'मलाई मर्छु जस्तो लागेको थियो': जीन थेरपीले रगतको 'निको नहुने' क्यान्सर निर्मूल पार्‍यो

    • Author, जेम्स ग्यालहर
    • Role, विज्ञान तथा स्वास्थ्य संवाददाता

कुनै बेला विज्ञानकथामा मात्र सम्भव मानिएको एउटा उपचारविधि प्रयोग गरेर "चाँडै फैलिने र निको पार्न नसकिने" ब्लड क्यान्सरबाट पीडित केही बिरामीहरूलाई "रोगमुक्त" पारिएको चिकित्सकहरूले बताएका छन्।

यो विधिमा बिरामीका श्वेत रक्तकोष 'डब्ल्यूबीसी'मा हुने आनुवंशिक तत्त्व डीएनए "सम्पादन" गरेर ती कोषहरूलाई क्यान्सरको प्रतिरोध गर्ने "जीवन्त औषधि"मा रूपान्तरण गरिन्छ।

यो विधि प्रयोग गरेर उपचार गरिएकी प्रथम व्यक्तिमा फेरि क्यान्सर देखा परेको कुनै सङ्केत फेला परेको छैन। बीबीसीले उनीबारे सन् २०२२ मा समाचार प्रकाशित गरेको थियो। ती किशोरी अहिले क्यान्सरबारे अनुसन्धान गर्ने वैज्ञानिक बन्न चाहन्छिन्।

अहिले 'टी-सेल अक्यूट लिम्फब्ल्यास्टिक लूकीमिआ' बाट पीडित आठ बालबालिका र दुई वयस्क व्यक्तिको सोही विधिबाट उपचार भएको छ। चिकित्सकहरूका अनुसार उनीहरूले ६४ प्रतिशत सफलता हात पारेका छन्।

टी-सेल (T-cell)लाई शरीरको संरक्षक मानिन्छ। प्रतिरोध प्रणालीअन्तर्गत पर्ने ती विशेष कोषहरूले शरीरलाई हानि पुर्‍याउने तत्त्वहरू खोज्छन् र तिनलाई नष्ट पार्न खोज्छन्। तर लूकीमिआ अर्थात् ब्लड क्यान्सर हुँदा तिनै कोषहरू अनियन्त्रित बनेर फैलिन्छन्।

कीमोथेरपी र 'बोन म्यारो' प्रत्यारोपणबाट लूकीमिआको उपचार हुन सक्दैन। प्रयोगात्मक उपचारविधि वा औषधि प्रयोग गर्नुबाहेक अरू विकल्प बाँकी हुने भनेको बिरामीलाई कम कष्ट हुने गरी मृत्युवरण गर्न दिनु हो।

"मलाई म साँच्चै मर्छु जस्तो लागेको थियो। म आफू पनि ठूली होऊँली र सबै बच्चाहरूले गर्न सक्ने कामकुरा गर्न सकूँली जस्तो पटक्कै लागेको थिएन," यो विधिबाट पहिलो पटक उपचार गरिएकी एलिसा ट्याप्ली भन्छिन्। यूकेको लेस्टरमा बस्ने यी किशोरी अहिले १६ वर्षकी भइन्।

ग्रेट ओर्मन्ड स्ट्रीट हस्पिटलमा उपचार भएपछि उनको जीवनमा कायापलट भएको छ।

कसरी भयो उपचार

तीन वर्षअघि उनको उपचार गर्न प्रयोग गरिएको यो क्रान्तिकारी विधिअन्तर्गत उनको प्रतिरक्षा प्रणालीलाई पूरै हटाएर शरीरमा नयाँ प्रणाली विकसित गरिएको थियो। त्यसका लागि उनी चार महिना अस्पताल बस्नुपर्‍यो।

सङ्क्रमण हुन सक्ने भएकाले उनले आफ्ना परिवारजनसँग पनि भेट्न पाइनन्।

अहिले उनको शरीरमा क्यान्सरको कुनै सङ्केत छैन। उनले प्रत्येक वर्ष चिकित्सकीय परीक्षण गराउनुपर्छ। अहिले उनी ए लेभलमा अध्ययनरत छिन्। उनी गाडी चलाउन सिक्न चाहन्छिन्।

"म बायोमेडिकल विज्ञानमा 'अप्रेन्टिस्शिप' गर्ने विचार गर्दै छु। कुनै दिन ब्लड क्यान्सरको अनुसन्धान गर्न पाइने आशा पनि छ," उनले भनिन्।

उनको उपचार गर्न यूनिभर्सिटी कलेज लन्डन (यूसीएल) र ग्रेट ओर्मन्ड स्ट्रीट हस्पिटलमा कार्यरत विशेषज्ञहरूले 'बेस एडिटिङ' नामक प्रविधि प्रयोग गरेका थिए।

हाम्रो आनुवंशिक तत्त्व अर्थात् डीएनएमा चार प्रकारका यौगिकहरू हुन्छन्। तिनलाई 'बेस' भनिन्छ।

तिनलाई हाम्रो जीवनको भाषा मान्न सकिन्छ। एडनीन (ए), साइटसीन (सी), ग्वानीन (जी) र थाइमीन (टी) हाम्रो आनुवंशिक सङ्केतका आधारभूत तत्त्व हुन्।

अक्षरहरू मिलेर अर्थपूर्ण शब्द बने जस्तै हाम्रो डीएनएमा भएका अर्बौँ बेसहरूले हाम्रो शरीर सञ्चालन गर्न निर्देशन दिन्छन्।

ती 'बेस'को सम्पादन गरेर वैज्ञानिकहरू आनुवंशिक सङ्केतको निश्चित भाग अर्थात् जीनमा केन्द्रित हुँदै केवल एउटा 'बेस'को सूक्ष्म संरचनामा परिवर्तन गर्न सक्छन्।

