इजरेली प्रधानमन्त्रीले हमासलाई टाट पल्टाउन गुमाएको 'त्यो मौका'

    • Author, जोन वेअर
    • Role, बीबीसी प्यानरामा

इजरेलका एक भूतपूर्व गुप्तचर अधिकारीले केही वर्षअघि हमासलाई टाट पल्टाउने अवसर आएको तर इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले त्यसलाई खेर फालेको बताएका छन्।

उडी लेभीले आफूले वर्षौँअघि नेतन्याहुलाई हमासको वित्तीय व्यवस्थामा प्रहार गर्न सुझाव दिएको बीबीसी प्यानरामालाई बताए। तर नेतन्याहुले उनको सुझाव ग्रहण गरेनन्। यदि उनको सल्लाह सुनिएको भए हमासको सैन्य शक्तिलाई ठूलो आघात पुग्न सक्ने उनको विश्वास छ।

इजरेलको प्रधानमन्त्री कार्यालयले यस विषयमा केही प्रतिक्रिया दिएको छैन।

गत वर्षको अक्टोबर ७ मा हमासले दक्षिणी इजरेलमा आक्रमण गरी १,२०० जनाको ज्यान लियो र २५० भन्दा बढी मानिसलाई बन्धक बनायो। ती बन्धकमध्ये १३० जनाको अवस्था अझै अज्ञात छ।

हमासले अप्रत्याशित रूपमा आक्रमण गरेर ठूलो क्षति पुर्‍याएपछि इजरेलले गाजामा सैन्य कारबाही सुरु गर्‍यो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म गाजामा २९,००० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ।

सन् २०१६ सम्म इजरेली गुप्तचर निकाय मोसादको आर्थिक युद्ध विभागमा प्रमुख रहेका लेभीले धेरै पटक "आर्थिक माध्यम मात्रको प्रयोग गरी" गाजामा शासन गर्ने हमासको विनाश गर्न सकिने सुझाव आफूले नेतन्याहुलाई दिएको बताए। तर त्यसबारे नेतन्याहुका तर्फबाट कहिले कुनै प्रतिक्रिया नआएको उनको भनाइ छ।

हमासलाई आर्थिक रूपमा अस्थिर बनाउन नेतन्याहुले देखाएको "अनिच्छा" र अक्टोबर ७ मा भएको भीषण हमलाको बीचमा कुनै सम्बन्ध छ कि भन्ने प्रश्नमा लेभीले स्पष्ट उत्तर दिँदै भने, "अवश्य छ।"

"हामीले गाजामा धेरै पैसा जानबाट रोक्न सक्थ्यौँ र सायद अक्टोबर ७ मा हामीलाई जुन दैत्यको सामना गर्नु पर्‍यो, त्यस्तो दैत्य जन्माउनबाट हमासलाई रोक्न सक्थ्यौँ।"

गाजाको जमिनमुनि सयौँ किलोमिटर सुरुङ खन्न र झन्डै ३०,००० लडाकु भएको सैन्य बल बनाउन हमासले "करोडौँ होइन अर्बौँ डलर" खर्च गरेको उनको अनुमान छ।

लेभीले हमासले टर्कीबाट व्यवस्थापन गर्दै आएको करोडौँ डलरको एउटा लगानी कोषतर्फ सन् २०१४ मा नेतन्याहुको ध्यानाकर्षण गराइएको पनि बताए। तर उनको भनाइमा नेतन्याहुले कुनै कदम चालेनन्।

हमासले इजरेलको अस्तित्व अस्वीकार गर्छ र त्यसको "विनाश" गर्ने लक्ष्य राख्छ। हमास केवल सैनिक सङ्गठन नभई गाजाभन्दा बाहिरबाट पनि आर्थिक सहयोग जुटाउने सामर्थ्य राख्ने राजनीतिक आन्दोलन पनि हो।

