को हुन 'सुपरएजर्स' चिरञ्जीवी र तिनको मस्तिष्कबाट हामी के सिक्न सक्छौँ?

    • Author, मार्गरिटा रोड्रिगेज
    • Role, बीबीसी न्यूज मुन्डो

"उनको हिपोक्याम्पस सुन्दर थियो," डा. तमार गेफन सम्झन्छिन्।

न्युरोसाइकोलोजिस्ट डा. गेफनले ती महिलाको मस्तिष्कको स्वरूपले आफू अचम्मित भएको बताइन्।

"उनका न्युरोनहरू स्वस्थ्य र सबल थिए। मलाई लाग्यो त्यति सुन्दर संरचनाले कसरी त्यस्ता त्रासदीपूर्ण स्मरणहरू बोक्न सक्छन्," उनले भनिन्।

अमेरिकाको इलिनोएस्थित नर्थवेस्टर्न युनिभर्सिटीमा सुपरएजिङ् प्रोग्रामका अनुसन्धानकर्ता डा. गेफनले आफूले अध्ययन गरेको एकजना 'सुपर एजर' वा चिरञ्जीवी महिलाबारे बताइन्। उनले त्यस्ता दीर्घजीवी मानिसहरूलाई लामो समयदेखि तथा मृत्युपश्चात् पनि अध्ययन गरिरहेकी छन्।

ती "सुपरएजर" महिला द्वितीय विश्वयुद्धमा यहुदीविरुद्ध भएको होलोकस्टमा बाँचेकी महिला हुन् तर पनि ती निकै खुसी, बलियी र रमाइली थिइन्।

"१० वर्ष भइसक्यो तर अहिले पनि म तिनलाई सम्झिरहन्छु," उनले भनिन्।

नर्थवेस्टर्न म्यागजिनका निम्ति लेखिएको ह्वाट वी क्यान लर्न फ्रम सुपरएजर्स नामक लेखका निम्ति डा. गेफनले लेखक मार्टिन विल्सनलाई भनेकी थिइन्।

यो अध्ययन कार्यक्रम २५ वर्षदेखि चलिरहेको छ। अर्थात् ती वैज्ञानिक र सहभागीहरूले लामो समयदेखि एकआपसलाई चिनेका छन्। अध्ययनका लागि मस्तिष्क दान दिएकाहरूसँगको पुरानो चिनजानका कारण कति गहन प्रभाव पर्छ भनेर डा. गेफनको अनुभवले पनि देखाएको छ।

पहिलो मस्तिष्क

"सुपरएजिङ्" शब्द नर्थवेस्टर्न अल्जाइमर्स डिजिज रिसर्च सेन्टरमा सुरुमा प्रयोग गरिएको थियो। सुपरएजिङ् प्रोग्रामको सुरुवात जान्न हामीले सन् १९९० को मध्यताका फर्कनु पर्ने हुन्छ जतिखेर संयोगले केही भएको थियो।

"हामीले एकजना ८१ वर्षीया महिलाको पोस्ट मोर्टम ब्रेन अटप्सी पायौँ," नर्थवेस्टर्न युनिभर्सिटीको सुपरएजिङ् प्रोग्रामको पहिलो २५ वर्षबारेको लेखका लेखकहरूले भनेका छन्।

ती महिला अर्को अध्ययनमा सहभागी भएकी थिइन् र उनको "मस्तिष्कमा कुनै खराबी देखिएको थिएन।"

वास्तवमा स्मरणशक्तिसम्बन्धी परीक्षणहरूमा उनको मस्तिष्क उनको उमेर समूहका मानिसहरूभन्दा तीक्ष्ण अनि ५० वर्ष उमेरका मानिसहरूको जस्तै देखिएको थियो।

