कोभिड नेपाल: चीनमा निर्मित एमआरएनए खोपको कसरी हुँदैछ परीक्षण? त्यसबाट कस्तो लाभ र कस्तो हानि होला?

    • Author, स्वेच्छा राउत
    • Role, बीबीसी न्यूज नेपाली

गत साता मन्त्रिपरिषद्ले चिनियाँ कम्पनी वालभ्याक्स बायोटेक्नोलजीले कोभिड-१९ विरुद्ध बनाएको मेसिन्जर आरएनए (एमआरएनए) खोपलाई नेपालमा परीक्षण गर्ने अनुमति दिएको छ।

उक्त खोपको देउराली जनता फर्मास्यूटीकल्सले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण सुरु गर्न लागेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले बताएका छन्।

नेपालमा कोभिड खोपको परीक्षण गर्न लागिएको यो पहिलो पटक हो।

विज्ञहरूका अनुसार एमआरएनए खोपमा वैज्ञानिकहरूले भाइरसको आरएनए अर्थात् आनुवंशिक संरचनाको एउटा अंश निकाल्छन् र लिपिडको लेप लगाएर शरीरका कोषमा छिर्न सक्ने बनाउँछन्। त्यसलाई सुईमार्फत् दिइन्छ र त्यस खोपले शरीरमा कोरोनाभाइरसको स्पाइक प्रोटीन बनाउन निर्देशन दिन्छ।

उक्त प्रोटीन शरीरमा बनेपछि कोरोनाभाइरससँग लड्न प्रतिरोधात्मक क्षमता विकसित हुन्छ। स्पाइक प्रोटीनले सङ्क्रमित कोषलाई नष्ट गर्न 'टी-सेल'लाई सक्रिय पार्ने काम पनि गरिदिन्छ।

वालभ्याक्स खोप: सजिलो व्यवस्थापन तर परीक्षण नै चुनौतीपूर्ण

डा. ज्ञवालीका अनुसार अहिले परीक्षण गर्न लागिएको एमआरएनए खोप 'फ्रिज टेम्परेचर'मा राख्न सकिन्छ।

"ढुवानी र व्यवस्थापनको हिसाबले हाम्रो लागि सहज बन्छ। त्यसअघि परीक्षणकै पाटो महत्त्वपूर्ण हो," उनले भने।

नेपालमा हुने भनिएका खोपहरूको परीक्षण कोरोनाभाइरसको सङ्क्रमण रोकथामका लागि महत्त्वपूर्ण कदम हुने विज्ञहरूको दाबी छ। तर त्यसका लागि उक्त खोपबारे अध्ययन, त्यसले नेपाल र परीक्षण गरिएकाहरूलाई हुने लाभ र सम्भावित हानिबारे स्पष्ट हुनुपर्ने बताए।

पाटन अस्पतालमा कार्यरत तथा औषधि विज्ञानबारे अनुसन्धान गर्दै आएका डा. बुद्ध बस्न्यातका अनुसार परीक्षण हुने भनिएको खोपको प्रभावकारिता स्थापित भएमा सङ्क्रमण नियन्त्रणमा योगदान पुग्छ। तर परीक्षणमा ल्याइने खोपहरूको पनि अध्ययन हुनुपर्ने उनको भनाइ छ।

बस्न्यातले भने,"प्रभावकारी देखिएको स्थितिमा त परीक्षणका लागि ल्याउने कम्पनीदेखि उपभोक्तासम्म लाभान्वित हुन्छन् नै। साथै सम्भावित जोखिमबारे पनि ध्यान दिइनुपर्छ।"

बस्न्यात अक्सफर्ड विश्वविद्यालय क्लिनिकल रिसर्च यूनिट नेपालका निर्देशक पनि हुन्। उनका अनुसार परीक्षणका लागि खोप ल्याइनुअघि तीन वटा महत्त्वपूर्ण विषयमा ध्यान दिइनुपर्छ:

  • खोप परीक्षण सफल भएको अवस्थामा निःशुल्क खोप उपलब्ध गराउनेदेखि अन्य लाभबारे लिखित सम्झौता हुनुपर्ने
  • परीक्षण अवधिमा खोपका कारण पर्न सक्ने असरबारे अध्ययन र असरको क्षतिपूर्ति के र कसले गर्ने भन्ने कार्यविधि बन्नुपर्ने
  • परीक्षण गरिने समूहलाई खोप लगाउनुको प्रयोजन स्पष्ट पारिनुपर्ने तथा परीक्षणमा सहभागी हुन लिखित सहमति दिनेहरूमा खोपको परीक्षण गरिनुपर्ने

