तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हमासले मुक्त गर्न सक्ने ३४ बन्धकको सूचीमा छैन विपिन जोशीको नाम, नेपाली दूतावास के भन्छ
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
इजरेलसँग युद्धविराम भयो भने हमासले मुक्त गर्न लागेका भनिएका थप बन्धकहरूको सूचीमा नेपालका विपिन जोशी नभए पनि एक वर्षअघिसम्म उनी जीवित नै रहेको सूचना आफूहरूले पाएको तेल अभिभस्थित नेपाली राजदूतले बताएका छन्।
इजरेलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले हमासले मुक्त गर्न लागेका ३४ जना बन्धकहरूको सूचीमा नेपाली बन्धक नरहेको जानकारी इजरेली पक्षले आफूलाई दिएको बताए।
हमासले मुक्त गर्न लागेका बन्धकहरूको बीबीसीले पाएको सूचीमा पनि विपिन जोशीको नाम समावेश छैन।
राजदूत नियुक्त भएर एक महिनाअघि इजरेल पुगेका पण्डितले सन् २०२३ को डिसेम्बरदेखि विपिन जोशीको अवस्था अज्ञात रहेको बताएका छन्।
"डिसेम्बरयता पक्का प्रमाण केही छैन भन्ने उनीहरूको भनाइ छ र खोजीनितीमा सम्पूर्ण संयन्त्र लागिपरेको छ," राजदूत पण्डितले तेल अभिभबाट बीबीसी न्यूज नेपालीसँग टेलिफोनमा भने।
"पोहोर (२०२३)को नोभेम्बर अन्तिमसम्म उनी जीवित रहेको भिडिओ फुटेज यहाँको गुप्तचर र आईडीएफ (इजरेल डिफेन्स फोर्सेस)सँग छ," उनले भने।
सन् २०२३ नोभेम्बरमा सार्वजनिक भएको उत्तरी गाजास्थित अल-शिफा अस्पतालको एउटा सीसीटीभी भिडिओमा देखिएका केही मानिसमध्ये एक जना नेपाली नागरिक पनि रहेको इजरेली सेनाले जनाएको थियो। अक्टोबर ७ को उक्त भिडिओमा देखिएका व्यक्ति आफ्ना भाइ नै रहेको विपिनका दाजु किशोर जोशीले बीबीसी न्यूज नेपालीसँग बताएका थिए।
राजदूत पण्डितले त्यही समय आसपासमा एउटा बङ्करमा पनि हसमाले अन्तर्वार्ता लिँदा जोशी बोलेको भिडिओ आफूहरूले पाएको इजरेली पक्षले आफूलाई जानकारी दिएको बताए।
"अस्पताल र अर्को बङ्करको पनि फुटेज छ। बङ्करमा उहाँसँग अन्तर्वार्ता लिँदा अलि त्रसित अनुहार तर बोलेको देखिएको यिनीहरूले हसमाले आक्रमण गर्दा पाएको भिडिओ रेकर्डबाट झिकेको हो," उनले भने।
अझैसम्म हमासको नियन्त्रणमा रहेका करिब १०० जनाको अवस्था इजरेलको सरकारलाई पनि थाहा नभएको नेपाली दूतावासले जनाएको छ।
जोशी छुट्ने नेपालको आशा कायमै
राजदूत पण्डितले जोशी सकुशल मुक्त हुने आशा कायमै रहेको बताए।
"सकुशल अवस्थामा छन् भने मेरो विचारमा विपिन जोशी पनि छुट्न सक्छन् कि भन्ने आशा गर्न सक्छौँ तर त्यो सूचीमा कुनै पनि विदेशी बन्धकको नाम चाहिँ छैन," राजदूतले भने।
उनका अनुसार हमासले इजरेलसँगको युद्धविरामका क्रममा मुक्त गर्न लागेका बन्धकहरूमा इजरेली नागरिकहरूको मात्रै नाम छ।
"हमासको र हाम्रो सीधा सम्पर्क छैन। हामीले आईडीएफ र इजरेलको गृह मन्त्रालयबाट जानकारी लिने हो। हामीले लिने आधिकारिक जानकारी त्यहाँबाटै हो," उनले भने।
जोशी अपहरण परेको स्थानमा राजदूत पुगे
विपिन जोशीलाई सन् २०२२ को अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणका क्रममा गाजा नजिकैको इजरेली सहर किबुत्ज अलुमिमबाट अपहरण गरेको थियो।
राजदूत पण्डितले चार दिनअघि आफू तेल अभिभ भन्दा करिब ११० किलोमिटर टाढाको उक्त स्थानमा अनुगमनका लागि पुगेको बताएका छन्।
"त्यहाँको क्याम्पसका प्रमुखलाई भेटेँ। उनले अपहरण गरेर लगिएको र अन्य १० जना विद्यार्थी मारिएको ठाउँ देखाए," उनले भने।
"कलेजमा मारिएका विद्यार्थीहरू र छेउमा विपिनको तस्बिर ठूलो बनाएर राखिएको छ।"
राजदूत पण्डितले जोशी अध्ययनरत कलेजका सहपाठीहरू पनि उनको रिहाइको विषयलाई लिएर नेपालीहरू जत्तिकै चिन्तित देखिएको बताए।
नेपालले कस्तो कूटनीतिक पहल गरिरहेको छ?