हमासको सम्पत्ति

"हामीले कतार र इरान हमासका मुख्य प्रायोजक रहेकोबारे कुरा गर्‍यौँ," लेभीले नेतन्याहुसँग भएको कुराकानी सम्झिँदै भने। "तर केही पक्षमा टर्की यी दुवै राष्ट्रभन्दा महत्त्वपूर्ण छ किनभने यो हमासको आर्थिक पूर्वाधारको केन्द्र हो।"

बीबीसी प्यानरामाले अक्टोबर ७ भन्दा केही समयअघि प्राप्त गरेको हमासको लगानी र आयस्रोतको माध्यम देखाउने कागजपत्र अध्ययन गरिरहेको छ।

ती दस्ताबेजले सन् २०१८ को सुरुसम्मको आठ महिनाको अवधिमा हमाससँग सम्बन्ध रहेका लगानी कारोबार देखाएको छ। इजरेली गुप्तचरले यसबाट हमासको आयस्रोत देखिने विश्वास गरेका छन्।

साउदी अरब, एल्जिरिआ, सुडान, इजिप्ट र टर्कीजस्ता मध्यपूर्वका तथा उत्तर अफ्रिकी मुलुकमा रहेका ४० वटा कम्पनीहरू हमासको लगानी सञ्जालमा रहेको मानिन्छ। तीमार्फत हमासले सडक निर्माण, औषधि उत्पादन, चिकित्सा सामग्री, पर्यटन, खानी, घरजग्गा व्यापार तथा अन्य थुप्रै क्षेत्रमा लगानी गरिरहेको शङ्का गरिन्छ।

सन् २०२२ यता अमेरिकाको ट्रेजरीले कागजमा नाम उल्लेख भएका छवटा कम्पनीहरूलाई हमासको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व वा नियन्त्रणमा रहेको भनी घोषणा गरिसकेको छ। अमेरिकी सरकारले तिनको कारोबारमाथि केही प्रतिबन्धहरू पनि लगाएको छ।

यी दस्ताबेजबाट हमासको स्वामित्वमा कुल ४२,२५,७३,८९० अमेरिकी डलरको सम्पत्ति रहेको देखिन्छ। यो सम्पत्तिको ठूलो अंश घरजग्गामा छ।

रोयल यूनाइटेड सर्भिसेस इन्स्टिट्यूट (आरयूएसआई) अन्तर्गत रहेको आर्थिक अपराध तथा सुरक्षा अध्ययन केन्द्रका संस्थापक निर्देशक टम किटिङले मूल्य नघट्ने र भाडाबाट नियमित आम्दानीको सम्भावना रहने भएकाले हमासजस्ता संस्थाका लागि घरजग्गा "वित्तीय स्रोत जुटाउने उत्तम उपाय" हुने बताए।

टर्कीको घडेरी कम्पनी ट्रेन्ड जीवाईओ अमेरिकाद्वारा प्रतिबन्धित कम्पनीहरूमध्ये एक हो। प्यानरामाले अध्ययन गरिरहेका दस्ताबेजमा त्यसलाई 'आन्दा टर्क' भनिएको छ। इस्तान्बुल स्टक एक्सचेन्जमा सूचीकृत हुनुअघि ट्रेन्डको नाम 'आन्दा टर्क' थियो।

ट्रेन्डका पूर्वअध्यक्ष हमिद अब्दुल्लाह अल-अहमरले अक्टोबर ७ को आक्रमण (वा हमासको शब्दमा भन्नुपर्दा "अपरेशन अल-अक्सा फ्लड") को प्रशंसा गरेका थिए। अल-अहमरले सन् २०२२ मा ट्रेन्डबाट राजीनामा दिए पनि त्यसको माउकम्पनीको प्रमुखको रूपमा अझै कायम छन्।

इस्तान्बुलमा २०२४ ज्यानुअरीमा आयोजित एउटा सम्मेलनमा उनले "अक्साको बाढी उर्लिँदै गरेको बेला हामी यहाँ भेट्दै छौँ। यो विशाल बाढी प्यारो प्यालेस्टाइन कब्जाबाट मुक्त नभएसम्म रोकिने छैन" भनेको भिडिओ सार्वजनिक भयो।

