तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बस्ने-र-उठ्ने परीक्षण: एउटा साधारण काम जसले दर्साउँछ तपाईँको तन्दुरुस्ती र बुढ्यौली
- Author, ज्यास्मिन फक्स स्केली
- Role, बीबीसी
बस्ने र उठ्ने परीक्षण पूरा गर्न जम्मा ३० सेकेन्ड लाग्छ तर त्यसको परिणामले तपाईँको स्वास्थ्यको बारे गहन जानकारी दिन सक्छ।
हामीलाई बसेको कुर्चीबाट जुरुक्क उठ्ने काम असाध्यै मामुली लाग्न सक्छ र खासै ध्यान दिने गरिन्न तर यसो गर्ने तपाईँको क्षमताले वास्तवमा तपाईँको स्वास्थ्यका बारेमा धेरै कुरा बताउँछ।
यसरी स्वास्थ्य स्थिति आकलन गर्न डाक्टरहरूले सीट-टु-स्ट्यान्ड (एसटीएस) परीक्षण गराउँछन्। यसमा तपाईँ ३० सेकेन्डभित्र कति पटक उठबस गर्न सक्नु हुन्छ भन्ने नापिन्छ।
यो खासगरी डाक्टरहरूले वा सामुदायिक स्वास्थ्य संस्थाहरूमा वृद्धहरूको स्वास्थ्य परीक्षण गर्ने क्रममा समस्या जाँच्न प्रयोग गर्ने गरिन्छ। तर घरमा पनि यो परीक्षण सजिलै गर्न सकिन्छ।
"यो वास्तवमा असाध्यै सहयोगी परीक्षण हो किनभने यसले मानिसहरू कुन उमेर अवस्थामा कसरी काम गरिरहेका छन् भन्ने देखाउँछ," गाइज एन्ड सेन्ट टमस एनएचएस फाउन्डेशन ट्र्स्ट इन लन्डनमा बूढ्यौलीसम्बन्धी विज्ञ तथा किङ्स कलेज लन्डन यूकेका प्रोफेसर जगदीप ढेसी भन्छन्।
यसले उनीहरूको शारीरिक शक्ति, उनीहरूको सन्तुलन र उनीहरूको शरीरको लचकताबारे जानकारी दिन्छ। यसैसम्बन्धी विभिन्न अध्ययनबाट थाहा लागेको छ - मानिसहरूको बस्ने र उठ्ने परीक्षणबाट शारीरिक सन्तुलन बिग्रने वा मुटुसम्बन्धी समस्या हुने वा मृत्युको खतरामा रहेको भन्ने थाहा पाउन सकिन्छ।
घरैमा हात नभएको सीधा कुर्ची, एउटा स्टप वाच र टाइमर (धेरैजसो आधुनिक फोनमा यी सुविधा हुन्छन्) भएपछि यो परीक्षण गर्न सकिन्छ।
परीक्षण गर्न कुर्चीको बीचमा एक हातले अर्को हातको पाखुरा समातेर बस्नुहोस्। मेरुदण्ड सीधा राख्नुहोस् र खुट्टा भुईँमा राख्नुहोस्।
बसेको ठाउँबाट उठ्नुहोस्। फेरि बस्नुहोस् र उठ्नुहोस्। यो स्टप वाचको सहयोगमा ३० सेकेन्डसम्म गरिरहनुहोस् र कति पटक उठ्बस गर्न सक्नुहुन्छ गन्नुहोस्।
यो बस्ने उठ्ने परीक्षणमा कम अङ्क आयो भने त्यसले मानिसहरूमा नराम्रो स्वास्थ्य अवस्था रहेको पहिचान गर्न वा सर्जरीपछिको जटिलता वा शारीरिक सन्तुलन कमजोर भएको भन्ने अवस्था दर्शाउँछ।
यो परीक्षण मुख्यत: ६० वर्षभन्दा अधिक आयुका वयस्कहरूमा गर्ने गरिन्छ तर यसको प्रयोग कम आयुका मानिसमा पनि गर्ने गरिएको छ।
अमेरिकी सेन्टर्स फर डिजिज कन्ट्रोल र प्रीभेन्सन सीडीसीले विभिन्न आयु समूहका लागि औसत सङ्ख्या तय गरेको छ।
तपाईँ अङ्क तालिकामा कता पर्नु हुन्छ भन्ने पत्ता लगाउनुहोस्:
सीडीसीका अनुसार एसटीएसको विभिन्न उमेर समूहका लागि औसत सङ्ख्या यस्तो छ:
• ६०-६४ वर्षका लागि औसत स्कोर पुरुष:१४ र महिला १२
• ६५– ६९ वर्षका लागि औसत स्कोर पुरुष:१२ र महिला ११
• ७०-७४ वर्षका लागि औसत स्कोर पुरुष:१२ र महिला १०
• ७५–७९ वर्षका लागि औसत स्कोर पुरुष:११ र महिला १०
• ८०–८४ वर्षका लागि औसत स्कोर पुरुष:१० र महिला ९
• ८५–८९ वर्षका लागि औसत स्कोर पुरुष:८ र महिला ८
• ९०–९४ वर्षका लागि औसत स्कोर पुरुष:७ र महिला ४
