अमेरिका र यूकेद्वारा हूथी समूहविरुद्ध यमनमा अर्को चरणको आक्रमण

लडाकु विमान

तस्बिर स्रोत, UK MOD

तस्बिरको क्याप्शन, यूकेका आरएएफ टाइफुन लडाकु विमानहरू पनि सोमवारको आक्रमणमा संलग्न भएको बताइएको छ

विश्व व्यापारको महत्त्वपूर्ण पाटो रहेको लाल सागरस्थित व्यापारिक पानीजहाज ओहोरदोहोर गर्ने क्षेत्रमा हूथी विद्रोहीहरूले आक्रमण गरेका कारण अमेरिका र ब्रिटेनले पुन: संयुक्त कारबाही थालेको बताएका छन्।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार यमनमा हूथी लडाकु समूहका आठवटा ठाउँमा आक्रमण गरिएको छ।

ती ठाउँमध्ये एउटा भूमिगत हतियार भण्डारणस्थल तथा हूथीहरूले क्षेप्यास्त्र प्रहार गर्न प्रयोग गर्ने स्थान र रेडार प्रणाली पनि छन्।

अमेरिका र यूके के भन्छन्?

हूथीहरूको नियन्त्रणमा रहेको यमनको राजधानी सानामा ठूल्ठूला विस्फोटन भएको आवाज सुनिएको थियो।

इरानको समर्थनप्राप्त हूथी समूहले इजरेलविरुद्ध प्यालेस्टिनीहरूप्रति समर्थन जनाउन व्यापारिक पानीजहाजहरूमा आक्रमण गर्दै आएका छन्।

यसबीच अमेरिका, यूके तथा अन्य छ देशले एक संयुक्त वक्तव्य जारी गर्दै व्यापारका निम्ति स्वतन्त्र तथा भयरहित आवाजजावत गर्न पाउने विषयमा अनि तिनलाई हमलाहरूबाट रक्षा गर्ने विषयमा प्रतिबद्धता दोहोर्‍याएका छन्।

आक्रमणपछि पेन्टागनले जारी गरेको विज्ञप्तिमा भनिएको छ: “हाम्रा लक्ष्य भनेको रेड सी (लाल सागर) क्षेत्रमा तनाव मत्थर पार्नु र स्थायित्व पुनर्बहाली गर्नु हो। तर हामी हूथी नेतृत्वलाई चेतावनी दिन चाहन्छौँ: संसारको एउटा महत्त्वपूर्ण जलमार्गमा जीवनको रक्षा तथा स्वतन्त्र व्यापार वाणिज्य कार्यलाई सघाउनका निम्ति हामी हिच्किचाउने छैनौँ।”

ज्यानुअरी ११ पछि अमेरिका र ब्रिटेनले हूथीविरुद्ध गरेको यो दोस्रो संयुक्त आक्रमण हो।

यी आक्रमणमा अस्ट्रेलिया, बाहरेन, क्यानडा, र द नेदरल्यान्ड्सको समर्थन रहेको जनाइएको छ।

ब्रिटिश लडाकु विमान

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, ब्रिटिश रोयल एअर फोर्स (आरएएफ) ले उपलब्ध गराएको यो तस्बिरमा साइप्रसस्थित एउटा हवाई शिविरमा एक प्राविधिक यमनमा आक्रमण गर्न पठाउन लागिएको एउटा लडाकु विमान तयार पार्दै गरेको देखिन्छ

सोमवारको आक्रमण कस्तो?

सोमवार भएको संयुक्त आक्रमणमा खास गरी अमेरिकी युद्धपोत यूएसएस आइजनहावरमा रहेका लडाकु विमानहरू सहभागी भएका थिए।

तिनलाई साथ दिन ब्रिटेनका चारवटा आरएएफ टाइफुन तथा भोइजर ट्याङ्क खटाइएको यूकेको रक्षा मन्त्रालयले जनाएको छ।

तिनले सानास्थित हवाई अड्डा वरपरका दुईवटा सैन्य क्षेत्रका कैयौँ निसानामा पेभवे-आईभी नामक बम खसालेको रक्षा मन्त्रालयले बताएको छ।

उसका अनुसार हूथी समूहले ती सैन्य शक्तिको प्रयोग गरेर लाल सागरमा अन्तर्राष्ट्रिय आवागमनमा बाधा पुर्‍याउने काम गरिरहेको थियो।

साथै आक्रमणमा गैरसैनिक क्षतिलाई न्यून पार्न हमलाको योजना गर्दा त्यसबारे गहन विश्लेषण गरिएको पनि उसले बताएको छ।

यूकेका रक्षामन्त्री ग्र्यान्ट श्याप्सले ती आक्रमणलाई "आत्मरक्षा" को सङ्ज्ञा दिएका छन्।

“हूथीको सैन्य क्षमतालाई निस्जेत पार्ने उद्देश्यका साथ गरिएका यी कारबाहीले तिनको सीमित हतियार भण्डार र विश्वव्यापी व्यापारमा असर पार्न सक्ने तिनको क्षमतामा धक्का पुर्‍याउने छ,” श्याप्सले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

पछिल्ला आक्रमणहरूबारे ब्रिटिश संसद्का सभामुख सर लिन्ड्से होयल वा विपक्षी नेता सर केयर स्टार्मर कसैलाई पनि पूर्वजानकारी नदिइएको बताइएको छ।

हूथी विद्रोही

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हूथी समूहलाई इरानबाट समर्थन तथा प्रशिक्षण प्राप्त हुने गरेको छ

हूथीको प्रतिक्रिया के छ?