अनुसन्धानकर्ताहरू सो मस्तिष्कमा केवल एउटा न्यूरोफाइब्रीलरी गाँठो देखिएकोमा छक्क परे। स्पाचियल, इपिसोडिक तथा अटोबायोग्राफिकल स्मरणलाई एकीकृत गर्न महत्त्वपूर्ण मानिने मस्तिष्कका विभिन्न भागसँग जोडिएको इन्टोरिनल कोर्टेक्समा उक्त गाँठो देखिएको थियो।

न्यूरोफाइब्रिलरी ट्याङ्गल वा गाँठो भनेको टाउ प्रोटिनका साना फाइबरहरू - जो मस्तिष्कको कार्यका लागि महत्त्वपूर्ण हुन्छन् - को सम्मिश्रण हो जो न्यूरोनसँग जेलिएका हुन्छन्। मस्तिष्कमा त्यस्ता गाँठाहरू फैलिनुलाई मस्तिष्कको क्षमतामा ह्राससँग जोडेर हेरिन्छ।

अनुसन्धानकर्ताहरूका अनुसार ती महिलाको मस्तिष्कमा एउटामात्र गाँठो पाइनुलाई "स्वस्थ्य मस्तिष्क भएकै त्यो उमेर समूहको मानिसमा पनि दुर्लभ" थियो।

बीबीसीको हेल्थ चेक प्रोग्राममा बोल्दै उक्त अध्ययनकी एक अग्रणी शोधकर्ता तथा नर्थवेस्टर्न युनिभर्सिटीकी प्राध्यापक डा. सान्द्रा वाइनट्रबले अध्ययनको सुरुवाती चरण सम्झिइन्।

"हाम्रा पहिलो सुपरएजर मस्तिष्कमा केवल एउटा गाँठो थियो अनि हामीले ठान्यौँ, 'ओहो! हामीले मस्तिष्क तीक्ष्ण राख्ने रहस्य फेला पार्‍यौँ: गाँठो पर्नु भएन,'" उनले भनिन्।

"तर अर्को सुपरएजरको मस्तिष्कमा चाहिँ त्यति नै धेरै गाँठा थिए जति तपाईँले कुनै अल्जाइमर्स रोगले ग्रसित मानिसको पोस्ट मोर्टम गर्दा भेट्नु हुन्छ।"

को हुन् सुपरएजर्स?

८० वर्ष वा त्योभन्दा धेरै उमेर भएका मानिसहरू जसको स्मरण शक्ति तीभन्दा २०-३० वर्ष कम उमेरका व्यक्तिहरूको जत्तिकै हुन्छ, तिनलाई सुपरएजिङ् प्रोग्रामका वैज्ञानिकहरूले सुपरएजर्स वा चिरञ्जीवी भन्ने गर्छन्।

तिनले स्मरण शक्ति जाँच्न न्यूरोसाइकोलोजीमा प्रयोग गरिने रे अडिटरी भर्बल लर्निङ् टेस्ट प्रयोग गर्छन्। संज्ञानात्मक कार्य परीक्षण गर्न अन्य स्रोत प्रयोग गरिन्छ।

उनीहरूले तुलनात्मक अध्ययनका लागि इपिसोडिक स्मरण कार्यलाई चयन गरे किनभने उमेर बढ्दै जाँदा सामान्यतया धेरै ह्रास हुने यही हो।

कोही मानिसलाई सुपरएजरको संज्ञा दिनका निम्ति वैज्ञानिकहरूले कडै शर्त राखेे - ऊभन्दा कम्तीमा ३० वर्ष कम उमेरको मानिसको सरह स्मरण शक्ति हुनु पर्ने भनेर।

यसको नतिजा रोचक रह्यो।

"कोही ९० वर्ष उमेरका मानिसले ५० वा ६० वर्ष उमेरका मानिसलाई समेत झट्ट सम्झन हम्मे हम्मे पर्ने खालका ठूलो परिमाणका नयाँ सूचनाहरू सम्झन सकेको देख्दा गजब लाग्छ," नर्थवेस्टर्न युनिभर्सिटीको साइकायाट्री एन्ड बिहेबियरल साइन्सेजकी सहायक प्राध्यापक मोली ए माथरले बीबीसी मुन्डोसँग भनिन्।

तिनको मस्तिष्क कसरी फरक छ?