त्यसो गर्दा अर्कै यौगिक बन्न पुग्छ र आनुवंशिक सङ्केतले दिने निर्देशन पनि फेरिन्छ।

अनुसन्धानकर्ताहरू शरीरलाई हानि पुर्‍याउने तत्त्वहरू खोज्ने र तिनलाई नष्ट पार्ने टी-सेलको स्वाभाविक शक्ति 'टी-सेल अक्यूट लिम्फब्ल्यास्टिक लूकीमिआ'विरुद्ध प्रयोग गर्न चाहन्थे।

तर त्यो सजिलो काम थिएन। अरू कोषहरूलाई कुनै हानि नपुर्‍याई केवल खराब टी-सेललाई निर्मूल पार्नका लागि उनीहरूले स्वस्थ र राम्रा टी-सेलको 'निर्माण' गर्नुपर्ने थियो।

कसरी भयो जीन सम्पादन

अनुसन्धानकर्ताहरूले एक दाताबाट सङ्कलित स्वस्थ टी-सेलहरूमा परिमार्जन गर्न थाले।

पहिलो 'बेस' सम्पादनबाट ती कोषहरूमा विद्यमान हानिकारक तत्त्वहरूलाई निसाना बनाउने प्रणाली निष्क्रिय पारियो। त्यसो गरेर डोनर टी-सेलहरूले बिरामीको शरीरलाई नै आक्रमण गर्न सक्ने सम्भावना हटाइयो।

दोस्रो सम्पादनबाट टी-सेलमा हुने सीडी७ (CD7) भनिने रासायनिक सङ्केत हटाइयो। त्यसबाट टी-सेलहरू आत्मघाती हुन सक्ने र उपचारविधि विफल हुने सम्भावना रोकियो।

तेस्रो सम्पादनले टी-सेलहरूलाई कीमोथेरपीमा प्रयोग हुने औषधिले मार्न नसक्ने बनायो।

जीनमा गरिएको परिमार्जनको अन्तिम चरणले ती टी-सेलहरूलाई सीडी७ भएका सबै कोषहरूको 'सिकार' गर्न निर्देशन दियो।

यसरी परिमार्जित टी-सेलहरू आफू जोगिने गरी शरीरमा फेला पर्ने अरू सबै टी-सेललाई नष्ट पार्न सक्षम भए।

यसरी उपचार गरिएका बिरामीहरूको शरीरमा चार सातापछि क्यान्सरको सङ्केत देखिएन भने उनीहरूको प्रतिरक्षा प्रणालीलाई फेरि सक्रिय बनाउन 'बोन म्यारो' प्रत्यारोपण गरिन्छ।

"केही वर्षअघिसम्म यो विज्ञानकथाजस्तै लाग्थ्यो," यूसीएल तथा ग्रेट ओर्मन्ड स्ट्रीट हस्पिटलका प्रा वसीम कासिम भन्छन्।

"हामीले खासमा शरीरको प्रतिरक्षा प्रणालीलाई पूरै भत्काउनुपर्छ...। यो जटिल र सघन उपचार हो। यो बिरामीहरूका लागि निकै चुनौतीपूर्ण हुन्छ तर सफल हुँदा यो निकै फलदायी हुन्छ।"

नतिजा र जागेको आशा

'न्यू इङ्ग्ल्यान्ड जर्नल अफ मेडिसिन' जर्नलमा प्रकाशित एउटा शोधपत्रमा यो अनुसन्धानका परिणामहरू समाविष्ट छन्।

यो विधिबाट उपचार गरिएका ११ बिरामीमध्ये नौ जनामा निकै सुधार भयो र उनीहरूमा 'बोन म्यारो' प्रत्यारोपण पनि गरियो।

तीमध्ये सात जना उपचार गरेको तीन महिनादेखि तीन वर्षसम्मको अवधिमा क्यान्सरमुक्त देखिन्छन्।

शरीरको प्रतिरक्षा प्रणाली निष्क्रिय पारेर गरिने यो उपचारविधिको सबैभन्दा ठूलो जोखिम सङ्क्रमण हुन सक्ने सम्भावना हो।

दुई बिरामीमा क्यान्सरयुक्त टी-सेलहरूले सीडी७ गुमाएको देखियो। त्यस कारण क्यान्सर लुक्यो र फेरि शरीरमा देखा पर्‍यो।

"यस खालको लूकीमिआ चाँडै फैलिन सक्ने कुराको आधारमा यो निकै प्रभावकारी नतिजा हो। अनि आशा गुमाइसकेका बिरामीमा हामीले फेरि आशा जगाउन सकेकोमा म पक्कै पनि खुसी छु," ग्रेट ओर्मन्ड स्ट्रीट हस्पिटलको 'बोन म्यारो' प्रत्यारोपण विभागका डा रोबर्ट कीएजाले भने।

किङ्स कलेजमा कार्यरत वरिष्ठ हीमटोलजिस्ट डा डेबोरा यालोपका अनुसार "पहिला उपचार हुन नसक्ने ठानिएको" रक्त क्यान्सर निको पार्न यो विधि निकै शक्तिशाली उपाय हो।

"यो परीक्षणअघि बिरामीहरू बाँच्ने निकै कम सम्भावना भएको कुरालाई दृष्टिगत गर्दा यो परिणामले यस खालको विधि अझ परिष्कृत हुन सक्ने र अझ बढी बिरामीहरूको उपचार गर्न उपलब्ध हुने आशा बढेको छ," यूकेमा स्टेम सेलको क्षेत्रमा सक्रिय परोपकारी संस्था एन्थोनी नोलनसँग आबद्ध चिकित्सक डा टान्या डेक्स्टरले भनिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।