तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दाताबाट प्राप्त क्यान्सरकारक जीनयुक्त शुक्रकीट करिब २०० बच्चा जन्माउनमा प्रयोग भएको खुलासा
- Author, जेम्स ग्यालहर
- Role, स्वास्थ्य तथा विज्ञान संवाददाता
जसले दान गरेका शुक्राणुको प्रयोगबाट युरोपमा जन्मिएका कम्तीमा १९७ जना बच्चाहरूको जन्म भयो ती एकजना दातामा आनुवंशिक उत्परिवर्तन भएको थाहा भएपछि सबै बच्चाहरूमा क्यान्सरको खतरा देखिएको एक बृहत् अनुसन्धानले जनाएको छ।
त्यो प्रक्रियाबाट जन्मिएका केही बच्चाको पहिले नै मृत्यु भइसकेको थाहा भएको छ भने दाताको वंशाणुमा जस्तो उत्परिवर्तन देखियो त्यस्बाट उक्त शुक्राणु प्रयोग भइ जन्मेका बच्चाहरूको सानो सङ्ख्या मात्र उनीहरूको जीवनकालमा क्यान्सरबाट बच्न सक्छन्।
त्यो शुक्राणु यूकेका क्लिनिकहरूमा बेचिएको थिएन तर सानो सङ्ख्यामा ती दाताको शुक्राणु उपयोग गरेका ब्रिटिश परिवारहरूलाई त्यो सूचना दिइएको बीबीसीले पुष्टि गर्न सकेको छ। ती ब्रिटिश महिलाहरूले डेनमार्कमा गएर लिएको 'फर्टीलिटी' उपचारमा त्यस्तो शुक्राणुको प्रयोग भएको थियो।
उक्त शुक्राणु बिक्री गरेको डेनमार्कको 'युरोपियन स्पर्म ब्याङ्क' ले प्रभावित परिवारप्रति "गहिरो सहानुभूति" व्यक्त गरेको छ र कैयौँ देशहरूमा उक्त शुक्राणु धेरै बच्चा जन्माउनका लागि प्रयोग गरिएको बताएको छ।
यसमाथिको अनुसन्धान बीबीसी लगायत १४ सार्वजनिक हितमा सञ्चालित प्रसारकहरूले युरोपिएन ब्रोडकास्टिङ युनियनको इन्भेस्टिगेटिभ जर्नलिजम् नेटवर्क अन्तर्गत गरेका हुन्।
एक अज्ञात पुरुषलाई विद्यार्थीका रूपमा दान गर्नका लागि पैसा तिरेर सङ्कलन गरिएको शुक्राणुको बारे यो रिपोर्ट हो। उनले सन् २००५ देखि शुक्राणु दान गर्न सुरु गरेका थिए र विभिन्न महिलाहरूले करिब १७ वर्षसम्म उक्त शुक्राणु प्रयोग गर्दै आएका थिए।
उनी स्वस्थ्य छन् र दाताका लागि गरिने विभिन्न परीक्षणमा सफल देखिएका थिए। तर उनका केही कोषको डीएनएमा उनी जन्मनुभन्दा अघि नै आनुवंशिक उत्परिवर्तन भएको थियो।
उत्परिवर्तनले शरीरको TP53 जीनलाई नोक्सान पुर्याएको थियो जसले शरीरको कोशिकाहरूलाई क्यान्सरग्रस्त हुनबाट रोक्नमा महत्त्वपूर्ण भूमिका खेल्छ।
दाताको शरीरको अधिकांश भागमा खतरनाक प्रकारको TP53 छैन तर उनको २० प्रतिशत शुक्राणुमा त्यो छ।
यद्यपि प्रभावित शुक्राणुबाट जन्मिने बच्चाको हरेक कोषमा त्यस्तो उत्परिवर्तन हुन्छ।
यसलाई ली फ्रमेनी सीन्ड्रोम भनिन्छ र यसबाट क्यान्सर विकास हुने सम्भावना ९०प्रतिशतसम्म हुन्छ खासगरी बाल्यकालमा र पछि स्तन क्यान्सरका रूपमा।
लन्डनस्थित इन्स्टिट्यूट अफ क्यान्सर रिसर्चमा क्यान्सर जेनेटिसिस्ट प्रोफेसर क्लेयर टर्नबुल भन्छिन्, "यो डरलाग्दो निदान हो। यो परिवारमा पर्ने असाध्यै चुनौतीपूर्ण निदान हो र यसको खतरा छ भन्दै जीवन बिताउनु निश्चित रूपमा जीवनभरको बोझ हो।"
शरीर र मस्तिष्कको एमआरआई स्क्यान र पेटको अल्ट्रासाउन्ड हरेक वर्ष गर्नु पर्छ। महिलाहरूले क्यान्सरको खतरा कम गर्न आफ्ना स्तनहरू काटेर फाल्ने प्रकृया रोज्ने गरेका छन्।
युरोपियन स्पर्म ब्याङकका अनुसार दाता र उनका परिवारका सदस्य बिरामी छैनन्। र त्यस्तो उत्परिवर्तन जेनेटिक स्क्यानिङले पत्ता लगाउन सकेन। उनीहरूका अनुसार दाताको शुक्राणुमा समस्या देखिने बित्तिकै शुक्राणु लिन रोकिएको छ।
बच्चाहरूको मृत्यु भएको छ
शुक्राणु उपयोगसँग जोडिएका बच्चाहरू हेरिरहेका डाक्टरले युरोपियन सोसाइटी अफ ह्युमन जेनेटिक्समा यो वर्ष चिन्ता जाहेर गरेका थिए। .
