राष्ट्रपति निर्वाचनमा तपाईँको मतको प्रतिनिधित्व कसरी हुन्छ

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

राष्ट्रपति निर्वाचनका लागि सङ्घीय संसद् र प्रदेशसभाका सांसदहरूले देशभरिका नागरिकहरूको प्रतिनिधित्व गर्दै बिहीवार मतदान गरे। यो निर्वाचनका लागि कुल ८८२ सांसद योग्य मतदाता थिए।

नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा भएको मतदानबाट रामचन्द्र पौडेल देशको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन्।

राष्ट्रपति चयनका लागि ३३१ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी कुल ८३१ जना सहभागी भएका थिए।

नेपालको कानुन अनुसार राष्ट्रपति निर्वाचनमा आम मतदाताले भोट हाल्न पाउँदैनन्।

तर राष्ट्रपति निर्वाचनमा आफ्नो मत हाल्ने प्रतिनिधि चयनमा भने १८ वर्ष पूरा भएका मतदाताहरूको सहभागिता हुन्छ, त्यो कसरी भन्ने तपाईँलाई थाहा छ?

निर्वाचनमा मतदान गर्न योग्य सांसदमध्ये ५१ जना सहभागी भएनन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका र नेपाल मजदुर किसान पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका थिए।

स्वास्थोपचारका लागि भारतमा भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी पनि मतदान गर्न उपस्थित हुन सकेनन् भने जनता समाजवादी पार्टीका एक सांसद पनि अनुपस्थित रहे।

हाम्रो मत कसरी राष्ट्रपति निर्वाचनमा प्रकट हुन्छ?

नेपालको राष्ट्रपति चयन सङ्घीय सांसद र प्रदेशसभा सदस्यहरूको निर्वाचक मण्डलबाट हुने व्यवस्था छ।

राष्ट्रिय सभामा समयसमयमा भएका निर्वाचनबाट छानिएका र मनोनीत समेत गरी ५९ जना र प्रतिनिधिसभामा २७५ जना गरी सङ्घीय संसद्को दुई सदनका सदस्यहरू ३३४ जना हुन्छन्। गत मङ्सिर ४ गते भएको निर्वाचनबाट प्रतिनिधिसभा सदस्यहरू छानिएका थिए।

नेपालको सातवटा प्रदेशसभामा जम्मा ५५० जना सदस्यहरू छन्। गत मङ्सिरमा भएको निर्वाचनमा सर्वसाधारण मतदाताबाट छानिएका प्रदेशसभा सदस्यहरू पनि राष्ट्रपति निर्वाचनका मतदाता हुन्।

त्यसकारण राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत भएका तीन जनाबाहेक राष्ट्रपति निर्वाचनका सबै मतदाताहरू सर्वसाधारण मतदाताको भोटबाट छानिने जनप्रतिनिधिहरू नै हुन्।

तर कानुनले सङ्घीय सांसद र प्रदेश सांसदले दिने मतको भार फरकफरक तोकेको छ।

“यसरी मतभार फरक तोकिनुको कारण सङ्घीय सांसद र प्रदेशसभा सदस्यले प्रतिनिधित्व गर्ने जनसङ्ख्याको आकार फरक भएकाले हो,” पूर्वसांसद कृष्णभक्त पोखरेलले भने।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मानिसहरू मतदानका लागि योग्य थिए। जसको ६१ प्रतिशतले मतदान गरेको निर्वाचन आयोगले जनाएको थियो।

राष्ट्रपति निर्वाचनमा मतदान गर्ने निर्वाचन मण्डलका अधिकांश सदस्यहरू त्यही निर्वाचनबाट छानिएका प्रतिनिधि हुन्।

राष्ट्रिय सभाका ५९ जनामध्ये ५६ जना सदस्यहरू मतदाताको भोटबाट छानिएका स्थानीय तहका प्रमुख र उपप्रमुखसहित प्रदेशसभा सदस्यहरूबाट छानिएका हुन्।