उनले त्यस सम्मेलनका सहभागीहरूलाई "जायनिजम (यहुदीहरूका लागि छुट्टै देश बनाउने अभियान) लाई जातिवाद र आतङ्कवादको रूपमा अपराध मान्न" पनि उनले आह्वान गरेका थिए।

यस विषयमा बुझ्न प्यानरामाले अल-अहमरलाई लिखित प्रश्न पठाएको थियो। तर उनीबाट कुनै उत्तर प्राप्त भएको छैन।

ट्रेन्डले भने कम्पनी र हमासबीच सम्बन्ध रहेको भन्ने अमेरिकी ट्रेजरीको आरोप "अनुचित र निराधार" भएको दाबी गरेको छ।

टर्कीका अधिकारीहरूले ट्रेन्डमाथि अनुसन्धान गरिएको र "राष्ट्रको वित्तीय प्रणालीको दुरुपयोग भएको नपाइएको" जानकारी दिए। उनले टर्कीले अन्तर्राष्ट्रिय आर्थिक नियमको पूर्णतः पालना गर्दै आएको पनि बताए।

हमासका अन्य आयस्रोतहरू पनि छन्।

याह्या सिन्वारको भूमिका

प्रारम्भिक चरणमा हमासका लागि खर्च जुटाउने कार्यमा अहिले उक्त सङ्गठनका राजनीतिक विभागका प्रमुख याह्या सिन्वारले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

सन् १९८८ मा इजरेलका लागि जासुसी गरेको भन्दै केही प्यालेस्टिनीको हत्या गरेको अभियोगमा सिन्वार इजरेलमा जेल परेका थिए। त्यही बेलादेखि उनले हमासको लागि पैसा मिलाउन सुरु गरेको विश्वास छ।

सिन्वारसँग १५० घण्टासम्म सोधपुछ गरेको बताउने भूतपूर्व इजरेली सुरक्षा अधिकारी माइका कोबीले सिन्वारले कारागारबाट गोप्य सूचना पठाएर इरानसँग सम्बन्ध बनाएको जानकारी दिए।

सन् २००७ मा हमासले चुनाव जितेपछि इजरेल र छिमेकी इजिप्टले सुरक्षासम्बन्धी कारण देखाएर गाजामाथिको नाकाबन्दीमा कडाइ गरे। तर यस नाकाबन्दीलाई विफल पार्न सिन्वारले इरानसँग सम्पर्क गरे।

"उनले सम्पर्क स्थापना गर्न दूतहरू इरान पठाए। उनले [इरानलाई] हातहतियार पठाउन आग्रह गरे र [इरानी पक्षले] उनलाई चाहिएको सबै सहयोग प्रदान गर्न सहमति जनाए।"

"त्यो थालनी थियो," कोबीले भने।

कतारको भूमिका

मोसाद अधिकारी लेभीले कतारले पनि लुकाएर र देखिने गरी हमासलाई विभिन्न समयमा पैसा पठाएको बताए।

इजरेलले हमास सरकारका कर्मचारीहरूलाई तलब दिन र गाजाका बासिन्दाहरूलाई मानवीय सहायता प्रदान गर्नका लागि छुट्टाइएको रकम उसको अनुमतिमा प्रदान गर्न दिएको स्वीकार गरेको छ।

"कतारीहरूले हरेक महिना एक विशेष दूत पठाउँथे। यी दूत एउटा निजी विमानमा रफाह आउँथे, पैसाले भरिएको सुटकेस हमासलाई दिन्थे, भलाकुसारी गर्थे अनि फर्किन्थे। त्यति हो," लेवीले भने।

तर उनको विश्वासमा त्यो रकमको ठूलो अंश "हमासको सैन्य सङ्गठन बलियो बनाउन" प्रयोग गरिएको थियो।