नेपाली दूतावासले विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेको दाबी गरेको छ।
"मध्यस्थताको काम गरिरहेका कतार र इजिप्ट अनि अरूमार्फत् पनि नेपाल सरकारले पहल गर्दा राम्रो हुन्छ भन्ने यहाँको सरकारको धारणा छ," राजदूत पण्डित भन्छन्।
उनका अनुसार इजरेली अधिकारीले नेपाललाई विपिनको रिहाइबारे सिधै प्यालेस्टाइनसँग पनि कुरा गर्न सुझाव दिएका छन्।
"यहाँको सरकारको बन्धकसम्बन्धी हेर्ने प्रधानमन्त्रीको सल्लाहकारले 'तपाईँको सम्बन्ध अरब विश्वसँग पनि छ। संयुक्त राष्ट्रसङ्घमा पनि ठूलो उपस्थिति र योगदान छ। उहाँहरूमार्फत् पनि विपिन जोशीको बारेमा कोसिस गर्नुस्' भन्नुभयो," उनले भने।
"'कतिपय कुरा हाम्रो प्रयासबाट नभए त्यताबाट पनि हुन सक्छ' भन्नुभयो।"
नेपालमा आफ्नो कार्यकाल सकेर हालै इजरेल फर्किएका नेपालका लागि इजरेली राजदूत हनान गोडर अहिले इजरेलको विदेश मन्त्रालयमा कार्यरत छन्।
गोडरले काठमाण्डूमा रहँदा जोशीको परिवारसँग नियमित सम्पर्क गर्ने गरेको विपिन जोशीका दाजु किशोर जोशीले यसअघि बीबीसीसँग बताएका थिए।
इजरेलका लागि नेपाली राजदूत पण्डितका अनुसार गोडरले पनि विपिनको रिहाइबारे चासो लिने गरेको छन्।
३४ बन्धक मुक्त गर्ने तयारी
यसअघि प्यालेस्टिनी लडाकु समूह हमासले इजरेलसँग युद्धविराम भयो भने पहिलो चरणमा आफूले रिहा गर्ने ३४ बन्धकहरूको नाम भएको सूची बीबीसीलाई उपलब्ध गराएको थियो।
उक्त सूचीमा १० महिला र ५० देखि ८५ वर्षसम्मका ११ पुरुष छन्। त्यसबाहेक यसअघि हमासले मृत्यु भइसकेको जनाएका केही बालबालिका पनि छन्।
सन् २०२२ को अक्टोबर ७ मा हमासले अप्रत्याशित आक्रमण गर्दा १० जना नेपाली विद्यार्थी र अन्य देशका नागरिकसहित १,२०० जनाको मृत्यु भएको थियो। उक्त घटनामा हमासका लडाकुहरूले २५१ जनालाई बन्धक बनाएर प्यालेस्टिनी भूमितिर लगेका थिए।
तीमध्ये नेपालका विपिन जोशी पनि भएको ठानिएको थियो।
अहिलेसम्म १०० भन्दा बढी बन्धक मुक्त भइसकेका छन्। बाँकी बन्धकमध्ये कति जना जीवित छन् भन्ने हमासले खुलाएको छैन।
युद्धविरामका लागि कतारको दोहामा फेरि संवाद सुरु भएको छ। तर त्यसमा खासै प्रगति हुन नसकेको बुझिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।