औसतभन्दा कम अङ्कले खराब स्वास्थ्य परिणाम जस्तो कि हिँड्दा लड्ने जोखिमको सङ्केत दिन सक्छ।
त्यस्तो औसत अङ्क ६०-६४ वर्षका आयुका व्यक्तिमा पुरुषका लागि १४ हो र महिलाका लागि १२ हो। यदि तपाईँ ८५/ ८९ वर्षको हुनु हुन्छ भने औसत स्कोर ८ हो।
यो औसत स्कोर कुनै व्यक्तिको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर गरिएको होइन - उदाहरणका लागि यदि कसैको हालै सर्जरी भएको छ या चोट लागेको छ भने त्यसलाई ध्यानमा राखेर औसत सङ्ख्या निकालिएको होइन।
यो परीक्षण युवाका लागि वा कुनै स्वास्थ्य समस्या नभएकाहरूका लागि पनि फाइदादायक हुन सक्छ।
किनभने यसले शारीरिक तन्दुरुस्ती कस्तो छ भन्ने हेर्न सकिन्छ र यसले खासगरी शरीरको तल्लो भागको मांसपेशीको तागत र बलियोपन कस्तो छ भन्ने दर्शाउँछ।
स्वीट्जरल्यान्डका अनुसन्धानकर्ताहरूले करिब ७,००० जनालाई यो परीक्षणमा सहभागी हुन आग्रह गरे र परिणाम तुलना गरे। उनीहरूले २० देखि २४ वर्ष उमेरका पुरुषका लागि प्रति मिनेट औसत सङ्ख्या ५० र महिलाका लागि ४७ भएको पत्ता लगाए। तर यसमा सहभागी कसै कसैले त ७२ पटकसम्म बस्ने उठ्ने गर्न सक्षम भएका थिए।
स्वास्थ्य अवस्था राम्रो भएका र औसत आयु २१ वर्ष भएका स्वयंसेवकहरूमा गरिएको अर्को एक अध्ययनमा अनुसन्धानकर्ताहरूले बस्ने उठ्ने परीक्षणको परिणाम र त्योभन्दा फरक तथा अलि बढी समय लाग्ने उनीहरूको एरोबिक क्षमता तथा तन्दुरुस्तीको मापन गर्ने परीक्षणबीच बलियो सम्बन्ध रहेको पाए।
अनुसन्धानले देखाएको छ परीक्षणमा तपाईँले कति राम्रो गर्नुभयो भन्ने परिणामले स्वास्थ्यकर्मीहरूलाई तपाईँको स्वास्थ्यबारे धेरै कुरा बताउन सक्छ।
उदाहरणका लागि परीक्षणमा कम स्कोर प्राप्त गर्ने मानिसहरूमा क्यान्सर वा सर्जरीपछि नराम्रो परिणामको जोखिममा हुन सक्छन्।
यसमा कम अङ्क प्राप्त भयो भने त्यसले ती व्यक्तिको मुटु र फोक्सोहरूले राम्रो काम नगरिरहेको देखाउन सक्छ या हृदयाघात वा मस्तिष्कघात या हार्ट फेलर हुन सक्ने देखाउँछ।
सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रीभेन्सनका अनुसार औसतभन्दा कम स्कोर प्राप्त गर्ने व्यक्तिमा शारीरिक सन्तुलन गडबड भएर लड्ने खतरा बढी हुन्छ।
ढेसी भन्छन्, "यदि मानिसहरूले आफ्नो शारीरिक क्षमता तन्दुरुस्त राखेनन् भने उनीहरूको शारीरिक सन्तुलन, लचकता र मुटुको स्वास्थ्य राम्रो हुँदैन त्यसैकारण उनीहरू लड्ने सम्भावना बढी हुन्छ।
तथ्याङ्क अनुसार ६५ वर्षभन्दा बढीका मानिसहरूमध्ये ३० प्रतिशत जति हरेक वर्ष एक पटक लड्ने गर्छन्। ८० प्रतिशतभन्दा बढी उमेरका मानिसहरूमा ५० प्रतिशतभन्दा बढी मानिसहरू वर्षमा एक पटक लड्छन् र फेरि लडिने हो कि भन्ने त्रासमा रहन्छन् त्यसले गर्दा उनीहरू घर बाहिर सकेसम्म जाँदैनन् जसले गर्दा उनीहरू सामाजिक रूपमा एक्लिन पुग्छन्।
"यदि तपाईँमा लड्छु कि भन्ने चिन्ता छ भने तपाई बाहिर जान र मानिसहरू भेट्न या अरू काम गर्न कमै निस्कनुहुन्छ त्यसले गर्दा एउटा चक्र जस्तो उत्पन्न हुन पुग्छ," ढेसी भन्छन्।
सामाजिक रूपमा एक्लिनु बाहेक लडाइले खासगरी वृद्ध मानिसहरूमा घाउ चोट लाग्न सक्छ ।