"सरकारले जिम्मेवारी लिएको विषय भएकाले परीक्षण अवधिभर हरेक सहभागीलाई निगरानीमा राख्न अत्यावश्यक छ," बस्न्यातले भने।

एनएचआरसीका कार्यकारी प्रमुख डा. ज्ञवालीका अनुसार परीक्षण अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम गरिने भएकाले सहभागीको जिम्मा प्रायोजक कम्पनीको हुनेछ।

अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्डअनुसार खोप परीक्षण

खोप १८ वर्षभन्दा माथिका उमेर समूहमा परीक्षण गरिनेछ। स्वैच्छिक रूपमा तयारहरूलाई परीक्षणमा सहभागी गराइनेछ। धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई केन्द्र बनाए पनि हरेक क्षेत्रका मानिसहरूले सहभागिता जनाउन पाउने बताइएको छ।

तीनदेखि छ महिनाको परीक्षण अवधिमा करिब तीन हजार मानिसलाई खोप दिइने डा. ज्ञवालीले बताए।

"सहभागीहरूलाई खोप कहाँ र कसरी बनेको, परीक्षण गर्नुको उद्देश्य, त्यसको सम्भावित हानि र त्यसबाट हुनसक्ने लाभबारे बुझाइन्छ," उनले भने,"कुनै करकापबिना परीक्षणका लागि हस्ताक्षरसहित लिखित सहमति जनाउनुपर्छ।"

उनका अनुसार खोपको प्रायोजक कम्पनी वालभ्याक्स बायोटेक्नोलजीले सहभागीहरूको बीमा गरिदिनेछ।

परीक्षण अवधिमा "डेटा सेफ्टी मनिटरिङ बोर्ड' (डीएसएमबी) ले सहभागीमा पर्न सक्ने असरदेखि कस्ता-कस्ता समस्या देखिए भन्नेबारे विश्लेषण गर्नेछ।

"वैज्ञानिकहरूले सबै कुरा ठिक छ भनेको स्थितिमा मात्र परीक्षणलाई निरन्तरता दिइन्छ। कुनै सहभागीलाई गम्भीर असर परेको खण्डमा परीक्षण रोक्न पर्ने हुनसक्छ।"

सहभागीहरू चिकित्सकको निगरानीमा रहने दाबी डा. ज्ञवालीको छ।

कुनै अप्ठेरो परेको स्थितिमा सहभागी स्वयं पनि परीक्षणबाट बाहिरिन सक्ने प्रावधान छ।

परीक्षणदेखि बजारसम्म खोपको यात्रा

खोपको परीक्षणको अर्थ त्यसले गर्ने क्रिया र प्रतिक्रियामाथिको अध्ययन हो।

अध्ययन र विश्लेषणमार्फत् उक्त खोप कति सुरक्षित छ? त्यो लगाएपछि रोग लाग्छ कि लाग्दैन? रोगविरुद्ध प्रतिरोध क्षमता विकास हुन्छ कि हुँदैन? भए कति समयसम्म रहन्छ? जस्ता पाटो केलाइन्छ,"

सूक्ष्मजीववैज्ञानिक तथा इम्यूनोलजिस्ट प्रा. डा. प्रकाश घिमिरेले भने।

बजारमा पुग्नुअघि खोपको विभिन्न चरणमा परीक्षण हुन्छ। सबैभन्दा सुरुमा 'प्री-क्लिनिकल' परीक्षण हुन्छ। यस चरणमा खोप सीधै मानिसलाई नभई जनावरलाई दिइन्छ।

खोपको कुनै घातक प्रतिक्रिया नदेखिए दोस्रो चरणको परीक्षण हुन्छ। यस चरणमा खोप मानिसलाई दिइन्छ र सुरक्षित छ भन्नेबारे विश्लेषण हुन्छ।

त्यस्तै तेस्रो चरणमा खोपको सुरक्षासाथै प्रभावकारिताको अध्ययन हुन्छ।

"नेपालमा गर्न लागिएको तेस्रो चरणको परीक्षण हो। परीक्षणपछि नियामक निकायले स्वीकृति दिएपछि मात्र त्यसलाई बजारमा पठाउन योग्य ठहरिन्छ," प्रा. घिमिरेले भने,"हाल बजारमा १०-१२ वटा अनुमतिप्राप्त खोपहरू उपलब्ध भएको अवस्थामा भर्खर परीक्षणमा आएको खोपको उपयोगिता के र कति? भन्ने चाहिँ मुख्य प्रश्न हो।"