हूथीहरूद्वारा सञ्चालित अल-मसिराह टेलिभिजनले राजधानी साना, तायज र बायदा प्रान्तमा अनि राजधानीनजिकै रहेको अल-दाइलामी हवाई शिविरमा हमला भएको जनाएको छ।

यसअघि १० दिनपहिले अमेरिका र ब्रिटेनले गरेका संयुक्त हवाई हमला र क्षेप्यास्त्र प्रहारबाट हूथी समूह हच्किएको देखिँदैन।

हूथी लडाकुहरूले यमनको तटनजिक हुँदै ओहोरदोहोर गर्ने पानीजहाजहरूमाथि विभिन्न प्रकारले आक्रमण गर्दै आएका छन्। एउटा घटनामा उनीहरूले गल्तीले रुसी तेल बोकेको पानीजहाजमाथि आक्रमण गरेका थिए।

'अपरेशन पोजीडन आर्चर' नाम दिइएको अमेरिकी नेतृत्वका पछिल्ला कारबाहीहरूमा हूथीका सैन्य प्रक्षेपणस्थलहरूमा कैयौँ पटक आक्रमण गरिएको छ।

हूथीहरूले क्षेप्यास्त्र प्रहार गर्नै आँटेको बेला तिनलाई ध्वस्त पारिएको पेन्टागनले बताएको छ। पश्चिमा गुप्तचरी निकायहरूको अनुमानमा हुथीको क्षेप्यास्त्र भण्डारको ३० प्रतिशत या त पूर्ण नष्ट गरिएको या त क्षतिग्रस्त पारिएको छ।

नोभेम्बर १९ मा हूथी विद्रोहीहरूले यूकेको स्वामित्वमा रहेको तथा जापानी सञ्चालनमा रहेको एउटा पानीजहाज अपहरण गरेका थिए

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, नोभेम्बर १९ मा हूथी विद्रोहीहरूले यूकेको स्वामित्वमा रहेको तथा जापानी सञ्चालनमा रहेको एउटा पानीजहाज अपहरण गरेका थिए

तर पनि हूथीहरू पछि हटेका छैनन्।

तिनले इजरेल, अमेरिका वा यूकेसँग सम्बन्ध भएका पानीजहाजमा निरन्तर हमला गरेका छन्। हूथीलाई इरानले सैन्य आपूर्ति, प्रशिक्षण तथा सरसल्लाह दिने गर्छ।

यस्ता हमलाले हूथीलाई तिनको नियन्त्रण भएको क्षेत्रमा लोकप्रिय बनाएको छ। यद्यपि कैयौँ यमनीहरू तिनको बर्बर शासन र दमनमा परेका छन्।

साथै इजरेलविरुद्ध इरान समर्थित ‘एक्सिस अब रेसिस्टन्स’ अन्तर्गत हूथीहरूले हमासको समर्थन गरेका कारण पनि उनीहरू अरब विश्वमा लोकप्रिय भइरहेका छन्।

हूथीहरूले नोभेम्बरदेखि सो क्षेत्रमा व्यापारिक पानीजहाजहरूमा आक्रमण थालेका हुन्। गाजामा इजरेलको सैन्य कारबाहीको प्रतिक्रियामा त्यसो गरिएको हूथीहरूले बताउँदै आएका छन्।

त्यसयता तिनले विश्वकै सबभन्दा धेरै व्यस्त जलमार्गमा पर्ने रेड सी क्षेत्रमा दर्जनौँ हमला गरेका छन्।

हूथी को हुन्?

हूथीहरू यमनको शिया मुस्लिम अल्पसङ्ख्यक जाइदीहरूको सशस्त्र समूह हो।

सन् १९९० को दशकमा तत्कालीन राष्ट्रपति अली अब्दुल्लाह सालेहले भ्रष्टाचार गरेको दाबी गर्दै उनीहरूले भ्रष्टाचारविरुद्ध लड्न यो समूह गठन गरेको बताएका थिए। यसको नाम आन्दोलनका संस्थापक हुसेन अल हूथीबाट राखिएको हो।

सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गरेपछि हूथीहरूले अमेरिका र इजरेलको अन्त्यको कामना गरेका थिए। उनीहरूले इरानको अगुवाइमा रहेको अमेरिका, इजरेल र पश्चिमा देशहरूको प्रतिरोधी कित्तामा हमास र हिज्बुल्लाहसँगै आफूहरू पनि रहेको घोषणा गरेका छन्।

यसले उनीहरूले इजरेलतर्फ गइरहेका जहाजहरूलाई आक्रमण गरिरहेका छन् भन्ने बुझ्न मद्दत गर्ने एक जना विज्ञ बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।