एक जना सांसदले ७९ हजारको भोट हाल्छन्

राष्ट्रपति निर्वाचनमा सङ्घीय सांसद र प्रदेशका सांसदको फरकफरक मतभार तोक्न तथ्याङ्क शास्त्रीय विधि र सूत्र प्रयोग गरिएको छ।

तर मतभार तय गर्ने मुख्य आधार भने नेपालको जनसङ्ख्या र सांसदहरूको सङ्ख्या हो।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन २०७४ ले नेपालको कुल जनसङ्ख्यालाई सङ्घीय सांसद र प्रदेशसभा सदस्यको सङ्ख्याले छुट्टाछुट्टै भाग गरेर मतभार निकाल्ने व्यवस्था गरेको छ।

तर मतभार अङ्क सानो बनाउनका लागि त्यसरी आएको भागफललाई फेरि १,००० ले भाग गरेर अन्तिम मतभार तय गरिएको कानुनका निर्माताहरू बताउँछन्।

सम्बन्धित सामग्री

जनगणनाको पछिल्लो प्रतिवेदन सार्वजनिक नभएका कारण निर्वाचन आयोगले मतदाताहरूको प्रतिनिधित्वको हिसाब वि.सं. २०६८ सालकै जनगणनाअनुसार गरिरहेको छ।

विसं २०६८ को जनगणना अनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९५ हजार ५०४ थियो।

त्यसलाई सङ्घका सांसदहरूको सङ्ख्या ३३४ जनाले भाग गर्दा ७९ हजार ३२४ र ५५० जना प्रदेशसभा सांसदले भाग गर्दा ४८ हजार १७१ हुन्छ।

“मतभारका लागि गणितको सूत्र प्रयोग गरिए पनि एक जना सङ्घीय सांसदले औसतमा ७९ हजार र प्रदेशसभा सदस्यले ४८ हजार जनसङ्ख्यालाई प्रतिनिधित्व गर्छन् भन्ने बुझ्नुपर्छ,” पूर्वसांसद पोखरेलले भने।

अब मतभार कति पुग्ला?

नेपालको राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक विवरणअनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।

तथ्याङ्क कार्यालयले मतगणनाको अन्तिम प्रतिवेदन सार्वजनिक गर्न बाँकी नै रहे पनि प्रारम्भिक विवरणअनुसार अब सङ्घीय सांसदको मत भार ७९ बाट बढेर ८५ पुग्ने देखिन्छ भने प्रदेशसभा सदस्यको मत भार ४८ बाट बढेर ५३ पुग्ने देखिन्छ।

“कानुनले पछिल्लो जनगणनाले तय गरेको जनसङ्ख्याका आधारमा मत भार तय गर्ने भनेको छ। हामीलाई उपलब्ध पछिल्लो जनगणना भनेको २०६८ को हो। अब नयाँ जनगणनाको नतिजा आएपछि त्यो हेरफेर होला,” आयोगका प्रवक्ता पौडेलले भने।

निर्वाचित हुन कति मत आवश्यक हुन्छ

राष्ट्रपतिमा निर्वाचित हुन कुल मतभारको बहुमत आवश्यक हुने कानुनी व्यवस्था छ। कुनै पनि उम्मेदवारले बहुमत नल्याएको अवस्थामा सबैभन्दा बढी मत ल्याउने दुई जना उम्मेदवारबीच पुन: मतदान गर्नुपर्ने व्यवस्था छ।

दुई जना मात्रै उम्मेदवार रहेका कारण पहिलो चरणमै बहुमत पुग्ने कैयौँको आकलन छ।

प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्र रिक्त रहेका कारण र एक जना सांसद निलम्बनमा रहेका कारण सङ्घीय संसद्का मतदाताहरू ३३२ जना मात्रै छन्।

कुल ८८२ जना मतदाताको सबै मत भार ५२ हजार ६२८ हुन्छ। त्यसको बहुमतका लागि २६ हजार ३१५ मत आवश्यक पर्छ।