परीक्षणको लाभ के, हानि के

एनएचआरसीका कार्यकारी प्रमुख ज्ञवालीका अनुसार खोप परीक्षणका लागि अनुमति दिनुअघि विभिन्न तहमा त्यसले पुर्‍याउने लाभलाई हेरिन्छ।

"घाटाभन्दा पनि फाइदा हेरेरै अध्ययनको स्वीकृति दिइने हो।"

जहाँ परीक्षण हुन्छ त्यस क्षेत्रका मानिस खोपको पहिलो प्रयोगकर्ता हुनुलाई पहिलो लाभका रूपमा व्याख्या गर्छन् उनी। त्यस्तै नेपाली भूगोल, खानपान, आनुवंशिक हिसाबमा खोपको असरबारे बुझ्न र लगाउने कि नलगाउने निर्क्योल गर्न पाइने उनले बताए।

"कम्पनीसँग पनि खोप प्रभावकारी ठहरिएको अवस्थामा हामीले सुरुमा किन्न पाउँछौ कि पाउँदैनौ? पाउने भए कति शुल्कमा पाइने? लगायत विषयमा सम्झौता भएका छन्," ज्ञवालीले भने,"तत्काललाई खोप समयमै उपलब्ध हुनु महत्त्वपूर्ण पाटो हो। आवश्यकता अनुसार उपलब्ध हुन्छ भन्नेमा ढुक्क छौँ।"

चिनियाँ कम्पनीले नेपालमै खोप उत्पादन र ढुवानीमा पनि सहयोग गर्ने जानकारी दिइएको छ।

परीक्षणका लागि एनएचआरसीमा आएको प्रस्तावको नैतिक र वैज्ञानिक पाटो केलाएपछि मात्र अनुमति दिइन्छ। त्यसैले हानिको सम्भावना कम रहने ज्ञवालीको ठहर छ।

प्रा. प्रकाश घिमिरेका अनुसार खोपको प्रतिक्रियास्वरूप सहभागीको स्वास्थ्यमा केही समस्या देखिन सक्छ। "सहभागीमाथि निगरानी आवश्यक छ। साथै सबैभन्दा कम प्रतिक्रिया देखिए मात्र खोप परीक्षण र बजारीकरणको प्रक्रिया अगाडि बढ्छ।"

औषधि ऐनको तेस्रो अध्यादेशअनुसार खोपहरूको क्लिनिकल परीक्षणका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिनुपर्छ। त्यसपछि औषधि विभागले अनुमति दिन्छ।

तत्काल प्रायोजकहरूबाट आधिकारिक पत्र नआइसकेकाले विभागले परीक्षणका लागि अनुमतिको प्रक्रिया अगाडि नबढाएको विभागका प्रवक्ता सन्तोष केसीले बताए।

हैजाको खोप परीक्षण गर्न पनि अनुमति

मन्त्रिपरिषद्ले कोरोनाभाइरसविरुद्धको एमआरएनए भ्याक्सीनसँगै हैजाको खोपलाई पनि परीक्षणको अनुमति दिएको छ। नेपालमा यसअघि पनि हेपाटाइटिस, टाइफोइडजस्ता रोगसम्बन्धी खोप परीक्षण भएका छन्।

गत वर्ष नेपालमा टाइफोइडविरुद्धको खोप परीक्षण भएको थियो।

इन्टरन्याश्नल भ्याक्सीन इन्स्टिट्यूट कोरियाले कान्ति अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगन्ज शिक्षण अस्पतालमा परीक्षण गरेको थियो। उक्त परीक्षण सफल ठहरिएको डा. घिमिरेले बताए।

"त्यस खोपको (नराम्रो) असर देखिएन," उनले भने।

त्यस्तै हेपाटाइटिस 'ई' को पनि खोप परीक्षणका लागि ल्याइएको थियो। तर स्थानीय तहबाट उक्त खोप लगाउन अस्वीकार गरिएपछि परीक्षण रोकिएको जानकारी घिमिरेले दिए।

"त्यसैले आम मानिसलाई परीक्षणबारे बुझाउन आवश्यक छ। फाइदाबेफाइदाबारे बुझाएर अनुमति लिइनुपर्छ," उनले भने।