तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकाको एमआरएनए खोपबाट पछि हट्ने निर्णय कतै गलत लेखाजोखा त भएको होइन?
- Author, जेम्स ग्यालहर
- Role, स्वास्थ्य र विज्ञान संवाददाता
कोभिडको महामारीका बेला एमआरएनए खोपले चिकित्सा क्षेत्रमा ठूलो राहत पुर्याएको रूपमा लिइएको थियो तर अहिले भने त्यसबारेको अनुसन्धानबाट अमेरिका पछि हटेको छ।
अमेरिकाका स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडीले कोभिड र फ्लूजस्ता सङ्क्रमणसँग जुध्नका लागि प्रयोग हुने ५० करोड डलर बराबर लागत रहेका २२ वटा परियोजनाहरू रद्द गरेका छन्।
खोपप्रति असाध्यै सन्देह राख्ने केनेडीको निर्णयमा केही तर्क छ कि वा उनी नकारात्मक परिणाम निश्चितप्राय: दिने निर्णय गर्दै छन्?
ब्रिस्टोल विश्वविद्यालयका खोप अनुसन्धानकर्ता प्राध्यापक एडम फिनका अनुसार यो "थोरै थोरै दुवै" हो। तर उनका अनुसार एमआरएनए प्रविधि नै त्याग्नुचाहिँ "मूर्खता" भएको र सम्भवतः "विनाशकारी गल्ती" हो।
त्यस्तो किन?
एमआरएनए खोपले काम गर्छ?
केनेडीले आफूले एमआरएनए खोपको विज्ञानको समीक्षा गरेको र 'तथ्याङ्कले यी खोपहरूले कोभिड र फ्लूजस्ता फोक्सोको माथिल्लो भागमा हुने सङ्क्रमणलाई प्रभावकारी रूपमा सुरक्षा दिन असफल भएको देखिएको' निष्कर्ष निकालेका छन्।
यसको सट्टा उनले "भाइरसको उत्परिवर्तन हुँदा पनि प्रभावकारी रहने सुरक्षित, बृहत् खोपमा" पैसा लैजाने बताए।
उनले दाबी गरेजस्तो एमआरएनए खोपले छातीको माथिल्लो भागमा कोभिड र फ्लूले सङ्क्रमण गर्दा सुरक्षा नदिने भन्ने कुरा सत्य नभएको प्राध्यापक एन्ड्र्यू पोलर्ड बताउँछन्। उनी अक्फोर्ड भ्याक्सिन ग्रुपमा आबद्ध छन् र यूके सरकारलाई सल्लाह दिने खोपसम्बन्धी संयुक्त समितिका प्रमुखबाट उनले राजीनामा दिँदैछन्।
यी खोपहरूलाई विश्वभरि पठाइँदा त्यसले मानिसहरूलाई जीवित राख्न र अस्पतालबाहिर राख्ने गरी सुरक्षा प्रदान गरेको देखिएको थियो। यी खोपहरूको क्लिनिकल परीक्षण र पछि सघन रूपमा अनुगमन पनि गरिएको थियो।
कोभिड महामारीको पहिलो वर्ष फाइजर/बायोएनटेक एमआरएनए खोप मात्रैले झन्डै ६० लाख जीवन बचाएको अनुमान गरिएको थियो।
त्यसको विरुद्धमा विशेषगरी युवा पुरुषहरूमा हृदयको तन्तुको सूजनको थोरै घटनाहरू देखिएका थिए जसलाई मायोकार्डिटिस भनिन्छ।
"प्रविधिले ल्याएको ठूलो फाइदाको तुलनामा एकदमै दुर्लभ असरहरूको सन्तुलन हुनुपर्छ," प्राध्यापक पोलर्डले भने।
महामारीको समय यस्तो थियो जब विश्व कोभिडमा केन्द्रित थियो र खोप पठाइँदा त्यसको सघन रूपमा निगरानी गरिएको थियो। सर्वसम्मत धारणा के छ भने ती खोपले हानिभन्दा धेरै राम्रो काम गरेका छन्।
एमआरएनए कोभिड खोपले प्रतिरक्षा प्रणालीलाई पूरै भाइरसको एउटा प्रोटीनलाई मात्र लक्षित गर्न अह्राउँछ। यदि कोरोनाभाइरसमा भएको त्यो प्रोटीन परिवर्तन भयो वा उत्परिवर्तन भयो भने शरीरको सुरक्षा कम हुन्छ।
