बन्धक रिहाइ पर सार्ने हमासको भनाइ, इजरेललाई दोष

    • Author, राफी बर्ग र रुथ कमरफोर्ड
    • Role, बीबीसी न्यूज

हमासको लडाकु दस्ताका एक जना प्रवक्ताले इजरेली बन्धकहरूको आगामी निर्धारित रिहाइलाई स्थगित गरेको जनाएका छन्। 'इजरेलले युद्धविराम सम्झौताको उल्लङ्घन' गरेका कारण त्यसो गरिएको आरोप उनले लगाएका छन्।

इजरेलमा थुनामा रहेका थप प्यालेस्टिनी बन्दीहरू रिहा हुने गरी शनिवार गाजामा बन्धक बनाइएका तीन जना इजरेली मुक्त गर्ने योजना थियो।

इजरेलका रक्षामन्त्री इजरेल कात्सले हमासको उक्त घोषणालाई युद्धविराम सम्झौताको 'पूर्ण उल्लङ्घन' बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिवार सम्ममा यदि 'सबै' बन्धकहरू मुक्त नगरिएमा युद्धविराम खारेज गरिनु पर्ने सुझाएका थिए।

"मेरो विचारमा शनिवार १२ बजेसम्म उनीहरू फर्कनु पर्छ...सबैजना, किस्ता किस्तामा गरेर होइन, दुई र एक र तीन र चार र दुईजना गरेर होइन," उनले भने।

"म मेरो विचार बोल्दैछु," उनको भनाइ थियो। "इजरेलले यसलाई सच्याउन सक्छ।"

इजरेल र अमेरिका के भन्छन्?

सन् २०२३ को अक्टोबर ७ मा इजरेलमा हमासले गरेको हमलाका क्रममा बन्धक बनाइएका ७३ जना र एक दशकअघि लगिएका अन्य तीनजना अझै पनि गाजामा बन्धकका रूपमा छन्।

यदि बन्धकहरू रिहा नभए नसोचिएको अवस्था देखा पर्ने ट्रम्पको चेतावनी थियो।

ट्रम्पलाई के त्यसको अर्थ इजरेलले बदला लिनु पर्छ भन्न खोजिएको हो? भनेर सोधिएको थियो। जसमा उनको जबाफ थियो: "तपाईँले पत्ता लगाउनु हुनेछ र उनीहरूले पनि पत्ता लगाउनेछन्। मेरो भनाइको मतलब के हो भनेर हमासले पत्ता लगाउने छ।"

रक्षामन्त्री कात्सले आफूले इजरेली सेनालाई "गाजामा सम्भावित जुनसुकै अवस्था र समुदायहरूको सुरक्षाको लागि सतर्कताको उच्च स्तरमा तयार रहन" आदेश दिएको बताए।

"हामी अक्टोबर ७ को वास्तविकता फर्कन दिने छैनौँ," उनले थपे।

इजरेली बन्धक अलोन ओहेलको २४औँ जन्मदिन मनाउन तेल अभिभमा मानिसहरू भेला हुनुभन्दा केहीअघि हमासको त्यस्तो घोषणा आएको हो।

उनलाई सन् २०२३ को अक्टोबर ७ मा नोभा फेस्टिभलबाट बन्धक बनाएर लगिएको थियो ।

चिन्ता

संयुक्त राष्ट्रसङ्घका एकजना प्रवक्ता फरहान हकले कमजोर युद्धविराम सम्झौतामा "कुनै पनि ढिलाइ" समस्या बन्न सक्ने भन्दै यसमा संलग्न सबै पक्षहरू तय गरिएका सम्झौता र समयसीमा पालना गर्नु पर्नेमा जोड दिए।

इजरेलले आफ्नो दायित्व पालना गरेमा हमासले शनिवार हुने आदानप्रदानको "ढोका खुला रहने" बताएको समाचार संस्था एएफपीले जनाएको छ ।

हमास प्रवक्ता अबु ओबेदाले इजरेलले विस्थापित प्यालेस्टिनीहरूलाई उत्तरी गाजामा फिर्ता गर्न ढिलाइ गरेको, मानिसहरूमाथि गोली चलाएको र सहमति अनुसार मानवीय सहायतालाई अनुमति दिन असफल भएको आरोप लगाएका छन्।

१९ ज्यानुअरीमा युद्धविराम सुरु भएयता १६ इजरेली र पाँचजना थाई बन्धकहरू मुक्त गरिएका छन्। त्यसको बदलामा ५६६ जना प्यालेस्टिनी बन्दीहरू रिहा गरिएका छन्।

अबको तीन सातामा सकिने युद्धविरामको पहिलो चरणको अन्त्यसम्ममा झण्डै ३३ जना बन्धक र १,९०० प्यालेस्टिनीहरू छाडिनेछन्। इजरेलले ३३ मध्ये आठजनाको मृत्यु भएको जनाएको छ।

हमासले झन्डै १२ सय जनाको ज्यान लिने र २५१ जनालाई बन्धक बनाउने गरी इजरेल भित्र प्रवेश गरेर अक्टोबर ७ मा हमला गरेपछि इजरेलले उनीहरूलाई नष्ट पार्ने भन्दै गाजामा सैन्य कारबाही थालेको थियो।

हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता कम्तीमा ४७ हजार ५०० जनाको ज्यान गइसकेको छ।

त्यहाँको २३ लाख जनसङ्ख्यामध्ये अधिकांश विस्थापित भएका छन् भने उक्त क्षेत्रमा युद्धका बेला दुई तिहाइभन्दा धेरै घर तथा भवनहरू ध्वस्त भएको संयुक्त राष्ट्रसङ्घको विवरण छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।