उमेरसँगै सोचविचार, ज्ञानआर्जन तथा सिकाइसम्बन्धी कग्नीटिभ वा संज्ञानात्मक क्षमता ह्रास हुँदै जान्छ भन्ने विश्वासलाई सुपरएजर्सहरूले चुनौती दिएका छन्।

औसत मानिसका तुलनामा सुपरएजर्सहरूको न्यूरोसाइकलोजिकल तथा न्यूरोबायोलोजिकल फिनोटाइफ फरक हुने अध्ययनकर्ताहरूले स्थापित गर्न सके।

उदाहरणका लागि तिनको "कोर्टिकल भोल्युम तीभन्दा २० देखि ३० वर्ष कम उमेरका मानिसको सरह हुन्छ।"

कोर्टिकल भोल्युमले सचेतनासँग जोडिएको मस्तिष्कको बाहिरी तह सेरेब्रल कोर्टेक्समा रहने तन्तुको परिमाण जनाउँछ।

यसको साइनो स्मरण तथा भाषा प्रशोधनलगायतका कार्यहरूसँग रहन्छ।

अर्को उदाहरणमा अनुसन्धानकर्ताहरूले के पाए भने सुपरएजर्सहरूको मस्तिष्कमा भोन इकोनोमो न्यूरोनहरू अधिक सङ्ख्यामा हुन्छन् र तुलनात्मक रूपमा तीभन्दा निकै कम उमेरका मानिसहरूमा जत्तिकै हुन्छन्।

यस्ता न्यूरोनहरूले सामाजिक अन्तरक्रिया एवं जटिल सामाजिक व्यवहारमा महत्त्वपूर्ण भूमिका खेल्छन्।

यो परिणाम अध्ययनकर्ताहरूले सुपरएजर्सहरूमा देखेको एउटा बानीसँग मेल खान्छ, त्यो भनेको उनीहरूले सामाजिक सम्बन्धहरूमा देखाउने रुचि।

"तर कुन चाहिँ पहिले आयो भनेर हामीलाई थाहा छैन," माथरले भनिन्।

के उनीहरूको मस्तिष्कमा सधैँदेखि यस्ता कोष धेरै थिए जसले तिनलाई थप सामाजिक बनायो वा के ती सामाजिक भएकै कारण ती कोष वृद्धि भए?

कोषको तहमा पुगेर हेर्दा अल्जाइमर्स रोगले ग्रसितहरूको तुलनामा सुपरएजरको मस्तिष्कमा थोरै परिवर्तनहरू देखिन्छन्।

"एउटा गजबको कुरा चाहिँ के हो भने सुपरएजरहरू जो ८० वा ९० वा कोही कोही त १०० वर्ष नाघेका हुन्छन् तिनको मस्तिष्कमा सामान्यभन्दा निकै कम गाँठाहरू हुन्थे," माथरले भनिन्।

ती गाँठा निर्माणलाई के ले रोक्यो भन्नेबारे चाहिँ वैज्ञानिकहरू अझै पनि अनभिज्ञ छन्।

साथै गाँठाहरू भएका सुपरएजरहरूको हकमा चाहिँ तिनको स्मरण शक्ति किन तीक्ष्ण छ भन्ने अझै रहस्यपूर्ण छ।

बानीका विविधता

सन् १९३४ मा जन्मिएकी राल्फ रेहबक अध्ययनमा सामेल एक स्वयंसेवी हुन्।

"म एक सुपरएजर हुन पाएकोमा गौरवान्वित छु," नर्थवेस्टर्नले बनाएको एक भिडिओमा उनी भन्छन्।

अध्ययनको सुरुवात भएयता यस कार्यक्रममा २९० जना सुपरएजरहरू सहभागी भइसकेका छन् भने ७७ वटा मस्तिष्कको अटप्सी गरेर ती किन तीक्ष्ण थिए भनेर बुझ्ने प्रयास गरिएका छन्।