हामीले त्यसको परिणाम रोग प्रतिरोधात्मक क्षमता घट्ने र खोपलाई अद्यावधिक गर्न आवश्यक रहेको देखेका छौँ।
एउटा सैद्धान्तिक तर्क के हो भने पूरै भाइरस प्रयोग गर्ने जस्ता खोपको फरक तरिका अपनाउने। त्यसो गर्दा राम्रो सुरक्षा दिन्छ र प्रतिरक्षा प्रणालीलाई लक्षित गर्नका लागि धेरै अवसर हुने छ।
तर प्राध्यापक पोलर्डका अनुसार एमआरएनए खोपले कोभिडसँग जुध्न निष्क्रिय खोपभन्दा राम्रो काम गरेको थियो।
खोपलाई अद्यावधिक गर्नुपर्ने आवश्यकता एमआरएनए प्रविधिको असफलता नभई भाइरसको आधारभूत प्रकृतिसँग बढ्ता जोडिएको विषय हो।
दादुरा वा एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप दशकौँदेखि प्रभावकारी रहेका छन्। यी भाइरसका आणुवांशिक कोड स्थिर हुने हुँदा खोप कमजोर हुने सङ्केत देखिएका छैनन्।
तर अन्य कैयन् भाइरसहरू चाहिँ निरन्तर परिवर्तनको अवस्थामा रहन्छन्।
उदाहरणका लागि फ्लू एउटै भाइरसका कारण हुने होइन बरु यसका भाइरस निरन्तर परिवर्तित भइरहन्छन्। कुनै समयमा एउटा स्ट्रेन हावी हुने गर्छ र त्यसैले उक्त जाडोयाममा समस्या निम्त्याउने गर्छ।
त्यसैकारण फ्लूका निम्ति वयस्कहरूलाई दिइने खोपमा राखिने निष्क्रिय भाइरसको प्रकार प्रत्येक वर्ष अद्यावधिक गरिन्छ।
प्राध्यापक पोलर्ड भन्छन्, 'भेरिअन्ट अनुसार खोप चल्नु पर्ने विषय भनेको समग्र प्रविधिसँग जोडिएको विषय हो, केवल एमआरएनएका लागि मात्र लागु हुने होइन।"
एमआरएनए खोप अन्य खोपभन्दा कसरी भिन्न छ?
एउटा साझा प्रश्न भनेको एमआरएनए खोपहरू अन्य खोप प्रविधिहरू भन्दा कति भिन्न छन् भन्ने हो। यहाँ खासगरी निम्न प्रकारका खोपहरू छन्:
- निष्क्रिय खोपहरूले मूल भाइरस वा ब्याक्टेरिया प्रयोग गर्छ, मार्छ र प्रतिरक्षा प्रणालीलाई तालिम दिन्छ - उदाहरणका लागि वार्षिक दिइने फ्लू खोप
- एटेन्युएटेड खोपहरूमा मारिएका नभइ कमजोर तुल्याइएकासङ्क्रामक भाइरस प्रयोग गरिन्छ। त्यसैले यिनले हल्का सङ्क्रमण निम्त्याउँछ - उदाहरणका लागि दादुरा, मम्प्स र रुबेला खोप
- कन्जुगेट खोपहरूले किटाणुका प्रोटीन वा सुगरका कण प्रयोग गर्छन्। त्यसैले यिनले सङ्क्रमण ननिम्त्याइकनै प्रतिरक्षा प्रणालीलाई सक्रिय पार्छन् - उदाहरणका लागि मेनिन्जाइटिस खोप
- एमआरएनए खोपहरूले आणुवांशिक कोडको प्रयोग गर्छन् जसले अस्थायी रूपमा शरीरका कोषलाई भाइरसका अंशहरू बनाउन निर्देशन दिन्छ। प्रतिरक्षा प्रणालीले तिनै अंशप्रति प्रतिक्रिया जनाउँछन्।
यी सबै खोपमा फाइदा र बेफाइदा दुवै छन् तर प्राध्यापक फिन भने एमआरएनए खोपलाई हामीले महामारीको समयमा "धेरै भाउ" दिएको र अब समग्रतामा त्यसलाई लिनु पर्ने बताउँछन्।
"तर एमआरएनए खोप बेकारको हो र यसको कुनै मूल्य छैन र यसलाई अझ राम्रोसँग विकास गर्नु हुँदैन वा बुझ्नु हुँदैन भन्ने पनि त्यत्तिकै मूर्खतापूर्ण कुरा हो। यसले उल्लेखनीय काम गरेको छ," उनले भने।
यसले कसरी राम्रो सुरक्षा प्रदान गर्छ?
