तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
उपराष्ट्रपतिमा चार प्रतिस्पर्धी, गठबन्धनबाटै तीन उम्मेदवार
आगामी शुक्रवार हुने उपराष्ट्रपति निर्वाचनका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन्।
राष्ट्रपति निर्वाचनमा बनेको आठदलीय गठबन्धनमा सहभागी दल उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार बनाउन सहमत हुन सकेनन्।
उपराष्ट्रपतिमा गठबन्धनले जनता समाजवादी पार्टीका उम्मेदवारलाई समर्थन गरेको छ। तर गठबन्धनकै अर्को दल जनमत पार्टीले पनि उपराष्ट्रपतिमा छुट्टै उम्मेदवार उठाएको छ।
उपराष्ट्रपतिमा महिला मात्रै उम्मेदवार बनाउन मिल्ने प्रमुख निर्वाचन आयुक्तको भनाइपछि द्विविधामा परेको गठबन्धनले जसपाबाटै एक महिला र एक पुरुष गरी दुई जनाको उम्मेदवारी दर्ता गराएको छ।
जसपाबाट रामसहाय यादव र प्रमिलाकुमारी यादवको छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको छ।
रामसहाय यादवको प्रस्तावकमा जसपाका अशाेककुमार राई र प्रदीप यादव, एकीकृत समाजवादीका किसन श्रेष्ठ, माओवादी केन्द्रका शक्ति बस्नेत र नेपाली कांग्रेसका रमेशजङ्ग रायमाझी छन्।
समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकाेटा र भानुभक्त जाेशी छन्।
प्रमिलाकुमारी यादवको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर सह, दीपक कार्की र राजकिशोर यादव छन्।
समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरुङ, जयन्ती राई र मनीषकुमार सुमन छन्।
“जसपाबाट महिला र पुरुष दुई जनाकै उम्मेदवारी दर्ता गरेर फिर्ता हुने समयसम्म मिलाउने कुरा भएको छ,” गठबन्धनको साझेदार नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसालले भने।
जनमत पार्टीबाट ममता झाको पनि उम्मेदवारी दर्ता भएको छ।
झाको उम्मेदवारीलाई नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको छ।
उनको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गङ्गाराम चौधरी, अविराम शर्मा र रूपाकुमारी यादव छन्।
समर्थकमा गोमा लाभ सापकोटा, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी र विनिता कुमारी सिंह छन्।
संसद्को दोस्रो ठूलो दल नेकपा एमालेले भने पार्टी उपाध्यक्ष समेत रहेकी बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ।
शाक्यको उम्मेदवारीमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरू सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र गाेकर्ण विष्ट प्रस्तावक छन्।
शाक्यको समर्थकमा कृष्णगाेपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशाेदा रिमाल छन्।
शाक्यका प्रस्तावक र समर्थक सबै एमालेका सांसदहरू हुन्।
शनिवार बिहान बसेको नेकपा एमाले संसदीय दलको बैठकले उपराष्ट्रपतिमा शाक्यलाई अघि सार्ने निर्णय गरेको थियो।
निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि शनिवार दिउँसो २ बजेसम्मको समय तय गरेको थियो।
उपराष्ट्रपति चयनका लागि आगामी शुक्रवार मतदान हुँदैछ।
गठबन्धनका उम्मेदवारविरुद्ध एमालेको उजुरी
जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले उजुरी दिएका छन्।
उपराष्ट्रपति पदमा महिलाले मात्रै उम्मेदवारी दिन पाउने जिकिर गर्दै उजुरी दर्ता गराएको उनले जानकारी दिए।
निर्वाचन अधिकृत न्यायाधीश महेश शर्मा पौडेलले उजुरीबारे निर्वाचन अधिकृतको कार्यालयले जाँचबुझ गर्ने बताए।
“हामी त्यसबारे अध्ययन गर्छौँ, जाँचबुझ गर्छौँ र भोलि आइतवार १२ बजेसम्मको समय छ, त्यसभित्र निर्णय दिन्छौँ,” उनले बीबीसी न्यूज नेपालीसँग भने।
निर्वाचन अधिकृतको कार्यालयले भने उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बन्न पाउने वा नपाउने भन्नेबारे प्रतिक्रिया दिएको छैन।
'उपराष्ट्रपतिमा पुरुष उठाउन मिल्दैन'
एमालेले राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेका कारण उपराष्ट्रपतिमा महिला मात्रै उम्मेदवार बन्न मिल्ने तर्क अघि सारेको छ।
“सबै ठाउँमा हामीले एउटा पदमा पुरुष हुँदा अर्को पदमा महिला अनिवार्य गरेका छौँ,” शनिवार पार्टी सचिवालयको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने।
“अहिले फरक लिङ्ग वा समुदायको आधारमा भन्ने तर्कका आधारमा पुरुषलाई नै उठाउन खोज्ने कुरा संविधानको मर्मभन्दा विपरीत कुरा हो।”
यसअघि एमालेले राष्ट्रपतिमा अघि सारेका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ कांग्रेसका रामचन्द्र पौडेलसँग पराजित भएका थिए।
निर्वाचित हुन कति मत चाहिन्छ?
उपराष्ट्रपतिमा निर्वाचित हुन कुल योग्य मतदाताको मतभारको बहुमत आवश्यक हुने कानुनी व्यवस्था छ।
निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि ८८२ जना मतदाताको नाम सार्वजनिक गरेको छ।
सङ्घीय संसद्का ३३२ जना र प्रदेशसभाका ५५० जना मतदाताहरूको सबै मत भार जोड्दा ५२ हजार ६२८ हुन्छ।
त्यसको बहुमतका लागि २६ हजार ३१५ मत आवश्यक पर्छ।
कुनै पनि उम्मेदवारले बहुमत नल्याएको अवस्थामा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः मतदान गर्नुपर्ने व्यवस्था छ।
प्रमुख आयुक्तको अभिव्यक्तिले उब्जाएको द्विविधा
शुक्रवार निर्वाचन आयोगले चैत ५ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा महिला उम्मेदवारको मात्र मनोनयन दर्ता गर्न निर्देशन दिएपछि दलहरूमाथि महिला उम्मेदवारलाई अघि बढाउन दबाव परेको थियो।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपतिमा महिलाको मात्रै मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्वाचन आयोगले निर्देशन दिएको बीबीसीसँग बताएका थिए।
“राष्ट्रपतिमा पुरुष र खस आर्य निर्वाचित भएकाले सोबाहेक, लिङ्गमा महिला वा अन्य अनि समुदायमा खस आर्यबाहेक अन्य समुदायको मात्र मनोनयन पत्र दर्ता गर्ने भनेर आयोगले निर्णय गरिसकेको छ,” शुक्रवार प्रमुख आयुक्त थपलियाले बीबीसी न्यूज नेपालीसँग भनेका थिए।
तर निर्वाचन आयोगले जारी गरेको विज्ञप्तीमा भने राष्ट्रपतिमा खस आर्य समावेशी समूहका पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्दा लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिङ्ग (महिला वा अन्य) वा दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम समुदायका व्यक्तिको मनोनयन पत्र मात्र दर्ता गर्न निर्देशन दिएको उल्लेख छ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४को दफा ६५को उपदफा २ बमोजिम दिइएको निर्देशनमा संविधानको धारा ७०मा ''यस संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरकफरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुनेगरी गर्नु पर्नेछ'' भन्ने व्यवस्था रहेको जनाइएको छ।
त्यस्तै राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४को दफा १६को उपदफा (५) मा ‘‘यस दफा बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नु पर्नेछ’’ भन्ने व्यवस्था रहेको आयोगले बताएको छ।