मेटाले प्यालेस्टिनी भूभागमा समाचारमा कसरी नियन्त्रण गर्‍यो

    • Author, अहमद नूर, जो टिडी र यारा फराग
    • Role, बीबीसी अरेबिक, बीबीसी विश्व सेवा र बीबीसी मनिटरिङ

इजरेल-युद्धका बेला सामाजिक सञ्जाल फेसबुकले श्रोता तथा पाठकसम्म पुग्ने प्यालेस्टिनी सञ्चारमाध्यमहरूको क्षमतामा कडा नियन्त्रण गरेको बीबीसीको अनुसन्धानले देखाएको छ।

सन् २०२३ को अक्टोबर महिनायता प्यालेस्टिनी भूभागहरू अर्थात् गाजा र वेस्ट ब्याङ्कमा सञ्चालनमा रहेका समाचारसंस्थाका फेसबुक पेजहरूमा 'अडिअन्स इन्गेज्मन्ट'मा ठूलो कमी आएको फेसबुक डेटाको बृहत् विश्लेषणबाट देखिएको छ।

मेटा स्वामित्वको अर्को प्ल्याट्फर्म इन्स्टाग्रामले सन् २०२३ को अक्टोबरयता प्यालेस्टिनी प्रयोगकर्ताहरूको प्रतिक्रिया तथा टिप्पणीलाई प्रशोधन ('मोडरट') गर्ने काममा कडाइ गरेकोबारे चुहावट भएको दस्ताबेज पनि बीबीसीले हेरेको छ।

फेसबुकको माउ कम्पनी मेटाले कुनै निश्चित आवाज जानाजान दबाइएको कुरा "पूर्णतः झुटो" भएको दाबी गरेको छ।

बीबीसीको अध्ययन

इजरेल-गाजा युद्धको थालनीयता प्यालेस्टाइनको गाजा तटीय भूभागमा केही मात्र बाहिरी संवाददाताहरूलाई प्रवेश गर्न दिइएको छ। उनीहरूले पनि इजरेली सैनिकहरूको सुरक्षामा मात्र प्रवेश पाएका हुन्।

गाजाभित्रका थप आवाज सुन्न चाहनेहरूका लागि सामाजिक सञ्जालले खाल्डो पुरिदिएको छ।

वेस्ट ब्याङ्क बाहिरबाट सञ्चालन हुँदै आएका प्यालेस्टाइन टीभी, वफा न्यूज एजेन्सी र प्यालेस्टिनी अल-वतन न्यूज जस्ता सञ्चारमाध्यमका फेसबुक पेजहरू संसारभरि रहेका धेरैका लागि समाचारका स्रोत बने।

गत वर्षको अक्टोबर ७ मा हमासले इजरेलमाथि हमला गरेयता बीबीसी न्यूज अरेबिकले प्यालेस्टाइनमा अवस्थित २० वटा प्रतिष्ठित समाचार सङ्गठन फेसबुक पेजमा भएका 'इन्गेज्मन्ट डेटा' हेर्‍यो।

सामाजिक सञ्जालको खाता कति प्रभावशाली छ र त्यसका विषयवस्तु कति मान्छेले हेरिरहेका छन् भन्ने कुराको मापन गर्न 'इन्गेज्मन्ट' महत्त्वपूर्ण मापक हो।

त्यसमा कुनै पोस्टमा कति 'कमेन्ट' गरियो, कति 'रियाक्शन' व्यक्त गरियो र कति 'शेअर' गरियो भन्ने पक्ष पर्छन्।

प्यालेस्टिनी समाचारसंस्थाको फेसबुक 'इन्गेज्मन्ट'

सामान्यतया लडाइँको समयमा 'अडिअन्स इन्गेज्मन्ट' बढ्न सक्ने अपेक्षा हुन्छ। तर सन् २०२३ को अक्टोबरयता प्यालेस्टिनी समाचारसंस्थाका लागि यसमा ७७ प्रतिशतले कमी आएको तथ्याङ्कले देखाउँछ।

प्यालेस्टिनी टीभीको फेसबुक पेजमा ५८ लाख फलोअर छन्।

त्यहाँ गरिएका पोस्टहरू हेर्ने मानिसको सङ्ख्यामा ६० प्रतिशतले गिरावट आएको सो टीभीका पत्रकारहरूले बताएका छन्।

"इन्टर्‍याक्शन पूर्ण रूपमा नियन्त्रित भयो र हाम्रा पोस्ट मानिसहरूसम्म पुग्न बन्द भयो," उक्त टीभीका एकजना पत्रकार तारिक जिआदले भने।

गत वर्षयता प्यालेस्टिनी पत्रकारहरू अनलाइन सामग्रीहरूमाथि मेटाले "श्याडोब्यान" अर्थात्‌ कोको मानिसले ती सामग्री हेर्न पाउँछन् भन्ने कुरामा नियन्त्रण गरेको आशङ्का गर्छन्।

इजरेली समाचारसंस्थाको फेसबुक 'इन्गेज्मन्ट'

यो कुराको परीक्षण गर्नका लागि हामीले इजरेलको 'च्यानल १३' सहित २० वटा समाचारसंस्थाका फेसबुक पेजका डेटाको विश्लेषण गर्‍यौँ।

ती पेजहरूमा लडाइँसम्बन्धी थुप्रै सामग्रीहरू पोस्ट गरिएको देखियो। तर 'अडिअन्स इन्गज्मन्ट' करिब ३७ प्रतिशतले बढेको पाइयो।

मेटामाथि यसअघि पनि प्यालेस्टिनी र मानव अधिकारवादी समूहहरूले अनलाइन गतिविधिहरूको निष्पक्ष रूपमा 'मोडरट' गर्न विफल भएको आरोप लगाएका थिए।