उनीहरूका अनुसार ६७ बच्चा मध्ये २३ मा त्यो उत्परिवर्तित जीन पाइएको थियो र दशजना बच्चामा क्यान्सर देखिइसकेको थियो।
सूचनाको स्वतन्त्रताको हक सम्बन्धी अनुरोध र डाक्टर तथा बिरामीसँगको अन्तर्वार्ताबाट उक्त दाताबाट थुप्रै बच्चाहरू जन्मिएको हामी भन्न सक्छौँ।
कम्तीमा त्यो शुक्राणुबाट १९७ बच्चा जन्मिएका छन् तर सबै मुलुकबाट तथ्याङ्क प्राप्त नभएकाले यो अन्तिम सङ्ख्या होइन।
र कति बच्चाहरूले त्यो खतरनाक जीन वंशाणुगतरूपमा पाएका छन् भन्ने पनि स्पष्ट छैन।
रुआँ युनिभर्सिटी हस्पिटल फ्रान्समा क्यान्सर जेनेटिसिस्ट डा. एडविज कास्परले त्यसबारे प्रारम्भिक तथ्याङ्क पेस गरेकी थिइन्। उनले अनुसन्धानकर्ताहरूलाई भनिन् - हामीले थाहा पाएका धेरै बच्चाहरूमा क्यान्सर विकास भएको छ।
केही बच्चाहरूमा दुई प्रकारको क्यान्सर पाइएको छ भने केहीको असाध्यै कलिलो उमेरमा मृत्यु भएको छ।
सेलिन (नाम परिवर्तन गरिएको) फ्रान्समा एकल आमा हुन् जसले ती दाताको शुक्राणुबाट १४ वर्ष अघि बच्चा जन्माएकी थिइन् र ती बच्चामा उत्परिवर्तन रहेको निश्चित भएको छ।
उनले बेल्जियमस्थित क्लिनिकमा फर्टिलिटी उपचार गराएकी थिइन्। त्यो क्लिनिकले उनलाई फोन गरेर उनकी छोरीको जाँच गर्न भनेको थियो।
उनले "दाताप्रति कुनै नराम्रो भावना नरहेको" तर आफूलाई "सफा नरहेको, सुरक्षित नरहेको र खतरा रहेको शुक्राणु दिइनु अस्वीकार्य रहेको" बताइन्।
र उनीहरूको बाँकी जीवनमा क्यान्सरको खतरा मडारिइरहने छ भन्ने उनलाई थाहा छ।
"कहिले कस्तो र कतिवटा क्यान्सर हुनेछ भन्ने हामीलाई थाहा छैन," उनी भन्छिन्।
"यो हुने सम्भावना धेरै छ भन्ने मलाई थाहा छ जब यो हुनेछ, हामी लड्ने छौँ । पटक पटक पर्यो भने त्यति नै पटक लड्ने छौँ।"
दाताको शुक्राणु १४ देशका ६७ वटा फर्टिलिटी क्लिनिकहरूले प्रयोग गरेका थिए।
शुक्राणु यूकेमा रहेका क्लिनिकलाई बिक्री गरिएको थिएन।
तर यो अनुसन्धानको परिणामपछि डेनमार्कका अधिकारीहरूले यूकेको ह्युमन फर्टिलाइजेसन एन्ड एम्ब्रिओलोजी अथरिटीलाई हालै जानकारी दिए अनुसार ब्रिटिश महिलाहरू उक्त देशमा फर्टिलिटी उपचारका लागि गएको र ती दाताको शुक्राणु प्रयोग गरेको खबर गरेका छन्।
एचएफईएका प्रमुख कार्यकारी पीटर थम्पसनले "सानो सङ्ख्यामा महिलाहरू प्रभावित भएको र डेनमार्कका क्लिनिकमा दाताको बारे जानकारी दिइएको" बताए।
ती दाताको शुक्राणु उपयोग गरिएका अरू मुलुकमा ब्रिटिश महिलाहरूले उपचार गराएका थिए कि थिएनन् भन्नेबारे हामीलाई थाहा छैन।
सम्बन्धित बाबुआमालाई ती मुलुकका प्रजनन अधिकारीहरूसँग सम्पर्क गर्न सुझाव दिइएको छ।
बीबीसीले दाताको परिचय नम्बर खुलाउन चाहेको छैन किनभने दाताले राम्रै नियत राखेर दान गरेका थिए र यूकेका थाहा भएकाहरूलाई जानकारी गराइसकिएको छ।
विश्वभर नै दाताको शुक्राणु कति पटक प्रयोग गर्न सकिन्छ भन्नेबारे कुनै कानून छैन। तर विभिन्न देशहरूले आआफ्नो सीमा तोक्ने गर्छन्।
