।

त्यसका लागि अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पको समर्थन रहेको उनको भनाइ छ।

उनले पछिल्लो १५ महिनाको इजरेली सैन्य अभियानको सफलताको चर्चा गर्ने क्रममा उनले हमासका नेता याह्या सिन्वार मारिनुलाई एउटा उपलब्धिका रूपमा प्रस्तुत गरेका थिए।

"हामीले मध्यपूर्वको अनुहार परिवर्तन गरिदिएका छौँ," उनले भने। हमास अहिले पूर्ण रूपमा एक्लिएको उनको भनाइ थियो।

शनिवारको सम्बोधनअघि नेतन्याहूले हमासले रिहा गर्ने बन्धकको सूची नपाएसम्म इजरेलले सम्झौता कार्यान्वयन नगर्ने बताएका थिए।

उनको भनाई थियो, "इजरेलले सम्झौताहरूको उल्लङ्घनलाई स्वीकार गर्दैन।"

यसैबीच हमासका अधिकारीहरूले गाजामा रहेका हमास र इस्लामिक जिहादका निशानाहरूमा इजरेलले आक्रमण जारी राखेको र बुधवार युद्धविराम गर्ने घोषणा गरिए यता १२० जना भन्दा बढी ती हवाई हमलामा मारिएको बताएका छन्।

कुन चरणमा के हुन्छ?

पहिलो चरणमा बन्धक रिहा गर्ने स्थानबारे सुरुमा केही खुलाइएको थिएन। तर इजरेली सैन्य अधिकारीले उत्तरी, मध्य र दक्षिणी गाजामा तीनवटा बन्धक हस्तान्तरण गर्न सकिने विन्दु तयार पारिएको बताएका थिए।

यसअघि हमास निकट स्रोतले एफफपी समाचार संस्थालाई पहिलो पटक रिहा हुने तीन बन्धकहरू महिला हुनसक्ने बताएका थिए।

पहिलो चरणको युद्धविराम सम्पन्न भएको १६ दिनमा दोस्रो चरणको युद्धविराम सम्बन्धी वार्ताहरू सुरु हुने र त्यो 'द्वन्द्वको स्थायी समाधान'मा केन्द्रित हुने अधिकारीहरूले बताएका थिए।

दोस्रो चरणको समझदारीको खाका अझै प्रस्ट भइसकेको छैन तर त्यस अन्तर्गत बाँकी रहेका पुरुषसहितका बन्धकहरू रिहा हुने र इजरेली जेलमा रहेका थप प्यालिस्टिनी बन्धक रिहा गरिने विश्वास गरिएको छ।

यो चरणमा गाजाबाट पूर्ण रूपमा इजरेली फौज फिर्ता हुने ठानिएको छ। अत्यावश्यक बाहेक अन्य अवस्थामा निशस्त्र रहने ठानिएका हमास प्रहरीले विस्थापित भएका लाखौँ प्यालिस्टीनीलाई उत्तरी गाजामा फर्कन सघाउने बुझिएको छ।

तेस्रो र अन्तिम चरणमा गाजाको पुनर्निर्माण अघि बढाइने र त्यसका लागि बर्षौँ लाग्नसक्ने जनाइएको छ। यो चरणमा बाँकी बन्धकका शवहरू फिर्ता गरिने बताइन्छ।

शुक्रवार राति इजरेल सरकारले युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौतालाई घण्टौँको छलफलपछि अनुमोदन गरेको थियो।

शनिवार राति हजारौँ प्रदर्शनकारीहरूले पहिलो चरणको युद्धविराम सरकारले पालना गरेर थप बन्धकहरू रिहाइ गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए।

इजरेली सेनाले आफ्नो मुलुक र संयुक्त राज्य अमेरिकासहित कतिपय देशले आतङ्ककारी सङ्गठनका रूपमा घोषणा गरेको हमासलाई समाप्त पार्ने उद्देश्यसहितको कारबाही सन् २०२३ को अक्टोबरमा थालेको थियो।

हमासले झन्डै १२ सय जनाको ज्यान लिने र २५१ जनालाई बन्धक बनाउने गरी इजरेल भित्र प्रवेश गरेर अक्टोबर ७ मा हमला गरेपछि इजरेलले उक्त सैन्य कारबाही थालेको थियो।

हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता ४६ हजार ९१३ जनाको ज्यान गइसकेको छ।

त्यहाँको २३ लाख जनसङ्ख्यामध्ये अधिकांश विस्थापित भएका छन् भने उक्त क्षेत्रमा व्यापक विध्वंस भएको छ। गाजामा खाद्यान्न, इन्धन र आवासको पनि चरम अभाव रहेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।