हाल यस कार्यक्रममा १३३ जना सक्रिय सहभागी छन्।

यो लेखमा विल्सनले सुपरएजर भनेको कुनै भिन्दै किसिमका व्यक्ति हुने भन्दा पनि यो समूहमा विविध जीवनशैली अपनाएका मानिसहरू पाइएको उल्लेख गरेका छन्।

"कोही सुपरएजरहरूले स्वस्थ्य जीवनका लागि सिफारिस गरिएका सबैजसो परामर्श मानेर जीवन बाँचेको पाइएको छ। तर अन्यले राम्रो खानपान नगरेको पनि पाइयो भने धूमपान तथा मद्यपान गरेका तथा व्यायाम नगरेका अनि तनावपूर्ण तथा राम्रो निद्रारहित जीवन बाँचेकाहरू पनि पाइयो," अनुसन्धानकर्ताहरूले शोधपत्रमा लेखेका छन्।

"यसको कुनै सरल सूत्र निश्चय नै छैन। के थाहा भविष्यमा कुनै दिन हामीले थाहा पाउँला तर आजको दिनमा सिफारिस योग्य त्यस्तो कुनै सूत्रभन्दा हामी निकै पर छौँ।"

डा. गेफन पनि सचेत गराउँदै भन्छिन्, "जैविक, आनुवंशिक अनि सबल स्वास्थ्यलाई योगदान गर्ने अन्य पक्षहरूबीचको अन्तरक्रिया अनवरत हुन्छ।"

"तपाईँको खानपान राम्रो, सुत्ने शैली राम्रो, अनि डिप्रेशनको उपचार वा मदिरापान त्याग्नेजस्ता काम गर्ने बित्तिकै तपाईँ अचानक सुपरएजर भइहाल्नु हुन्छ भन्ने छैन," वाइनट्रबले बीबीसीलाई भनिन्।

"तर हामीलाई के थाहा छ भने माथि उल्लेख प्रत्येक आनीबानीले तपाईँको उमेर बढ्दै जाँदा हुन सक्ने मस्तिष्क क्षमताको ह्रासको जोखिम घटाउँछ। यदि तपाईँले ती बानी बसाल्नुभयो अनि यदि तपाईँको आनुवंशिक स्वरूप सही छ भने तपाईँ पनि सुपरएजर हुन सक्ने सम्भावना छ।"

उसोभए सुपरएजरको जस्तै तीक्ष्ण मस्तिष्क तपाईँको पनि भइरहने सम्भावना कस्तो छ?

"हामीले अध्ययनबाट देखाएको जस्तै सुपरएजर मस्तिष्क भन्ने ठ्याक्कै छुट्ट्याउन सकिने हुँदैन," वाइनट्रबले बीबीसी मुन्डोलाई भनिन्। "सुपर भनेको ती व्यक्तिको स्मरण क्षमता अनि जीवनप्रतिको दृष्टिकोण हो।"

उनका अनुसार सुपरएजर मानिसहरूका मस्तिष्कको पोस्ट मोर्टम गर्दा कतिपयको मस्तिष्कमा कुनै पनि उमेरजन्य खराबी देखिएको थिएन भने कतिपयको मस्तिष्कमा चाहिँ मानिसहरूको मस्तिष्क क्षमतामा ह्रास ल्याउने अल्जाइमर्स रोग लागेकाहरूमा देखिने जस्ता असामान्य प्रोटिन थिए।

"कुनै कारणवश सुपरएजर्सहरूले या त त्यस्ता प्रोटिन अन्य मानिसकै गतिमा उत्पादन गरेनन् या त उत्पादन गरे पनि त्यस्ता प्रोटिनले तिनका मस्तिष्कका स्वस्थ्य कोषमा कुनै प्रभाव पारेनन्। त्यहीँ नै छ रहस्य," उनले भनिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।