युरोपियन स्पर्म ब्याङ्कले त्यस्ता सीमाहरू केही मुलुकमा "दुर्भाग्यवश" मिचिएका र डेनमार्क तथा बेल्जियमका अधिकारीहरूसँग "छलफलमा रहेको " जनाएको छ।
बेल्जियममा एक शुक्राणु दाताको शुक्राणु ६ परिवारले मात्र लिन पाउने भनिन्छ। तर ३८ महिलाले ५३ बच्चा उक्त शुक्राणुबाट जन्माएका छन्।
यूकेमा प्रति दाता १० परिवारको सीमा छ।
'हरेक कुरा जाँच्न सकिन्न'
शेफील्ड स्पर्म ब्याङ्क सञ्चालन गर्ने गरेका र अहिले फ्याकल्टी अफ बायोलोजी मेडिसिन एन्ड हेल्थका प्रोफेसर एलन पेसीले मुलुकहरू ठूला अन्तर्राष्ट्रिय शुक्राणु ब्याङ्कमा निर्भर रहेका र यूकेको आधा शुक्राणु आयातित रहेका बताए।
उनले बीबीसीलाई भने: "हामीले ठूलो अन्तर्राष्ट्रिय शुक्राणु ब्याङ्कहरूबाट आयात गर्नुपर्छ जसले अरू देशलाई पनि त्यही शुक्राणु बेचिरहेका छन्, किनभने त्यसैबाट उनीहरूले पैसा कमाउने हो र त्यहीँबाट समस्या पनि उत्पन्न हुन्छ किनभने शुक्राणु कति पटक प्रयोग गर्न मिल्छ भन्ने अन्तर्राष्ट्रिय कानुन छैन"।
उनका अनुसार यसमा सामेल भएका मानिसहरूका लागि यो "असाध्यै नराम्रो" भयो तर पूर्ण रूपमा सुरक्षित शुक्राणु असम्भव छ।
"शुक्राणुमाथि हरेक चीजको जाँच गर्न सकिन्न। शुक्राणु दाता बन्न निवेदन दिने १ वा २ प्रतिशत पुरुषको मात्र हामी स्वीकार गर्छौँ र यसलाई अझ कडा बनाउने हो भने हामीले शुक्राणु दाता नै पाउँदैनौँ - त्यसैमा नै सन्तुलन अडेको छ।"
यो केस र ५५० बच्चा जन्माएपछि शुक्राणु दान गर्न रोक लगाउने आदेश दिइएका व्यक्तिको केसपछि यसका लागि कडा नियम बन्नु पर्छ पर्दैन भन्ने प्रश्न फेरि उत्पन्न भएको छ।
द युरोपियन सोसाइटी अफ ह्युमन रिप्रोडक्सन एन्ड एम्ब्रियोलोजीले हालै प्रति दाता ५० परिवार तोक्न सुझाव दिएको छ।
युरोपियन स्पर्म ब्याङ्कले भनेको छ: "यो मामिलाको सन्दर्भमा शुक्राणुको मद्दतविना बच्चा जन्माउन नसक्ने हजारौँ महिला वा जोडीहरूलाई ध्यानमा राख्नु पर्छ।"
"यदि मेडिकल निर्देशिका अनुसार शुक्राणु दाताको जाँच गरिएको छ भने शुक्राणु लिएर बच्चा जनाउन धेरैजसो सुरक्षित नै हुन्छ।"
यदि तपाईँ दाताको शुक्राणु लिनेबारे सोचिरहनु भएको छ भने
सारा नोरक्रोस भन्छिन्, दाताको शुक्राणु लिएर जन्मिएका बच्चाहरूको सङ्ख्या हेर्दा यस्ता घटना "असाध्यै दुर्लभ" हुन्।
हामीसँग कुराकानी गरेका विज्ञहरूका अनुसार लाइसेन्स प्राप्त क्लिनिक प्रयोग गर्नुको अर्थ हो बिरामीका लागि गरिने जाँचमा सफल भएका दाताको शुक्राणुको उपयोग हुने छ जुन अधिकांश हुनेवाला बाबुका सन्दर्भमा सामान्यत: त्यस्ता जाँच गरिएको हुँदैन।
प्रोफेसर पेसीको भन्छन्, मैले सोध्ने प्रश्न भनेको "दाता यूकेका हुन् कि अन्य कतैका?"
"यदि दाता अन्यत्रको हुन् भने मलाई लाग्छ दाताको शुक्राणु पहिला कति पटक उपयोग भएको छ वा भविष्यमा कति पटक उपयोग गरिने छ ? भन्ने प्रश्न सोध्न पाउनु उचित हो भन्ने लाग्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।