"सन्तुलन बिग्रेर लड्ने असाध्यै ठूलो समस्या हो किनभने लड्दा सानो घाउचोट लाग्नेदेखि मांसपेशी च्यातिने, मर्किने र हिप फ्र्याक्चर हुने पनि खतरा हुन्छ," ढेसी भन्छन्। अमेरिकामा हरेक वर्ष ३ लाख मानिसहरूको हिप फ्र्याक्चर हुने गरेको छ
"यूकेमा हरेक वर्ष ७० हजार हिप फ्र्याक्चर हुने गरेको छ र हिप फ्र्याक्चरको एक वर्षभित्रै ३० प्रतिशत मानिसको मृत्यु हुने गरेको छ," ढेसी भन्छन्।
सन् २०१२ को एक अध्ययनले ५१ देखि ८० वर्ष उमेरका मानिसमा एसटीएस परीक्षण गर्दा आउने परिवर्तन मृत्यु हुने सम्भावनाको महत्त्वपूर्ण सूचक हो। बढी अङ्क पाउनेहरूको तुलनामा जसले कम अङ्क प्राप्त गरे उनीहरूको ६ वर्षको समयभित्र मृत्यु हुन सक्ने पाइयो।
यद्यपि ढेसीले एसटीएस परीक्षणले स्वास्थ्य कस्तो छ भन्ने सङ्केत गर्ने भए पनि त्यसले व्यक्ति कति लामो समय बाँच्छन् भन्ने अनुमान गर्न सक्दैन भने।
"एसटीएस परीक्षण परिणामलाई यसरी लिन सकिन्छ- कुनै व्यक्तिको स्वास्थ्य अवस्था, उनीहरू जीवनको गुणस्तर र स्वतन्त्रता र उनीहरू लामो समय राम्ररी बाँच्न सकून भनेर सुधार गर्न उपचार वा अन्य कार्य गर्न सकिन्छ भन्ने महत्त्वपूर्ण हो, " ढेसी भन्छन्।
"घरमा यस्ता परीक्षण गरेर हेर्दा तपाईँ आफ्नो उमेरका अरूहरू भन्दा कस्तो स्थितिमा हुनुहुन्छ भन्ने तुलना गर्न सक्नुहुन्छ र तपाईँ आफू स्वस्थ र तन्दुरुस्त रहन के गर्न सक्नुहुन्छ भन्ने पत्ता लगाउन सक्नुहुन्छ। त्यसैले मेरो विचारमा मानिसहरूले आफ्नो स्वास्थ्यको आफै ख्याल राख्नका लागि यो राम्रो परीक्षण हो।"
कसरी आफ्नो क्षमता सुधार गर्ने
ढेसीका अनुसार तपाईँले एसटीएस स्कोर बढाउन सकेसम्म सक्रिय र हिँडडुल गर्ने कार्य निरन्तर गर्नुपर्छ।
हिँडडुल गर्न गाह्रो छ भने बसी बसी कसरत गर्नुपर्छ जसले तपाईँको शक्ति बढाउँदै लग्नेछ। त्यसपछि हरेक घण्टा दुई घण्टामा पाँच पटक उठ्नुपर्छ।
"यदि सक्नुहुन्छ भने आफ्नै कोठाभित्र यता उता हिँड्ने र आफ्नै घरको भर्याङमा दिनमा तीन चार पटक तलमाथि गर्नुहोस्," ढेसी भन्छन्, "तपाईँले बङ्लो लेग्स भनिने एक तले घरका कारण खुट्टाका मांसपेशी कमजोर हुने समस्या हुन नदिन भर्याङ तल माथि गरिरहनुपर्छ जसले तपाईँको स्वतन्त्रता र सन्तुलन कायम गर्न सहयोग गर्छ।"
सम्भव भए घर बाहिर गएर विभिन्न शारीरिक कसरत गर्ने कक्षा लिन पनि ढेसी सुझाव दिन्छन्।
कसरतको कक्षामा सहभागी हुँदा भौतिक कसरत हुने बाहेक विभिन्न मानिससँग सामाजिक सम्बन्ध स्थापित हुँदै जान्छ। तपाईँ वृद्ध हुँदै जाँदा यो असाध्यै महत्त्वपूर्ण भएर आउँछ किनभने सामाजिक रूपमा एक्लिँदा त्यसले तपाईँको स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ।
अन्त्यमा, यताउता हिँडिरहनुपर्छ र घरको काम गरिरहनुपर्छ।
वृद्धहरूका लागि तपाईँका नातिनातिना छन् भने उनीहरूसँग खेल्ने र भुईँमा लडिबुडी गर्ने कुराले पनि सहयोग गर्न सक्छ।
अरू सुझावहरूमा तपाईँको दैनिक रुटिनमा केही कुराहरू थप्न सक्नुहुन्छ जस्तो कि बसेको निकै बेर भएको छ भने उठ्ने, जिउ तन्काउने, हिँड्न सकिने ठाउँमा मोटरमा जानेभन्दा पैदल जाने र बगैँचामा काम गर्ने लगायतका कार्यहरू गर्नु जस्ता पर्दछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।