उक्त कम्पनीले सन् २०२१ मा गर्न लगाएको एउटा स्वतन्त्र अध्ययनले त्यो जानाजान नभएको बतायो। 'मोडरटर'हरूमा अरबी भाषा बोल्ने दक्षता नहुँदा त्यसो भएको उसले जनायो।

कतिपय शब्द र शब्दावलीहरू आक्रामक वा हिंसात्मक रूपमा बुझियो, जुन खासमा त्यस्ता थिएनन्।

उदाहरणका लागि अरेबिक शब्दावली "अल्हमदुलिल्लाह"को अर्थ "ईश्वरलाई धन्यवाद" भन्ने हुन्छ। तर 'अटो-ट्रान्स्लेशन'ले त्यसलाई "ईश्वरलाई धन्यवाद, प्यालेस्टिनी आतङ्कवादीहरूले स्वतन्त्रताका लागि लडाइँ गरिरहेका छन्" भन्ने देखाइदिने रहेछ।

(प्यालेस्टिनीबाहेक) अरेबिक समाचारसंस्थाको फेसबुक 'इन्गेज्मन्ट'

यो कुरा बुझ्न बीबीसीले स्काई न्यूज अरेबिया र अल-जजीरासहित प्यालेस्टाइनबाहिरका अरेबिक भाषाका ३० वटा चर्चित समाचार सङ्गठनहरूका फेसबुक पेजहरूको विश्लेषण गर्‍यो। तर ती पेजहरूमा औसतमा करिब १०० प्रतिशतले 'इन्गज्मन्ट' बढेको पाइयो।

हाम्रो अनुसन्धानप्रति प्रतिक्रिया जनाउँदै मेटाले सन् २०२३ को अक्टोबरमा "अस्थायी उत्पादन र नीति मापदण्ड" गोप्य नरहेको बताएको थियो।

हमासलाई अमेरिकाले प्रतिबन्ध लगाएको र मेटाका आफ्नै नीतिअन्तर्गत एउटा खतरनाक सङ्गठन भएको पृष्ठभूमिमा वाक्‌ स्वतन्त्रताको अधिकारबीच सन्तुलन मिलाउन चुनौती भएको उसले जनाएको छ।

उक्त विशाल प्रविधि कम्पनीले खास गरी युद्धबारे पोस्ट गर्ने पेजहरूमा 'इन्गेज्मन्ट' प्रभावित भएको पनि उल्लेख गरेको छ।

"हामीबाट गल्ती भएको हामी स्वीकार्छौँ, तर हामीले जानाजाना कुनै आवाज दबाउँछौँ भन्ने कुरा पूर्णतः गलत हो," एक प्रवक्ताले भने।

'चुहिएका' इन्स्टाग्रामका दस्ताबेज

प्यालेस्टिनी प्रयोगकर्ताहरूमाथि मेटाका नीतिहरूको असरबारे बीबीसीले उसका पाँच पूर्व र बहालवाला कर्मचारीसँग पनि कुरा गरेको छ।

नाम उल्लेख नगर्ने सर्तमा एक जनाले इन्स्टाग्रामको 'एल्गरिदम'मा गरिएको परिवर्तनबारे चुहावट भएको दस्ताबेज उपलब्ध गराए। यस दस्ताबेजअनुसार इन्स्टाग्राममा प्यालेस्टिनीहरूले गर्ने कमेन्टमा 'मोडरेशन' कडा पारिएको पाइयो।

"हमासले आक्रमण गरेको एक हप्तामा प्यालेस्टिनीहरूविरुद्ध झन् आक्रामक हुने गरी कोड परिवर्तन गरियो," उनले भने।

आन्तरिक रूपमा आदानप्रदान गरिएको सन्देशअनुसार एक इन्जिनियरले त्यो आदेशबारे प्रश्न गर्दै त्यो "प्यालेस्टिनी प्रयोगकर्ताहरूविरुद्ध प्रणालीभित्र नयाँ पूर्वाग्रह हुने" चिन्ता व्यक्त गरे।

मेटाले त्यो कदम चालिएको स्वीकार गर्‍यो। तर प्यालेस्टिनी भूभागबाट "घृणा फैलाउने सामग्रीमा वृद्धि भएको" भन्दै त्यो आवश्यक कदम भएको तर्क गर्‍यो।

इजरेल-गाजा लडाइँ सुरु हुँदा नीतिको गरिएको परिवर्तन अहिले उल्टाइसकिएको मेटाले जनाएको छ। तर त्यो कहिले भयो भन्ने खुलाएको छैन।

द्वन्द्व सुरु भएयता गाजामा कम्तीमा १३७ जना प्यालेस्टिनी पत्रकार मारिएका छन्। तर जोखिम हुँदाहुँदै कतिपयले काम जारी राखेका छन्।

"धेरै हिंसात्मक भएकाले कतिपय सूचना प्रकाशित गर्न सकिँदैन। उदाहरणका लागि यदि [इजरेली] सेनाले नरसंहार गर्छ र भिडिओ बनाउँछ भने त्यसलाई फैलाउन सकिँदैन," उत्तरी गाजामा कार्यरत केही फोटोपत्रकारमध्ये ओमार एल काता भन्छन्।

"तर चुनौती हुँदाहुँदै, जोखिम हुँदाहुँदै र सामग्रीमा प्रतिबन्ध हुँदाहुँदै हामीले प्यालेस्टिनी कन्टेन्ट शेअर गरिरहनुपर्छ," उनले थपे।

रेहाब इस्माइल र नाताली मेरजुगुईको अतिरिक्त रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।