कुन रोगका लागि कुन खोप प्रविधि प्रयोग हुन्छ भन्ने कुरा एउटा वैध वैज्ञानिक प्रश्न हो।
वैज्ञानिकहरूमाझ चिन्ताको विषय के हो भने एमआरएनए अनुसन्धानबाट पछि हट्नु भनेको अन्य प्रविधि प्रभावकारी नहुने बेलामा ती खोपहरू हाम्रा पहुँचमा हुने छैनन्।
प्राध्यापक पोलर्ड भन्छन्: "मलाई लाग्दैन कि सुरक्षाका लागि यो एकदमै राम्रो छ भन्ने प्रमाण छ तर एमआरएनए प्रविधि प्रकोपका बेला अन्य विधिभन्दा धेरै अगाडि हुन्छन्I"
विश्वले हरेक वर्ष फ्लूका नयाँ खोप बनाउन एकदमै मेहनत गरिरहेको छ। तर पनि नयाँ फ्लू स्ट्रेनहरू लक्षित गर्ने निर्णय गर्न ६ महिना लामो लाग्ने प्रक्रिया हुन्छ। एकदमै नयाँ खोप विकास गर्न त अझै बढी समय लाग्छ।
तर एमआरएनएको हकमा भने छ देखि आठ हप्तामा नयाँ खोप आउन सक्छ र त्यसको केही महिना पछि त लाखौँ डोज उत्पादन गर्न सकिन्छ।
अमेरिकी स्वास्थ्यमन्त्रीको निर्णयानुसार पैसा फिर्ता लगिएका केही परियोजनाहरूमध्ये बर्ड फ्लूको महामारीको तयारी गरिरहेका परियोजना पनि थिए। उक्त भाइरस एचफाइभएनवानले चराचुरुङ्गीको सङ्ख्यालाई तहसनहस पारिरहेको छ र अमेरिकी गाईबस्तुलगायत अन्य जीवजन्तुमा समेत असर गरिरहेको छ।
"यो उचित भएन। यदि बर्ड फ्लूले मानव महामारी निम्त्यायो भने यो निर्णयलाई विनाशकारी त्रुटिको रूपमा हेरिने छ," प्राध्यापक फिन भन्छन्।
तर एमआरएनए अनुसन्धानबाट अमेरिकापछि हट्नुको असर अझ व्यापक हुन सक्छ।
यो कदमले अहिलेको खोप, एमआरएनए वा अन्य कुनै कुराप्रतिको विश्वासमा कस्तो प्रभाव पर्ला? चिकित्सा अनुसन्धानमा अमेरिका सबैभन्दा प्रभावशाली देशमध्ये एक भएको अवस्थामा यसले विश्वलाई कस्तो प्रभाव पार्छ? र, के यसले अन्य प्रकारका एमआरएनए प्रविधि जस्तै क्यान्सर खोपहरू वा दुर्लभ आणुवांशिक रोगहरूको उपचारमा दृष्टिकोण बनाउने विषयमा पनि प्रभाव पार्ला?
केनेडीको कदमपछि प्राध्यापक पोलर्डले अर्को प्रश्न गरेका छन्: "यदि ठूलो बजारले एमआरएनएलाई समर्थन गरेन वा अस्वीकार गर्यो भने के यसले हामी सबैलाई खतरामा पुर्याउला?
"सङ्क्रामक रोग, अझ क्यान्सर र दुर्लभ रोगका लागि बायोथेराप्यूटिक एजेन्टहरूको विकासका क्षेत्रमा यो शताब्दीमा हामीले देख्ने सबैभन्दा महत्त्वपूर्ण प्रविधिहरू मध्ये यो एक हो। त्यसैले अमेरिकी निर्णयले दिने सन्देशबारे म चिन्तित छु।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।