संयुक्त राष्ट्रसङ्घीय निकाय, युरोपेली सङ्घ, वेस्ट ब्याङ्कको प्यालेस्टिनी प्रशासन तथा धेरै परोपकारी संस्थाहरूले पनि गाजालाई मानवीय सहयोगका लागि अर।बौँ डलर प्रदान गर्दै आइरहेका थिए। आरयूएसआईका किटिङले यो पैसा पनि हमासले आफ्नो सैन्य बलमा लगाएको हुन सक्ने आशङ्कलाई "उचित मूल्याङ्कन" भने। "यो पैसा हमासले सुरुङ खन्ने, हतियार व्यवस्थापन गर्ने आदि प्रयोजनमा पनि लगाउन सक्थ्यो," उनले भने।

हमासले दाताहरूले दिएको रकम सैन्य प्रयोजनका लागि उपयोग गरेको वा नगरेको र यदि गरेको भए कुन हदसम्म गरेको भनेर पत्ता लगाउन असम्भव छ। यस समूहले प्यानरामालाई सहायताको रकम सेनामा नलगाएको र सेनाको आफ्नै आयस्रोत रहेको बतायो।

प्यालेस्टिनी राज्य रोक्न हमासलाई समर्थन

यसैबीच इजरेली प्रधानमन्त्री नेतन्याहुको हमासको आर्थिक स्रोतबारेको धारणा उनको प्यालेस्टाइन राज्यविरुद्धको दृष्टिकोणमा आधारित रहेको देखिन्छ।

सन् २०१९ मा आफू कुनै पनि किसिमको प्यालेस्टिनी राज्य स्थापनाको विपक्षमा रहेको स्पष्ट पार्दै उनले आफ्नो लिकूड पार्टीको बैठकमा भनेका थिए, "प्यालेस्टिनी राज्यको स्थापना रोक्न चाहने जोकोहीले हमासलाई बलियो बनाउन र उसलाई पैसा पठाउन सहमत हुनुपर्छ। गाजाका प्यालेस्टिनीहरूलाई वेस्ट ब्याङ्कका प्यालेस्टिनीहरूबाट अलग्ग राख्ने यो हाम्रो रणनीति हो।"

वेस्ट ब्याङ्कमा शासन गर्ने 'फतह'को बलियो प्रतिद्वन्द्वीको रूपमा हमासलाई कायम राख्न सके "दीर्घकालीन समाधानका लागि वार्ता गर्नुपर्ने गरी कुनै एकीकृत प्यालेस्टिनी नेतृत्वको निर्माण हुँदैन," अमेरिकाको वाशिङ्टन डीसीस्थित मीडल ईस्ट इन्स्टिट्यूट नामक थिङ्कट्याङ्कमा प्यालेस्टाइन तथा प्यालेस्टिनी-इजरेली मामिलाका वरिष्ठ फेलो खालेद एल्गिन्डीले बताए।

अहिले भने नेतन्याहुले आफूले कहिल्यै हमासलाई बलियो बनाउन नचाहेको र मानवीय सङ्कट हुन नदिनका लागि मात्र कतारी पैसा गाजामा जान दिएको बताएका छन्।

उनले हमासको "सर्वनाश" गर्ने र गाजामा आतङ्कवादलाई आर्थिक सहयोग प्रदान गर्ने "कुनै तत्त्व" बाँकी नराख्ने उद्घोष गरेका छन्।

तर गाजाको यति धेरै भाग ध्वस्त पारेर र यति धेरै प्यालेस्टिनी मारेर इजरेलले ठ्याक्क उल्टो परिणाम निम्त्याउन सक्छ।

"इरानले हमासलाई पैसा र हतियार दिन बन्द गर्दैन," एल्गिन्डीले भने।

"तर त्योभन्दा पनि हमासजस्ता समूहहरूले हतियार र स्रोत प्राप्त गर्न आवश्यक रहेको महसुस गरिरहँदासम्म प्राप्त गरिरहन्छन्।"

"हतियार प्राप्त गर्नुपर्ने कारण रहेसम्म हतियार आपूर्ति बन्द हुँदैन।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।